आन्दोलन केकालागि ?

काँग्रेस, एमालेले तीस वर्ष सम्म प्रजातान्त्र, वाक स्वतन्त्रता, मानवअधिकार, गरिबी, बेरोजगारी, नाताबाद, कृपाबाद सब देखे जब संसदमा छिरे यी समस्याहरूको हल गर्न सत्ता चाहिन्छ भन्दै कुर्लिए जब सत्ता पाए पहिले देखेका सम्पूर्ण समस्याहरू कतै पनि भेट्टाएनन् ।

 

 

सबै क्रिकेट खेलाडीहरू चोक, गल्ली, विद्यालय वा घर को कम्पाउण्ड भित्र क्रिकेट खेलेर आएका हुन्छन् । जहाँ बलले पर्खाल छोयो वा पर्खालै कट्यो भने ब्याट्स म्यान आउट हुन्छ । पारस खड्का हुन् कि सन्दिप लामिछाने, सबैको नियम शुरुमा यहि थियो । जब ऊ मैदानमा उत्रिन्छ तब उसले त्यही बललाई सक्दो जोड गरेर हान्छ र पर्खाल अर्थात बाउण्ड्रीमा गुडाएर पुर्यायो भने चौका हुन्छ उडाएर पुर्यायो भने छक्का हुन्छ । अर्थात, एउटै खेलमा पनि प्रोफेशनल नहुँदा एउटा नियम प्रोफेशनल भइसकेपछि अर्कै नियम ?

 

नेपालको राजनीतिमा पनि यहि दोहोरिईरहेको छ । जब ऊ संसदमा हुँदैन, उसको माग अर्कै हुन्छ, जब संसदमा हुन्छ, माग फेरिई सकेको हुन्छ । अझ यदि सत्तामा हुँदैन भने उसले महंगी, भ्रष्टाचार, बेरोजगारी, गरिबी सब देख्छ, जब सत्तामा पुग्छ ती केही पनि देख्दैन । नियम नै दुई थरी हुन्छ ।

 

काँग्रेस, एमालेले तीस वर्ष सम्म प्रजातान्त्र, वाक स्वतन्त्रता, मानवअधिकार, गरिबी, बेरोजगारी, नाताबाद, कृपाबाद सब देखे जब संसदमा छिरे यी समस्याहरूको हल गर्न सत्ता चाहिन्छ भन्दै कुर्लिए जब सत्ता पाए पहिले देखेका सम्पूर्ण समस्याहरू कतै पनि भेट्टाएनन् ।

 

माओवादीले १० वर्ष सम्म युद्ध लड्यो । गाउँ गाउँमा जँड्याहा, बाह्रमासे, दलाल, सामन्ती, नोकरशाही, पुँजीपती, राजा, महाराजा, भ्रष्टाचार, समावेशी, समानुपातीक सब देख्यो । एमाले बराबरको सिट सहित संसदमा आयो । संविधान सभाको चुनाव भयो, चुनाव जित्यो, सत्तामा मात्र पुगेन, सरकारको नेतृत्व नै ग¥यो, तर अघि भनेका समस्याहरू हल गर्न उसले पूर्ण बहुमतको सरकार नभई नसकिने रहेछ भन्ने गुनासो सुनायो । दलहरूले छ र नौ महिने सरकारलाई नै समस्या समाधान गर्न बाधक भयो भनेर जनताहरूलाई गुनासो गरे ।

 

दुई दुई पटकको संविधान सभाको चुनाव पश्चात, संविधान प्राप्त भयो । देश गणतन्त्रमा गयो, संघियतामा गयो । त्यसपछि आम निर्वाचन भयो । जनताले दलहरूको गुनासो सुनेर सरकार बनाउन प्रष्ट बहुमत दिए भने प्रतिपक्ष लाई पनि सम्मानित सिट दिए । अहिले स्थानीय, प्रदेश र संघीय गरेर तीन तहको सरकार बनी सक्यो । अब बाँकी के छ ?

