गोविन्दलाई नैतिकता सिकाउने योगेश, मुकदर्शक गगन !

सरकारले घरभाडा बापद दिएको रकम पनि कुम्ल्याउने अनि अन्जानमा आएछ भनेर लाज पचाउने माननीयले  डाक्टर के सीलाई नैतिकताको पाठ पढाउन मिल्ला र ?

केवल सत्ता पक्षलाई अलोकप्रिय बनाउने साधनको रुपमा मात्र के सीको सत्याग्रहलाई  उपयोग गर्ने, कथंकदाचित के सीको शरीर तलमाथि भयो भने त्यसलाई राजनीति गर्ने उदेश्यमा त छैन कतै  कांग्रेस ? संसदीय समितिमा प्रतिवाद बाहेक गगन पनि किन मौन देखिन्छन ?

 

 

 

 

गोविन्द बहुलाउछन, गगन रक्षात्मक बन्छन अनि योगेशहरु उछितो काढछन् डाक्टर गोविन्द के सी र उनले शुरु गरेको सत्याग्रहको । गोविन्द आफू मात्र बहुलाउदैनन अरु धेरैलाई पनि बहुलाउने बनाउछन । गोविन्द बहुलाउदा देश तरंगित बन्छ । सुत्छन् गोविन्द भोकै तर भोक प्यास, निन्द्रा, सपना र चैन हराउछ ब्यापारीहरुको । ब्यापारी यस्ता छन् जो राजनीतिको भेषमा छन्, व्यापार गर्छन तर न्युनतम ब्यापारिक नैतिकता पनि कायम राख्दैनन् । ब्यापारी संसद्को भेषमा पैसाको बलमा संसदमा पुग्छन र प्रणाली कब्जा गरेर बैधानिकताको खोल ओढाएर सिस्टमको वकालत गर्छन, भ्रम सिर्जना गर्छन र भ्रम वेच्छन । सिस्टमको बर्को  ओढाएर जनताको खुन,पसिना लुटेको  डाक्टर गोविन्द मन पराउदैनन र अनवरत बहुलाई रहन्छन ।

 

औशि-पूर्णेमा मात्र हैन जुनसुकै बेला बहुलाउछन, हर बखत बहुलाउछन, सूचना दिएर बहुलाउछन्, अल्टिमेटम ठोकेर बहुलाउछन । स्मरणीय के छ भने यी बहुलाउदा, पटक पटक अनशन बस्दा यिनको रवैयाबाट आत्तिने, आजित हुने, तर्सने र  दिक्दार मान्ने यी सँग असहमत मान्छे त हुन्छन नै यो आन्दोलनको निशाना तिनै हुन पनि । तर उनको थुप्रैपटक  सत्याग्रह थालनीले धेरै उनका आफन्त,फ्यान, फ्लोअर्स, शुभेच्छुक बिलखबन्धनमा  पर्छन ल  फेरि थाले बेला न कुबेला भनेर असिन पसिन बन्छन, निधार खुम्च्याउछ्न । किनकि मान्छेहरु सत्याग्रहलाई कुनै विशेस अवसरमा गरिने कार्य मात्र सम्झन्छन । साइत निकालेर गर्ने कर्म र अनुष्ठान जस्तो मान्छन तर गोविन्द  सम्झौतामा घात भएको र हुन लागेको आभास हुने बित्तिकै  सुतीहाल्छन अनि सामान्य मान्छेमा असमन्जस्यता देखिन्छ तर उनको अनवरत अनुष्ठानले चुप लागेर बस्ने स्थिति बन्दैन सारा देश उनको समर्थनमा उर्लन्छ ।

 

एउटा सामान्य मान्छेका रुपमा यिनका पनि कमजोरी छन्, हुन्छन कमजोरी नहुने को होलान र ? उनका पनि हठ छन् देखिन्छन हठ नदेखिने मान्छे पनि हुन्छन र ? यिनका पनि अहम् छन् संसारमा सर्वगुण सम्पन्न र पूर्ण मान्छे त कोहि छैन ? भगवान समेत कमजोरी रहित छैनन् भनिन्छ । यँहा मनन गर्नु पर्ने विषय चै के हो भने कस्तो मुद्दा र कसका लागि ?  के सी मर्न राजी छन् । सामान्य र जनजनको मुद्दा बोकेर के सी यो देशका ठूलाठूला शासकहरुसँग पौठेजोरी खेलेर बहुलाउछन । त्यसैले शासकहरु पागल भनेर यिनलाई कहिले पक्रेर थुनिदिन्छन ।  दुत्कार्छन, निम्न कोटीको  गाली गर्छन । निहत्था फकिर र जोगीसंग सरकारहरु थुर्थुरी हुन्छन् । किनकी डाक्टर के सीले बोकेको सत्य र निष्ठाको हतियार सँग बेइमान, भ्रष्ट र नालायकहरुलाई असाध्यै ठुलो भय छ, त्राश छ, डर छ । आफ्नो डर भगाउन डाक्टर केसीको सत्य आवाजलाई थुन्ने, छेक्ने, दवाउने र गलाउने रणनीतिमा सरकारहरु लागि रहन्छन । तर सत्यको सामर्थ्यको अघिल्तिर झुट धेरै टिक्दैन ।

