हार्यो कांग्रेस, किन हार्यो थाहा छ ?

नेपालमा अधिनायकवादी शासन पञ्चहरुले गरे कि कम्युनिस्टले ? कसका विरुद्ध लड्दा लड्दै विश्वेश्वरप्राद कोइरालाको जीवन बित्यो, कसले जेलमा कोचेको थियो गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई ? आफैं रामचन्द्र पौडेल र शेरबहादुर देउवाले भनुन्, उनीहरुलाई बन्दी बनाएर जेलमा कोच्ने को थिए ?

 

पहिलो हुने प्रथाअन्तर्गतका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका नतिजा आइसकेका छन् । समानुपातिकको परिणामको गणना भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र उस्तै प्रारम्भिक नाम भएको तर कोष्ठमा माओवादी केन्द्र राखिएको दुई कम्युनिस्टहरुको गठजोडले प्रचण्ड बहुमतसहित विजय हासिल गरेको छ । यस कम्युनिस्ट दिग्विजयका माहौलमा नेपाली कांग्रेस संख्या भन्न पनि लाज लाग्ने गरी अत्यन्त सानो आकारमा खुम्चिन पुगेको छ । युग लोकतन्त्रको तर आफैंलाई कहिलेकाहीं लोकतन्त्रको पर्याय नै भन्न पछि नपर्ने कांग्रेसको भने भयावह दुर्गति भएको छ । लोकतन्त्रकै युगमा लोकतान्त्रिक विधिद्वारा नै कम्युनिस्टहरुको प्रचण्ड विजय, कसरी सम्भव भयो ? यो विशद् विमर्शको विषय हो ।

 

यस आलेखमा म यसै मूलभूत प्रश्नमाथि चर्चा गर्नेछु र गर्नु आवश्यक पनि छ ’cause अब निर्वाचनबाट व्यापक वैधताप्राप्त गरेका राजनीतिक शक्तिहरुलाई तथा आन्दोलनका सहयात्रीलाई बारम्बार अधिनायकवादी भनेर आरोप लगाइरहनु उचित हुँदैन । माफ गर्नु होला, सिद्धान्ततः लोकतान्त्रिक प्रणालीभित्र आबद्ध सबै दल लोकतान्त्रिक हुन् । निश्चय नै कसलाई भन्ने नभन्ने विषयमा मतभेद हुनसक्छ, व्यक्तिगत रुचि र अरुचिको विषय हुन सक्छ तर नेपालको सन्दर्भमम विशेष गरेर लोकतन्त्रका आन्दोलनहरुमा कांग्रेस सँगसँगै रहेका नेपालका कम्युनिस्ट लोकतन्त्रका वैरी हुन् भनिहाल्न मिल्दैन । भनिरहनु नपर्ला ०४६, ०६२-०६३ सालका आन्दोलन कांग्रेस र कम्युनिस्टकै सहकार्यका कारण सम्भव र सफल भएका हुन् ।

 

अझ २०४६ सालयता कांग्रेस र कम्युनिस्टबीच पटक पटक संयुक्त सत्ता अभ्यास भएको छ । ०४६ सालको परिवर्तनपश्चात् कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकार, ०५६ सालको संसदीय निर्वाचन पूर्व, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वमा माले पहिला त्यसपछि एमाले समावेश सरकार बनेको थियो । अरु त अरु चर्चित १२ बूँदे सम्झौता गर्दा देशभरका कम्युनिस्टहरुको नेतृत्व कांग्रेसले नै गरेको थियो ।

 

त्यसपछि कुनै सरकार कसैको एकलौटी बनेकै छैन । कोइराला माओवादीलाई मन्त्री बनाएर प्रधानमन्त्रीमा बस्नुभएको थियो । पहिलो संविधानसभाको कार्यकालमा माओवादी एमाले सरकारमा कांग्रेस प्रतिपक्षमा बस्यो । त्यसलगत्तै एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी रहेको थियो ।

 

