सडक यातायातको दुर्घटना न्युनिकरण गर्न ध्यान देऊ

के सवारी चालक सधैं स्वस्थ हुन्छ ? हामीलाई जस्तै उसको पनि टाउको दुख्छ, रुघाखोकी लाग्छ, ज्वरो आउँछ, डाइरिया हुन्छ, आँखा कमजोर हुन्छ, ढाड दुख्छ, हात पोल्छ, आदी । के यस्तो अवस्था आउँदा चालकले अस्पताल वा घरमा रेष्ट गर्न पाउँछ ? यदि उसले रेष्ट गर्न नपाई सवारी साधन चलाउँछ भने त्यसबाट हुने सम्भावित क्षतीको हामी तयार भएर बस्नै पर्छ । उसको बदलामा अर्को चालकले चलाउने व्यवस्था हुन्छ ? यदि हुँदैन भने यसको व्यवस्था गरिनु पर्छ ।

 

 

गत बुधबार पर्यटन मन्त्री रवीन्द्र अधिकारी लगायतका सात जना आ–आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरुको हेलिकप्टर दुर्घटनामा निधन भयो । सबै प्रकारका सञ्चार माध्यमहरुमा अनुमानको भरमा आ–आफ्नै प्रकारका तर्कहरु बिभिन्न बुद्धिजिवीहरुबाट बाहिर आइरहेको छ । सरकारले जाँचबुझ आयोग गठन गरेको छ । आशा छ यसले सत्य तथ्य बाहिर ल्याउने छ । साथै यो आयोगले यो भन्दा पहिला घटेका यस्तै प्रकारका घटनाका छानबिन आयोगहरुले दिएका सुझावहरुलाई यो हेलिकप्टर उड्दा सम्बन्धीत पक्षहरुले मानेका थिएकि थिएनन् भन्ने पनि बाहिर आओस् । नत्र जती छानबिन आयोग गठन गरेतापनि फेरि त्यहि प्रकारको घटना घटिरहने प्रकृया दोहोरिरहने छ ।

 

मृत्यु सबैको लागि अपुरणिय क्षतिनै हुन्छ । उसको बदलामा अर्को व्यक्तीले उसको क्षतिको पूर्ति गर्न सक्दैन त्यसैले जब व्यक्तको निधन हुन्छ क्षणभरमै जतिनै राज्यको लागि योगदान दिइरहेको व्यक्ति भएतापनि फेरि परिवार तिरै फर्कन्छ । निधन पश्चात उसको घर, परिवार खोजिन्छ, उसको जाती, धर्म, रिती, रिवाज अनुसार सबभन्दा नजिको आफन्तको रोहवरमा अन्त्यष्टि गरिन्छ । त्यसपछि जिन्दगीभर भोग्नुपर्ने त्यही परिवारले मात्र हो ।

 

निधन अप्रिय हो, त्यसमाथी अप्रत्यासित निधन त झन अतिनै अप्रिय हुँदै हो । अप्रत्यासित निधन बिभिन्न प्रकारले हुने गर्दछ । त्यो मध्ये नेपालमा हरेक दिन जसो दुई चार जना व्यक्तीहरु सडक दुर्घटनामा ज्यान गुमाईरहेका छन् । हाम्रो देशमा हवाई दुर्घटना र सडक दुर्घटनालाई हेर्ने दृष्टिकोणमानै फरक छ । एउटालाई उच्च तहको र अर्कोलाई न्युनतहको घटनाको रुपमा लिइन्छ । दुर्घटना कुनै पनि राम्रो होइन, भनाई यती मात्र हो सडक र आकाश दुवै प्रकारका दुर्घटनाहरुलाई बराबरी रुपमा लिनु पर्दछ । दुवै प्रकारको घटनाहरु न्युनीकरण गर्ने उच्च प्रकारका उपायहरु अपनाउनु पर्दछ ।

 

