दक्षिणपन्थी गठबन्धनको पूर्वाग्रह !
यौवनकालमा कडा कम्युनिष्ट देवप्रकाश त्रिपाठी पच्चीस वर्ष काटेपछि कडा कांग्रेसमा रुपान्तरण भएका फुर्तीला नागरिक हुन् । हालै उनले वामपन्थी ध्रुवीकरणलाई कमजोर पार्न दक्षिणपन्थीको गौरवगाथा भने आँट गरेर र दिल फुकाएर गाउदै भनेका छन्–नेपाली कांग्रेस लगायत दलहरु आफूलाई दक्षिणपन्थी भन्न पटक्कै लकपकाउनु हुँदैन ।
गएको साता यसै स्तंभमा ‘बामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणको शिलान्यास’ प्रकाशित भएपछि पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले घटना र बिचार साप्ताहिकमा बुधवार लेखे–दक्षिणपन्थी बन्न अस्वीकार गर्ने किन ?
उनले गंभीर प्रश्न गर्दै भनेका छन्, नेपाली कांग्रेस लगायतका दलहरु आफूलाई दक्षिणपन्थी भन्न किन लकपकाउदै छन् ?
यौवनकालमा कडा कम्युनिष्ट त्रिपाठी पच्चीस वर्ष काटेपछि कडा कांग्रेसमा रुपान्तरण भएका अनुभवी नागरिक हुन् । त्यसैले गत सोमवार ‘नारायणहरि’ प्रकाशित भएपछि त्यसको चर्चा नै नगरी दक्षिणपन्थी जवाफ दिएकाले आम पाठकलाई सन्दर्भ बुझ्न अली अप्ठेरो पनि प¥यो । तर त्रिपाठीले वामपन्थी ध्रुवीकरणलाई कमजोर पार्न दक्षिणपन्थीको गौरवगाथा भने दिल फुकाएर गाएका छन् । उनले भनेका छन्, नेपाली कांग्रेस लगायत दलहरुले आफूलाई दक्षिणपन्थी भन्न पटक्कै लकपकाउनु हुँदैन ।
खासमा दक्षिणपन्थी ध्रुवीकरणको नायक ठानिने कांग्रेस नै बाम ध्रुवीकरणबाट लकपकाइरहेको समयमा नयाँ ध्रुवीकरणवारे चर्चा प्रारंभ भएपछि त्यसमा वाद, विवाद र संवादमा संलग्न भएर त्रिपाठीले दक्षिणपन्थी बुद्धिजीवीको हैशीयत जे जति पैरवी गरेका छन् वास्तवमा यो दक्षिणपन्थी सोच भएकाहरुको लागि सकारात्मक शुरुवात हो । यसको जस देवप्रकाश त्रिपाठीलाई नै जान्छ ।
‘नारायणहरि’ स्तंभमा जे शुरुवात गरिएको थियो, दक्षिणपन्थी र वामपन्थीबीच के, किन र कसरी भिन्नता छ ? तिनका विशेषता केके हुन् ? अहिलेसम्मको इतिहासको चर्चाको वहसमा सहभागी बन्दै त्रिपाठीले आफैं प्रमुख रहेको संचारमाध्यमबाट शुरु गरेको बहस र उनले उठाएका कुरा कहीं सन्तुलित, कतै असन्तुलित, कतै आक्षेपपूर्ण, कतै पूर्वाग्रही र कतै हचुवा र अवौद्धिक आधार लिइएका भए पनि उनले समसामायिक बहसमा सहभागीता जनाएर ऐतिहासिक जिम्मेवारी पूरा गरेको मुक्तकण्ठले प्रसंसा गर्न कंजुसी गर्नु पनि हुँदैन ।
