कम्युनिष्ट डाक्टर केसी हुन् योगेश होइनन् !

तपाई दुई तिहाई बहुमत प्राप्त सत्ताधारी कम्युनिष्ट पार्टीको केन्द्रीय नेता यो देशको निर्वाचित जल्दोबल्दो युवा सांसद, अब भन्नुस गोवीन्द केसीले बिद्यार्थी बेच्ने कारखानाको लागि काम गरेको प्रमाणित गर्न तपाईलाई के ले रोक्यो ? किन यस्तो निकृष्ट कर्म गर्ने मान्छेलाई कानुनको फन्दामा पारेर पाता कस्न सक्नुहुन्न ? गलत गर्नेलाई आरोप हैन प्रमाणित गरेर जाक्नुस खोरमा, जसरी तपाईलाई ज्यादती गर्ने हक छैन त्यसैगरी गोवीन्द केसीलाई पनि अपराध गर्ने छूट हुनुहुदैन । तपाईको पार्टीले हाकेको राज्य संयन्त्र लगाएर गोवीन्दको ज्यादती भण्डाफोर गर्न खै हुती ? आरोप लगाउनेले प्रमाणित गर्न सक्नुपर्छ राज्य संयन्त्र लगाएर अन्वेषण गर्न तपाईको योग्यता खै ?

 

कसैकाप्रति पनि अतिशयोक्ति पूर्ण आग्रह समयक्रममा  घातक हुन्छन । घातक देखिएको पनि छ । क्षणिक उत्तेजना र आवेगमा कुनै स्वार्थको गोटी बनेर यतिबेला चट्टान झैँ दृढता भएका सत्याग्राहीलाई हिलो छ्याप्न योगेश भट्टराई कम्मर कसेर लागेका छन् । प्रायोजित अभियन्ता र कांग्रेसको मोहोरा बनेको आरोपसहित उनको सत्याग्रहलाई कमजोर बनाउने उदेश्य बोकेर इलाम पुगेका भट्टराई लोकमान र गोपाल पराजुलीको  झल्को दिदैछन । श्रीमान् गोपाल पराजुली, माननीय लोकमान कार्की झैँ पद, पैसा र पावर भए पछि जे पनि गर्न सकिन्छ जसो गर्दा पनि सहि हुन्छ भन्ने कुत्सित मनशायको मनोविज्ञान शायद यिनमा हावी भएको छ तसर्थ गोविन्द केसीसँग सिंगौरी खेल्न यी मान्छे इलाम उत्रे र विषबमन गर्न लागे ।

 

भर्खरै माता मुनको होली वाइनले दीक्षित र सिंचित यिनको दिमागमा आफूलाई परमेश्वरकै प्रतिनिधि र अवतार बनेको भान भएको होला । स्मरण रहोस फादर मुनको इशाई मिसिनरी विश्वमा कम्युनिष्ट उन्मुलनलाई आफ्नो अभिस्ट ठान्छ तर यहाँ तिनै फादर मुनकी प्रतिनिधि छोरीको हातबाट होली वाइन पिएर नाच्ने कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता गोवीन्द केसिलाई कम्युनिष्ट बिरोधी र अतिवादी भनेर चित्रित गर्छन । कम्युनिष्ट पार्टीले बोक्नु पर्ने र आफ्नो सत्ता हुँदा लागु गर्नुपर्ने माग सम्झाईदिने फकिर, जोगी गोवीन्द केसी कम्युनिष्ट बिरोधी अनि कम्युनिष्ट मास्ने इशाई मिसिनरी कि प्रतिनिधि परमेश्वर चै कम्युनिष्ट भक्त ? क्या मिलेको संगति है कमरेड ?