 

सरकारहरुको पटक पटक सम्झौता गरेर थाङ्गनामा सुताउने रणनीतिको पछिल्लो शृंखला हो १६ औ अनशन । कस्तो बिडम्बना भोको सुत्छ एउटा निंद हराउछ अर्कोको ? शासन सत्तामा रहने हर कोहीको टाउको दुखाईको विषय हो सत्याग्रह । २०६९ असार देखि आज सम्म १६ औ पटक हाम्रो देशको सत्ताको नाभीमा सुल पसेको छ । सत्ता सारथी देखि बिभिन्न संबैधानिक निकायका प्रमुख सम्म बेथितिको आहालमा चुर्लुम्म डुबेका कारण डाक्टर के सीको निशाना त्यतातिर सोझिन्छ । आफुलाई सर्वशक्तिमान सम्झने, अख्तियार प्रमुखदेखि, सर्वोच्च न्यायालयका मुख्तियार सम्म सत्याग्रहको भुंग्रोमा भस्म बने ।  कति डामिय, कतिपय प्रताडित छन् दुष्कर्मको खेलले सत्कर्मको विधानले । तसर्थ डाक्टर के सीले थालनी गरेको सत्याग्रहमा अथाह शक्ति छ दम छ र सबैभन्दा महत्वपूर्ण कुरा सत्यको अजेय आवाज छ जो बहुजन हितायको पक्षमा छ ।

 

आफ्नो कुत्सित स्वार्थमा ठेस लाग्नेहरुको नजरमा एउटा सन्काह सरकारी कर्मचारी हुन डाक्टर के सी । नाथे प्राध्यापक र डाक्टर हुन, हैसियत भन्दा माथि गएर बोल्ने, सरकार प्रमुखलाई मुख मुखै लाग्ने मुख वैरी भएका अगतिला मान्छे हुन । कसैलाई मान्छे नगन्ने, सरकारको तलब खाएर सरकार विरुद्द नै अनशन बस्ने, अनुशासनहिन, नैतिकहीन र भ्रष्ट काम नलाग्ने कर्मचारी हुन । सरकारलाई दुख दिने, सरकारको काममा भाँजो हाल्ने खराव मनुवा हुन, कसैको उक्साहाटमा काँधमा बोकीएका ढोंगी पात्र हुन, अमुक शक्ति र स्वार्थका देखावटी मोहोरा हुन । सादगिको पछ्योरा ओढेर सरकारहरु विरुद्द प्रहार गर्ने कसैका हतियार हुन आदि इत्यादि।

 

सरकारी अधिकारी त्यसमाथि पनि तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले मानसिक सन्तुलन बिग्रेको र उपचारको प्रबन्ध गर्न सरकारलाई आव्हान गरेर पहिलोपटक सरकारी दस्ताबेजमा पागल घोसणा गरिएका पात्र हुन । कस्तो र कत्रो विरोधाभाष पागल भनिएका डाक्टर के सीलाई सरकार उपचार गर्न पनि सक्दैन, जागिरबाट बर्खास्त गर्न पनि सक्दैन बरु उनका सामु बारंबार झुकेर, गलेर उनीसंग सम्झौताको कबोल गर्छ, उनले भनेको मान्छौ भनेर दुनियाँमा ढोल पिटछ  । एउटा पागलसँग झुकेर सम्झौता गर्ने कस्तो सरकार ? एउटा पागल डाक्टरले कस्तो उपचार गर्छ ? उसलाई किन बिरामी जाच्ने र औसधि लेख्ने छूट दिएको यसैबाट प्रस्ट हुन्छ सरकारहरुको निरिह र लाचारप्रवृति । एउटा पागल भनिएको मान्छे सँग दर्जनौ सम्झौता गर्ने अनि फेरि आफै उलंघन गर्ने कस्तो परिपाटी  ? पागलसँग पनि कुनै सम्झौता हुन्छ र ? पागलको त उपचार हुन्छ ।  एउटा नागरिकको अझ देशको एक प्रोफेसर डाक्टरको उपचार गर्नु राज्यको कर्तव्य र दायित्व हो ।

