राष्ट्र निर्माताको सम्मान ! अग्रजको सम्मान !

नेतृत्वका नायक पृथ्वीनारायण थिए भने सहनायक विसे नगर्ची लगायत हाम्रा बीर पुर्खा र सिपाहीहरु भएको तथ्य पनि जीवन्त छ ।अरुको सम्मानले आफ्नो पनि सम्मान अभिवृद्दी हुन्छ भन्ने कुरा हेक्का राख्न कथित क्रान्तिकारी नेता र कार्यकर्ताले  जरुरि छ । इतिहास बिगारेर, इतिहासको अपब्याख्या गरेर, इतिहासको अवमुल्यन गरेर बर्तमानमा कहिँ पुगिदैन । इतिहास गलत गर्नेको पनि हुन्छ, लेखिन्छ ।

 

 

चिनियाँ लोक कथनलाई माओले आफ्ना भनाइ र सन्दर्भहरुमा खुबै उल्लेख गरेको पाइन्छ । “ तिमीले जुन पोखरीको पानी खाँन्छौ त्यसको निर्मातालाई सम्झने पनि गर ।” यानेकि कृतज्ञ हुनु गुणग्राही प्रति नतमस्तक हुनु मानव मात्रको नैसर्गिक गुण र स्वभाव हो । चिनियाँ लोकोक्ति र हाम्रै समाजको दृष्टटान्तबाट पनि हामी भन्न सक्छौ हाम्रा पुर्खाका पौरख र उपलब्धिहरुको उपभोग गर्दा ती पौरखी पूर्वजप्रति आदरभाव राख्ने उचित सम्मान दिने र सदा स्मरण गर्ने कार्यबाट हामी बिमुख हुन सक्दैनौ मिल्दैन पनि ।

 

लोक हित र कल्याणको लागि भनेर धारो बनाउने, कुवा खनाउने, चौतारो बनाउने, बर पिपल रोप्ने हाम्रा पिता पुर्खाको समाजमा नाम लिने चलन आज पनि छ । गुणग्राही प्रति कृतज्ञहुने मानव जातिको संस्कार हो झन् हामी नेपालीमा त्यो कृतार्थ भाव धेरै हुनु वैदिक र सनातन संस्कृतिको सन्तति हुनुको कारण हो प्रमाण हो । अजात दुश्मन प्रति त मानवीय करुणा तृषित हुने हाम्रो मौलिकता जीवित छ भने आफ्ना पिता पुर्खा र पौरखी इतिहासको सम्मान किन नगर्ने गुण किन नगाउने ?

 

हामी आफ्ना बितेर गएका पूर्वज प्रति सधै सम्झेर वर्षमा एक दिन भए पनि स्मृति दिवस ( गाउँ घरको भाषामा सराद्दे, श्राद्द ) मनाउछौ सम्झन्छौ । पिण्ड दान गर्छौ बिशेषत हिन्दुहरुले । अरु धर्म र धर्मावलम्बीहरुको पनि आफ्ना बितेर गएका पिता पुर्खा सम्झने आ आफ्नै रित र संस्कारहरु छन् । दान र धर्मका चलनहरु चल्तीमा छन् । पुर्खा स्मरणको ध्येय र अन्तर्निहित यथार्थ भनेको उनका प्रतिको सम्मान हो, निरन्तरताको कसी हो । भावनाको अटुट गोरेटो हो । जसले अघिल्लो पुस्ताप्रति सधै अनुगृहित र कृतज्ञ हुन सिकाउछ । पुस्तौ पुस्ता जोड्ने साँस्कृतिक सेतु र विरासत हो हाम्रो । आफ्नो मौलिक पहिचान र परम्परा हो ।

 

पौष लाग्दा सन्दर्भहरुमा सधै जोडिने र चर्चामा आउने सन्दर्भहो पृथ्वीनारायण शाह र पौष २७ । विगत केहि वर्ष देखि पुष २७ रास्ट्रिय एकता दिवसमा दिने सरकारी बिदा कटौती गरिएको छ । राज्यले बिदा दिनु नदिनु सामान्य कुरा हो । बिदा दिएर फगत औपचारिकता मात्रै निभाउनु र कसैको योगदान, गौरव र पुरुसार्थ प्रति अनुगृहित हुनु बेगल कुरा हो । राज्यले दिने औपचारिक बिदा भन्दा ठुलो कुरा हो सम्मानको संस्कृति । पूर्वज प्रति कृतज्ञ हुने असल मान्यता र परम्पराबाट कतै हामी भाग्दै त छैनौ ?  आफ्नो धर्म, संस्कृति र परम्पराले सिकाएका असल कुरा विर्सेर गलत बाटो र भ्रस्टीकरण तर्फ त देशलाई हिडाई राखेका छैनौ ख्याल गर्नु पर्ने, मनन गर्नु पर्ने र सच्याउनु पर्ने कुरा यो हो ।