उनले लेखको शुरुवात गर्दा जुन चित्रण गरेका छन्, लेखको अन्त्यमा पुग्दा आफैंले बाटो बिराएको भनिएको कांग्रेस नेतृत्वलाई अन्धभक्त बनेर त्वम्शरणम् गरेका छन् । बामपन्थी ध्रुवीकरणकर्ताले उठाएका कतिपय ज्वलन्त प्रश्नको जवाफ सम्म दिएका छैनन् । त्रिपाठीले यसो गर्नुलाई उचित ठह¥याउन पनि सकिन्छ ’cause उनी नेपाली कांग्रेस पार्टीका संगठित सदस्य पनि हुन् । पार्टी सत्तामा पुगेका बेला उनले राज्य निकायको जिम्मेवारी निर्वाह गरेर आफ्नो विशेषज्ञ सेवा पनि प्रदान गरिसकेका हुन् । यस्तो अनुभवी भएकाले दलीय मर्मवारे उनलाई जति कुनै दलमा नरहेका पत्रकारलाई हुन पनि सक्दैन ।
गएको साता यो विषयको उठान प्रत्यक्ष रुपमा नेपालमा दशैंपछि भैरहेको तीब्र राजनीतिक ध्रुवीकरण र अप्रत्यक्ष रुपमा निकै अघिदेखि थालिएको चरम ‘पोलराइजेशन’लाई लक्षित गर्दै सामाजिक संजाल (फेसबुक र ट्वीटर) मा कात्तिक ५ गते राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले लेखेका थिए–माओवादी केन्द्रसंग तालमेल नगरेको भए, एमालेको बहुमत आउने थियो ! पंच (राप्रपा) नबोकेका भए कांग्रेसको स्थिति मजबुत हुन्थ्यो !
गौतमको विश्लेषणलाई आधार मानेर देशमा भैरहेको धु्रवीकरणवारे खोतल्ने प्रयत्न गरिएको थियो । ध्रुवीकरण तीब्र रुपमा भयो भनेर चिन्ता भन्दा पनि विपरित दुई राजनीतिक सोचको ध्रुवीकरण किन भयो ? यसलाई केलाउने प्रयत्न गत सोमबार प्रकाशित ‘बामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणको शिलान्यास’ शिर्षकमा प्रकाशित लेखमा गरिएको थियो ।
प्रश्न उठाउन खोजीएको थियो, के देशका यी दुई ठूला दलहरु कांग्रेस र एमालेलाई यो ध्रुवीकरणले गर्दा संघारमा रहेको निर्वाचनले गौतमले लेखेजस्तो उनीहरुको पत्ता साफ गर्ने हेक्का छैन ? हेक्का छ भने किन यस्तो आत्मघाती खेलमा उनीहरु हेलिएका होलान् ? यदि उनीहरुलाई यसवारे जानकारी नै छैन भने भविष्यमा यिनीहरु कस्तो भँड्खालोमा परेर नारायणहरि हुने वाला छन् ? यही कुरामा नेपालमा ‘बामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणको शिलान्यास’ केन्द्रित थियो ।
नेपाली ध्रुवीकरणको नामाकरण
