कम्युनिष्ट र काङ्ग्रेसको मृत्यु बहस

  कुनै विचार आयो, त्यसमा छलफल भयो, समाजवादको चर्चा भयो, न वीपी आए, सुवर्ण सम्शेर कम्युनिष्टले के कारणले लाल्कारे, इतिहासमापटकपटक क्रान्तिको नेतृत्व गर्ने देशमा लोकतान्त्रिक राजनैतिक संस्कारको जग हाल्ने एउटा दल कसरी निरिह प्रतिपक्ष भै संसदको कुनामा थन्कियो भन्ने बहस गर्लान भनेको पशुपति मन्दिर गएर पीताम्बर नमःशिवायनामधारी बस्त्र खरीद गरेर धार्मिक राज्य बनाउन हस्ताक्षर पो सङ्कलन गर्न थाले वीपी पुत्र आँखा डाक्टर नै पो महामन्त्री पद छोडेर पूजारी बनौँला जस्तो अन्तरवार्ता दिन थाले

 

 

 

 

नमर्ने चीजको जीवन हुँदैन । प्राणी वनस्पति सबै मर्छन त्यही भएर तिनीहरूको जीवन छ, ति जीव हुन । जुन चिज मर्दैन त्यो निर्जिव हो ।  गएका एक महिनामा त्यस्तै दुई-चार वटा मृत्यू चर्चाले अखबारका पाना छाए । ति लेखयुक्त अखवारका पानामाथि राखेर दाल भात खाईयो, दाल चुहिएको अखबार कच्याक-कुचुक पारेर फोहोरमा फ्याँकियो । एक अर्थमा ति अखवार मरे तर ति लेखले अझै विभिन्न रुपमा प्रतिकृया तानी रहेका छन, दिनहूँ जस्तो । ति जिवित छन ।

 

ति मध्ये सम्झना भएका केही लेखमा एउटा थियो कम्युनिष्ट पार्टीका एकिकरणका क्रममा घटुवामा परेका चिन्तक नेता घनश्याम भुसालको ‘कसरी बाँच्छ कम्युनिष्ट पार्टी ?’ शिर्षकमा,  त्यस माथिको टिप्पणी जस्तै देखिने ‘अर्ध–आशावाद र नील वर्ण शृङ्गाल’ नामको लेख थियो एमालेबाट सांसद भएका बाम चिन्तक नारायण ढकालको । अर्को लेख थियो घटुवा र बढुवा भन्दा टाढै बसेका नेता राम कार्कीको ‘कचकच होइन, कचिँगल गरौँ’ शिर्षकको।  अरू कति हो कति हरेक दिन  बाम बुद्धिजीवी, विश्लेषक र बौद्धिक नेताको महिनाभरिको चिन्तन र लेखन नै त्यही मुद्धामा ।

 

यि सबै बाम चिन्तकको करीव करीव एउटै लाइन थियो संसद्को दुई तिहाई सीट जितेको कम्युनिष्टको सरकारले केही पनि समाजवादि काम गरेको छैन । त्यो हिसाबले ‘कम्युनिष्ट’ आत्मा मरिसकेको नेकपा सरकारले समाजवादको सपनालाई आर्यघाट लाँदैछ ।

 

हुनपनि संयोग त्यस्तै पऱ्यो । जनता सिटामोल खान नपाएको बेला ‘कम्युनिष्ट सरकार’ एउटा विवादित इसाई संस्थालाई १३-१४ करोड रुपैयाँ उपलब्ध गराएर, विश्व राजनीतिमा गन्हाएका केही राष्ट्र प्रमुख-सरकार प्रमुखले भागलिने आवरणमा, धार्मिक जमघटलाई  राजकीय हैसियत दिँदै थियो र विश्वको अत्यन्त गरीव मध्येको एक मुलुककि राष्ट्रपतिका लागि १८ करोडको गाडी र डेढ अर्वको हेलिकप्टर किन्ने चर्चा गर्दै थियो ।

 

