‘बदनाम हुनु तर गुमनाम नहुनु’

ह्याङओभरमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई नराम्ररी गाँजेको देखियो । उसले हालसालै शैक्षिक हड्ताल, बिभिन्न स्थानमा बम विष्फोट, ललितपुरको एनसेल कार्यालयको गेटमा व्यक्ति हत्या, नेपाल बन्द र सवारी साधनहरुमा आगजनी गरेर आफ्नै पालाको आन्दोलननै प्यारो भन्ने प्रमाणित गरिदियो । दुईहजार पचहत्तरको सालको झण्डै अन्तिम समयमा गरेको आन्दोलनहरुको सबै तरिका बाउन्न सालकै जस्तो हुवहु छ । यसले उसलाई ‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सोचले काम गरेको जस्तो छ ।

 

 

मानिसहरुलाई जहिलेपनि जेपनि आफ्नै जमानाको राम्रो लाग्छ । ‘हाम्रो पालामा’ भन्ने थेगो त मुखमै झुडिएको हुन्छ । आफ्नै जमानाको गित÷संगित राम्रो लाग्ने, आफ्नै जमानाको सिनेमा राम्रो लाग्ने, आफ्नै जमानाको हिरो, हिरोइन राम्रो लाग्ने, आफ्नै जमानाको गाऊँ÷ठाऊँ राम्रो लाग्ने । अहिलेका बालबालिकाहरुले घर भित्रै बसेर ल्यापटप, कम्प्युटर, मोवाइल, ट्याव चलाएको देखेर आफ्नो जमानामा घर बाहिर खेलेका खेलहरु, चाहे त्यो झुम्रोले बनाएको फुटबल होस् वा भलिबल होस्, डण्डिबियो, डोरी, गुच्चा, खोपी इत्यादीनै रमाइलो थियो भनेर आफ्नै जमानाको कुराहरु राम्रो लाग्ने बताउँछन् । बाजे÷बज्यै आफ्नै पालाको कुराहरु राम्रो मान्ने, बा÷आमाहरु आफ्नै पालाको कुराहरु राम्रो मान्ने, छोरा-छोरीहरु आफ्नै पालाको कुराहरु राम्रो मान्ने । खाना पनि आफ्नै पालाको राम्रो, नाना पनि आफ्नै पालाको राम्रो ।

त्यही भएर होला राजनैतिक दलहरुलाई आफूले गर्ने आन्दोलन पनि समय जतीनै अगाडी बढेपनि आफ्नै पालाको राम्रो लाग्दो रहेछ । राज्यबाट भएको दमन, अन्याय, अत्याचार तथा दैनिक जनजिवीकाको सवालमा सहनु पर्छ भन्ने छैन, संविधानमै नभएत आन्दोलन गर्नु नैसर्गिक अधिकार हो भने झन यो विषयमात संविधानलेनै स्विकृती दिएको छ । देश गणतन्त्र भइसक्यो अहिले आएर पनि आन्दोलनको ढाँचा राणा शासन, पञ्चायत र संवैधानिक राजतन्त्र भएकै बेलाको भन्दा कुनै फरक छैन ।

नारा, जुलुश, मशाल जुलुश, चन्दा आतंक, चक्का जाम, नेपाल बन्द हुँदै व्यक्ति हत्या, गोली हानाहान, बम विष्फोट जस्ता पुरानै तरिका अपनाउँदा देशलाई कहिं पुर्याउँदैन । यस्तो तरिकालाई रचनात्मक कार्यमा परिवर्तन गर्दै पूर्णबिराम लगाउनु पर्छ भन्ने आवाज नयाँ पुस्ताले उठाइरहेका छन् ।

यसको ह्याङओभरमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई नराम्ररी गाँजेको देखियो । उसले हालसालै शैक्षिक हड्ताल, बिभिन्न स्थानमा बम विष्फोट, ललितपुरको एनसेल कार्यालयको गेटमा व्यक्ति हत्या, नेपाल बन्द र सवारी साधनहरुमा आगजनी गरेर आफ्नै पालाको आन्दोलननै प्यारो भन्ने प्रमाणित गरिदियो । दुईहजार पचहत्तरको सालको झण्डै अन्तिम समयमा गरेको आन्दोलनहरुको सबै तरिका बाउन्न सालकै जस्तो हुवहु छ । यसले उसलाई ‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सोचले काम गरेको जस्तो छ । हुनत सरकारले विप्लवको पार्टीलाई पार्टी पनि नभनी समूह भनेको छ र यो समूहलाई प्रतिवन्ध पनि लगाईसक्यो ।

