आत्मालोचनारुपी गहुँतपानी छर्के पछि सबै खत माफि हुन्छ र ?

आज जे जसरी हुन्छ छलिन पाए पुग्यो आज बचे पुग्यो भोलि देखा जाएगा ? अस्त्र सबै सकिए पछि ओलीले बामदेवलाई आफ्नो योजनाको अस्त्र बनाउनु भयो र आफ्नो प्रतिरक्षा गर्न बामदेवलाई चारो हाल्नुभयो । जसको कारण ओली बलियो बन्नुभयो माधव प्रचण्ड अलायन्स कम्जोर भयो । सहमतिको नाटक सहित सचिवालयको बैठकमा पर्दा खस्यो ।

अल्पकालीन रुपमा नै भए पनि ठूलो खड्गो र संकटबाट नेकपाले पार पायो । पार्टी फुटाएको अपजस बोक्ने सहास कुनै पनि पक्षका नेतासँग नहुनु नै हाललाई अनिष्ट टर्ने माध्यम बन्यो तर यो संकट ब्यबस्थापन पार्टी फुटाउनुको विकल्पको फेस सेभिंग मात्रै हो । तानातानको भूमिकामा रहेका बामदेवले पाएको ललिपप हो । बामदेवको प्रधानमन्त्री बन्ने महत्वाकांक्षी रहरलाई उडान भर्न दुई समुह ओली र प्रचण्ड माधवले भरपुर उपयोग गरे । आफ्नो पक्षमा तान्न सक्दो कसरत गरे । बामदेव प्रचण्ड माधव गुटबाट भन्दा प्रधानमन्त्री ओलीबाट बढी आशावादी बने र उनलाई साथ दिन पुगे ।

बामदेवको यो लोभ्याईलाई लाटा सिधा मान्छेलाई बिहे गरिदिन्छु भनेर काम खाने धुर्तहरुको चलाखीपूर्ण खुविको रुपमा पनि चर्चा गरिएको पाइन्छ । बामदेवको फुर्क्याई फलत ओलीको पल्ला भारी बन्ने कारण बन्यो परिणाम सत्ताच्युत गर्ने योजनाको बलियो डोरी चुँडाउन ओलीको सिप कामयावी भयो । नेकपा फुट्नै नहुने विकल्पको अस्थाई बन्ध्याकरणको रुपमा मात्रै यसलाई बुझ्न सकिन्छ । आन्तरिक शक्ति संघर्षमा एक पक्ष कमजोर बनाउन प्रधानमन्त्रीको ल्याकतले सफलता पाएको कारण विपक्षी धुर्व अरु कुनै बाटो समाउने स्थितिमा रहेन । सम्झौता समझदारी र मेलमिलापको पन्थ नरोजी धरै भएन । कम्युनिस्ट पार्टी फुटमा जाने प्रथा र विश्व कम्युनिस्ट आन्दोलनको फुट र विग्रह अनि नेपाली कम्युनिस्टहरुको फुटको अभ्यास र इतिहास हेर्दा फुटको कारण थिए तर समय अत्यन्त प्रतिकुल र फुटको कुरा कल्पना गर्दा पनि सहन गर्ने ठाउँमा थिएन देसको स्थिति । कारण र आधार भएर पनि फुट्ने स्थिति कुनैपनि हालतमा मान्य र मन्जुर गर्ने स्थितिमा नेकपाका नेताकार्यकर्ताको मनोविज्ञान छैन ।