नीतिगत, विचारगत र दर्शनगत रुपमा नपुंशक बनिसकेको शासक-दल बडो कष्टका साथ, करकापमा परेर भएपनि अन्तर-गुटीय क्लब रुपी स्थायी समितिको बैठक बस्दै थियो र महाभारत युद्ध अघिको कौरवको कचहरी जस्तै शैलीमा ।

 

उता प्रमुख प्रतिपक्षी काँग्रेस पार्टी पनि “महा समिति”नामको  सप्ताह पुराण आयोजना गर्दै थियो । उद्देश्य चाहिँ गत वर्षको चुनावमा पार्टीको सर्मनाक हारको समीक्षा गर्ने र पार्टीका सैद्धान्तिक, वैचारिक, कार्य पद्दतिगत र सङ्गठानात्मक पक्षमा गर्नु पर्ने सुधार वारे छलफल गर्ने थियो तर अन्तर-गुटीय शक्ति प्रदर्शन र महाधिवेशनका लागि मांसपेशी निर्माणमा ४-५ दिन व्यतित भए । आधा-उधी सहभागी घर फिरे पछि केही गुटाधीसको गोप्य सम्झौता भयो बिधान संसोधनमा र बचे-खुचेका सहभागीका अगाडी गुटाधीसहरूले एक अर्काका हात समाएर ‘एक हुने’ प्रतिज्ञा गरे सङ्गै सम्मेलन सकियो ।

 

न कुनै विचार आयो, न त्यसमा छलफल भयो, न समाजवादको चर्चा भयो, न वीपी आए, न सुवर्ण सम्शेर । कम्युनिष्टले के कारणले लर्कारे, इतिहासमा पटक-पटक क्रान्तिको नेतृत्व गर्ने र देशमा लोकतान्त्रिक राजनैतिक संस्कारको जग हाल्ने एउटा दल कसरी निरीह प्रतिपक्ष भै संसदको कुनामा थन्कियो भन्ने बहस गर्लान भनेको त पशुपति मन्दिर गएर पीताम्बर र ‘ॐ नमःशिवाय’ नामधारी बस्त्र खरीद गरेर केही पीतबस्त्रधारीहरू त धार्मिक राज्य बनाउन हस्ताक्षर पो  सङ्कलन गर्न थाले । झण्डै एक तिहाइले त हस्ताक्षर गर्नै भ्याएछन । वीपी पुत्र आँखा डाक्टर नै पो महामन्त्री पद छोडेर पूजारी बनौँला जस्तो अन्तरवार्ता दिन थाले ।

 

एक अर्थमा पूजारी सम्मेलनले पादरी सम्मेलनलाई चुनैती नै दियो । धर्मलाई राजकीय मुद्दाबाट टाढा राख्न वर्षौँ लडेका दलका कार्यकर्तालाई “पूजारी-भक्त” बन्ने कि “पादरी-भक्त” बन्ने बडो सकस।

 

दुवै दलका प्रमुख पात्रहरू धर्मभीरू भैसके पछि हामी आधुनिक, वैज्ञानिक, भौतिकवादी, समाजवादी भन्नुको अर्थ रहँदैन त्यसैले उनीहरूलाई आध्यात्मिक कोटीमै राखेर हेरिनु पर्छ ।

 

नाश्वर शरीरले देह त्याग गर्नु वा मर्नु हाम्रो पूर्वीय मान्यतामा रुप परिवर्तन मात्रै मानिन्छ । त्याक्त देहले अर्कै रुप धारण गर्छ । त्यसैले देहले अर्कै रुप धारण गर्नु भनेकै मृत्यू हो । त्यस अर्थमा काङ्ग्रेस, कम्युनिष्ट दुवै मरे । ति जे हुन ति न रहे पछि मरे भन्नु अन्यथा हुन्न ।

 