 

परिवर्तन र क्रान्तिकारीता को नाममा हामी जे भुल गर्दै छौ त्यो अक्षम्य छ । जन्म दिने बाबु आमा र देश कहिल्यै भुल्न नहुने, संसारका सबै भन्दा ठुला भनिएका मान्यता र विचार भन्दा माथिका सत्य हुन,छन्, अतुलनीय छन् । राजा भएका कारण पृथ्वीनारायण शाहको योगदानको अवमुल्यन गर्नु भनेको आफ्ना पिता पुर्खा जसले यो राज्य निर्माण गर्न आफ्नो जीवन बलिदान गरे, रगत बगाए, पसिना पोखे, आँसु झारे तिनका प्रति पनि बेइमान हुनु हो । गौरविलो इतिहासको महानतालाई खुम्च्याउनु हो । माटोको मायालाई लत्याउनु हो, आमाको ममत्व प्रति प्रश्न उठाउनु हो ? बाबुको काँधलाई होच्याउनु हो । आफूले फेरेको स्वास प्रति अनविश्वास प्रकट गर्नु हो । समग्रमा आफ्नो परिवेश, परिस्थिति, अस्तिव र माटोको सुगन्धलाई नामेट पार्ने कुत्सित भावनामा बह्किनु हो । आफ्नो जरा भुल्नु भनेको आफ्नो अग्रज र पूर्वज बाट अलग्याउनु हो । अब कसैले सिकाएको दुर्नियतको शिकार बन्ने हैन आफ्नो मौलिक अस्तिव बचाउन लागि पर्ने हो त्यसको शुरुवात सबै नेपाली मिलेर आधुनिक नेपालका निर्माता बडामहाराज धिराज पृथ्वीनारायण शाह प्रति कृतज्ञ बनेर यो माटोको कसम खाएर नेपालको समुन्नतिको लागि आस्थाको दीप प्रज्ज्वल गरौ ।

 

जसले जे भने जस्तो आरोप लगाए पनि राजा पृथ्वीनारायण शाहको तत्कालिन निर्णय दुरगामी र नेपाल र नेपालीको हितको खातिर नै थियो, छ, रहनेछ । भलै राजा हुनुको नाताले उनको महत्वकांक्षी योजना र ठुलो देशको राजा हुने चाहना पक्कै पनि यो राष्ट्र एकीकरणको कारक तत्व हो । तथापि उनको सपनाले नेपाल निर्माण गर्यो । बिस वर्षको उमेरमा राज्य एकीकरणको नेतृत्व गर्ने राजा असामान्य रण कौशल भएका कारण नै आधुनिक नेपालको एकीकरण सम्भव भयो । पृथ्वीनारायण राजा हुनुको कारण नै एकीकरण सम्भव भएको तथ्य भुल्नु हुदैन । पृथ्वीनारायण शाहको नायकत्वमा हाम्रा बीर पुर्खाको योगदानलाई विस्मृतिमा राख्न सकिन्न।

 

पृथ्वीनारायणशाह संगै हाम्रा पुर्खाको स्मरण आजको आवश्यकता हो । आजको पुस्ताले जान्नु पर्ने , बुझाउनु पर्ने तथ्य के हो भने पृथ्वीनारायण साहको सम्मान गरेर आफूले होचो भएको महशुस गर्नु पर्दैन, अरुको सम्मानले आफ्नो पनि सम्मान अभिवृद्दी हुन्छ भन्ने कुरा हेक्का राख्न कथित क्रान्तिकारी नेता र कार्यकर्ताले  जरुरि छ । इतिहास बिगारेर, इतिहासको अपब्याख्या गरेर, इतिहासको अवमुल्यन गरेर बर्तमानमा कहिँ पुगिदैन । इतिहास गलत गर्नेको पनि हुन्छ लेखिन्छ । सहि र गलत कुन हो छुट्याउन पनि इतिहासको उज्यालो र अध्यारो पक्ष दुवै जान्न आजको अध्यनले खोज्दछ । अध्यारो भएर नै उज्यालोको महत्व बढ्छ ।

 