अवसरको असमानुपातिक वितरण नै झगडा द्वन्द र प्रतिस्पर्धाको कारण थियो । अध्यादेश बिरोध गर्ने सजिलो माध्यम र ओलीलाई कम्जोर पार्ने हतियार बने पनि पदच्युत गर्ने हैसियत बनाउन सकेनन प्रचण्ड माधव क्याम्पले । बिधि पद्दति र पार्टी अनुशासनको कुरा गरिए पनि द्वन्द बराबर भाग पाइएन भनेर भएको कुरा दुनियाले छर्लंग बुझेको छ । दुवाली थुन्दा बराबर माछा भाग लगाउने नियम मिचेर मारिएका माछा ( सत्ता र शक्तिका बिबिध अवसर ) ओलीले एकलौटी पारेको  कारण नै त्याँहा भांड भैलो मच्चिएको हो । अरु सैद्दान्तिक कारण देखाउन र भ्रम दिनको लागि मंचित फगत नाटक हुन् । एकाधिकारवादी ओली प्रवृतिले चल्न खेल्न र खान कम स्पेस छुट्याए पछि नेकपा अहिलेको बबण्डर गर्ने हालतमा पुगेको हो ।

अस्थाई युद्द विराम गरेर नेकपाले संकटको तत्क्षण ब्यबस्थापन त गर्यो तर यसको असर र परिणाम आगामी दिनहरुमा देखिन्छन । आफ्नो सहजताको लागि व्यक्तिको महत्वाकांक्षालाई पार्टीको समस्या समाधानको सुत्र बनाउनु र पार्टी भ्वांग टाल्ने टालो बनाउनु अप संस्कृति र अपचलनलाई आत्मसाथ गर्नु हो । जुन नितान्त क्षणिक प्रयोजनको लागि अपनाइएको राजनीतिक अदूरदर्शीता हो । कालान्तरमा यस्ता प्रवृति र प्रथाले नेकपालाई अरु पिर्ने र सताउने छ ।

संबिधान भन्दा बाहिरको बन्दोबस्तमा जाने अघोषित सम्झौता बामदेवलाई दिएको लालीपप पार्टीको लागि परिस्थिजन्य उपज र फेस सेभिंग बने पनि त्यसको मर्म र भावना पद्दति प्रतिकुल छ । त्यसैले पद्दतिकोको संगति मिलेन भनेर बिरोध गर्नेहरुको नैतिक धरातल यहाँ पनि कम्जोर बनेको छ । चोरले चोरसँग गरेको इमान्दारिता झैँ देखियो भयो नेकपाको बामदेवलाई उपयुक्त समयमा संसद छिराउने र प्रधानमन्त्री बनाउने आश्वसान । यसमा बामदेब भन्दा उनको व्यक्तिगत इच्छालाई उडान भर्न प्वाँख हालिदिने दुवै खेमाका नेताहरु बढी दोषी छन । पटक पटक संसद छिर्ने अनेकन भर्यांग झ्याल र दुलो खोज्ने बाम देवको नियति पनि कम दोषमुक्त छैन ।

पब्लिकमा बामदेव संसद छिर्ने हर्कतको त्यत्रो बिरोध छ तथापि बामदेव प्रधानमन्त्री बन्ने एक सुत्रीय अभियानबाट टसमस छैनन् । व्यक्तिको लागि संबिधान फेर्ने समेत कुरा पार्टीमा आउनु पार्टी पद्दति निकम्मा र यूगिन चेतना भन्दा धेरै पछि छ भन्ने प्रमाण हो । जुन लोकतान्त्रिक गणतन्त्रको अपेक्षा थिएन / होइन । लोकतान्त्रिक गणतन्त्र र आचरण ब्यबहार संगै हिड्न सक्दैन त्यो परिपक्वता हामीसँग अर्थात नेकपासँग पनि छैन भन्ने उदाहरण हो ।

आत्मालोचना रुपी गहुत पानी छर्के पछि सबै खत माफि हुन्छ र ? हिजो एकअर्काको विरुद्द प्रायजसो संचार माध्यमबाट प्रायजसो ठूला नेताहरुले परस्परमा लाएका आरोप लान्छना केवल गालीगलौजका लागि मात्रै हुन त ? मान्छे कोरोना कहरमा निर्वल भएको बेला पार्टी भित्र कति बलियो घृणित खेल खेल्नु भयो है कमरेडहरु ? पार्टी प्रणाली नै व्यक्तिको रहरको खातिर बलिबेदीमा चढाउदा कति रमाइलो लाग्यो होला अनुमान गर्न सकिन्छ ।

