कोरोना र सिमानाको सदुपयोग

यदि ससाना कुरामा सहयोग माग्न नगएको भए, व्यक्तिगत स्वार्थमा याचना गर्न नपुगेको भए, र साना भन्दा साना सहयोग को लागि पनि हात नफैलाएको भए किन भारतीय जर्नल गगनदीप बक्शी, नेता विजय जोली जस्ताहरुले भुकम्पमा गरेको जस्तो अतिनै मानविय सहयोग र अहिले कोविड१९ सँग लड्नलाई दिएको केहि संख्याका स्वास्थ्य सामग्रीको बदलामा तिमीहरु चुप लागेर बस्नु पर्छ भनेर ठूलो श्वरमा हकार्छन् ।

गत कात्तिक १६, २०७६ अर्थात नोभेम्बर २, २०र्१९ मा भारतले आफ्नो आन्तरिक प्रान्त जम्मु तथा कास्मिर र लद्दाखको भुभाग लाई नयाँ स्वरुप दिंदै नयाँ नक्शा जारी गरेको मौकामा नेपालको स्वामित्वमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई पनि आफैं भित्र समाहित गर्यो । त्यसपछि नेपालमा बिरोधका स्वरहरु सुनिन थाले । विश्व कोरोना भाईरस सँग जुधिरहेको मौकामा वैशाख २६ गते अर्थात मे ८ मा त्यहाँका रक्षामन्त्री राजनाथ सिंहले त्यहि भुभाग भएर चिनको तिब्बतको मानसरोबर जाने करिब ८० कि.मी. कच्ची सडकको अनलाईन उद्घाटन गरे । त्यसको केहि सेकेण्ड देखि नै नेपालमा भारतीय गतिविधी माथी विरोधको उग्र रुप सुरु भयो ।

लकडाउनको समयमा मास्क लगाउँदै, दुरि कायम बनाउँदै र प्रहरीको कुटाईको बेवास्ता गर्दैै युवा विद्यार्थी देखि अन्य समुदाय सम्म पनि सडकमा निस्केर सकेको तरिकाले प्रदर्शन शुरु गरे । सदनमा पनि यस विषयले ठूलै स्थान पायो । बिरोधका श्वरहरुको सुनुवाई गर्दै नेपालले पनि यसपाली चाहिँ दरिलै पाईला चाल्यो । उसले पनि भारतीय पक्षको जस्तै एकपक्षिय रुपमा नयाँ नक्सा जारी गर्ने निर्णय गर्यो । सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले जेष्ठ ७ गते नेपालको नयाँ नक्सा सार्वजनिक गरिन् ।

भारतले नेपालले यती सम्म गर्न सक्छ भन्ने कल्पनै गरेको थिएन । त्यसपछि ऊ नराम्ररी तिल्मिलायो । मनिषा कोइरालाले लेखेको साधारण ट्विटलाई ठूलो बनाएर हाँस्यास्पद प्रदर्शन गर्यो । उसले यस्तोे हेक्का नै राखेन कि मनिषा कोइराला नेपाली हुन् भारतीय होइनन् । उनले कलाकार भएर भारतमा नाम र दाम कमाउन सफल भईन् भने भारतीय सिने उद्योगमा जमेका निर्माता, निर्देशक प्राविधिक देखि हलवाला सम्मले पनि त उनको नाममा राम्रै आम्दामी गर्न सफल भए । काम भन्ने कुरा एक तर्फि मात्र हुँदैन, घाटा लागेको भए उनीहरुले अवश्यपनि काम दिंदैन थिए ।

अहिले आएर उसले जताततै नेपालको यो कदमको पछाडी चिनियाँ हात छ भनेर प्रचार प्रशार गर्न व्यस्त छ । आफूले भुभाग हड्पेको कुरालाई केहि पनि नभएको जस्तो अभिनय गरिरहेको छ । चिनियाँ हात हो भन्ने पहिलो वाक्य त्यहाँका सेनाध्यक्ष मणि मुकुन्द नरभाने मार्फत बाहिर आयो । त्यसपछि त जो पनि त्यसै भन्न थालिरहेका छन् ।

