कहाँ छ नेपालको कुटनीति ?

दुई देशको बीचमा व्यक्तिगत, सरकार, सैनिक, गुप्तचर, मन्त्रालय, प्राध्यापक, विद्यार्थी, पत्रकार, कलाकार, लेखक, साहित्यकार, ब्यापारी, भुतपुर्व राजदुत, नातागोता जस्ता सयौं सुत्रहरु हुन्छन्, जसको सदुपयोग गर्न नसक्नु राजदुतावास वा राजदुत र परराष्ट्र मन्त्रालय वा परराष्ट्र मन्त्रीको असमर्थता नै हो, कुटनीतिक असमर्थता नै हो । भनिन्छ संसारमा सबै व्यक्ति योग्य नै हुन्छन् मात्र सहि व्यक्ति सहि पदमा पुग्नु पर्दछ, सायद यस्तै पो भयो कि ?
एकातिर कोभिड१९ महामारीले विश्वनै आतंकित छ । हरेक दिन सूर्यास्त सँगै सबै देशले अनिवार्य जस्तै दिनभरीमा कती जना संक्रमित थपिए, कतिजनाको मृत्यु भयो, कतिजना निको भएर घर फर्किए भनेर अंक प्रस्तुत गर्ने गर्छन् ।
विश्वको यो कोरोना दौडमा यो लेख तयार पारुन्जेल सम्म भारत २२,१२३ मृतक संख्या र ८,२०,९१६ संक्रमित संख्या सहित तेश्रो स्थानमा छ । यहि मौकामा उसले नेपालले आफ्नो भनेर दावी गरेको र उसले समेत स्वीकारेर विवादास्पद भुमि भनिसकेको कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोबर जाने मोटरेबल सडकको उद्घाटननै गर्न भ्यायो ।
छिमेकी मित्र राष्ट्रले जानाजान आफ्नो भुमि हडपिसकेपछि बल्ल नेपाल सरकार ब्युँझियो र हतार हतार कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्शा संसदबाटै पास गर्ने आँट गर्यो । भारतले नेपालले यती सम्म गर्ला भन्ने कल्पनै गरेको थिएन ।
हेपाहा प्रवृत्तीको भारत संसदमा भएका सम्पूर्ण दलको एकता देखेर स्तब्ध भयो । त्यसपछि त्यहाँका पत्रकारहरु तिलमिलाउन पुगे । कोरोनाकै बीचमा गलवान उपत्यकामा उसको चीनसँग घम्साघम्सी परिसकेको थियो जसमा २० जना भारतीय सैनिकले ज्यानको आहुती दिइसकेका थिए । चीन सँग परेको घम्साघम्सी र आफ्ना सैनिकको मृत्युले उनीहरुले चीनलाई दुश्मन देख्नु स्वाभाविक हो तर एक्कासी उनीहरुले चीन सँगको ह्रिस नेपालका हरेक गतिविधी माथी टिप्पणी गरेर पोख्न थाले ।
नेपालको सम्भव भएसम्मका विवादास्पद विषयमा चीनलाई जोडेर काल्पनिक र भ्रमले भरिएको कथा बुनेर समाचार बनाउन एकपछि अर्को तँछाड मछाड गर्न थाले । नेपाल र भारत बीचको समस्याको वास्तविकता के हो भनेर यथार्थ धरातल सम्म पुग्ने जरुरत नै सम्झेनन् ।
नेपालमा कम्युनिष्ट पार्टीको सरकार छ भन्ने उनीहरुलाई थाहा भएकै कुरा हो । उनीहरुलाई यो पनि थाहा छ, नेपाल पूर्ण रुपले चीनको जस्तै कम्युनिष्ट प्रणाली भएको सरकार होईन । तर पनि उनीहरु नेपालले वा वर्तमान सरकारले हरेक गतिविधी चीनले भने अनुसार गर्छ भन्ने मानसिकताले भरिएको समाचार जबरजस्ती सम्प्रेषण गरिरहेका छन् । संयोग कस्तो भने, नेपालको सत्तारुढ दलभित्र अहिले भिषण झमेला छ । घर भित्रको झगडामा उनीहरुले दिनदहाडै चिनियाँ राजदुतको हस्तक्षेप स्वागत गरिरहेको सत्य हो । प्रधानमन्त्री केपी वली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सबैले उनलाई रातो कार्पेट ओछ्याएकै हुन् ।
