नेपालबाटै नेपाली भाषा नारायणहरि ! -कृष्णमुरारी भण्डारी

 

जो कसैलाई लाग्न सक्छ, नम्बर प्लेटबाट कसरी नेपाली भाषा नारायणहरि हुन सक्छ ? तर अचम्म छ, यो यस्तो महाजालको रुपमा शुरुवात भैरहेको छ, जसले अन्तत नेपालबाट नेपाली भाषालाई समाप्त पारिदिने छ ।

 

नेपालबाटै नेपाली भाषालाई नारायणहरि बनाइदिने षडयन्त्रको पर्दाफास भएको छ । अहिले यो विषय लहरो तान्दा पहरो गर्जने अवस्थामा पुगेको छ ।

 

यसलाई गंभीरतापूर्वक नलिने हो भने पछि पछुताउनुको कुनै अर्थ रहने छैन । पैसा पनि गुमाउनु र मूर्ख पनि बन्नुको यो भन्दा ज्वलन्त उदाहरण अरु हुन सक्दैन । अहिले नेपाली यही संघारबाट गुज्रीरहेछन् ।

 

सरकारले लागु गरेको ‘इम्बोस्ड नम्बर’ भनिने सवारी साधनमा राखिने नम्बर प्लेटहरुको माध्यमबाट नेपालीहरुलाई नारायणहरि बनाइदै छ ।

 

यो खबर सुन्ने जो कसैलाई लाग्न सक्छ, नम्बर प्लेटबाट कसरी नेपाली भाषा नारायणहरि हुन सक्छ ? तर अचम्म छ, यो यस्तो महाजालको रुपमा शुरुवात भैरहेको छ, जसले अन्तत नेपालबाट नेपाली भाषालाई समाप्त पारिदिने छ ।

 

यही भदौ ५ गतेदेखि यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने शुरुवात गरेको हो । सबैले ठानेका थिए, इम्बोस्ड नम्बर भनेको बस, ट्रक, जीप, कार र मोटरसाइकलमा अहिले राखिइरहेको नम्बर प्लेटको ठाउमा राखिने अक्षर र अंक माथि उठेको अर्को खालको नम्बर प्लेट हो, इन्फ्रारेड लाइट प्रविधिबाट सवारी ट्रयाकिङ समेत हुन्छ । यो प्रविधिले नम्बर प्लेटलाई पढ्छ ।

 

अरुले जस्तै मैले पनि सामान्य समय अनुकूलको परिवर्तनको रुपमा नै यसलाई लिएको थिएँ । तर जब नम्बर प्लेटको डिजाइन सार्वजनिक भयो र यस्को मूल्य र यसमा लेखिने अक्षर र अंकको कुरा थाहा पाइयो तब मात्र मनमा चिसो पस्न थालेको हो ।

 

अरुको मनमा पनि चिसो पस्यो र, यसवारे जान्नेहरुले जब मुख खोल्न थाले अनि यो देशको नागरिक भएको नाता राख्नेहरु छाँगाबाट खसे सरी भए ।

 

यो नम्बर प्लेटमा नेपालीको न पनि रहने छैन । न अक्षर नत अंक ! त्यसमाथि संघीयतामा गएको देशमा खारेज भएको अंचलको नाम राखेर इम्बोस्ड नम्बर लेखिदै रहेछ ।

 

अनि जतिखेर इम्बोस्ड नम्बर नेपालमा चलिरहेका सबै खालका सवारी साधनमा हाली सकेर सवारी साधनका मालिकहरुबाट अकुत पैसा सोहोरिइसकिनेछ त्यसपछि त्यसलाई फेर्ने अर्को चरण शुरु गर्ने षडयन्त्र पनि गरिएको पोल खुलेको छ ।

 

यो यस्तो चक्रमा पार्ने खेल अन्तर्गत हुन लागेको रहेछ कि नेपालीको अहिलेको पुस्ता यही नम्बर फेर्ने चक्रमा नै जन्मिने र मर्ने पार्न पो लागिएको रहेछ । जसरी सडक विभागले सडक बनाइसकेपछि खानेपानी र ढलनिकासले सडक खन्न थाल्छ । खानेपानीले ढल बनाइसकेर सडक टालिएपछि दुरसंचारले फेरि त्यही सडक खनेर तार विछ्याउन थाल्छ ।

 

