चुनावका बेला समृद्धिका गफ !

* समृद्धिको मार्ग जसले प्रशस्त गरे पनि हुन्छ तर नेपालका कम्युनिस्ट चीनका तेङ सिआओ पिङ होइनन्, यिनीहरुमध्ये धेरैजसो ठूलो चन्दा लिएर समानुपातिकको सिट बेच्ने व्यापारी हुन् । 
* लोकतन्त्रपक्षधर देखिन चाहनेमा पनि अधिकांश निष्ठावान छैनन्, यिनीहरु  कम्युनिस्टको हौवा देखाएर आफू पञ्चका अंगालोमा सुरक्षित हुन चाहने प्रवृत्तिका छन् । 

 

यतै कतै अनलाइनतिर पढियो, नेपाली कांग्रेस नेता प्रदीप गिरिले आफ्नो चुनाव प्रचारका क्रममा, ‘कम्युनिस्ट मुलुकहरु कंगाल छन्’ भनेछन् ।  त्यसैमा अर्को कुनै एक व्यक्तिको प्रतिक्रिया पढ्न पाइयो, गिरिले चीन देखेका रहेनछन् । ……… ’ प्रतिक्रियामा गालिगलौज पनि थियो । त्यो म यहाँ उद्धृत गर्न चाहन्न ’cause अमर्यादित टिकाटिप्पणीेले विचारको अर्थ भंग गरिदिन्छ । प्रतिक्रिया दिनेको तर्क थियो, कम्युनिस्ट चीन विश्वको दोस्रो शक्तिशाली मुलुक मात्र होइन, दोस्रो अर्थतन्त्र पनि हो । तर्कमा दम छ । आर्थिक समृद्धिका हकमा चीन आफैंमा नमूना बनिसकेको सन्दर्भमा कम्युनिस्ट मुलुक मात्रै गरीब हुन्छन् भन्नु तथ्यपरक होइन ।
कम्युनिस्ट मुलुक धनी पनि हुन्छन् ।

 

पूर्वसोभियत संघ कम्युनिस्ट थियो तर गरीब थिएन । गरीब हुन्थ्यो भने संयुक्त राज्य अमेरिकाकै टक्करको महाशक्ति पक्कै हुने थिएन । सामरिक र सैन्य क्षमतामा तत्कालीन सोभियत संघले अमेरिकालाई आच्छु आच्छु पारेर राखेको थियो । त्यति मात्र होइन, सोभियत संघ संसारका धेरै लोकतन्त्रका तुलनामा धनी थियो । यहाँसम्मकि, पूर्वी युरोपका तन्नम भनिएका कम्युनिस्ट शासित मुलुकहरु पनि नेपालभन्दा धनी थिए । आजैका मितिमा पनि जे जति कम्युनिस्ट शासित मुलुक छन्, ती पनि नेपालभन्दा गरीब छैनन् ।

 

प्रकटमा नेपालमा लोकतन्त्र छ । तर लोकतान्त्रिक भनिनेहरुबाट शासित हुँदाहुँदै पनि देश बदहालीबाट मुक्त हुन सकेको छैन । २०४६ सालपछि, ज्ञानेन्द्रको ४ वर्षे तानाशाहीलाई अपवादका रुपमा लिँदा, नेपालमा निर्वाचितहरुबाट शासन निरन्तर छ । पाँच पटक राष्ट्रिय र तीन पटक स्थानीय चुनाव भइसकेका छन् । तन्नेरी हुँदा निर्वाचन प्रक्रियाबाट प्रतिनिधित्व गर्न पुग्ने पात्रहरु नै आज पनि प्रतिस्पर्धामा छन् र उनीहरु नै फेरि पनि देशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

 

जबकि, २०४८ सालको चुनाव प्रचारका क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले केही वर्ष भित्रै मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्ने उद्घोष गरेका थिए, तर आज २६ वर्ष बितिसक्दा पनि मेचम्चीको एक थोपो पानी काठमाडौं ओर्लेको छैन । त्यस्तै, कांग्रेसबाटै पटक पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले काठमाडौं र तराईबीचको दूरी छोट्याउन सुरुङ मार्ग बनाउने भाषण गरेका थिए । तर, अझसम्म पनि नेपालमा सुरुङ पार सडक कतै बनेको छैन ।

 