सत्तामा सँगै बस्दा कम्युनिस्ट लोकतान्त्रिक हुने तर त्यही कम्युनिस्ट अन्यत्र जाँदा सर्वसत्तावादी हुने, यी कथन आफैंमा परस्परविरोधी छन् । दोस्रो संविधानसभाको सरकार कांग्रेस–एमाले संयुक्त थियो, त्यही सरकारका पालामा संविधान जारी भयो । एमाले–माओवादी सरकार बन्यो, त्यसलाई विस्थापित गर्दै आलोपालो गर्ने शर्तमा माओवादीको नेतृत्वमा कांग्रेस सहभागी भएको सरकार बन्यो । त्यसपछि कांग्रेसको नेतृत्वमा माओवादी समाहित सरकार । त्यतिमात्र होइन, स्थानीय निर्वाचनमा कांग्रेस माओवादीबीच चुनावी तालमेल नै भएको थियो, जसका फलस्वरुप एकप्रकारले अस्वीकृत माओवादीले नवजीवन प्राप्त गर्यो । सम्झौं त, भरतपुर नगरपालिकामा प्रचण्ड पुत्रीलाई जिताउन स्वयं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस कार्यकर्तालाई हँसिया हथौडामा भोट हाल्न उर्दी गरेका थिए ।

 

कांग्रेसले पनि कहीं हँसिया हथाौडामा भोट हाल्न मिल्थ्यो त ! तर हाल्न लगाइयो ।

 

कांग्रेससँग पटक पटक धेरै पटक सत्तामा सहभागी भइ आएका दुई कम्युनिस्ट एक हुना साथ अचानक अधिनायकवादको प्रसंग कहाँबाट आयो र साथै प्रश्न छ, कांग्रेस आफू भने पञ्चहरुका पोल्टामा किन गयो ? नेपालमा अधिनायकवादी शासन पञ्चहरुले गरे कि कम्युनिस्टले ? कसका विरुद्ध लड्दा लड्दै विश्वेश्वरप्राद कोइरालाको जीवन बित्यो, कसले जेलमा कोचेको थियो गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई ? आफैं रामचन्द्र पौडेल र शेरबहादुर देउवाले भनुन्, उनीहरुलाई बन्दी बनाएर जेलमा कोच्ने को थिए ? वास्तवमा कांग्रेस लाजमर्दो गरी हार्नुको एउटा कारण पूर्वपञ्चहरुसँग साँठगाँठ हो, न कि केवल कम्युनिस्ट गठबन्धन ।

 

कांग्रेस मूलतः आफ्नै कारणले हारेको हो । यसमा नेतृत्वको क्षमता कति छ, यो जग जाहेर भएकै विषय हो त्यसैले यसमाथि थप टिप्पणी गर्नु समय र अक्षर खेर फाल्नु मात्र हो । तर हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै अब चुनाव पाँच वर्षपछि मात्र आउँछन्, कांग्रेसका लागि प्रशस्त आत्ममन्थन, चिन्तनको समय छ । गठबन्धनले दुई तिहाइ नै पाइसकेको हुँदा शासनमा अस्थिरता र झैझमेला कमै हुने अनुमान गर्न सकिन्छ । झमेलै भए पनि कांग्रेस त्यहाँ चाहिने होइन ’cause यहाँसम्मकि अब संविधान नै पुनर्लेखन गर्नु परे पनि गठबन्धनसँग प्रचण्ड जनादेश छ ।

 

निश्चय नै यहाँ चिन्ताको विषय हुँदै नभएको होइन, छ । यस्तो जनादेश स्थिरताका लागि राम्रो हो तर यस्तोमा सचेत नागरिक समाजको भूमिका अरु सशक्त हुनुपर्छ । मिडियाको भूमिका सर्वाधिक अहम् हुन्छ तर मिडिया बिकाउ भयो भने राजनीतिक स्थायित्वले राम्रैमात्र हुन्छ भन्ने छैन । नराम्रो पनि धेरै हुन सक्छ ।

 

जहाँसम्म कांग्रेसको विषय छ, ०४६ सालयता यसका अग्रपंक्तिका नेतालाई कहिल्यै विश्रामको अवसर प्राप्त थिएन, कहिले यता गठजोड र कहिले उता गर्दागर्दै २८ वर्षको अवधिमा, देउवा–पौडेल पुस्ता, थकित पनि भइसकेको छ । यो पुस्तालाई अब विश्रामको अवसर मिलेको छ । आगे अरु के भनुँ म, कांग्रेसमा बुद्धि भएकाको कमी छैन, के भन्न खोजेको हो उनीहरुले आफैं बुझ्ने छन् ।