 

१५ औ अनशनमा डाक्टर केसीलाई कांग्रेस भोकै सुताएर मार्न चाहन्थ्यो तर हामीले उनले उठाएको माग जायज र जन हितको खातिर थियो त्यसैले उनलाई वचायौ न्याय मर्न दिएनौ भनेर भनेको कुरा र आज त्यहि माग लिएर उनी पून अनशन बस्दा तपाईहरुले बोलेको कुरामा विरोधाभाष भएन ? आफू अनुकुल हुदाँ जे पनि बोल्ने प्रतिकुल हुँदा धर्म छोडेर लान्छाना लगाउने तपाईको बोलीमा कति दम छ जनतालाई थाहा छैन होला र ? इंजार नभएको शुरुवाल लगाएर कतिन्जेल हिड्नु  हुन्छ नेता ज्यू ? तपाईलाई अर्को कुरा पनि स्मरण गराउन चाहन्छु गोवीन्द केसी अनशन बस्दा सबै कुरा नाजयाज देख्नुहुन्छ, सबै पार्टी र सरकारले उनको निन्दा गर्छन ।

 

अब अरुको कुरा नगरौ तपाई कै पार्टीका प्रधानमन्त्री केपी ओलीले दुई पटक सम्झौता गर्नु भएको छ अनि यो पनि ख्याल राख्नुस अनशनको शुरु शुरुमा गोवीन्द केसीको माग जायज हुन्न देखिन्न, नाजायज र कसैले बोकेको व्यक्ति सम्झनुहुन्छ,  त्यतिबेला तपाईहरुको दिमागमा बाक्लो बोसो जमेको हुन्छ । तपाईहरु गोवीन्द केसीको सत्यग्रहलाई विवेकशील नेपालीको गुल्कोज र कांग्रेसको भिटामिन भनेर जोडतोडले प्रचारित गर्नुहुन्छ । जब जब गोवीन्द केसीको सत्याग्रहले देश पुरै तरंगित हुन्छ, व्यापक प्रदर्शन हुन्छ अनि तपाईहरुको नौ नारी गल्छन अनि माग जायज छ भन्नुहुन्छ र  सम्झौता गर्नुहुन्छ ।

 

२६ सौ दिन सम्म नाजयाज र बेइमान गोवीन्द केसी २७ औ दिन, सहि असल र  ठिक देख्ने तपाईका आँखामा कसले सल्यक्रिया गरिदिन्छ कमरेड  ? गोवीन्द केसीको शरीर गल्न थालेपछि तपाईहरुको नैतिकता धुलिसाथ बन्छ उनी शारीरिक रुपमा गल्छन अनि तपाईहरुको चुलोमा आगो बल्छ । मार्सीको चामलको भोजन चल्छ । तपाईहरुलाई गुणस्तरीय मेडिकल शिक्षा भन्दा डाक्टरी सर्टिफिकेट बेचेर प्राप्त हुने आयस्ताप्रति  गहिरो मोह छ भन्ने कुरा काठमाडौँ घट्टेकुलोमा रहेको प्रस्तावित मेडिकल कलेजको पृष्ठ पोषणमा नैतिकता बेचेर लागेको देख्दा सहजै अनुमान गर्न सकिन्छ । एउटा सामान्य स्वास्थ्य चौकीमा हुनुपर्ने स्वास्थ्य उपकरण समेत नभएको ठाउमा मेडिकल कलेज खोल्न दिनुपर्ने अड्डीको पछाडि कुन तागतले काम गरेको छ त्यो भन्नु पर्ला र ? द्रव्य मोह ठुलो कि जनताको स्वास्थ्य महाशय ?

 

योगेश भट्टराई ज्यू, तपाईले हिजो मात्रै गोवीन्द केसी, बिद्यार्थी बेच्न खुलेका कारखानाले उचालेका मान्छे हुन भनेर आक्षेप लगाउनु भयो । तपाईलाई थाहा छ कमरेड गोविन्द केसीको सत्याग्रह र त्यसको उपलब्धिले गर्दा नै पुराना मेडिकल कलेजमा सिट र शुल्क निर्धारण गरेर उनीहरुको कमाईमा आधा कम भएकोले उनीहरु पनि रुष्ट छन् केसीसंग । केसी अभियानकै कारण प्रवेश परीक्षा अनिवार्य भएकोले विदेश मेडिकल पढ्न जानेको संख्या दुई तिहाइले कम भएको तथ्य आँखा खोलेर हेर्नुहोला अब तपाईको आरोप कति सत्य भयो आफै विचार गर्नुस ।