नेपालको सडकमा अहिले सबैभन्दा बढि चलेको सवारी साधन भनेको मोटरसाईकल हो । बिभिन्न प्रयोजनको लागि यसको प्रयोग दिन प्रतिदिन बढ्दो छ । जागिर खान, पढ्न जान, गर्लफ्रेण्ड घुमाउन, छोराछोरी स्कुल पुर्याउन, खेतबारी धाउन, सामान ल्याउन, पुर्याउन, व्यापार व्यवसाय गर्न जस्ता अनगिन्ती कार्यको लागि सजिलो भएर यो दुई पाँग्रेको मोह तराई, पहाड, हिमाल तीनै भौगोलिक अवस्था भएका ठाउँहरुमा बढ्दो छ । यसले दिने सुविधाको आकर्षणले गर्दा जसरी यसको माग बढ्दो छ त्यतीनै सानो भन्दा सानो गल्तीको कारणले पनि यसमा सवार चालक र ऊ सँग यात्रारत व्यक्तिको मृत्यु समेत हुन पुग्दछ । दिनहुँ देशका कुनै न कुनै ठाउँबाट दुई पाँग्रे सवारी दुर्घटनामा यती जनाको मृत्यु भयो भनेर खबर आइरहेको हुन्छ । यसको न्युनिकरणको लागि सरकारले प्रभावकारी रुपले के गरेको छ ?

 

दुई पाँग्रे पछि चार पाँग्रे वा त्यो भन्दा बढ्ता पाँग्रे सवारी साधनहरुको पालो आउँछ । गत शुक्रबार मात्र दार्चुलामा जिप दुर्घटना भएर एघार जनाको एउटै चिहान भयो । प्रजिअ लगायत केही महानुभाहरु गएर अब यस्तो घटना हुन निदिने भन्नु भयो । न मुखले बोलेर मात्र हुन्छ न कागजी फाइल खडा गरेर मात्र हुन्छ । सडकको जोखिम त सडकमै आएर गर्नु पर्यो नी ।

 

सवारी चालकहरुलाई लाईसेन्स दिने काम सरकारको हो । सक्षम व्यक्तिले हात पारे त ठीकै हो तर घुस खुवाएर वा अर्कै व्यक्तिले परिक्षा दिएर गलत व्यक्तिको हातमा लाईसेन्स प्राप्त गर्यो भने मान्नु पर्छ सरकारले मृत्युको लाईसेन्स पनि दियो । उक्त चालक कहिले एकलै मर्ला वा कहिले अरुलाई मार्ला वा कहिले आफू सहित अरुलाई पनि मार्ला । जसरी हेरे पनि यो मृत्युकै लाईसेन्स हो । पहिलो प्रकृया त याहिँनै कडा गर्नु पर्दछ ।

 

सरकारले सवारी कर र बिभिन्न प्रकारका करहरुको नाममा राजश्व उठाइरहेको छ । त्यसको बदलामा उसले सडकको स्तरोन्नती गर्न सकेको छ त ? सडक भनेको ट्रयाक खोल्ने काम मात्र हो ? कालो पत्रे गर्नु मात्र हो ? हो यी सबैको समग्र रुपमा सुधारनै हो । सडक खोल्दा पहिले त्यसको ट्रयाकनै खोल्ने हो । तर, ट्रयाक मात्र खोलीएको सडकमा, ठूला ठूला ढुँगाहरु, वा फुसफुसे बलौटे माटो, वा पानीको हिलाम्मे अवस्था जस्ता अतिनै कष्टकरु बाटोमा व्यक्तिगत साधन चलाउन त रोक्नु पर्नेमा झन रुट लिनेहरुको तँछाड मछाड हुन्छ । र, सरकार रुट पर्मिट दिन पनि तयार हुन्छ । त्यसपछि त्यहाँ सार्वजनिक सवारी चल्न थाल्छ । सवारी धनीहरुले पाँग्रा बाहेक आफ्नो साधनको जतासुकै अट्ने जती ठाउँमा मानिसहरु कोचिरहेका हुन्छन् । त्यसपछि यस्ता घटनाहरु दोहोरिइहेको हुन्छ ।