आज जे जसरी हुन्छ छलिन पाए पुग्यो आज बचे पुग्यो भोलि देखा जाएगा ? अस्त्र सबै सकिए पछि ओलीले बामदेवलाई आफ्नो योजनाको अस्त्र बनाउनु भयो र आफ्नो प्रतिरक्षा गर्न बामदेवलाई चारो हाल्नुभयो । जसको कारण ओली बलियो बन्नुभयो माधव प्रचण्ड अलायन्स कम्जोर भयो । सहमतिको नाटक सहित सचिवालयको बैठकमा पर्दा खस्यो । प्रचन्ड माधव चाहेजति सक्रिय बनेर बिस्फोट हुन नसक्नुमा पनि अरु थुप्रै अदृश्य पाटो र विषयहरु छन् । चाइनिज राजदूतको सक्रियता पनि प्रधानमन्त्री सेफ रहन मद्दत पुर्याउने अर्को अस्त्र हो जसको कारण नेकपाको रास्ट्रवादी धार पुन भुत्ते भयो । आन्तरिक पार्टी ब्यबस्थापनको लागि चाइनिज राजदूतको हस्तक्षेप र भूमिका स्वाभिमानी नेकपाका कार्यकर्तालाई पक्कै पचेको छैन । पार्टी फूटको हल्ला बाहिर जे जसरी गरिए पनि प्रचन्डको बाध्यता र अप्ठ्यारो कति छ भन्ने कुरा कि प्रचन्डलाई थाहा छ कि अख्तियारमा रहेको क्यान्टोनमेन्टको फाइल र अदालतका मुद्दालाई ।

यो बबण्डरका बीच रातारात रास्ट्रपति , प्रधानन्यायाधीश , अख्तियार प्रमुख र सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्रीको तारन्तार भेटको संकेत र अर्थ प्रचण्ड र माधव नेपाललाई मनोवैज्ञानिक रुपमा कम्जोर पार्ने कडी हो भनेर नबुझ्ने मान्छे कमै छन् । हाललाई विवाद थाती राखिएको हो तर असहजता कायमै छ त्यो विस्फोटन कुनै पनि समयमा हुनेछ । मात्र अनुकुलताको पर्खाई हो । यदि त्यसो होइन भने बिधि र पद्दतिको कुरा गर्नेहरुले आत्मसमर्पण गरेको ठहर्छ । एक व्यक्ति एक पदको अवधारणा नै यो विवाद चर्कने अर्को पेचिलो सबाल हो ।

पार्टी कमाण्ड त्यागेर सरकार मात्रै चलाउन र सरकार पनि बामदेवलाई बुझाउन ओलीले मान्लान र ? कुनै पनि शाशक शक्ति विहिन भएर रहन सक्छन भन्ने उदाहरण कमै छ त्यस माथि ओलीको स्वास्थ्य र स्वभाव शक्तिहीन भएर बस्ने अवश्य छैन । तसर्थ यो एकता सर्वकालिक र पूर्णकालीन होइन । अस्थाई युद्द विराम हो । युद्दको पूर्ण बिराम हुन सक्दैन । व्यक्ति ,व्यक्तिको नाजायज फाइदाको लागि बन्ने र भत्कने गठबन्धनले , गुट र समुहले न पार्टी हित गर्छ न देश हित ? भीरमा पुगेर पनि गुल्टनबाट यो पटक नेकपा बच्यो यसले निरन्तरता पाउनु पर्छ अन्यथा समयको रेल नेकपाको लागि सदा सदाको लागि छुटने खतरा रहन्छ ।