नाफाको जीन्दगीमा घाटाको व्यापार

डा. गोविन्द केसी १५ औं सत्याग्रह बसेको समयमा प्रकाशित गरिएको यो लेख अहिले पनि त्यत्तिकै सान्दर्भिक हुने लागेर पुनः प्रकाशित गरिएको छ ।  १५ औं सत्याग्रह सरकार संग सम्झौता भएपछी टुङ्गिएको थियो । तर  अहिले सरकारले सम्झौता भन्दा फरक विधेयक संसदमा पेस गरेपछि डा. केसीले १६ औं सत्याग्रह इलामबाट शुरु गरेका छन्  र २ दिनदेखि टिचिङ्ग अस्पतालको इमर्जेन्सीमा उनको उपचार भैरहेको छ ।  

एउटा कुरा चाहीँ ठोकुवा गरेर भन्न सक्छु फाइदा जति मेडिकल माफियाहरुको पोल्टामा पुग्ने छ भने प्रधानमन्त्री आफैंले भन्ने गरेको नाफाको जीन्दगीमा घाटाको व्यापार चाहीँ प्रधानमन्त्री ओली कै भागमा पर्ने निश्चित छ।

 

 

म मन हुँडलिएपछि मात्र लेख्नेमा तप्कामा पर्छु । कहिले काँही देशका ठुलाबडा नाम चलेका व्यक्तिले व्यक्त गरेका अभिव्यक्तिहरुले मनमा औडाहा भएर हुँडलिँदो रहेछ । नलेखि बस्नै नसकिने रहेछ ।

 

देशमा ठूलाबडाको संख्या ठुलै छ र सबैसँग दोहोरो चिनजान पनि छैन र मेरो व्यवसायको शिलशिलामा भेटिएका ठूलाबडा सबैले  चिन्छन भन्ने भ्रम पनि मलाई छैन ।

 

तर, अरुले चिने नचिने पनि प्रधानमन्त्री केपी ओलीले मलाई चिन्छन भन्नेमा म केहिहदसम्म विश्वस्त छु ।  यसरी दोहोरो चिनजान भएका व्यक्ति त्यसमाथि देशको अहिलेसम्मका शक्तिशाली प्रधानमन्त्रीले व्यक्त गरेका अभिव्यक्ति र भाषणले त औडाहलाई झन दोब्बर बनाउँदो रहेछ । दोहोरो चिनजान भए पनि हामी जस्ताले प्रधानमन्त्री ओलीलाई भेटेर केही कुरा भन्न पाउनु भनेको कल्पनाभन्दा परको कुरा भइसकेको छ, आजभोली ।

 

यी शब्दहरुले प्रधानमन्त्री वरीपरिको घेरा नाघेर प्रधानमन्त्री ओलीसम्म पुग्ला भन्ने विश्वास त छैन ।  तै पनि म जस्ता मनुवाको मनको भँडास शब्द कै माध्यमबाट भए पनि पोख्ने धृष्टता गर्दैछु, गल्ती भए माफ पाउँ ।

 

आजभोली प्रधानमन्त्री ओली अरुबाट घेरिएको कुरा गर्दै छन । अरु भनेको को ? जनताले त भोट हालेर शक्तिशाली प्रधानमन्त्री बनाइ दिइ हाले । अब त बिचरा जनताले भनेको बेला राम्रोसँग हेर्न पनि नपाउँने भएका ओली जनताबाट त पक्कै पनि घेरिएका होइन ।  अनि उनी कोबाट घेरिएका छन त ? जसले उनको नजिक बसेर जायज नाजायज फाइदा लिन पल्केका छन् तिनैबाट घेरिएका छन् भन्ने कुरो उनका धेरै कार्यकर्ताले भने जस्तै म पनि भन्न सक्छु । र, तिनैको प्रभावमा परेर वा तिनैबाट घेरिएर उनी पनि ’emको स्वार्थ अभिप्रेरित प्रसंशामा हो अथवा अरु कुनै कुरामा हो रमाउन लागेका त छैनन् ?