पूर्व संपादक शर्माले राजनैतिक रुपमा “नेकपा छ पनि, र छैन पनि” भन्नुको अर्थ  जीवित  छ या मऱ्यो भन्ने दोधारकै स्थिति हो । तर जसरी एउटा जिवन्त कम्युनिष्ट पार्टीले काम गर्थ्यो त्यो नरहे पछि त्यो मऱ्यो भने हुन्छ भन्नेमै उनी सहमत छन ।  पूर्व सांसद ढकालको  नीरको भाँडोमा डुबेर निस्किएको स्यालले बदलिएको रङ्गका कारण केही बेर शासन गर्न सकेको तर आफ्नो भित्री “स्याल-पन”लाई लामो समय सम्म देखाउन नसकेको उदाहरण दिनुका पछाडी पनि उनको बुझाई नेकपा भन्ने चिज “नील-वर्ण शृङाल” भैसकेको र नीलो रङ्ग खुइलिन बाँकी भन्ने नै छ । घनश्याम भुसालको “अर्ध-आशावाद”को अवधारणा माथि तिप्पणी गर्दै ढकाल अव यसमा सुधारको अर्थात पुनर्जीवनको सम्भावना नै देख्दैनन ।  त्यो अर्थमा पुनर्जीवनमा विश्वास नगर्ने भौतिक्वादिका लागि पनि त्यो दल मर्यो ।

 

हो, यि मरे भन्ने बुझाई कै कारणले होला एक दुई पार्टी चाहारेर तिनबाट काम चल्दैन भन्दै नयाँ पार्टीको वकालत गर्दै गरेका केशव दाहालले ‘तिनलाई किन बचाउनु? बरू नयाँ  निर्माण गरौँ’ भन्ने तर्क अघि सारेका ।  दहालको अभियानले नयाँ  पार्टी निर्माण गर्ला नगर्ला आफ्नै ठाउँमा छ, तर एक महिनाको वहस हेरेर म चाहिँ के निष्कर्षमा पुगेँ भने म मृतहरूबाट शासित छु । भन्नुको अर्थ कम्युनिष्ट बाट शासित छु भनौँ भने ति कम्युनिष्ट रहेनन, काँग्रेसबाट शासित छु भनौँ भने काङ्ग्रेस काँग्रेस नै रहेन ।  दुवै शरीर र आत्मा छुट्टिई सकेका दलहरूवाट ।

 

मृत पार्टी भनिसकेपछि भुसालको  प्रश्नकै औचित्य म देख्दिनँ , नेकपाले नार्सिससको  बाटो तय गरोस कि फिनिक्सको ।  भुसालले जसरी २०४६ सालपछि सत्तामा आएको काङ्ग्रेस राजाले सुरु गरेको दलाल पुँजीवादकै बाटोमा हिँड्न थालेको, मध्यम वर्गीय पकडका कारण समाजवादअङ्गीकार गरेको तर  क्रमश: दलाल पुँजीवादी हुँदै गएको बिश्लेषण गरे, आम मानिसले कम्युनिष्ट पार्टी त्यसैगरी काङ्ग्रेस-पथगामी  भएको विश्लेषण गरिराखेका छन ।

 

विरोधबाट नतर्सिने, नडराउने, गर्नु–नगर्नु सबै गर्नसक्ने, र समाजवाद, मूल्य, नैतिकता, आदर्शजस्ता ‘रुढीग्रस्त विचार’ले प्रभावित नहुने विशुद्ध ‘आधुनिक’, ‘वैज्ञानिक’ जमातले  नेतृत्व लिएका दलका हरेक रुप गुण मिले। सरकार, संसद्, अदालत, कर्मचारितन्त्र सबै ठाउँमा वर्चस्व स्थापित गरेर  एउटा कर्मचारीतन्त्रीय शासन चलाउने, दुबै उस्तै । राजा जस्तो काङ्ग्रेस, काङ्ग्रेस जस्तो कम्युनिष्ट भनेपछि कम्युनिष्ट पनि राजा जस्तै देखिए, “क” वरावर “ख”, “ख” वरावर “ग” भए “ग” वरावर “क” स्वतः भयो आधुनिक गणितकै सहारा लिने हो भनेपनि ।भुसालकै तर्कको थप अर्थ लगाउँदा यही देखियो ।