जेष्ठ ८ गते भारतको रिपब्लिक टिभिमा पत्रकार आर्नव रञ्जन गोश्वामीले शीर्षकनै विवादास्पद, ‘चाइना युजेज नेपाल’ राखेर कार्यक्रम सञ्चालन गरे । त्यो एउटा अतीनै तल्लो स्तरको कार्यक्रम थियो । जसमा नेपाल र भारतका व्यक्तिहरुलाई बोल्न बोलाएका थिए । गोश्वामीको दम्भयुक्त बोली र नेपालका सांसद जस्तोको मानमर्दन हुने गरी बोलेको बोलीले नेपालीहरुलाई बिरोध गर्न उर्जा थपिरहेको छ । सांसद मिनेन्द्र रिजालको जवाफले गर्दा आज नेपाली राजनीतिलाई जती नै फोहोरी खेल भनेता पनि र जती नै पक्ष र विपक्ष भनेर कित्ता काँट गरेता पनि फेरि एक पटक सारा जनतालाई उत्साह थपेको छ ।

आज त्यहाँका धेरै टिभि च्यानल, अखबार, अनलाईन, युट्युव र रेडियोमा यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । नेपालमा पनि यहि प्रकृया चलिरहेको छ । जसले जे भनेता पनि आखिर भारतले किन यसरी नेपाललाई हेप्यो भन्ने प्रश्न मुख्य हो ।

भनिन्छ ‘भाई फुटे गँवार लुटे’, रामायण, महाभारत जस्ता धार्मिक कृतिहरुमा दिइने सन्देश पनि यहि हो । हाम्रो देशमा पनि यहि रोग व्याप्त छ । राजनीतिक दलहरु कहिल्यै पनि नमिल्ने, जुन किसिमको आन्दोलन गर्न पनि भारतीय भुमि नै प्रयोग गर्ने, भारतकै नेताहरुका घर आँगनमा बसेर आन्दोलनका विषयसूची तयार पार्ने, वार्ता पनि उनीहरुकै सामुन्ने गर्ने गर्दा खेरी आफ्नो हैसियत कहिल्यै बुझ्न सकेनन् । राणा काल, पञ्चायत काल, माओवादी काल, मधेशवादी काल सम्म सबैले उतैको भुमि र उतैको सल्लाह मानेकै हो र त्यो सल्लाह सुझाव लिने काम पनि आफैंले सिर्जना गरेको हो ।

भोली त्यस्तै पर्यो भने लैनचौर स्थित भारतीय राजदुतावासले कसको छोरोको इन्जिनियरिङ, कसको छोरीको मेडिकल, कसको सालोको जागिर, कसको ज्वाईँको सरुवा, कसलाई सांसद, कसलाई मन्त्री, कसलाई पियन, कसलाई भारतमा स्वास्थ्य जाँच, कसलाई दशैं खर्च, कसलाई बस भाडा, कसलाई चुनाव खर्च, इन्धन, चामल देखि चिया सम्मको हिसाव किताव छरपस्ट पारिदिन सक्छ । उसले यस्ता व्यक्तिलाई त धम्क्याउन पनि थालिसक्यो होला ? यसमा नेता मात्र छैनन् समाजका सबै तह र तप्काका व्यक्तिहरु छन्, लुकाउनु पर्ने केहि छैन, जनताको अगाडी स्पष्ट छ ।

यदि ससाना कुरामा सहयोग माग्न नगएको भए, व्यक्तिगत स्वार्थमा याचना गर्न नपुगेको भए, र साना भन्दा साना सहयोग को लागि पनि हात नफैलाएको भए किन भारतीय जर्नल गगनदीप बक्शी, नेता विजय जोली जस्ताहरुले भुकम्पमा गरेको जस्तो अतिनै मानविय सहयोग र अहिले कोविड१९ सँग लड्नलाई दिएको केहि संख्याका स्वास्थ्य सामग्रीको बदलामा तिमीहरु चुप लागेर बस्नु पर्छ भनेर ठूलो श्वरमा हकार्छन् ।

कोरोनाले भारत लगायत विश्वभरबाट जम्मा भएका जनतालाई सिमानाले एकता बनाउँदै तन र मन लगाएर काम र माम दिने वातावरण बनाउन बिना भेदभाव सरकार लागोस् । भोली विरोधका श्वर सानो हुँदै गएपछि फेरि त्यहि दुतावासको ढोका ढक्ढकाउन नजाओस् । भारतीय मात्र होइन कुनै पनि देशको दुतावास धाउनु भनेको त्यो देशको गुलाम बन्नु हो र समय आएपछि उनीहरुले आफ्नो असली श्वरुप देखाईदिनेछन् । अहिले देशको लागि एक भएको जस्तै राष्ट्रिय मुद्दामा पनि एक हुनु भयो भने यत्रो देशमा तीन करोड जनता मज्जाले हाँसी खुशी बाँच्न सक्छन् । न त भारतको दरबान बन्नु पर्छ न त अन्य देशमा रगत पसिना नै बगाउनु पर्छ ।