 

त्यसैले आजभोली जनताको हितका कुरा गर्नेसँग उनी चिढिने गर्छन अनि बबुरो डाक्टरलाई प्रतिस्पर्धाकालागी लल्कार्छन  । उनको केही दिन यताका अभिव्यक्तिले उनकै उचाइ घटाई रहेको मात्र नभई म जस्ताको उनीप्रतिको आकर्षण पनि कम हुदै गैरहेको छ ।

 

डा. गोविन्द केसी १५ औं पटकसम्म अनसन बस्दा कुन चाहीँ पार्टीको सरकार हुँदा बसेका छैनन् ? अनि अहिले कांग्रसले बोक्यो भनेर कसैले पत्याउनेवाला पनि छैनन् ।

 

म प्रधानमन्त्री ओलीकोे शुभ चिन्तक, प्रसंशक हुँ भन्न मलाई रत्तिभर पनि संकोच छैन । कारण भारतले नाकाबन्दी लगाएका बेला प्रधानमन्त्री ओलीले देखाएको अडान र देशलाई दिएको नेतृत्व नै हो ।

 

एक प्रसंशक भएकै नाताले प्रधानमन्त्री ओलीलाई एउटा सल्लाह दिन्छु, डा. केसीले उठाएका मागहरु पुरा यथासिघ्र सम्वोधन गरिदिए कांग्रसले भोली कसलाई बोकेर हिँड्ने छ र ? सरकारको विरोध गर्ने बहाना पनि सकिन्छ । संसदमा त कांग्रेसभन्दा एक कदम अगाडि बढेर प्रधानमन्त्री ओलीकै आफ्नै सांसदहरुले विरोध गरि रहेका छन् ।

 

ओली दुई तिहाइ बहुमतको प्रधानमन्त्री बन्दा मलाई पनि खुशी  लागेको थियो, कारण स्थिर र जनताको सरोकारमा ध्यान दिने सरकार बन्यो भनेर । प्रधानमन्त्री ओलीले दुई तिहाइको गर्व गर्ने हक छ, तर घमण्ड गर्न सुहाउँदैन । त्यसैले केसीलाई पार्टी खोलेर प्रतिस्पर्धा गरौं भन्न प्रधानमन्त्री जस्तो उच्च पदमा आसिन व्यक्तिलाई शोभा दिँदैन । बरु गएर भेटेर हुन्छ वा बोलाएर हुन्छ समस्याको समाधानका विषयमा कुरा गरे त्यसले प्रधानमन्त्री ओली कै उचाई बढाउने नै छ ।

 

डा. केसी कुनै राजनीतिक द्लका नेता होइनन् । न त उनी राजनीतिमा ओलीका प्रतिस्पर्धी नै हुन् । उनले उठाएका जनसरोकारका विषयहरुमा अहिले ओलीको पार्टीका केही कार्यकर्तावाहेक सवैले समर्थन नै गरेका छन् । डा. केसीले भनेका मागहरु पुरा गर्दा ओलीको पार्टीको भोट घट्नुको सट्टा बढ्छ नै । हो केसीका मागहरु पुरा गर्दा के चाहीँ घट्न सक्छ भने नोटको भारी बोक्ने दुइचार जनाको समर्थन । दुईमध्ये के रोज्दा नाफाको जीन्दगीमा फाइदा हुन्छ सायद मैले भनिराख्नु पर्दैन होला । रोजाई प्रधानमन्त्री ओली कै हो।

 

एउटा जागिरे कर्मचारीलाई जागिर छाडेर राजनीति गर्न आइज भन्नु अगाडि प्रधानमन्त्री ओलीले नै दलीय राजनीतिमा उतारेका सरकारी कर्मचारीहरु नै हाँस्छन् भन्ने ख्याल गर्नसमेत गर्न सकेको जस्तो लाग्दैन् ।

 

जनस्वास्थ्यसँग प्रत्यक्ष गाँसिएको कुरालाई लिएर १५ औंपटक आमरण अनसन बसिरहेको बिचरो एउटा डाक्टरलाई तर्साउन प्रधानमन्त्री ओलीले  प्रयोग गरेका शब्दहरु सुन्दा जनता होइन मेडिकल माफियाहरु चाहीँ दंग परेका मात्र छैनन् खुशीले नाचेका हुनुपर्छ । दुई तिहाइको दम्भ देखाउँदिन भन्दै दुई चार जनालाई फाइदा पुग्ने प्रधानमन्त्री ओलीको भाषण सुन्दा र उनले देखाएका  व्यवहार र अभिव्यक्तिले गर्दा हामी जस्तालाई विश्वास गर्न गाह्रो भइरहेकोछ ।

