तालमेलको तरखर

- एमालेमा माओवादी मिसिँदा एमाले एकीकृत माक्र्सवादी–लेनिनवादी–माओवादी अर्थात् ‘एमालेमा’ बन्न जानेछ । माओ थपिँदा त्यहाँ माओ नै आइहाल्ने होइनन्, उनको पताका फहराउँदै प्रचण्ड भित्रिने छन् ।
- नेपाल हिन्दू आस्था प्रधान मुलुक हो र यहाँ हिन्दुत्वका खिलाफमा जाने राजनीतिज्ञको आसन र पद दुबै असुरक्षित हुन्छ । प्रचण्डले प्रकारान्तरमा यही कुरा बुझेर यो दशैंमा आफ्नो कलेवर फेरेका हुन् ।
यतिखेर दुइटा विषय चर्चामा छन् । एउटा विषय हो, एमाले र माओवादी केन्द्र चुनावी तालमेल गर्ने, निर्वाचनपछि एउटै पार्टी बन्ने प्रसंग । अर्को, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दशैंको टीका लगाएकोमा प्रतिक्रिया । पहिलो चर्चाको विषय, राजनीतिक हो र दोस्रो पनि सांस्कृतिक आवरणमा राजनीति नै ।
पहिलो विषय झट्ट हेर्दा सैद्धान्तिक प्रतीत हुन्छ । दुबै दल कम्युनिस्ट हुन् । माक्र्सवाद, लेनिनवाद दुवैका मार्गदर्शक सिद्धान्त हुन् । आजको एमाले, कोअर्डिनेशन कमिटी हुँदै माले हुँदासम्म चीनका चेयरम्यान माओ प्रतिपादित पथकै अनुगामी थियो । २०५२ सालको माओवादीले जस्तै उसले पनि माओबाटै प्रेरित भएर २०२८ सालमा झापामा वर्गशत्रु समाप्त नामको हिंसात्मक अभियान सञ्चालन गरेको थियो ।
माओवादीको जस्तै मालेका तारो पनि गाउँका औसत किसिमका साहू महाजन थिए । अर्थात् स्थापनाकालमा दुबैको अभिमुखीकरण हिंसात्मक थियो र दुबैको उद्देश्य हिंसाद्वारा नै राज्यसत्ता कब्जा गर्ने रहेको थियो । यहाँ तात्पर्य हो, एमाले र माओवादीमा एकीकरण हुनु, यदि हुन्छ भने, त्यसलाई सैद्धान्तिक हिसाबले स्वाभाविक ठान्नु र मान्नुपर्छ ।
तर हाल चर्चामा रहेको एकीकरणको प्रसंग, दुबै दलको उस्तै खाले जन्म–कर्मका कारण होइन । एमाले, मदनकुमार भण्डारीको बहुदलीय जनवाद हुँदै केपी शर्मा ओलीको राष्ट्रियताको भावभाषासम्म आइपुग्दा झापाकाण्डको माले रहेको छैन, यसले यसबीच धेरै भोटा त के दौरा सुरुवाल नै फेरि सकेको छ ।
आज त झन् एमाले राष्ट्रिय चर्चाको शिखरमै छ ।
त्यसैले माओवादीलाई आफूमा मिसाउने, एकआपसमा विलय हुने प्रसंग एमालेको भन्दा पनि माओवादीको आवश्यकताबाट प्रेरित छ यद्यपि निश्चय नै एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षबाट यसै आसयका अभिव्यक्ति आइरहेका छन् । वामदेव गौतमको त यो पुरानै लाइन हो ।
एमालेमा माओवादी मिसिँदा एमाले एकीकृत माक्र्सवादी–लेनिनवादी–माओवादी अर्थात् ‘एमालेमा’ बन्न जानेछ । माओ थपिँदा त्यहाँ माओ नै आइहाल्ने होइनन्, उनको पताका फहराउँदै प्रचण्ड भित्रिने छन् । प्रचण्डको प्रवेश हुनासाथै पार्टीको नेतृत्व समीकरणमा, स्वाभाविकै हो, उथलपुथल नभए पनि फेरबदल त हुनेछ नै । त्यसपछि त्यहाँ अहिलेजस्तो ओलीको एकछत्र वर्चस्व रहने छैन । त्यसबाट नेपाल, खनाल र गौतमका लागि पनि स्थान सुरक्षित हुन सक्छ ।