नेपालको राजनीतिमा अहिलेको वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण नामाकरण नौलो गतिविधि हो । यसलाई स्पष्टसंग कसैले पनि सैद्धान्तिक, दार्शनिक र राजनीतिक आधारमा नामाकरण, व्याख्या र विश्लेषण गरेको छैन ।
आफू विरुद्ध कसैले कुनै मुद्धामा कार्यगत एकता ग¥यो भने मात्र यहाँ एउटा न एउटा आक्षेप लगाएर दोषारोपण गर्ने गरिन्छ । दुई वा त्यसभन्दा बढी कम्युनिष्ट पार्टी कुनै मुद्धामा मिलेर अगाडि बढ्न सहमत भए भने ‘बामपन्थी’ एकता भयो भनिने र कांग्रेसले पनि कम्युनिष्ट बाहेक अरु कुनै दलसंग त्यस्तै कुनै इसुमा एक भएर अगाडि बढ्न सहमत भएर अगाडि बढ्न थाल्यो भने त्यसलाई ‘प्रजातान्त्रिक’ एकता गरेर अगाडि बढ्यो भन्ने डंका पिटिने नै गर्छ ।
जसले गर्दा ध्रुवीकरण यहाँको लागि सधैं अस्पष्ट, गलत र भ्रम सिर्जना गर्ने शब्दावली भएर रहिरहेको देखिन्छ । नेपालमा के कति दल छन् र तिनले कुनकुन ध्रुवलाई प्रतिनिधित्व गर्छन्, त्यसवारे नै यहाँ गलतफहमी रहेकाले नित्तान्त नीति, कार्यक्रम र विचारको आधारमा वर्गीकरण गर्ने बौद्धिक प्रयत्नमात्र हो त्यो ।
त्यसैले कुन पार्टी वा समूहलाई कुन बिचारको भन्ने ? अनि उनीहरुबीचको ध्रुवीकरणलाई के भन्ने यहाँ सधैं अन्यौल हुने गर्छ । न शब्द सही रुपमा प्रयोग गरिन्छ नत त्यो सैद्धान्तिक आधार बुद्धिजीवीहरु तर्क र प्रमाण प्रस्तुत गरिरहेका देखिन्छन् ।
त्यसैले लेख मार्फत दुई ठूला पार्टीहरुको नेतृत्वमा भैरहेको ध्रुवीकरणलाई दार्शनिक, बौद्धिक र राजनीतिशास्त्रको अन्तर्राष्ट्रिय बर्गीकरण र ध्रुवीकरणको आधारमा नामाकरण गरिएको हो । आक्षेप र दोषारोपण गर्न खोजीएको किमार्थ होइन ।
जसरी अहिले वामपन्थी र प्रजातान्त्रिक ध्रुवीकरण भनिदैछ, यो किमार्थ नियतवस गरिएको होइन । भएको भए श्रीकृष्णअनिरुद्ध गौतमले त्यस्तो टिप्पणी गरिरहनु पर्ने थिएन । प्रगतिशील र प्रजातान्त्रिक समानार्थी शब्द पनि होइनन् । निरंकुश सम्राटहरु उग्रदक्षिणपन्थी नै हुन् । अन्यथा तिनलाई अहिलेको शब्द चयनले उग्रप्रजातन्त्रवादी भन्नु पर्ने हुन्छ । निरंकुश सम्राट बामपन्थी पनि होइन ।
अनेकौं समूहमा विभाजीत वामपन्थीहरुको वारेमा त भनिरहनै परेन ! झट्ट हेर्दा सबै कम्युनिष्ट पार्टीहरु माक्र्सवाद–लेनिनवादको आधारमा खडा गरिएका देखिन्छन् । तर उनीहरुबीच हरेक इसुवारे बेग्ला बेग्लै र फरक धारणा भएकोले नै भिन्न पार्टी र भिन्न नेतृत्व बन्न पुगेका हुन् कि ?