 

नेत्र बिक्रम चन्द उर्फ विप्लव, जसले प्रचण्ड सँग मात्र होईन मोहन बैद्य सँग पनि विप्लव गरेर छुट्टै पार्टी गठन गरे । अर्ध भुमिगत भन्दै पूर्ण भूमिगत भए, के को लागि ? संविधान सभाको माग उनको हैन ? गणतन्त्रको माग उनको हैन ? संघियताको माग उनको हैन ? समानुपातीकको माग उनको हैन ? धर्म निरपेक्षताको माग उनको होइन ? मुख्य मागहरू हात लागिसकेपछि तपशिलका कामहरू गर्नलाई फेरि किन जनता त्रसित हुने गरी आन्दोलन गर्नु पर्यो ? ख्यालख्यालमै मानिसहरूको ज्यान गईरहेको छ, बन्द, हड्ताल, विष्फोटले मानिसहरूमा एक प्रकारको आतंक फैलिईरहेको छ ।

 

भोली संसदमा प्रवेश गर्छन्, जनताको नाम राखेर गरिएका मागहरू कुनै आलिसान पलङको सिरानी मुनी लगेर कोचिने छ, जब सत्ताको सिरानी प्राप्त हुन्छ, त्यतीबेला जनताले भोग्ने अहिलेको भन्दा फरक केही पनि हुने छैन । सबै जनजिवीकाका सवालहरू बागमतीमा लगेर बगाइने निश्चित छ ।जनताले हरेक आन्दोलन पछाडीको नाडी छामिसकेका छन् । हाम्रो नाङ्गो आँखाले देखिरहेको त्यही हो । अहिले सम्मको अनुभवले पनि त्यही भन्छ ।

 

सिके राउत के थिए ? जनताहरूलाई ठूलो ठूलो सपना देखाए । मधेशको गर्मिमा पनि घाँटीमा टाई बाँध्न कहिले पनि छुटाएनन्, समर्थकहरूको टाउकोमा फेटा कस्न लगाए । परिणाम के भयो ? सर्बोच्च अदालतबाट छुटे, नाटकिय ढङ्गबाट रातारात सरकारसँग सम्झौता गर्न पुगे । ठूलो सभाहलमा अटाई नअटाई बसेका देशका गण्यमान्य व्यक्तिहरू, पत्रकार, समाजसेवी, नेतागण, सांसद, मन्त्री, कर्मचारीहरू । मञ्चमा देशकै शक्तिशाली, दुई तिहाई मत प्राप्त प्रधानमन्त्री, सोही पार्टीका अध्यक्ष, अन्य विशिष्ट व्यक्तिहरूको अगाडी सम्झौता पत्रमा हस्ताक्षर गरेर तालीको गड्गडाहट खाएर बाहिर निस्किए, उनले जे जे भनेर पछि लगाएका समर्थकहरू थिए, तिनीहरूको विश्वास कहाँ गयो, भरोसा कहाँ गयो, माग कहाँ गयो ? जनमत भनेको जनमत संग्रह नै हो भन्ने अर्थ लगाउँदा लगाउँदै, आफ्नो पार्टीको नामनै जनमत पार्टी राखे । अझ उनी त संसदमा र सरकारमा जानै बाँकी छ । गए पछि के होला ?

 

राजपाले यत्तीका महिना सम्म सत्तामा जान खुट्टा उचालेकै हो । कुरा कहाँ मिलिरहेको थिएन, रेशम चौधरीको नाममा सरकारलाई दिएको समर्थन फिर्ता लियो । घरी फोरम र राजपा एकिकृत हुने रे भनेको छ, घरी एक आपसका प्रतिस्पर्धी मिल्नै गाह्रो भनेर जनताको आँखामा धुलो हाली रहेका छन् । उपेन्द्र यादव मधेशमा आफूनै सर्वशक्तिमान सम्झन्छन् जुन कुरा राजपालाई मन परिरहेको छैन । सिके राउत बलियो भएको खण्डमा चाहिं यी दुई दजिक आउलान् नत्र धेरै गाह्रो छ । यस्तो आफ्नै जनमतको विश्वास नहुनेहरूले गरेको आन्दोलन के को लागि होला ? राजपा सत्तामा नगएको सायद अहिले मात्र होला, फोरम त अहिले पनि सत्तामै छ ।

 

मोहन बैद्य पाका नेता थिए, यदि प्रचण्डले बाटो बिराए पनि यीनले सम्हाल्छन् भन्ने थियो । तर, प्रथम संविधान सभामा नै निहुँ खोज्न पुगे । देशले भोगिरहेको संक्रमण काललाई एउटा निष्कर्शमा पु¥्याएर बिश्राम लिनु पर्नेमा, भइरहेको सांसदको पदलाई पनि लात्तीले हानेर गैरजिम्मेवार बनेर हिंडे । सधैं क्रान्ती, के को लागि क्रान्ती ? जब आफ्नै पार्टी सरकारमा पुग्दा त केही नगरी पिठ्युँ फर्काएर हिंड्नेले के को लागि क्रान्ती, कस्तो क्रान्ती, चुनाव बहिष्कार पनि भनेको छ अनि मोर्चा बनाएर चुनावमा भाग पनि लिएको छ । के हो यो ? कसको लागि हो ?