निश्चय नै भट्टराईको सपनामाथि काम भइरहेको छ तर पानी पर्खिन तीन दशकको कुराइ अति भइसकेको छ । दक्षिण निस्कने सुरुङको कुरा अचेल उत्तर अर्थात् केरुङतिर सरेको छ । दक्षिणतर्फ द्रुतमार्ग निजगढ निस्कने चर्चा चलिरहेको छ । महत्वाकांक्षी योजनाहरुको घोषणा भइरहेको छ तर काम कतै भइरहेकै छैन भने कतै सुस्त, अति सुस्त छ । विश्वकै दोस्रो जलस्रोतको भण्डार, ८५ हजार मेगावाट विद्युत् उत्पादन हुने क्षमता भएको देश तर अझसम्म १ हजार मेगावाट उत्पादन हुन सकेको छैन । भारतबाट विद्युत् आयात गरेर लोडसेडिङ हटाइएको छ, पोहोरमात्रै । नयाँ उद्योगधन्दा छैनन्, पुराना बन्द गरिएका र भइरहेका छन् । तन्नेरी पुस्ता गाउँको जग्गा धितो राखेर अरब मुलुकहरु, मलेसिया, कोरियामा श्रम बेचिरहेको र बेच्न लाम लागिरहेको छ ।

 

भारतमा काम खोज्न, गर्न जानेको लर्को उस्तै छ । उच्च शिक्षित युवा देशमा बस्न भन्दा अष्ट्रेलिया, क्यानडाको पिआरतर्फ आकर्षित छन् । डोनाल्ड ट्रम्पको उदयपछि अमेरिका हान्निन सजिलो नरहेकोले कतिपय दुःखी छन् तर क्रेज कम भएको छैन ।

 

२०४६ साल यताको २६ वर्षको अवधि कम होइन । निश्चय नै यी वर्षहरुमा एक थरी जो अभावग्रस्त थिए तर राजनीतिमा लागे, तिनको केही प्रतिशत ‘समृद्धि’तर्फ उक्लिएको छ, त्यसले आफ्ना सन्तानलाई विदेश पलायन गराउने अवसर पाएको छ । सन्तान विदेशमा बसेर नेपाललाई गाली गर्छ, बाबुआमा यहाँ शासन गर्छन्, कहिले पहिलो हुने प्रथाअन्तर्गत त कहिले समानुपातिक । कथित प्रभावशाली राजनीतिज्ञहरुसम्म पहुँच हुनेहरुको पनि ‘उद्धार’ भएको छ । अर्थात् शासन र अर्थतन्त्र नै दुबै भ्रष्ट भएका, फलस्वरुप भ्रष्टहरुका हातमा गएका छन् ।

 

ल भइ गो, चीन, पूर्वसोभियत संघलाई अपवाद मानौं, मानौं कि कम्युनिस्ट मुलुक कंगाल नै हुन्छन् तर नेपाल त कम्युनिस्ट शासित मुलुक होइन । किन कंगाल छ ? के कारणले कंगाल भएको हो, जवाफ दिने बेला आएको छ, लोकतन्त्र पक्षधरहरुले । अझ ती कथित लोकतन्त्र पक्षधरहरु जो आफूचाहिं पूर्वपञ्चहरुसँग गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गर्दैछन्, तिनले जवाफ दिनुपर्छ, के पञ्चहरुले देशलाई समृद्ध बनाएका थिए र, तिनको साथ चाहिएको हो ?

 

प्रश्न छ, यो देशलाई  कंगाल बनाउने जहानियाँ राणा, दरबारिया र तिनका भारदारसित गठबन्धन गरेर आफूलाई ‘लोकतान्त्रिक’ भन्न लाज लाग्दैन ?

 

समृद्धिको मार्ग जसले प्रशस्त गरे पनि हुन्छ तर नेपालका कम्युनिस्ट चीनका तेङ सिआओ पिङ होइनन्, यिनीहरुमध्ये धेरैजसो ठूलो चन्दा लिएर समानुपातिकको सिट बेच्ने व्यापारी हुन् । न त लोकतन्त्रपक्षधर देखिन चाहने नै निष्ठावान छन्, यिनीहरु त वास्तवमा कम्युनिस्टको हौवा देखाएर आफू पञ्चका अंगालोमा सुरक्षित हुन चाहने प्रवृत्तिका छन् । गफ जसले पनि गर्न सक्छ तर वास्तवमै राष्ट्र–समृद्धिको मार्गचित्र दूरदर्शी निष्ठावानले मात्र बनाउन सक्छन् ।