त्यसैले यसको टुंगो लगाउन अथवा यो विषयको वहसलाई अगाडि बढाउन वामपन्थी र दक्षिणपन्थी शब्दको प्रयोग राजनीतिशास्त्रको इतिहासमा कहाँ, कहिले र कोबाट भयो यसको खोजीबाट त्यसलाई पर्घेल्न खोजीएको हो । र, अहिलेको नेपालको सन्दर्भमा भैरहेको अलमल वा भ्रमलाई त्यसले स्पष्ट पार्न मद्धत गर्न सक्छ कि भनेर नै विषयलाई खोतल्ने प्रयत्न गरिएको हो ।
वामपन्थी–दक्षिणपन्थी
वामपन्थी (लेफ्टिष्ट) र दक्षिणपन्थी (राइटिष्ट) त्यत्तीकै बनेका शब्द होइनन् । कसैलाई भन्नका लागि र दोषारोपण गर्न लेफ्टिष्ट र राइटिष्ट भनिएको पनि होइन । बिचार, सिद्धान्त र दलहरु नै लेफ्टिष्ट र राइटिष्ट, एकअर्काका विपरित हुन् । तर एउटा ब्यक्ति वामपन्थी वा दक्षिणपन्थी पक्षमा लाग्न सक्छ । कहिले काँहि बिचारले गर्दा अस्पष्ट पनि हुन सक्छ ।
धेरै नेपाली विद्वानहरु पनि भन्छन्, यी दुबै शब्द बेलायतको संसदबाट शुरु भएका हुन् । तर यो गलत बुझाइ हो । खासमा यी दुबै शब्द फ्रान्सबाट प्रयोगमा आएको हो । वामपन्थीलाई आन्दोलनको पक्षपाती र दक्षिणपन्थीलाई सत्ताको पक्षपाती भनिन्थ्यो । यी दुईको बीचलाई मध्यमार्ग अर्थात सेन्ट्रिज्म र ब्यक्ति भए मध्यमार्गी अर्थात सेन्ट्रिष्ट मानिन्थ्यो ।
सन् १७८९को फ्रान्सेली क्रान्तिको दुईवर्षपछि १७९१मा बनेको विधान परिषद (लेजिस्लेटिभ एसेम्ब्ली) मा नयाँ सदस्यहरु आए पनि परंपरागत विभाजनले निरन्तरता पायो । मौलिक सोच भएकाहरु सदनमा वायाँ (लेफ्ट) तर्फ नै बसे भने मध्यमार्गीहरु सेन्टरमा जम्मा भए । जबकि शान्तिपूर्ण रुपमा संविधानको पक्षपातीहरु दायाँ (राइट) तर्फ बसे ।
सन् १७९३ र १७९४ सम्ममा अति वामपन्थीहरुलाई निमिट्यान्न पारियो, मारियो र दायाँ र वायाँ वस्ने चलनलाई पनि समाप्त पारियो । तर सन् १८१४–१५मा राजनीतिक समूहलाई फेरि ब्यूँताइयो, संसदमा बस्नका लागि मात्र । सन् १८४८ पछि प्रजातान्त्रिक समाजवादीहरु प्रमुख प्रतिपक्षी बनेपछि रातो र सेतो झण्डा बोकेर पनि आफ्नो पक्ष पोषण गर्न थाले ।
सन् १८७१को तेस्रो गणतन्त्र स्थापनापछि, राजनीतिक दलहरुले ‘रिपब्लिकन लेफ्ट, सेन्टर राइट, सेन्टर लेफ्ट (१८७१) र एक्सिट्रिम लेफ्ट (१८७६) तथा रेडिकल लेफ्ट (१८८१)’ भन्न थालियो । रेडिकल लेफ्टलाई सेन्टर लेफ्टको नजीक हुन् भन्ने मानिन्थ्यो र तिनैलाई एक्सट्रिम लेफ्ट ठानिन्थ्यो ।
बीसौं शताब्दिको शुरुमा लेफ्ट र राइटलाई निश्चित राजनीतिक बिचारधाराको रुपमा मानिन थालियो । शिक्षा, स्वास्थ्य, आर्थिक, वैचारिक र राजनीतिक दर्शन र कार्यक्रम कस्को कति जनपक्षीय र जनविरोधी छ त्यसका आधारमा वर्गीकरण गरेर हेर्न थालियो ।