नेपाल राज्यको एकीकरण तत्कालिन आवश्यकता र औचित्यको आधारमा सहि थियो, सहि समयमा थियो । सहि मान्छेको नेतृत्वमा थियो भन्ने कुराको पुष्टी हुन कुनै प्रमाण र आधार जुटाउनु पर्दैन जे छ देश नै प्रमाण हो, देशको आजको अस्तित्व र पहिचान नै काफि छ । बहुआयामिक र कुशल रणनीतिक खुविका तत्कालिन राजा पृथ्वीनारायण शाह बहुत चतुर र समय परिस्थितिको आकलन गर्ने व्यक्ति थिए । देश बनाउन कसै न कसैको महत्वाकांक्षी योजना साहस, संकल्प र दुरदर्शिता चाहिन्छ । जसरी नेपाल एकीकरण तत्कालिन आवश्यकता थियो त्यसरी नै राजा पृथ्वीनारायणको नायकी तत्कालिन अपरिहार्य आवश्यकता थियो ।

 

विश्व परिस्थिति नै युद्दमय थियो । नेपाल एकीकरणको वस्तुगत आधार पनि युद्दमय विश्वमा आफ्नो अस्तित्व कायम राख्नको लागि बलियो भएर बस्नु पर्ने थियो । स साना टुक्रे राज्य सधै एक आपसमा टकराएर बस्नु पर्ने सधै भय अन्योल र युद्दमा जीवन व्यतित गर्नुपर्ने त्यो समाजको मनोविज्ञान पृथ्वीनारायणशाहले  राम्रोसँग बुझेका थिए । त्यतिबेला बेलायतको बढ्दो शैन्य शक्तिको त्राश र उन्माद विश्वभर ब्याप्त थियो । रुस र पर्सिया बिचको युद्द, अंग्रेज र स्पेनिहरुको युद्द , रुस र टर्की बीचको भयंकर र घमासान लडाई, चीनका प्रभावशाली सिंग लंग बादसहको राज्य विस्तारको अभियान, हिन्दुस्तानमा मुगलहरुको दयनीय स्थिति र टुक्रा टुक्रा भएर रहनुको विषम परिस्थिति, त्यतिनै बेला चतुर बेलायती सामराज्यको हिन्दुस्थान माथि आफ्नो आधिपत्यको तयारी जस्ता कारण पनि आफु बलियो भएर रहन आफ्नो ’round हिमवत खण्डमा रहेको सबै छिन्नभिन्न राज्य एक बनाएर राख्ने सपना बुनेका थिए राजा पृथ्वीनारायण शाहले तसर्थ उनको नेपाल राज्य एक बनाउने अभियान् औचित्यपूर्ण र तर्क संगत थियो भन्न सकिन्छ ।

 

हिमवत खण्ड भित्रको मौलिकता कायम राख्न, आफ्नो छुट्टै अस्तित्व जोगाउन पृथ्वीनारायण शाहले जे गरे सामयिक काम गरे । तत्कालिन विश्वमा एकीकरण, राज्य विस्तार, मत अभिमतको आधारमा सम्भव थिएन केवल युद्द गरेर परास्त गर्नु नै तत्कालिन समयको अभ्यास थियो । तत्कालिन परिस्थितिको उपज र बाध्यतालाई लिएर आज पृथ्वीनारायण शाहलाई विस्तारवादी र मिचाह राजा भन्नु तर्क संगत होइन र यो विवादको विषय पनि होइन ।आजको प्रजातान्त्रिक यूग चेत र तत्कालिन चेतलाई संगै राखेर दाज्न सकिन्न । तरपनि  यदाकदा शासकहरु दिग्भ्रमित हुदा, पृथ्वीनारायण शाहको एतिहासिक योगदानलाई कुठाराघात गर्ने प्रयास गरिएको छ । अनेक भ्रामक र कल्पित आरोप लगाएर देशको एकीकरण गर्ने नायकलाई अपमान गर्ने, थुक्ने र घृणा फैलाउने, शालिक तोड्ने जुन अवान्छित कार्य हुदै आएको छ एक सच्चा नेपालीको लागि त्यो सहन गर्न सकिने विषय होइन ।

 