 

काँग्रेसले पनि आन्दोलन गर्ने रे । त्यो पनि अघि माथी लेखिएकै विषयहरूमा रे । अरूले भनेको त केही हद सम्म सुहाएकै थियो, तर काँग्रेसले ले, त्यो पनि आफू सँग छेउ न टुप्पो नमिल्ने पार्टीहरू सँग मिलेर रे । काँग्रेस भनेको एउटा बलियो पार्टी हो, एउटा चुनावमा तल माथी भयो भन्दैमा आफ्नो सिद्धान्त, निष्ठा, गरिमा, त्याग, तपस्या सबै भुलेर संविधान नै नमान्ने पार्टीहरू सँग मिलेर आन्दोलन गरेर हुन्छ के ? उसले आँत्तिने होर, संयमित हुनु पर्दैन ? घर झगडा मिलाउन छोडेर कार्यकर्तालाई वैशाख जेठको घाममा सडकमा जा भन्दा दश तिर फर्केका कार्यकर्ताले मान्लान ? सरकारका गलत कदमको बिरूद्ध आवाज उठाउनुस्, खबरदारी गर्नुस्, जनतालाई परेको प्रत्यक्ष समस्याको समाधानको विषयमा स्थानीय स्तरमै संघर्ष गर्नुस्, आफूले सत्ता पाएको ठाउँमा भ्रष्टाचार नगर्नुस्, अनावश्यक सुरक्षा कर्मी लिएर साइरन बजाउँदै अगुवा पछुवा लगाएर हिंड्नु भन्दा ती सुरक्षाकर्मीहरूलाई फिर्ता पठाउनुस्, सरकारी गाडीमा परिवारको सदस्यहरूलाई कहिं कतै पनि प्रयोग वा दुरुपयोग गर्न नदिनुस् । जनताले नियाली रहेका यस्ता झिना मसिना कुराहरूमा सुधार गर्नु नै अहिले काँग्रेसको आन्दोलन हो भन्ने बुभ्mनुहोस् र बुझाउनुहोस् ।

 

समाजमा दुई चार पैसा कमायो भने त मानिसले दम्भ देखाउन छोड्दैन भने सरकार सँग त दुई तिहाई छ । उसको दम्भलाई, सञ्चार मन्त्री गोकुल बाँसकोटा को बोली सँग ठ्याक्कै दाँज्न सकिन्छ । प्रम केपी ओली को नयाँ शब्द नन्दी भृङ्गी ले धेरैलाई हँसायो, रमाईलो बनायो, त्यसले उनको आफ्नो कद कती घटेको छ भन्ने हेक्का उनलाई होला ? यो उनी भन्दा पनि उनको दम्भ बढेको हो । अहिले सरकारले गर्नु पर्ने कामको लिस्ट तयार गर्ने हो भने पूर्व पश्चिम राजमार्गको झापा देखि कञ्चनपूर सम्मको बाटो भन्दा पनि लामो तयार होला तर ऊ विपक्षीलाई झिना मसिना ओठे जवाफ दिएर नै दिन कटाई रहेको छ ।

 

निर्णय गर्ने स्वतन्त्रता हरेक जनता लाई छ । माथी अती नै छोटकरीमा यी शब्दहरू व्यक्त गरिसकेपछि सर्व साधारण जनताले तातो घाममा टाउको फुटाउनु भन्दा चार वर्ष पछि आउने निर्वाचनमा मत जाहेर गरेर आन्दोलनको जवाफ दिनु नै सहि अभिव्यक्ती हुन सक्ने छ । यदि मताधिकार प्राप्त गर्ने आन्दोलन गर्ने हो भने आजै देखि जनताको साथ र सहयोग गर्ने आन्दोलन गर्नु नै बुद्धिमानी ठहरिने छ । बल जफ्तीको आन्दोलनले आफ्नो भारीले आफैंलाई थिच्ने छ ।