आमनागरिकका मागलाई केन्द्रविन्दूमा राख्ने समूहलाई लाल (रेड) भन्न थालियो । सत्तामा बसेर विरोधीको मागप्रति प्रतिक्रिया (रियाक्सन) जनाउनेमा सिमित भयो । वायाँ बस्नेलाई गणतन्त्रवादी (रिपब्लिकन) र दायाँ बस्नेलाई कट्टर पुरातनपन्थी (कन्जर्भेटिभ) भन्न थालियो । यसरी वायाँ र दायाँलाई पहिलो पल्ट यी प्रतिपक्षीले एकअर्काको ब्यक्तित्वलाई आक्षेप लगाउने गरी संबोधन गर्न थाले ।
यसरी फ्रान्सबाट राजनीतिक प्रतिस्पर्धीहरुलाई वायाँ र दायाँ अर्थात वामपन्थी र दक्षिणपन्थी भन्ने संबोधन विश्वभर फैलियो । अहिले संसारभर ठूला हुन वा साना राजनीतिक बिचार बोकेका दलहरुलाई उनीहरुले बोकेको बिचारको आधारमा वामपन्थी र दक्षिणपन्थीको रुपमा वर्गीकरण गर्ने गरिन्छ ।
बामपन्थी र दक्षिणपन्थी
आजको सन्दर्भमा वामपन्थी र दक्षिणपन्थीहरुलाई उनीहरुको राजनीतिक, आर्थिक र सामाजिक कार्यक्रमका सन्दर्भमा हेर्न थालिएको छ । वेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले लेफ्टिष्ट र राइटिष्टलाई परंपरागत होइन, उ खुला समाजको पक्षपाती हो कि बन्द समाजको भन्ने सन्दर्भमा हेर्नु पर्ने बिचार ब्यक्त गरेका थिए ।
राजनीतिक वैज्ञानिकहरुको वर्गीकरणमा लेफ्टिष्ट भनेपछि त्यसभित्र–कम्युनिष्ट मात्र होइन, एनार्किष्ट, डेमोक्रेटिक सोसलिष्ट, सोसल डेमोक्रेटिक, लेफ्ट लिबरिटारियन्स, प्रोग्रेसिभ, सोसियल लिबरल्स, मुभमेन्ट्स अफ रेसियल इक्वेलिटी, ट्रेड युनियनिज्म पक्षीय समूहलाई मानिन्छ ।
त्यसैगरी राइटिष्ट अन्तर्गत त्यसभित्र–क्रिश्चियन डेमोके्रट्स, कन्जरभेटिभ्स, राइट लिवरिटेरियन्स, नियो कन्जरभेटिभ्स, इम्पेरियलिष्ट, मोनार्किष्ट, फासिष्ट, रियाक्सनरीज, ट्रेडिसनालिष्ट्स, धार्मिक कट्रपन्थी कठमुल्लाहवादीहरु रहेका छन् ।
नेपाली सन्दर्भ
त्रिपाठीले नेपालमा कांग्रेसलाई प्रजातन्त्रको पर्याय र कम्युनिष्टलाई सर्वसत्तावादीको रुपमा अथ्र्याउने प्रयत्न गरेका छन् । उनले नेपालको पहिलो जनआन्दोलन, ०४६को परिवर्तनलाई कांग्रेसको वैचारिक नेतृत्वमा सम्पन्न परिवर्तन भनेका छन् । जसमा कम्युनिष्टले कांग्रेसको बैचारिक नेतृत्व स्वीकारेका थिए । तर, उनी भन्छन्– ०६२÷०६३ को आन्दोलनमा कांग्रेसको भौतिक नेतृत्व भए पनि बैचारिक नेतृत्व प्रत्यक्ष रुपमै कम्युनिष्टले गरेका हुन् ।
त्रिपाठीले लेखमा ०७२ असोजमा संविधानसभाले जारी गरेको संविधानले संसदीय प्रजातन्त्रको मौलिक र प्रचलित गुणलाई उन्मूलन गरेर वर्णशंकर चरित्रको बहुदलीयतालाई स्वीकार गरेको दावी गरेका छन् ।