 

व्यापारी र मेडिकल माफियाको हितमा नियम काुनुन बनाउँदा सार्वभौम संसदको गरिमा नघट्ने अनि जनताको हितमा कानुन बनाउभन्दा संसदको स्वतन्त्रा हनन गर्यो डा. केसीले भन्दै कुर्लने सासंदहरु जनताले होइन मेडिकल माफियाले चुनेर पठाएको जस्तो लाग्छ । जनताको दैनिक जीवनमा सरोकार राख्ने विषयमा, देशमा चुलिएको भ्रष्टचारका विषयमा यसै गरि गर्जिदिए कम्तिमा अलिकति भए पनि संसदमा आवाज उठाइ दिए भनेर जनता खुशी हुने थिए ।

 

यता प्रधानमन्त्री ओलीको सरकार चुरोट कारखाना खोल्न ज्यान फालेर लागेको छ । उता एउटा निरिह डा. जनताको अस्पतालसम्मको सर्वसुलभ पहुँच, सस्तो सेवा र गुणस्तरीय स्वास्थ्य शिक्षाकालागी आफ्नो ज्यान फाल्न खोज्दै छ भने अब प्रधानमन्त्री आफैंले भन्नु पर्यो आम जनताले कसको पक्ष लिने ?

 

डा. केसीको अनसनले मार्सी चामलको भातको स्वाद चाख्न नपाएकाको जीव्रोमा भातको सट्टा शव्दको स्वाद चाहीँ राम्रैसँग पुग्यो, यसपाली । यस विषयमा भन्नु यति नै मात्र होे मार्सी चामलको भात र जनताको स्वास्थ्यमा धेरै नै ठूलो फरक हुन्छ । यो कुरा मैले भन्दा पनि प्रधानमन्त्री ओली आफैंले धेरै बुझेका छन् । त्यसैले प्रधानमन्त्री ओलीका विरोधीहरुले जे भने पनि जनताको स्वास्थ्य मार्सी चामलको भातसँग साट्ने हिम्मत प्रधानमन्त्री आफैंले गर्लान् जस्तो लाग्दैन ।

 

यी त भए डा. केसी १५ औं अनसन बसेयताका केही बिषयहरु । डा. केसी सरकार परिवर्तनसँगै जहिले पनि किन अनसन बसिरहेका छन् त ? कुनै पनि स्वार्थविना एउटा निरिह मान्छे घरिघरि किन अनसन बस्दैछ ? प्रधानमन्त्री आफैंले केसीका विषयमा यति धेरै भनिसकेपछि यसको निकाश जति छिटो निस्कियो त्यति नै राम्रो हुन्छ । यदि डा. केसीको माग गलत छ भने सरकारले सही के हो भनेर सार्वजनिक गर्नु पर्यो । होइन उनका माग सही छन् भने माग पुरा गर्न सरकार किन हिच्किचाई रहेको छ ? दुई तिहाईका प्रधानमन्त्रीलाई निर्णय गर्न कसको डरले रोकिरहेको छ ?

 

अहिले कुनै पनि राजनीतिक वादभन्दा माथि उठेर देब्रे छातीमा हात राखेर प्रधानमन्त्री ओलीले निर्णय गर्ने बेला आएको छ ।

 

कथंकदाचित उमेरमा ओरालो लागेका डा. केसीलाई केही भइहाल्यो भने पहिलो दोषको भागी प्रधानमन्त्री ओली नै हुनुपर्ने छ । अनावश्यक दवाव र प्रभावमा पार्न खोज्नेहरु कुन दुलोमा पुग्ने छन् प्रधानमन्त्री ओलीको सरकारी संयन्त्रसमेतले खोज्न सक्ने छैन, त्यतिबेला । अनि प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म आर्जन गरेको राजनीतिक जीवनवारेमा त म यसै केही भन्न सक्दिन तर, एउटा कुरा चाहीँ ठोकुवा गरेर भन्न सक्छु फाइदा जति मेडिकल माफियाहरुको पोल्टामा पुग्ने छ भने प्रधानमन्त्री आफैंले भन्ने गरेको नाफाको जीन्दगीमा घाटाको व्यापार चाहीँ प्रधानमन्त्री ओली कै भागमा पर्ने निश्चित छ ।