तर, यस्तो हरकतको बावजुद उनीहरुले नेपाली प्रधानमन्त्री र चीनियाँ राजदुतको ’boutमा कपोलकल्पित र भ्रामक समाचार बनाउन समेत भ्याए । हनि ट्रयापिङ सम्मको दोषारोपण गरे । नेपाललाई सिधै चीनियाँ पपेट भनेर सम्बोधन गरिरहेका छन् ।
यत्ती हुँदा पनि नयाँ दिल्लीको बाह्रखम्बा रोडमा रहेको नेपाली राजदुतावास के हेरेर बसेको छ ? बयोबृद्ध राजदुत अझ पनि कोहि रिसाउँ छ कि भनेर डराई रहनु भएको त छैन ? बल्ल बल्ल पाएको पद जाला भन्ने डर छ कि ? भारत–नेपाल प्रबुद्ध व्यक्तिको समुह, ईपिजी, जसको रिपोर्ट बुझ्न भारतले अहिले सम्म आनाकानी गरिरहेको छ, को सदस्य उहाँ स्वयं पनि हो । सायद भारत सँग राम्रै सम्बन्ध भएरनै त होला उहाँलाई ईपिजीको सदस्य बनाइयो र हाल राजदुत बनाएर पठाइएको छ । भन्ने ठाउँमा भनेकै छु भनेर मात्र त भएन ।
नेपाली जनताको हैसियत सँधै दयनिय हुनुको प्रमुख कारण सम्बन्धित ठाउँमा पुगेका व्यक्तिले आफ्नो जिम्मेवारी जागिरे पाराले बिताएरनै हो । राजदुत पद भनेको दश पाँचको जागिर खाने पद त अवश्य पनि होइन होला ? भोली पर्सि पद सकिएपछि उहाँले कतै भन्नुहोला, वा आत्मवृतान्तमा लेख्नुहोला मैले त्यतीबेला यसो गरें र उसोे गरें भनेर अझ भन्नुहोला कुटनितीमा सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर । खै त भित्र भित्र पनि त केहि भएको देखिएको छैन ?
आफ्नो भूमि भनेर दावी गरिएको जमिनमा त्यत्रो उद्घाटन नै हुने अवस्था सम्म पनि न त राजदुतावासले थाहा पायो न राजदुतले थाहा पाए, जब सम्बन्धीत देशको कुटनितीक नियोगले थाहा पाउँदैन भने परराष्ट्र मन्त्रालयले कसरी थाहा पाउला ? नेपाली जनताले खाईनखाई बुझाएको करको अर्को एउटा अवमुल्यन ।
भारत स्थित नेपाली दुतावासको नाजुक अवस्था एकातिर छँदै छ भने अर्को तिर यसलाई खटन पटन गर्ने नेपालको परराष्ट्र मन्त्रालय पनि कतै हराएको जस्तो वा यो मन्त्रालयनै नभएको जस्तो आभाष भईरहेकोछ । परराष्ट्र मन्त्रालय त्यहि भनिरहेछ जुन राजदुतले भनिरहेकाछन्, कुटनीतिमा सबै कुरा बाहिर आउँदैन भनेर । परिक्षा दिने विद्यार्थीले दिनरात नसुतिकन किताव पुरै कण्ठ पारेता पनि उसको सफलता र असफलता जाँच्ने कडि भनेको परिक्षाफल नै हो । हामी पनि हाम्रो परराष्ट्र मन्त्रालयको वा परराष्ट्र मन्त्रीको रातदिनको दौडधुप मात्र होइन परिणामको पर्खाइमा छौं ।
दुई देशको बीचमा व्यक्तिगत, सरकार, सैनिक, गुप्तचर, मन्त्रालय, प्राध्यापक, विद्यार्थी, पत्रकार, कलाकार, लेखक, साहित्यकार, ब्यापारी, भुतपुर्व राजदुत, नातागोता जस्ता सयौं सुत्रहरु हुन्छन्, जसको सदुपयोग गर्न नसक्नु राजदुतावास वा राजदुत र परराष्ट्र मन्त्रालय वा परराष्ट्र मन्त्रीको असमर्थता नै हो, कुटनीतिक असमर्थता नै हो । भनिन्छ संसारमा सबै व्यक्ति योग्य नै हुन्छन् मात्र सहि व्यक्ति सहि पदमा पुग्नु पर्दछ, सायद यस्तै पो भयो कि ?