अर्कोतिर उनले भनेका छन्, यतिखेर कांग्रेस÷कम्युनिष्टले नसोचेको, नखोजेको र नचाहेको ब्यवस्था छ । सत्ता र संपत्तिलाई मूल गन्तब्य बनाएर राजनीतिमा क्रियाशीलहरु परिस्थिति आफ्नो बनाउने प्रतिस्पर्धामा छन् ।
त्रिपाठीको असहमती
संसदीय र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको एमाले–माओवादी एकतालाई त्रिपाठीले नयाँ आशंका र परिस्थिति जन्मायो भनेका छन् । तर किन र कसरी भन्ने जवाफ भने चित्तबुझ्दो गरी दिन सकेका छैनन् । दुइदुइवटा जनआन्दोलन गरेका लामो समय सत्तामा साझेदार भएर बसेका कांग्रेस र कम्युनिष्टहरुमध्ये कम्युनिष्टको एकतालाई उनले षडयन्त्र भनेका छन् ।
चुनावमा मिलेर उम्मेदवारी दिने र निर्वाचन पछि सकेसम्म पार्टी एकता नै गर्ने भनेर एकता गर्दाको दिन एमाले÷माओवादी नेताले जे भनेका थिए, त्यसमाथि ठूलो शंका गरेका छन् । लेखकले कम्युनिष्ट एकतालाई सिद्धान्त र बिचार विहिन भन्ने दोषारोपण मात्र गरेका छैनन् यो एकताले संसदीय प्रजातन्त्र पूर्णरुपमा उन्मूलन हुने भविष्यवाणी पनि गरेका छन् ।
जबकि कम्युनिष्ट ध्रुवीकरणपछि कांग्रेसको नेतृत्वमा गैरकम्युनिष्ट ध्रुवीकरणले दुई पार्टी प्रणाली स्थापित गराउने अडकल पनि त्रिपाठीले नै गरेका छन् । यसले जनतालाई बहुपार्टी झमेलाबाट मुक्ति दिने विश्वास गर्न सकिन्छ, उनले लेखेका छन् ।
कांग्रेसलाई समर्थन
दक्षिणपन्थी ध्रुवीकरणका पक्षपाती त्रिपाठीले भनेका छन्, वर्तमान संविधानले जनप्रतिनिधिमूलक ब्यवस्था भने पनि पार्टी भूमिकालाई सर्वोच्च तुल्याएको छ । भन्छन्, पार्टी इच्छाविपरित प्रधानमन्त्रीले मन्त्रीसम्म बदल्न नसक्ने गरी प्रधानमन्त्रीको हात बाँधेको छ । जवकि प्रधानमन्त्री शेरबहादुरका क्रियाकलाप हेर्दा उनी निर्वाचन गराउने सरकारका प्रमुख भएर पनि उनले गरेका काम अधिनायकवादी शासकको भन्दा कम छैन ।
त्रिपाठीले घोषणा गरेका छन्, संसदीय ब्यवस्थामा जनप्रतिनिधिमूलक सर्वोच्च र कम्युनिष्ट शासनमा पार्टीको भूमिका निर्णायक हुन्छ । यो संविधानले कम्युनिष्ट एकलौटी सत्ता प्राप्तिको महत्वाकांक्षा पूरा गर्न बिचार र सिद्धान्तको नयाँ जलप उत्पादन गर्दै गरेको अवस्था छ ।
उनको दृष्टिमा, कम्युनिष्टहरु एकलौटी सत्ता निर्माणको अभिष्ट तिर लक्षित देखिन्छन् । उनीहरु दुई तिहायी बहुमत हासिल गरेर समाजवाद स्थापना गर्ने प्रतिवद्धतासाथ अगाडि बढेका छन् र कांग्रेससहितको गठबन्धनलाई दक्षिणपन्थीको रुपमा चित्रण गरेका छन् । जवकि कांग्रेसले पनि यसबीच आफ्नो सिद्धान्त, बिचार र आदर्शलाई तिलांजली दिएको छ । यसैकारण राजनीतिको ब्यापारिकरण मौलाएको’bout त्रिपाठी आगाडि आउन सकेका छैनन् ।