 

एउटा कर्मचारी अनुशासनहिन भएमा, अराजक भएमा कार्यबाही गर्नु, काम नै नलाग्ने हो भने जागिरबाट निकाला गर्नु सरकारको आफ्नो बिजनेश हो । बिरामी भएमा उपचार गर्नु पर्नेमा पागल भन्दै सार्वजनिक सत्तोसराप सुहाएन योगेश कमरेड ? काठमाडौँमा अपारदर्शी ढंगले घर ठड्याउने, सरकारले घरभाडा बापद दिएको रकम पनि कुम्ल्याउने अनि अन्जानमा आएछ भनेर लाज पचाउने माननीयले  डाक्टर के सीलाई नैतिकताको पाठ पढाउन मिल्ला र ? बिद्या कमरेडको सेतो साडीमा रातो मसी छर्केर विपक्षी दललाई लान्छना लगाउने संवेदनहीन राजनीति गर्ने स्कुलिंगबाट हुर्केका मान्छेहरुको, ढोंगको पराकास्ट जान्ने मान्छेको, नैतिकता डाक्टर के सी सँग तुलनायोग्य हुन्छ र योगेश कमरेड ? सार्वजनिक जीवनमा, राजनीतिको दौरानमा आफ्नो शुद्दता हेर्नुस, अनि डाक्टर के सीको निष्ठा प्रति औला देखाउनुहोस । आफ्नो ओइलाएको र बासी नैतिकता भुलेर डाक्टर के सीको तीन करोड नेपाली प्रतिको प्रतिवद्दता झुट कसरी भयो ? राजनीति धन्दा, पेशा र ब्यबसाय बनाउने तपाईहरु जस्ताको मुखुण्डो एकएक गरी समय क्रममा उत्रने छ ।

 

डाक्टर के सी पुर्वान्चलमामा अनशनमा छन् उनको अनशनको उदेश्य र तपाइको कम्युनिष्ट विचारधाराको मेल त्यहाँ भयो भएन ? एक सच्चा कम्युनिस्ट भएर सोच्नुस त डाक्टर के सी अहिले अनशन बस्नुमा कसको बेइमानीले काम गरेको छ ? तपाई डाक्टरी डिग्रीको गुणस्तरमा विश्वास गर्नुहुन्छ कि त्यो बेच्दा प्राप्त हुने आम्दानीमा विश्वास गर्नुहुन्छ ।  सर्वसाधारण नेपालीलाई तपाईहरुलाई झैँ उपचारको लागि विदेश धाइरहने सुबिधा छैन तर जनतालाई सिटामोल आफ्नै गाउमा बाड्ने उदेश्य राख्दा किन टाउको दुख्छ ? भर्खर साउन महिनामा के पी ओली सरकारले गरेको सम्झौता किन कार्यन्वयन गर्न नसकेको ? झुठ जाल झेल र कपट गरेर माथेमा आयोगको प्रतिवेदन किन कच्याककुचुक पार्नुभयो ?

 

डाक्टर के सीका सबै माग पुरा भए भनेर सफेद झुट बोल्न अलिकति पनि लाज किन नलागेको होला ? विधिको शासन भनेको प्रणाली कब्जा गरेर मनपरी गर्नु हो ? देशको स्वार्थको लागि शासन हुन्छ कि सिमित मान्छेको स्वार्थको लागि ? गोविन्द के सीको मुद्दा ठुलो कि बोलीवचन ठुलो । जीवन दाउमा राखेर गरिएको सम्झौतामा पटक पटक धोका पाए पछि त्यो जिव्रोले नरम नै बोल्नुपर्छ याचना नै गर्नुपर्छ  भन्ने कतै छ र ? भलै डाक्टर के सीले नराम्रो बोलुन, जे पनि भनुन मेरो मनशाय होइन, उनले अपनाएको प्रतिवाद बोलीको शैलीप्रति मेरो पनि बिमति छ । धोका छलछाम पछिको प्रतिक्रिया एउटा मान्छेको हकमा उनमा पनि लागु हुन्छ, मान्छे हो क्रोध, आवेग र रोष प्रकट हुन्छ नै । सरोकार कस्तो बोले कसरी बोले होइन कसको मुद्दा बोके, कसको हितको खातिर रिसाए ? किन सधै जिन्दगी हत्केलामा राखेर मर्न तयार छन् ? के आफ्नो कुनै छुद्र स्वार्थको लागि मान्छे मृत्यु पत्रमा हस्ताक्षर गरेर निष्ठामा अडन सक्छ ?