मन नलाग्दा उनलाई न मान्न पाइन्छ तर थुकेर घृणा गरेर अर्को पक्षलाई उत्तेजित पार्न पाइदैन त्यो सर्वथा निन्दनीय कुरा हो । युद्दको क्रममा पृथ्वीनारायण शाहको पक्षबाट पनि कमजोरी भए होलान त्यसलाई नकार्न सकिन्न तर सजाय स्वरूप १७ धार्नी नाक कान काटेर कृतिपुरेहरुको बिजोग बनाए भनेको कुरा धेरै उछालिंछ जसको तर्क न्यायोचित लाग्दैन । के त्यतिबेलाको जनसंख्या अनि सैनिक संख्या त्यो सत्र धार्नी नाक कान काट्न पुग्ने थियो होला ? अनि राज्यमा भए भरका सबैको नाक कान काट्नुपर्ने यथेस्ट कारण केवल अत्याचारको लागि मात्रै हो त ? एउटा बिर्सन नहुने कुरा के हो भने युद्दको क्रममा प्रतिसोध र बदला लिने क्रममा केहि नाजायज युद्द बिरोधी गतिबिधी पनि भएका हुनसक्छन जसलाई भुल्नु, विस्मृतिमा राख्नुको विकल्प हुन्न कारण पृथ्वीनारायण शाहले राज्यको मात्र एकीकरण गरेनन राज्य एकीकरणमा  विजेता राज्य गोर्खालाई नेपाल राज्यमा बिलय गरे र ठुलो छाती प्रदर्शन गरे । संसारकै प्राचिन सभ्यता संस्कृति भावनाको एकीकृत रुप हो आजको विश्व ।

 

नेतृत्वका नायक पृथ्वीनारायण थिए भने सहनायक विसे नगर्ची लगायत हाम्रा बीर पुर्खा र सिपाहीहरु भएको तथ्य पनि जीवन्त छ । पृथ्वी नारायण शाहले आफ्ना कालजयी दिव्य उपदेश मार्फत समाजको, राजनीति, अर्थनीति पररास्ट्रनीति, सांस्कृतिक, धार्मिक मूल्य र मान्यताहरु कसरी संचालित हुनुपर्छ भन्ने महान सिदान्तहरुलाई सरलिकृति गरेर बताएर गएका छन् । कार्ल मार्क्स भन्दा पनि जेठा, अब्राहम लिंकन भन्दा पनि पहिलेका, महात्मा गान्धी भन्दा पनि अघिका पृथ्वीनारायण शाहको परिचय र परिधि आफ्नै भूमिमा पनि खुम्च्याउने विवादित बनाउने हामी निक्रिस्ट कर्ममा छौ । बुद्द पछिको महान सपुत पृथ्वीनारायण शाह हाम्रो देशका निधि हुन आज पर्यन्त उनका दिव्य उपदेशहरु उत्त्तिकै सान्दर्भिक र हाम्रो अवस्थिति अनुकुल छन् ।  पृथ्वी नारायण शाहका विचार दर्शन संसारका अरु दर्शन र विचारहरु भन्दा कम छैन । पुरांना विचार रदर्शनको हाराहारीमा छन् उनका उत्कृस्ट भनाइ र विचारहरु । सधै उपयोगी र सारगर्भित छन् । सानो , साँघुरो र सिमित स्वार्थको घेरा भन्दा माथि उठेर हेर्यो भने तत्कालिन परिस्थितमा पनि कति उच्च सोच, गहन दार्शनिक भनाइ र समय सापेक्ष दुरदर्शिता प्रदर्शन भएको पाइन्छ ।

 

देश भक्त हुन कुनै बादी हुनु पर्दैन मात्र नेपाली भए पुग्छ । पृथ्वीनारायण शाहलाई एउटा राजाको रुपमा मात्र हेर्ने बुझ्ने चेस्टा गलत छ । राजा नै भएर पनि सहि काम गर्दा आरोपित र दण्डित हुनुपर्ने कारण हुदैन । पृथ्वीनारायण शाहको सट्टा यो हिमवत खण्ड भित्रको तत्कालिन जुन राजा राजौटाले नेपाल एकीकरण गरेको भए पनि राष्ट्र निर्माता मान्न हामीलाई अप्ठ्यारो  हुने थिएन किनकि यहाँ कामको गुणको मूल्यांकन गर्ने परिपाटी होस् हामीले चाहेको यहि हो । को राष्ट्र निर्माता भयो त्यो ठुलो कुरा भएन कसले राष्ट्र निर्माण गर्यो त्यो महत्वपूर्ण सबाल हो । राज्य कसैप्रति पनि पूर्वाग्राही बन्न मिल्दैन । आफ्नो देश बनाउने राष्ट्र निर्माताको अवमुल्यन गरेर कुनै पनि देश बनेको उदाहरण छैन । सम्मानको नाममा राज्यलाई भार पर्ने गरी बिदा दिने हैन सिर्जनात्मक, रचनात्मक कार्य गरेर ब्यक्तीको सम्मान गर्न राज्यले ध्यान दिनुपर्छ । पुष २७ गते राज्यले औपचारिक रुपमा राष्ट्रिय एकता दिवस मनाउने संकल्प गरोस । श्रद्दा सुमन राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रति  ।