सवारी साधनमा इम्बोस्ड नंम्बर प्लेट राख्ने विषयमा दुई वर्ष अघि टेण्डर गरिएको रहेछ । टेण्डर हात पा¥यो रे, अमेरिकी संयुक्त लगानीको बंगलादेशी कम्पनी डेकाटोर–टाइगरले । डेकाटोर– टाइगरसँगको सम्झौता अनुसार नेपालले गत वैशाख महिनाबाटै इम्बोस्ड नम्बर प्लेट राख्न थालिसक्नु पथ्र्यो र पाँच वर्ष भित्र नेपालका सबै नंम्बर प्लेट इम्बोस्ड गरिसक्नु पर्ने संझौता सरकारले गरेको थियो ।

 

शुरुमा उक्त कम्पनीले ४ अर्ब रुपैयाँमा इम्बोस्ड नम्बर प्लेट राख्ने ठेक्का पाए पनि यो काम सकिँदा खासमा दोब्बर अर्थात आठ अर्व रुपैयाँ सवारी धनीहरुले बुझाउनु पर्ने कुरो जगजाहेर छ । फेरि त्यती नै पैसा कुम्ल्याउन खारेज भैसकेको अंचलको नाममा इम्बोस्ड नम्बर बनाउने काम शुरु गरियो । यसमा कति कमिशनको खेला भैरहेको होला ? पार्टीका नेता, सांसद, मन्त्रीहरु यो सबै थाहै नपाए जसरी बसिरहेका छन्, त्यसवापत यिनले कति भाग कति लाग्ला ?

 

इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनहरुले बाध्यतावस जडान गर्नु परे पनि यो नम्बरको हैशीयत भने पत्रकार रघुनाथको गाडी जस्तो मात्र भएर बस्ने छ ’cause जसरी रघुले गाडी किनेर पनि सडकमा गाडी नकुदाइकन ग्यारेजमा थन्क्याइ रहे त्यसैगरी इम्बोस्ड नम्बर हाले पनि त्यसको उपयोग न यातायात नत ट्राफिक प्रहरीले गर्नेछन् ।

 

यसको कारण अरु नभएर इम्बोस्ड भएपछि सवारी कर तिरे नतिरेको जाँच, सवारी साधनको ट्रयाकिंग, रेडियो फ्रिक्वेन्सी जाँचका लागि आवश्यक गेट निर्माणको काम नै भएको छैन । जव यी आधारभूत काम नै भएका छैनन् भने इम्बोस्ड नम्बर ट्रयाकिंग कस्ले गर्ने ?

 

अरु त अरु राजधानी छिर्ने पाँचवटै नाकामा गेट निर्माण गर्ने योजना विभागको रहे पनि त्यसका लागि चाहिने जग्गा समेत छनोट भएको छैन । अनि कसरी होस्, इम्बोस्ड नम्बर प्लेटका सबै अवयवहरुको प्रयोग !

 

बेला न कुबेला बजी नयला ?

 

नेवारी भाषामा एउटा बहुचर्चित भनाइ छ, बेला न कुबेला बजी नयला ! यातायात विभागले टेण्डर सम्झौता गरेको कम्पनीसँग बेलामा काम गरेन । अहिले हतार हतार नम्बर प्लेट बनाउन हतारिएको छ । किन ?

 

कमिशनखोर नेताहरुको धाप पाएर विभागका हाकिमहरु यस्तो जवाफ दिइरहेछन्, अहिले यो काम नगराए त सरकारले कंपनीलाई जरीवाना तिर्नु पर्छ । यसबाट बच्न इम्बोस्ड नम्बर प्लेटको प्रयोग नभए पनि अहिले नै शुरु गर्न हामी बाध्य भएका छौं ।

 

तर यतिबेला नम्बर प्लेट राख्न हतार र हडबड गर्नुको सत्य कारण अरु होइन, नयाँ षडयन्त्र गर्ने तालमेल मिलाउनु मात्रै हो । यो कुरो कस्लाई थाहा छैन र ?

 

सार्वजनिक भएको पहिलो इम्बोस्ड नम्बर प्लेटमा बाग्मती अन्चल लेखिएको छ, अंग्रेजीमा ! देश संघीयतामा गए पछि अंचल भन्ने नै संबिधान अनुसार रहँदैन भने किन नम्बर प्लेटमा अञ्चलको नाम ?

 

यसरी इम्बोस्ड नम्बर प्लेट जडानको शुरुवात झनै अनुपयुक्त देखियो । माघ ७, २०७४ भित्र प्रदेशको निर्वाचन मात्र होइन, संसदीय निर्वाचन पनि सकिइसकेर देश पूरै संघीय लोकतान्त्रिक गणतन्त्रको औपचारिक चरणमा प्रवेश गर्नेछ ।

 

संघहरु पूर्ण रुपमा कार्यान्वयनमा आउने छन् । प्रादेशिक पहिचान सहित सवारी साधनको नम्बर प्रदेशबाट वितरण हुनेछ ।

 

जब देशको कार्यतालिका यसप्रकार अगाडि बढिरहेको छ भने यस्तोमा प्रदेश सभाको निर्वाचन हुनु तीन महिना पहिले किन इम्बोस्ड नम्बर प्लेट हतार हतार शुरू गरिएको होला ?