उसको गतिविधि जतीनै विध्वंशात्मक भएपनि अन्तत्वगत्वा यसको सहि समाधान भनेको वार्तानै हो । यदि बेलैमा वार्तामार्फत समस्याको समाधान गर्न अग्रसर नहुने हो भने आगामी दिनमा यो भन्दा बढ्ता रक्तपात हुने निश्चित छ । ’cause, विप्लवहरु सँग पहिले माओवादीको पालाकै हतियार छ भन्ने छ, तर उसले ती हतियारको बलले मात्र अवश्यपनि आन्दोलन चालेको छैन होला । ऊ सँग त्यसपछि पनि विभिन्न प्रकारको हतियारहरु थपिएको हुनु पर्छ । सरकार सँग पनि पहिलेको माओवादी जस्तो ठूलो शक्ति सँग लड्नु पर्दैन, भने हतियारहरु पनि त्यतीबेलाको भन्दा आधुनिक होला, साथै अहिले सशस्त्र प्रहरी बल थपेर दक्ष जनशक्ति पनि बढाएको छ । त्यसैले अव यदि यो आन्दोलनले हिंसाको रुप लियो भने पहिलेको भन्दा विभत्स हुनेछ । दुवै तर्फमा जसको क्षती भएपनि आखिर उही नेपाल आमाकै सन्तानहरु हुनेछन् । दश वर्षे युद्धमा टुहुरो मात्र होइन गर्भे टुहुरो हुनेहरु पनि अनगिन्ती छन् । त्यसबाट शिक्षा लिनु पर्नेमा फेरी त्यही बाटोमा यात्रारत छन् ।

विश्वास गनुस् या नगर्नुस्, अहिले हरेक दलहरुमा ती दलहरुका सक्रिय कार्यकर्ता बाहेक सर्वसाधारण जनताहरुको नझरमा नेताहरु प्रति इतिहासमै तल्लो तहको अनादर भइरहेको छ । नेताहरुलाई पनि आफ्नै समयको राम्रो भन्ने ह्याङओभरले छोडेको छैन । ताल न तुलको कार्यक्रममा पनि मर्यादालाई भुलेर गएकै छन् । उद्घाटन भन्यो भने के को हो, कसको हो, नक्सा पास भएको छ की छैन, वातावरणीय अध्ययन भएको छ कि छैन, आफ्नो स्तरले जान मिल्छ कि मिल्दैन भन्ने जस्ता अति सामान्य कुराहरु पनि नबुझिकन गइदिन्छन् । कार्यकर्ताहरुको इच्छा र नेताहरुको मोहले गर्दा घाँटी भरी थामिनसक्नु माला र खादा भिरेको हुन्छ । साईरन बजाउँदै साधारण जनतालाई तर्साउँदै त्यही जनताले तिरेको करबाट किनेको गाडी कुदाउँदै, धुलो उडाउँदै, अगुवा पछुवा दौडाउँदै कुदिरहेको देख्न सकिन्छ । कुनै परिवर्तन छैन, जस्तो व्यवस्था आएपनि, जुन पार्टीको सरकार आएपनि, जुन दलका नेताहरु हिंडेपनि, गर्ने भाषण उही, भन्ने कुरा उही, हेर्ने दृष्टिकोण उही, सबै आफ्नै पालाको, एक्काइसौं शताब्दीको, बदलिएको अहिलेको वर्तमान समयको माग अनुसार कोही चल्नै चाहँदैन ।

अस्पतालमा पुरानै तरिका, मालपोतमा पुरानै तरिका, यातायातमा पुरानै तरिका, शिक्षालयमा पुरानै तरिका, सडकमा पुरानै तरिका, जिल्ला प्रशासन कार्यालयमा पुरानै तरिका, खानेपानीमा पुरानै तरिका, स्थानिय निकायमा पुरानै तरिका, जताततै पुरानै तरिका, आफ्नै पालाको राम्रो । नयाँ जमानामात नयाँ तरिका अपनाउनु पर्ने होइनर ? जमाना अनुसार परिमार्जन गर्दै लानु पर्नेमा सबैकुरा यथास्थितीमै चल्न दिनु भनेको अग्रगामी हो की पश्चगामी हो ?