 

हो, राम कार्कीले भने जस्तो कस्तो राजनीतिक व्यवस्था, कस्तो अर्थतन्त्र, कस्तो शिक्षा, कस्तो आचरण भए नेपाली समाज समाजवादी भएको ठहरिन्छ  भन्ने मानकमा पार्टी भित्र कुनै बहस छैन । सर्वहाराको अधिनायकत्व स्थापित गर्ने हो कि ओली र प्रचण्डको मात्रै त्यती मात्रै थाहा पाए पनि कार्कीले अनुमान गर्थे होला मुलुक दोस्रो विश्व युद्ध अघिको जर्मनी जस्तो हुँदैछ कि रुस जस्तो ।  कार्कीको डर जायज छ । स्वस्थानीका कथामा विष्णुले छल गरेर सतीदेवीको कन्यादान हुने बेला दक्ष प्रजापतिको हातमुनी महादेवको घुसाइ दिए जस्तै लेनिनका फोटोलाई आँखा चिम्लेर नमस्कार गर्न बसेका कार्की आँखा खोल्दा हिटलरलाई ढोगिरहेका त हुने होइनन?

 

त्यही होला उनको एउटै खोरमा थुनिएका मृग र बाघको उदाहरण ।  सायद ‘अब राजनीतिको कुरा छाडौं, समृद्धिको मात्र कुरा गरौं’ भन्ने नारा प्रतिको ब्यङ्ग बाण।

 

यि सबै विद्वानका तर्क पढ्दा पनि यि दलको मृत्यू घोषणा गर्न नसक्नुका पछि भने दलको राज्यका सबै अङ्गमा पकडनै हो।

जनतामा कति पकड छ , नियमित चुनाव भैदिए हरेक ५ वर्षमा देखिन्छ तर पत्रिकामा कति पकड छ, हरेक विहान देखिन्छ । त्यसैले जति फेसबुकेले गाली गरे पनि पत्रिकामा काङ्ग्रेस र कम्युनिष्टकै पकड रहेछ भन्ने गएका दुई सातामा देखियो ।  नत्र ति वाइहात बैठकको त्यती बिधि प्रचार हुन्थ्यो होला त?

 

बैठक बस्ने, बैठक बस्दै, बैठक शुरु, बैठकमा आफ्नो बिचार राख्न शुरु, बैठकमा विचार राखे क्रम जारी, बैठकमा यति जनाले विचार  राखे, बैठकमा अझै यति जना बोल्न बाँकि, वैठकमा मत, फरक मत, बहुमत र अल्पमत यस्तो छ,  वैठकमा प्रस्तुत विचार र प्रति-विचार वीच समन्वय खोज्न कार्यदल गठन, कार्यदल द्वारा काम शुरु, कार्यदलले फलानो दिन प्रतिवेदन बुझाउने, प्रतिवेदनमा यो यो कुरा छ, प्रतिबेदन यो दिन पेश हुने, प्रतिबेदन प्रस्तुत…. हेर्नुस त एउटै घटनाका दिनहुँ फेरिएका हेडलाइन । कति प्रचार भए बुझिँदैन?

 

आखीर सबै  वाइह्यात रैछन त ! साँच्चै विचार राखे भने पार्टीको वैचारिक पक्ष कस्तो बन्यो त बैठक पछि? अन्तमा तातोपानीले नै नुहाउने हो भने “फरक विचार” कसरी फरक भयो?

 

विद्वानहरूले काङ्ग्रेस-कम्युनिष्ट मृत घोषित गरेपनि जीवनको लक्षण मिडियाले देखाइरहेका छन । आशा गरौँ जनताले अर्को चार वर्षमा अन्तीम घोषणा गर्नु अघि नै दुवै दल बौरिऊन । दुवै दलको अर्को बैठकमा गन्तव्य कहाँ हो, कहाँ बाटो विरायौँ भन्ने समीक्षाको कामना ।