अनसन विरुद्धको अनसन !

 

रौं ठाडो पार्ने भाषण गरेर नेपालीको स्वाभिमानी शिर उच्च बनाउन सक्ने ओलीले डा. गोबिन्द केसीको अनसनबिरुद्ध अनसन बस्छु भनेर किन भडाँस पोखेका होलान् ? 

केपी ओली अर्थात खड्गप्रसाद ओली भन्ने बित्तिकै सन्देश मुलक घोचपेच भएका उखानहरुको सम्झना मात्र हुने होइन, उनका राष्ट्रवादी भाषणले बेलाबेला रौं ठाडो पनि पारिदिन्छ ।

 

भारतले लगाएको नाकाबन्दीका बेला यिनै प्रधानमन्त्री ओलीले हामी नेपालीहरुलाई थोरै भएपनि स्वाभिमानी शिर ठाडो बनाउन सक्ने बनाए । त्यसैले ओलीलाई म जस्ता धेरैले मन पराउनु अस्वाभाविक होइन ।र, भारतले गरेको नाकाबन्दीसँगै तत्कालीन प्रधानमन्त्री ओली राष्ट्रवादी नेताका रुपमा चिनिन मात्र होइन, यसका प्रतीक पनि मानिन थालेका छन् ।

 

त्यसैले धेरै हदसम्म केपी ओलीको राष्ट्रवाद’bout अहिलेलाई कसैले पनि र कुनै पनि शंका गर्नु पर्दैन ।

 

भारतसँग अडान लिनु राष्ट्रवाद मापनको एउटा आधार त होला, तर देश भित्रै गरिने राष्ट्रघाती क्रियाकलापहरुमा आँखा चिम्लेर बस्ने नेतालाई राष्ट्रवादी भनिरहन सकिँदैन ।

अहिले ओली देशभित्र भइरहेका राष्ट्रघाती कामहरुमा आँखा चिम्लेर बसेका मात्र देखिदैनन् । अपितु जानेर वा नजानेर त्यसको समर्थनमा खुलेरै लागेका देखिन्छन् भन्दा केही फरक नपर्ला ।यहाँ चर्चा गर्न खोजिएको विषय डा. गोविन्द केसीले उठाएका मुद्धा र उनको अनसनको विषयमा हो ।

 

गोविन्द केसीका मागहरुले कसलाई फाइदा पुग्छ ? देशलाई, जनतालाई वा कुनै व्यापारीलाई ? ओलीहरुले भन्नु पर्ने समय आइसकेको छ । त्यसैले उनले खुलेर भन्न सक्नुपर्यो, यस विषयमा गलत र सही कुरा के हो ? पक्कै पनि हामी सर्वसाधारणलाई भन्दा बढी तपाइ जस्ता प्रधानमन्त्री मात्र होइन, प्रमुख प्रतिपक्षी पार्टीको अध्यक्षलाई सत्य कुरा थाहा हुनुपर्ने हो र थाहा हुन्छ पनि ।

 

केदारभक्त माथेमा पक्कै पनि देशका टापटिपे ब्यक्ति होइनन् । मुलुककै गिनेचुनेका प्राज्ञिक, कुटनीतिज्ञ र त्रिभुवन विश्वविद्यालयलाई अब्बल किसिमले अगाडि बढाउने उपकुलपति पनि हुन् । यस्ता काविल र जिम्मेवार ब्यक्तिको अध्यक्षतामा बनेको चिकित्सा शिक्षा अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन लागु गर्न सरकार किन हच्किएको हो ? प्रमुख प्रतिपक्ष किन अकमकाएको हो ?

 

आफैं प्रधानमन्त्री भएकाबेला आफ्नै सरकारले  संसदमा पेश गरेको चिकित्सा शिक्षा ऐन पारित गर्न सहयोग गर्नुपर्नेमा किन उल्टै भागिरहेका छन् ओली ? त्यति मात्र होइन मनमोहन अस्पताल सरकारले किन्ने भनेर उनी आफैें सरकारको कार्यकारी हुँदा सहमति गरेका होइनन् ?