 

यदि गोवीन्द केसी अनशन नबसेका हुन्थे भने तपाईहरुको संरक्षणमा जनबादी डनहरुको, लोकतान्त्रिक तस्करहरुको, बजारका खसी पसलझैँ डाक्टरी सर्टिफिकेट बेच्ने पसल यत्रतत्र सर्वत्र थुप्रै खुलिसकेको हुन्थ्यो । मलाई प्रश्न गर्न मन लाग्यो सच्चा कम्युनिष्ट चरित्र डाक्टर केसीको छ कि तपाईहरुको ? हो तपाईहरु आवरणमा कम्युनिष्ट मुखुण्डो धारण गर्नु हुन्छ ब्यबहार चरम पूंजीवादीले पनि गर्न लाज मान्ने गर्नुहुन्छ । डाक्टर केसी तपाईहरु झैँ द्रव्य सबथोक हो भनेर त्यसको पछि कुदेका भए जति पनि पैसा आर्जन गर्न सक्थे तर उनको नैतिकता त्यो थिएन उनको स्कुलिंग त्यो होइन तसर्थ मानव सेवालाई आफ्नो जीनवको लक्ष्य बनाए र आज मानवताको लागि मर्न राजिछन ।

 

आपत बिपत देशको भूगोल भन्दा पर पुगेर मानवता देखाउछन्, फरक यति हो तपाईहरु गरिबको नाम लिएर धनी बन्नुहुन्छ धनी र सम्पन्न मान्छेका लागि लविंग गर्नुहुन्छ राज्य श्रोतको दुरुपयोग गर्नुहुन्छ उनी गरिब निर्धन नेपालीका लागि आफूले सकेको गरेर मात्र हैन जिन्दगी दाउमा राखेर लड्छन । तपाई र तपाई हरुका नेता कानेगुजी झिक्न र आखाको कचेरा फाल्न पनि बिदेशमा जाने हैसियत राख्छन तर अधिकांश नेपालीको गाउँ घरमा बसेर सिटामोल र जीवनजल खाने हैसियत नभएर जीवन गुमाउनु परेको दुख देखेका मान्छे हुन् केसी । उनको आस्था निष्ठा र संकल्प तिनै दीनहीन प्रति छ त्यसैले कमरेड योगेश कम्युनिष्ट चरित्र आचरण र विचार बोक्ने डाक्टर केसी हुन, तपाईहरु हैन, कम्युनिस्ट आचरण, ब्यबहार, विचार र जीवन शैलीले हुने हो नामले होइन, तपाईहरु फगत नामधारी कम्युनिष्ट हो, ढोंगी र छद्मभेषी कम्युनिस्ट हो, रियालमा त डाक्टर केसी कम्युनिष्ट हुन् ।

 

एउटा कुरा तपाईलाई सम्झाउन मन लाग्यो त्यो के भने तपाईको शक्तिको हैसियत ? कमरेड योगेश तपाई दुई तिहाई बहुमत प्राप्त सत्ताधारी कम्युनिष्ट पार्टीको केन्द्रीय नेता यो देशको निर्वाचित जल्दोबल्दो युवा सांसद, अब भन्नुस गोवीन्द केसीले बिद्यार्थी बेच्ने कारखानाको लागि काम गरेको प्रमाणित गर्न तपाईलाई के ले रोक्यो ? किन यस्तो निकृष्ट कर्म गर्ने मान्छेलाई कानुनको फन्दामा पारेर पाता कस्न सक्नुहुन्न ? गलत गर्नेलाई आरोप हैन प्रमाणित गरेर जाक्नुस खोरमा, जसरी तपाईलाई ज्यादती गर्ने हक छैन त्यसैगरी गोविन्द के सीलाई पनि अपराध गर्ने छूट हुनुहुदैन । तपाईको पार्टीले हाकेको राज्य संयन्त्र लगाएर गोविन्दको ज्यादती भण्डाफोर गर्न खै हुती ? आरोप लगाउनेले प्रमाणित गर्न सक्नुपर्छ राज्य संयन्त्र लगाएर अन्वेषण गर्न तपाईको योग्यता खै ?