मलाई अवकाश प्राप्त व्यक्तिहरुका अन्तर्वार्ता सुन्न, हेर्न र पढ्न मनै लाग्दैन, ’cause उनीहरु पदमा बसुन्जेल गर्न नसकेको कुराहरुको फेहरिस्त ल्याएर यसो गर्नु पर्छ र उसो गर्नु पर्छ भनेर अर्ति उपदेश र आक्रोश पोखिरहेका हुन्छन् । गर्ने भए कार्यकाल हुँदै गरे भैहाल्यो नी, कसले रोकेको छ, मौका नै यहि हो, नेपाल सरकारका एक जना कर्मचारी छन्, प्रेमप्रसाद सञ्जेल जसले प्रधानमन्त्री वलीलाई नै सिधै ललकारेतापनि बिराटनगरको श्रम कार्यालय सम्हालिरहेका छन्, सहि कुराको लागि किन डराउने, जनताको साथ पाइहालिन्छ ।
हामी जनतालाई न त भारतीय राजदुतको सक्रियता मन पर्छ न त चीनियाँ राजदुत कोे, न अमेरिकी को नै । कुनै पनि देशको राजदुतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अनुमती छैन, यसमा जोडदार रुपले खबरदारी गर्नै पर्छ । यस्तो क्रियाकलापलाई बढावा दिने राजनीतिक दल र तिनका नेताहरुका बिरुद्धमा बिरोध गर्नै पर्दछ तर जब हनि ट्रयापिङ र चीनिया पपेट सम्मको वाईहात समाचार भारतीय मिडियाले मच्ची मच्ची भन्छ देशले त्यसको प्रतिवाद गर्न पछाडि हड्ट्नु हुन्न ।
भनिन्छ, कालो बादलमा पनि चाँदीको घेरा हुन्छ, भारतको हरेक गलत कार्यले नेपालका राजनीतिक दल देखि जनस्तर सम्मले राष्ट्रियताको सम्बन्धमा एकै श्वरमा बोलिरहेका छन् । प्रधानमन्त्री वली कुनै पार्टीका नेता होलान, उनी सँग अनेकौं मतान्तर होला त्यो हाम्रो देशभित्रको नीजि मामला हो तर कुनै विदेशी सञ्चार जगतले ढ्वाङ फुकि फुकि हुँदै नभएको कुरालाई एउटा छिमेकी मित्र राष्ट्रको राजदुतलाई समेत संलग्न गराएर, गोयवल्स शैलीमा हो भन्ने बनाएर प्रचार गर्छ भने त्यो नेपाली जनता र नेपाल देशकैै लागि अपमान हो ।
यो मामलामा नेपालका प्रधानमन्त्रीलाई सदनमा रहेका वा नरहेका सम्पूर्ण दलहरुले समर्थन गरिरहेका छन् । यो खुशीको कुरा होे, साथै हाम्रा दलहरु र नेताहरु परिपक्व हुँदै गएको सन्देश पनि हो, अहिलेलाई यसैमा चित्त बुझाउँ ।