दक्षिणपन्थीमा गर्व
त्रिपाठी कांग्रेस, राजपा, राप्रपा, फोरम लगायतका समूह आफूलाई दक्षिणपन्थी मान्न हिच्किचाएकोमा खुशी छैनन् । उनी धर्मनिरपेक्षतासहित संघीय, गणतन्त्र स्थापनासम्म कम्युनिष्टले कांग्रेसलाई उपयोग गरेको दावी गर्दै खिन्नता प्रकट गर्छन् । बामपन्थी ध्रुवीकरणमार्फत एकछत्र राजनीतिक रणनीतिक योजना वमोजिम कम्युनिष्टहरु एक भएर अगाडि बढ्लान् । खबरदार, तिनलाई अगाडि बढ्न दिन हुँदैन भन्नेमा उनको बल छ ।
त्रिपाठीको लेखले नेपालमा आफूलाई प्रजातन्त्रको पर्याय मान्नेहरुको रोइलो मज्जासंग अभिब्यक्त भएको छ । जबकि बामपन्थी र दक्षिणपन्थीको अन्तर्राष्ट्रिय मूल्य मान्यताको विभाजनवाट हतास हुनुपर्ने अवस्था एकरत्ती देखिदैन । राजनीतिक दल कांग्रेस होस् वा माओवादी, एमाले होस् वा राप्रपा वा अन्य, जो जेछन् ती र तिनको शक्ति तथा प्रभाव उनीहरुको लामो राजनीतिक गतिविधि, तिनको आर्थिक, सामाजिक नीतिहरुको आधारमा निर्धारण गरिने कुरा हो । जहाँसम्म निर्वाचन परिणाम कस्को पक्षमा जान्छ भन्ने कुरा छ, त्यो जनता जनार्दनको अभिमतबाट मात्र जान्न सकिने कुरा हो ।
दक्षिणपन्थी हुन् वा वामपन्थीले बुझ्नु पर्ने कुन के भने पार्टी के भनेर र कुन कार्यक्रम लिएर निर्वाचनमा जाँदैछन्, त्यो जनअभिमतबाट मात्र स्वीकृत वा अस्वीकृत हुने हो । जनताको कचहरिको मुखमा पुगेको विषयलाई पर्गेल्न जनताले जान्दैनन् भन्नु जनमतलाई इन्कार गर्नु हो ।
निर्वाचनमा दक्षिणपन्थी हुन् वा वामपन्थी, सबै दल वा तिनका उम्मेदवार नेपाली जनतासमक्ष मत माग्न जाने हुन्, जस्ले पहिलो संविधानसभामा के अभिमत दिए र दोस्रो संबिधानसभामा के निर्णय दिए, अनि स्थानीय निर्वाचनमा के गरे, सबैका अगाडि जगजाहेर छ ।
जहाँसम्म कांग्रेसको नीति सिद्धान्त र कार्यक्रम के हो ? अनि देशको ठूलो पार्टी के गरिरहेको छ ? आमजनतालाई कसैले बताइरहनै पर्दैन । त्यस्तै एमाले र माओवादीका वारेमा पनि जनता अवगत नै छन् । यसबीच कुन पार्टीले कुन विषयमा ऐनमौकामा धोका दियो ? एकथोक भन्ने र अर्को थोक गर्ने काम कस्ले ग¥यो ? त्यो जनताको इजलासमा नोट भएको छैन भन्ने त्रिपाठीको बिचारसंग सहमत हुन सकिदैन ।
के स्मरणीय छ भने, यो संविधान कांग्रेस, एमाले र माओवादी मिलेर बनाएका हुन् । यसको कार्यान्वयन पनि संविधान र ऐन कानून अनुसार हुनुपर्छ ! निर्वाचन संसदीय पद्धति अनुसार हुने हो । चुनाव गराउने सरकार कांग्रेस नेतृत्वको छ, तर पनि कांग्रेसको रोइलो बुझिनसक्नु देखिदैछ ।
नारायणहरि !