 

हामीले सर्सर्ती हेर्दा, बुझ्दाखेरी सडक बनाउँदा ट्रयाक पछि कालोपत्रे बनाउने काम गरिन्छ । त्यसपछि कालो सडकमा सेतो र पहेंला रङ्गको लेन कोरिन्छ । ठाऊँ ठाऊँमा जेब्रा क्रसिङ, ट्राफिक चिन्ह, पार्किङ लट, अझ सकिन्छ भने ट्राफिक बत्ती समेत बनाइसकेपछि पो बल्ल सडक निर्माणको प्रकृया सकिन्छ । त्यसपछि पो बल्ल चाहे दुई पाँग्रे होस् वा त्यो भन्दा धेरै पाँग्रे सवारी साधनहरु चलाउन दिनुपर्ने हुन्छ । अनि मात्र सडक दुर्घटना न्युन गराउन मद्दत पुग्दछ ।

 

सार्वजनिक सवारी साधनको सुधारको लिस्ट तयार पार्ने हो भने त अति नै लामो हुन आउँछ । तर, कमसेकम ती साधनहरुको पार्टपुर्जाको अवस्था नियमित जाँचपडताल गर्ने गर्नु पर्दैन ? बिग्रेपछि नजिकैको ग्यारेजमा लगेर देखाइन्छ । त्यहाँ सधैं जानेका मिस्त्रिीहरुमात्रै हुन्छन् भन्ने हुँदैन, कहिले काहिँत बाह्र, चौध वर्षका केटाहरुले बनाएर पठाइदिन्छन् । त्यत्रो साधनको मर्मत एउटा अनुभवहिन व्यक्तिले बनाउँदा त्यसको हालत के होला ? कुनै न कुनै शक्तिको आड नभईकन दुर्घटनाबाट बच्न सकिएको होइन भन्ने भान पर्नु स्वाभाविक हो । अनि हरेक मन्दिर पुगेपछि ढोग्दै हिंड्नु पनि स्वाभाविकै हो ।

 

के सवारी चालक सधैं स्वस्थ हुन्छ ? हामीलाई जस्तै उसको पनि टाउको दुख्छ, रुघाखोकी लाग्छ, ज्वरो आउँछ, डाइरिया हुन्छ, आँखा कमजोर हुन्छ, ढाड दुख्छ, हात पोल्छ, आदी । के यस्तो अवस्था आउँदा चालकले अस्पताल वा घरमा रेष्ट गर्न पाउँछ ? यदि उसले रेष्ट गर्न नपाई सवारी साधन चलाउँछ भने त्यसबाट हुने सम्भावित क्षतीको हामी तयार भएर बस्नै पर्छ । उसको बदलामा अर्को चालकले चलाउने व्यवस्था हुन्छ ? यदि हुँदैन भने यसको व्यवस्था गरिनु पर्छ ।

 

भ्रष्टाचार र त्यसमा पनि नितिगत भ्रष्टाचारले गर्दा मानिसलाई अनियमितता गर्न उक्साउँछ । सडकका ट्राफिक प्रहरी, जनपद प्रहरी, स्थानीय नेता, विभाग, मन्त्रालयका कर्मचारहरु वा गुण्डा नाइकेहरुलाई दिने सानो आर्थिक प्रलोभन पनि अन्ततः निर्दोषको ज्यान जाने कारण बन्न सक्छ भन्ने कुराको हेक्का राखौं । साथै, घुस चाहे एक रुपैयाँको होस् वा एक अर्वको त्यसको परिणाम भनेको नकारात्मकनै हो । त्यसैले अरुक्षेत्र सहित यातायात क्षेत्रमा पनि भ्रष्टाचार हुने वातावरण नबनाउने हो भने यसले दुर्घटना घटाउन मद्दत पुग्दछ ।