एकताका सबैजना ‘नयाँ नेपाल’ भनेर कुर्लन्थे तर नेपाल पुरानै अवस्थामा छ, चल्ने शैलीनै पुरानो छ । नेताहरुनै पुराना छन्, उनीहरुको सोचाईनै पुरानो छ । नयाँ पुस्ताका नेताहरुमा पनि त्यस्तो परिवर्तननै गर्लान् जस्तो व्यक्ति चाहिँ अहिले सम्म देख्न पाइएको छैन । बिभिन्न टिभि च्यानलहरु हेर्यो, अनलाईन हरुमा हेर्यो, पत्रपत्रिकाहरुमा पढ्यो, नयाँ पुस्ताका नाम चलेका नेताहरुको अन्तर्वार्तामा आफ्नै पार्टी र नेताको अति गुणगान, आफ्नो दलले काम गर्न नसकेको स्विकार्नु भन्दा पनि अर्को पार्टीले गर्न नसकेको कुरामा बढ्ता जोड दिनु र आफूले भनेकोनै ठिक भन्ने हठ चलेको देखिन्छ । उनीहरुबाट पनि देशले खासै केही पाउला जस्तो देखिँदैन ।

उनीहरुलाई एकक्षण ध्यान दिएर हेरौं, अधिकांश ती नेताहरु आर्थिक उपार्जन हुने काम केही गर्दैनन्, तर सबैको गाडी छ, कोट र जिन्स पाइन्ट लाएर हिंडेका छन्, कालो चस्मा र जेल हालेर चिटिक्क मिलाएको कपाल, महंगो जुत्ता, सिक्री, औंठी, दुई चार जना आसेपासे सधैं सँगै हुने, महँगो रेष्टुरेण्ट, होटल, रिसोर्टमा भोजन तथा बास, कहाँ बाट आइरहेको छ यो सब खर्च ?

निराशै निराशा भन्दा पनि अब केही आशा जगाउने काम गर्नु पर्यो । यदि देशनै बनाउने हो भने । सबैले आफूलाई अहिलेको देशको माग के हो त्यतातिर ध्यान दिनु पर्दछ । चाहे प्रतिबन्धीत समूहहरु हुन्, प्रतिनिधी जित्नै नसकेका दलहरु हुन्, ससाना दलहरु हुन्, क्षेत्रीय पार्टीहरु हुन्, प्रमुख प्रतिपक्ष दल होस् वा सत्तारुढ दल, उनीहरु सबले आफूलाई आफ्नो पालाको होइन अहिलेको वर्तमान समयलाई ध्यान दिएर आफ्नो सोच बनाउनु पर्दछ । तपाईंहरुका आदर्श नेताहरु कुनै विदेशी दार्शनीक वा नेताहरुलाई बनाउनु भन्दा नेपाली जनताहरुलाई बनाउनुहोस् । कतै बाट आयातित पुरानो सिद्धान्त भन्दा देशको राजनैतिक, सामाजिक, भौगोलिक, आर्थिक, प्राकृतिक अवस्थालाई मध्यनजर गरिकन यसलाई सुहाउँदो सिद्धान्त निर्माण गर्नुहोस् । अनि मात्र देश बन्छ, हामी बन्छौं । मान्छे मर्ने र मार्ने काम कतैबाट पनि नगरौं । नबिर्सौं आफूले गरेको पापको भागिदार यहि जुनीमा भोग्नु पर्छ । आफूले नसके आफ्ना सन्तानहरुले भोग्नु पर्छ । त्यसैले अरु जनताको भलाई नचाहेपनि आफू र आफ्नो सन्तानको भलाईको लागि पनि कुनै प्रकारको पाप नगरौं ।