 

स्वास्थ्यसँग गाँसिएका कुराहरु कति संवेदनशील हुन्छन् भन्ने नेता ओली आफैंलाई भरपुर अनुभव छ । धेरै पुरानो कुरा होइन, अनुभवहिन डाक्टरले अपे्रसनगर्दा मनमोहन अस्पतालमा के भएको थियो, सबैलाई राम्रैसँग थाहा छ ।

 

यस्ता बदमासी र कमीकमजोरीहरु’bout सबै कुरा थाहा हुँदाहुँदै ओली जस्ता राष्ट्रवादी नेताले गोविन्द केसीका विरुद्धमा अनसन बस्छु भन्दा हामी जस्ता उनका शुभचिन्तकहरुले के सोच्ने ?

 

शिक्षा र स्वास्थ्य जस्ता आधारभुत कुराहरु राज्यको दायित्व हो भनेर समाजवादको अलाप गरेर कहिल्यै नथाक्ने नेताहरुलाई बुझाइ राख्नु पर्ने कुरा कदाचित होइन । अनि गोविन्द केसीले पनि जनताको स्वास्थ्य–शिक्षा राज्य आफैंले हेर्नुपर्छ नै भनेका हुन्, होइन र ? अनि यसकालागि संसदले नै नियम कानुन बनाउ भनेर माग गर्दा संसदको क्षेत्राधिकार डा. केसीले खोस्न खोजे भन्ने आरोप लगाउदा हामी जस्ता सर्वसाधारणले कसरी विश्वास गर्ने ?

 

देश विकास र जनताको जीवनस्तरमाथि पु¥याउनु  भनेको पनि राष्ट्रवादै होला । देश विकास कै लागी ओलीले विकास विज्ञहरुसँग छलफल गरेको पनि भरखरै हो, धेरै समय ब्यतित भैसकेको छैन । छलफलमा विज्ञहरुले विकासका लागि आधारभुत कुरा भनेको शिक्षा र स्वास्थ्य नै हो भनेकै हुन् । ओलीले त्यतीखेर यी कुरामा समर्थन जनाउदै टाउको हल्लाएका पनि हुन् ।

 

त्यसैले केपी ओली जस्ता माथिल्लो स्तरका नेताले देश र जनताको स्वार्थलाई पन्छाएर आफ्नै पार्टीको स्वार्थ मात्र हेरिनै रहने हो भने जनताले अरु को बाट के आशा गर्ने ?

 

केही वर्ष अगाडि एउटा तालिमका सिलसिलामा जापान पुगेको थिएँ ।  प्रसंगवस राष्ट्रियताको कुरा निस्कँदा जापानीहरुले राष्ट्रियता भनेको विकास हो भनेको जवाफ सुनेर अचम्म लागेको थियो । जापानीहरु जस्तै हामी पनि विकासलाई राष्ट्रियतासँग जोडरे किन हेर्न सक्दैनौं ? ठूला नेताहरु सानातिना स्वार्थको पछि नलाग्ने हो भने देशमा विकास गर्नलाई कुनै जादुको छडी नै चाहिन्छ भन्ने होइन ।

 

यही बीचमा आयल निगमको भ्रष्टाचार छताछुल्ल हुँदा, सडकको खाल्डोमा डुबेर चार चार बच्चाहरु एकै ठाउँमा मर्दाका कुराहरुले नेताहरुलाई नपिरोलेर गोविन्द केसी कै अनसनले किन पिरल्यो ? यसको जवाफ जनतालाई कसले दिने ?

 

केही आशा गरेकै नेताहरुबाट गैह्र जिम्मेवारीपूर्ण अभिव्यक्तिहरु दिँदा जनतामा निराशा पलाउने मात्र नभई नेता र पार्टीप्रति नै नकरात्मक सोच आउन थाल्नेछ । त्यसैले जनताको भँडास पोखिनु अगाडि नै केपी ओली जस्ता उच्च नेताले नेपाली राष्ट्रवादलाई बेलैमा जिम्मेवार र फराकिलो बनाउँदै लैजाँदा राम्रो हुने थियो कि ? आगे उनकै मर्जी  !