 

खै तपाईको हैसियत ? चुडामणि, गोपाल खड्का, सुगत रत्न र दिगम्बर झाको संरक्षण गर्ने, पुरस्कृत गर्ने , आफ्नो बिद्यार्थी संगठनले बिद्यार्थीको दुहाइ दिदै कलेज संचालकसँग पैसा असुल्ने  कुराको ढाक छोप गर्ने अनि एउटा फकिर साधु चिकित्सकको अभियानप्रति भने त्यत्रो अफवाह फैलाउने ?  दुराशय राख्ने ? यो एक सामान्य मान्छेको लागि पनि सुहाउने कुरा होइन झन् तपाईको लागि सुहाउला र ?  एक पटक ऐनामा आफ्नो अनुहार हेर्नुस त ? विगतमा माले बन्दा तपाईहरुले लगाएको आरोप एमालेका राष्ट्रघात एमालेमा विलय हुदा कसरी एकाएक सकियो, गुपचुप बिना आत्मालोचना गायब भयो, हरायो राजनीतिक परिदृश्यबाट लोप भयो त्यसबाट पनि थाह लाग्छ तपाईकति आवेगी र बिना अध्ययन धारणा बनाउनुहुन्छ तर अडन सक्नुहुन्न ? नैतिक तागत के हो र कस्तो हुन्छ भन्ने कुरा डाक्टर केसीको जिन्दगीबाट सिक्नुस बेफाइदा हुन्न पक्कै पनि ।

 

औपचारिक अध्ययन, अनौपचारिक भेटघाट छलफल खोज र अनुसन्धानको आधारमा  बिद्यार्थी कालदेखि आज सम्म उनी कुनै पार्टीसँग आवद्द भएको प्रमाण फेला पारेको छैन  यद्दपि उनको पार्टीगत आवद्दता मुख्य सरोकारको विषय हैन उनले उठान गरेका विषय , खिचेका ध्यान मुख्य हुन । डाक्टर गोवीन्द केसी कांग्रेस सरकार हुदा ८४ दिन भोकै बसेका छन् । शुशील कोइरालालाई तीन पटक र शेर बहादुर देउबालाई चार पटक आच्छु आच्छु  पार्ने व्यक्ति हुन । तपाई उनलाई कांग्रेस भएको आरोप लगाउनु हुन्छ आफ्नो सरकार विरुद्द भोकै बसेर आन्दोलन गर्ने उनी त महान नै हुन हैन र ? आफ्नो पार्टीले जे नकाम गरे पनि चुपचाप समर्थन गर्ने र विवेक बन्धक राख्ने भन्दा सकेको प्रतिरोध गर्ने काम ठिक होइन र ?

 

आफ्नो पार्टीले गलत गर्दा त्यसको विरुद्द सार्वजनिक रुपमा केसी झैँ बोल्ने साहस र नैतिकता छ तपाईसँग ? तपाईको मुख्य काम र सरोकार देशमा विद्यमान संकट टार्नु हो कि बल्झाउनु ? स्विस बैंकमा राखेको कालो धनको नालीबेली पत्ता लगाउनु हो कि ? सुमार्गीको भक्त हुनु हो ? हिजो सुमार्गीको  सम्पतिको श्रोत खोज्ने मान्छे आज किन बोल्न नसक्ने हुनुभयो ? जनयुद्दको जघन्य अपराधलाई छूट दिनु हुन्न, लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन गर्नुपर्छ भन्ने मान्छे आज किन निन्द्रामा हुनुहुन्छ ? सार्वजनिक जबाफदेहीता हुन्न र ?  निर्मला पन्त हत्यारा पत्ता लगाउन, तेत्तीस किलो सुन खोज्न , वाइडबडीकाण्डमा  देउबा र रवीन्द्रलाई पाता कस्न, प्रदेशसभाका मुक्केबाज मन्त्रीलाई नसियत दिन, देशभरको अब्यबस्था ठिक लगाउन, सरकारलाई घच्घच्याउने काम प्राथमिकता हो कि भोकले जिर्ण बनेको मान्छेलाई इलाम पुगेर लखेटने प्राथमिकता ?