 

डाक्टर के सीलाई कांग्रेस पुष्टी गर्न अनेकन हर्कत र तर्कहरुको आविस्कार भएको पाइन्छ विशेष नेकपाबाट  । कांग्रेस त मख्ख नै होला डाक्टर के सी लाई कांग्रेस भनाउँन पाउदा तर सर्वसाधारण उनलाई एक निष्ठा योग्य साधक केवल डाक्टर के सी कै आफ्नो स्वपहिचानमा श्रद्दा गर्न मन पराउछन । जनतलाई यो पनि थाह छ डाक्टर के सी कांग्रेस सरकार भएको बेला ८४ दिन निर्जल, निराहार व्रत बसेर अन्न पानीको शरीर त्याग्न तयार मान्छे हुन । यस्ता मान्छेलाई कांग्रेसको बिल्ला भिराइएको जनताले कति दिन पत्याउने ? हिजो लोकमानको बिरोध गर्दा र गोपाल पराजुलीको बिरोध गर्दा तपाईहरुको हाइकमाण्ड नै के सी महान छन् भन्दै हिडेको बिर्सनु भयो । आज पनि तपाईको पार्टीका  इमान्दार नेता कार्यकर्ता  डाक्टर के सीको अभियानमा छन  के ’em सबै कांग्रेस हुन?

 

एउटा सत्य के हो भने गगन थापाले आफ्नो कार्यकालमा स्वास्थ मन्त्रीको हैसियतले जे जति गरेकाछन् उनैले जनतालाई थाहै होला । शेरबहादुरको कार्यकालमा डाक्टर के सीले उठाएको मुद्दामा कांग्रेस घस्रदै लत्रदै, बलजफ्त  सम्बोधन गर्न राजी भएर अध्यादेशमार्फत औपचारिकता दिएको हो । तर आज कांग्रेस र गगन थापा आफ्नो कार्यकालमा पनि सम्झौता भएको कुरामा जसरी अघि जानुपर्थ्यो त्यो सकेको छैन । केवल सत्ता पक्षलाई अलोकप्रिय बनाउने साधनको रुपमा मात्र के सीको सत्याग्रहलाई उपयोग गर्ने, कथंकदाचित के सीको शरीर तलमाथि भयो भने त्यसलाई राजनीति गर्ने उदेश्यमा त छैन कतै ? संसदीय समितिमा प्रतिवाद बाहेक गगन पनि मौन देखिन्छन ?

 

जिर्ण  के सीको शरीर कतिन्जेल थेगीन्छ र मृत संजिवनी बुटी बन्छ के सीको सत्याग्रह कांग्रेसका लागि ? के सी मरेपछि मात्र राजनीतिको फाइदाको हिसाब गरेर सत्तासंग लेनदेन गर्ने हो गगनजी ? खबरदार के सीको ज्यान तलमाथि हुनेगरी राजनीतिको सौदाबाजी गरे जनताले त्यसको हिसाब चुक्ता गर्नेछन । कांग्रेसजनहरु के सी मारेर होइन के सी बचाएर राजनीति गर्नुस उनको उदेश्य कसैको उत्थान र पतनको लागि होइन मात्र नेपाली जनताको लागि हो चेतानाभया ! आज सातौ दिन हुदैछ के सीको व्रत खै किन चुपचाप र मौन छ कांग्रेस ? के सीको मलामी बन्ने रहरमा त छैन कांग्रेस ? प्रमुख प्रतिपक्षी कांग्रेसको मौनता र सत्ता पक्षको संगिन आक्रमण के सीको मृत्युको सामसुम एकता हो कि ? मृत्युका ब्यापारी, माफिया, दलाल र विचौलियाले कब्जा गरेको राजनीतिमा सत्ताधारी र प्रतिपक्षी वीच अघोषित एकता भएको छैन ? के सीको भौतिक देह सिद्द्याउन शंका गर्ने थुप्रै आधारहरुछन  ।