पछिल्लो समयमा एमालेमा ओलीको उदयसँगै उनको एकल नेतृत्व अविवादित जस्तै बन्न गएको र यसैकारण नेपाल, खनाल र गौतम छायामा पर्दै गएका छन् । प्रचण्डको आगमन भए उनीहरुलाई राहत हुनु त छँदैछ, यसबाट ओलीलाई ‘ठाउँ’मा राख्न पनि सम्भव हुनेछ यहाँ तर स्मरणीय छ, एमाले माओवादी एक बन्ने चर्चा पहिलो पटक भइरहेको होइन । यसभन्दा पहिला पनि यस्ता चर्चा हुने गरेका र ती चर्चाहरु त्यतिकै बतासिने गरेका हुन् । यस्तो अकारण भएको होइन । कारण छ ।
नेपालका प्रायःजसो सबै दलहरु आफ्नो दिशा आफैं तय गर्दैनन् । तिनमा बाह्य शक्तिहरुको प्रचुर प्रभाव रहने गर्छ । बाह्य शक्तिहरुको प्राथमिकतामा उनीहरुको आफ्नै हित हुने गर्छ र त्यसो हुनुलाई किमार्थ अन्यथा मान्न मिल्दैन । त्यसमा पनि माओवादी शुरुदेखि नै, अझ विशेष गरेर २०५८ सालदेखि बाह्य शक्तिको परामर्श र संरक्षणमा आश्रित रहँदै आएको छ ।
यसर्थ, प्रचण्ड तथा माओवादी केन्द्रका अन्य अग्रपंक्तिका पात्रहरुले चाहँदैमा यो पार्टीले आफैं आफ्नो दिशा तय गर्न सक्दैन । उसले सोध्नुपर्ने ठाउँ छन् र तिनलाई नसोधी कुनै निर्णय गर्न सक्दैन ’cause बाह्य शक्तिले चाहँदा माओवादीका अग्रपंक्तिका नेताहरुविरुद्ध युद्धकालीन अपराधका अस्त्रहरु प्रयोग गर्न सक्छ । उनीहरुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनेसम्मको उद्यम हुन सक्छ । त्यसैले एमाले माओवादी एकीकरण बाह्य शक्तिको स्वार्थ अनुकूल छ, छैन … यो प्रश्न महत्वपूर्ण हुन आउँछ ।
तथापि, बाह्य शक्तिमध्ये नेपालमा कुन शक्ति, भारत कि चीन शक्तिशाली यस’bout यकिन जानकारी नभइ तालमेल हुन्छ अथवा हुँदैन ठ्याक्कै भनिहाल्न मिल्दैन ।
तालमेलको प्रयत्नबीच प्रचण्डको टीका प्रसंग
अब अर्को, प्रचण्डले लगाएको दशैंको टीकाको, प्रसंग । उनीभित्र अन्तर्हृदयबाट नेपालको भू–संस्कृतिप्रति आस्था पैदा भएर उनले परिवारजनलाई टीका लगाइदिएका र आफूले पनि अग्रजबाट टीका ग्रहण गरेका होइनन् । यहाँ के नबिर्सौं भने प्रचण्ड राजनीतिज्ञ हुन् र राजनीतिज्ञलाई आसन र पद प्राप्त गर्न भोट चाहिन्छ ।
नेपाल हिन्दू आस्था प्रधान मुलुक हो र यहाँ हिन्दुत्वका खिलाफमा जाने राजनीतिज्ञको आसन र पद दुबै असुरक्षित हुन्छ । प्रचण्डले प्रकारान्तरमा यही कुरा बुझेर यो दशैंमा आफ्नो कलेवर फेरेका हुन् । यसका साथसाथै उनले वास्तवमा आफू, आफ्नी अर्धांगिनीसहित सपरिवार इसाई भएको भनेर लाग्ने गरेको लगातारको आरोप खण्डन गर्ने कोशिश पनि गरेका हुन् ।
तथापि, एउटा शंकाको सुविधा दिन सकिन्छ, मानिसमा ढिलोचाँडो भित्री परिवर्तन आउँछ, भित्रैबाट उज्यालो भरिन्छ । शरीरमा बल छँदै, उमेर रहँदै त्यस्तो परिवर्तन आए अत्यन्त उत्तम । तर, वृद्धावस्थामै भए पनि चेत खुल्नु नराम्रो होइन ’cause बुढेसकालमै चेत खुले पनि उसले नास्तिककै रुपमा मर्नु पर्दैन ।
मैले राजनीतिक विश्लेषकको आँखाले हेर्दा प्रचण्डको दशैंको टीकामा संस्कृतिको आडमा राजनीति देखें, तर माथि नै भनें उनलाई शंकाको सुविधा दिन सकिन्छ । उनीमा भित्रैबाट परिवर्तन आएको पनि हुनसक्छ र कामना गरौं होस् पनि त्यस्तै ।
तर हामीले जे जस्तो कामना गरे पनि प्रचण्डले भने दशैंको टीका एमालेमा प्रवेश गर्ने साइत जुराउन लगाएका पनि हुनसक्छन् ।