 

एन्सेलको ट्याक्स काण्ड, ३३ किलो सुनकाण्ड, मार्सी काण्ड, रेशम काण्ड, निर्मला हत्याकाण्ड, होलिवाइन काण्ड, राष्ट्रपतिको १.५ अर्बको हेलिकप्टर र १८ करोडको गाडी काण्ड, आफैँ मुछिएको घरभाडा काण्ड, आयल निगम काण्ड अनि अहिलेको तात्तातो वाइडबडी काण्ड जस्ता काण्ड नै काण्ड भैरहेको देशमा योगेशजी तपाइँलाई केसीको भोकहड्तालले नै किन टाउको दुखेको हो ? अरु कुनै काण्डमा तपाई चुइक्क पनि नबोल्नुको कारण भन्नसक्नु हुन्छ ?  अनि एउटा जोगी जस्तो मान्छेको विरोधमा इलाम पुगेर कुर्लन अलिकति पनि लाज लागेन ? नबिर्सनुस हिसाब किताब नेताले मात्र होइन जनताले पनि राख्छन ।

 

डाक्टर केसी जतिनै बलशाली, बधशाली र तागत भएको सरकारसंग पनि डराउदैनन भन्ने कुरा हेक्का राख्नु होला किनकी उनीसंग सत्यको हतियार छ, नैतिक तागत र उच्च मनोबल छ असत्यमाथि विजय प्राप्त गरिछाड्ने दृढ अठोट छ । हो शारीरिक रुपले उनी कमजोर छन्, दुई शय दिन सम्मको भोक र अभावले उनको वृद्द शरीर क्रमशः निर्वल बन्दैछ, झन् भरखरै केहि समय अघि मुटूरोगले थालिएका उनको मुटु कमजोर नै छ । मासी गलेका छन् मांसपिण्डमा बल घटेको छ, रगतमा चिनी घट्दो छ, धमनिहरुले काम गर्न छोड्न, छोड्न लागेका छन्, डाक्टरहरुले दिएको रिपोर्ट अनुसार जुनसुकै बेला उनको होस् गुम्ने र मुटु मृगौला फेल हुने सम्भावना तीव्र हुदैछ तर उनको भित्री चुरो अलिकति पनि विचलित छैन र निराशामा छैनन् ।

 

डाक्टर केसी सर्वगुण सम्पन्न इश्वरीय अवतारका मानिस हुन या शीद्द पुरुष म त्यो मान्दिन र उनको देवत्वकरण ठिक लाग्दैन, मानवोचित गुण र कमि कमजोरी भएका मान्छे हुन् । सामान्य जीवनशैली र जिजिविषा भएका तर अठोट र दृढतामा खरो उत्रने परम्परागत सत्ताको बेथिति र बेसंगतिलाई नामेट पार्ने हठ भएका मृत्युलाई सहजै स्वीकार गर्ने बिरालकोटिका मनुवा हुन् । आफुलाई कष्ट दिएर नै भए पनि माफिया दलाल, भ्रष्ट र बिचौलिया धुर्त लोभिपापीहरुको मुटुमा ढ्यांग्रो ठोकाउने सामर्थ्य भएका सत्याग्रही हुन समयमा सत्ता र सत्ताधारीहरुको चेत खुलेको राम्रो ।