 

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कम्पनीसँगको सम्झौता अनुसार अहिले शुरु नगरे सरकारले जरीवाना तिर्नु पर्नेछ । सरकारलाई जरिवाना तिर्नबाट जोगाउन यो हतार गरिएको हो ।

 

तर यस विषयका विज्ञहरु भन्छन्, सरकारलाई जरिवाना तिराउन होइन, आफ्नो खल्ती भर्न राजनीतिज्ञहरुको धापमा भ्रष्टाचार मण्डलीमा सामेल कर्मचारीहरुले दिउसै रात पार्ने प्रपंच गरेका हुन् । भ्रष्टाचार बाहेक यो हतारको अर्को मकसद भनेको सचेत मानिसलाई यसमा अल्मल्याएर निर्वाचनको मुखमा नेपाली भाषालाई नारायणहरि बनाउने हो ।

 

 

इम्बोस्ड नम्बरमा लेखिने भाषा नेपाली हुनुहुन्न, अन्तर्राष्ट्रिय हुनुपर्छ भनेर रोमनमा लेखिदैछ । उनीहरुको दावी छ, विदेशी भाषाका अंक र अक्षर राखियो भने प्राविधिक रुपमा कोडिंग गर्न सजीलो हुन्छ । अन्तर्राष्ट्रिय रुपमा समेत यो काम लाग्छ । यही कुतर्कको आधारमा नेपालीलाई नेपालमै निमिट्यान्न पार्ने नियतले काम गरिएको छ ।

 

जबकि अंग्रेजी अक्षर र अंक राखेर अक्षर उठाइएको इम्बोस्ड नम्बर राखेर चल्ने गाडी किन्ने र चलाउने नेपाली नै हुन् । ती नम्बर हेर्ने पनि नेपाली नै हुन् । त्यसको जाँचबुझ र पालना भए नभएको रेखदेख गर्ने पनि नेपाली पुलिस नै हुन्, अंग्रेज होइनन् ।

 

जसरी जापान लगायत अरु देशहरु जस्ले आफ्नै देश वा प्रान्तीय भाषामा इम्बोस्ड नम्बर प्लेटहरु राखेका छन्, नेपालमा पनि त्यसैगरी नेपाली भाषामै राख्दा इम्बोस्ड नम्बर पढ्न सहजै नेपालीले पनि सक्ने छन् । कुनै सवारी साधन अपराध गरेर सुदुर गाउमा वा राजमार्गमा भागेको छ भने त्यसको नम्बर नेपाली भाषामा छ भने सामान्य नेपालीले पनि प्रहरीलाई खबर गर्नसक्छ कि अंग्रेजी नम्बर राख्यो भने ?

 

नेपाली नै पढ्न पनि सतप्रतिशत साक्षरता नभैसकेका नेपालीहरुबीच अंग्रेजी भाषाका अक्षर गाडीमा राखेर के गर्न खोजीएको हो ? इम्वोस्ड नम्बर चलाउन खोज्नेहरुको मनसाय यसैबाट छर्लंग हुन्छ ।
प्रदेश गठन हुन ढिलो हुने भएपछि अहिलेनै अञ्चलको नाम लेखेर हतारमा इम्बोस्ड नम्बर प्लेट बितरण शुरु गरे पनि पछि प्रदेश सरकारले आफ्नो नाम राख्न सक्ने गरि सफ्टवेयर डिजाइन गरिने झुटो दावी गरिदैछ ।

 

जहाँसम्म डिजिटल रुपमा काम गर्न अंग्रेजी भाषा चाहिन्छ भन्ने कुरा छ, यसका लागि सफ्टवेयरले सहजै सहयोग गर्नसक्छ । रोमन केए हानेपछि क आउछ भने झुटा तर्क त बहाना मात्र हुन् ।
नेपालको संविधानमा पनि कामकाजको भाषा नेपाली हुने भन्ने स्पष्ट लेखिएको सन्दर्भमा पच्चीस लाख जति सवारी साधनमा प्रयोग गरिने भाषा नेपाली नराखिनु संबिधानको घोर उलंघन हो । यसैगरी प्रविधिलाई तेस्र्याएर सर्वत्र विदेशी भाषालाई अन्तर्राष्ट्रिय भाषा भनेर प्रचलनमा ल्याउन खोज्नु नेपाली भाषालाई मेट्ने नक्कली तर्क हुन् । नेपाली भाषालाई सिध्याउने प्रपंच हो । सावधान !