‘ट्रेन्ड सेट’ गराउने ऐतिहासिक चुनाव

चुनावभर बम पड्किन्छ, खेतीपातीको समय छ र हिउदको चिसोमा चुनाव गराइएकोले मतदाताहरु मतदान गर्न आउदैनन्, मतपत्र झन्झटिला छन् जस्ता प्रचार–प्रसारलाई पन्छाएर जनताले ‘नयाँ ट्रेण्ड’ स्थापित गर्दै त्यसो भन्नेहरुलाई नारायणहरि नै बनाइदिएका छन् ।

 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रदेश तथा संघीय संसदको पहिलो चरणको निर्वाचन आइतवार सम्पन्न भएपछि धेरै अन्यौलहरु समाप्त हुन पुगेका छन् । चुनावभर बम पड्किन्छ, खेतीपाती र हिउदको चिसोमा चुनाव गराइएकोले मतदाताहरु मतदान गर्न आउदैनन्, मतपत्र झन्झटिला छन् जस्ता प्रचार प्रसारलाई पन्छाएर जनताले ‘नयाँ ट्रेण्ड’ स्थापित गर्दै उनीहरुलाई नारायणहरि नै बनाइदिएका छन् ।

 

आइतवार दिनभरि ३२ जिल्लाका मतदाताले प्रतिनिधिसभाका ३७ सदस्य र प्रदेशसभाका ७४ सिटका लागि मतदान गरे । प्रतिनिधिसभाका कूल १६५ निर्वाचन क्षेत्रमध्ये ३७ क्षेत्र र प्रदेशसभातर्फ भने ७४ निर्वाचन क्षेत्रको लागि आइतवार निर्वाचन भएको हो ।

 

स्मरणीय नै छ, मुलुकका सात प्रदेशबाट प्रदेशसभामा प्रत्यक्षतर्फ कूल ३३० निर्वाचित क्षेत्र रहेका छन् भने समानुपातिक तर्फबाट प्रदेशसभामा २२० सिट रहने ब्यवस्था संविधानले गरेको छ । त्यस्तै प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ कूल १६५ सिट र समानुपातिकतर्फ ११० सिट मात्र रहेको छ ।

 

निर्वाचनमा मतदान गर्न तोकिएको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समयमा मतदाताले शान्तिपूर्ण रुपमा मतदान गरेका छन् । यद्यपि, मिनेट मिनेटको खबर रेडियो, टिभी, पत्रपत्रिका र सबैभन्दा सशक्त सामाजिक संजालले गर्दा साना मसिना घटनाहरुले पनि राजकीय महत्व पाए । तर तिनको दुष्प्रयत्न कर्कलाको पातमा परेको पानी सावित हुन पुग्यो । त्यसैले निर्वाचन गराउन लागेको निर्वाचन आयोग, स्थानीय प्रशासन, सुरक्षा निकाय, सरकार र राजनीतिक दल र प्रत्येक नेपाली यसका लागि धन्यवादका पात्र बनेका छन् ।

 

चुनाव प्रचारको शुरु हुनु अघिदेखि नै चुनाव हुन नदिएर नेपाललाई अस्थिर राख्नेहरुले संचारमाध्यम मार्फत आफ्नो उपस्थिति जनाउन खोजे । तर अराजकता मच्चाउन खोज्नेहरुको प्रयत्नलाई स्थानीय प्रशासन र सुरक्षा निकायले सुरक्षा चुनौतिको शिक्षाको रुपमा लिएर संभावित विरोधलाई योजनावद्ध रुपमा नियन्त्रण गरेर देशलाई स्थायित्वतिर लैजान ज्यादै नै महत्वपूर्ण जिम्मेवारी पूरा गरेका छन् ।

 

सुरक्षा र प्रशासनिक सचेतताले छिटपुट विरोध गरेर देशब्यापी प्रभाव देखाउन खोज्नेहरुलाई तिनको हैशीयत अवगत गराएको छ । एकादुई ठाउमा घटना गराएर देशभर यस्तै भएको छ भनी भान पार्ने तिनको योजना गर्भमै तुहिएको छ । यसले दोस्रो चरणको निर्वाचन पर्खिरहेका मतदाताको मनबाट आशंकालाई हटाएर चुनावमा सहभागी हुन अभिप्रेरित गरेको एक निर्वाचनविदले वताए ।

 

उनले भने, आम मतदाताले निर्विघ्न रुपमा मतदान गरेर निर्वाचन विथोल्न खोज्नेहरुका भ्रमलाई चिरिदिएका छन् । नेपाली लोकतन्त्रको जगलाई यसले प्रमाणीत गरेको छ । यसले गर्दा अबको दश दिन पछि हुने ४५ जिल्लाको निर्वाचनलाई बलीयो पुट दिएको छ ।

 

प्रदेश तथा संसदको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन सक्दैन भन्ने अफवाह अफवाहमै सकिएको छ । सुरक्षा निकायको तत्परता र उनीहरुको काविलपना स्थानीय निर्वाचनपछि फेरि सावित भएको छ ।

 

यो निर्वाचन नेपाली इतिहासको एउटा अर्को रेकर्ड पनि हो, कसैले पनि निर्वाचनको क्रममा जीवन गुमाउनु परेन ! यसले नेपालको संघीय लोकतन्त्र परिपक्व बन्दै गएको यो ज्वलन्त उदाहरण हो । लोकतन्त्रका जरा सुदृढ बनेको फेरि पनि प्रमाणीत भएको छ ।

 

निर्वाचन आयोगले मतदान सकिए लगत्तै मंसीर १० गते साँझ दिएको जानकारी अनुसार पहिलो चरणमा ३२ हिमाली र पहाडी जिल्लामा भएकोे निर्वाचनमा ६५ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका छन् । यद्यपि, स्थानीय निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका थिए ।

 

अनेक तर्क वितर्कका बाबजुद बिर्सन नहुने कुरा के भने, स्थानीय र प्रदेश तथा संसदको निर्वाचनका बीचमा ठूलो भिन्नता रहने गर्छ । स्थानीय निर्वाचनमा सबैले चिनेका स्थानीय उम्मेदवार हुन्छन् । उनीहरुसंग प्रत्येक मतदाताको चिनापर्ची र संबन्ध पनि हुन्छ । तर संसदीय निर्वाचनको क्षेत्र धेरै नै ठूलो हुन्छ । त्यसवाहेक महत्वपूर्ण भनेको स्थानीय उम्मेदवार स्थानीय पार्टीको निर्णयबाट चयन गरिन्छ भने संसदीय उम्मेदवार केन्द्रीय कमिटिको निर्णय भै माथिबाटै चुनिन्छ । जोसंग स्थानीय वासिन्दाको चिनापर्ची र सरोकार समेत नभएको हुन सक्छ । जसले मतदानलाई अत्यन्त प्रभावित गर्छ ।

 

स्थानीय निर्वाचनको तुलनामा केन्द्रीय उम्मेदवारवारे स्थानीय मतदातामा खासै उत्साह समेत हुँदैन । तर स्थानीय चुनावमा जति सरोकार मतदातालाई हुन्छ, त्यसभन्दा बढी उम्मेदवारलाई हुने र सानो क्षेत्रको चुनाव भएकोले धेरै र पटक पटक उम्मेदवार र मतदाताबीच संवाद भैरहन्छ । जातिपाती, नातागोता, धर्म संस्कृति, भारोपर्म, लेनदेन, स्थानीय राजनीतिक संबन्ध आदि अनेक कारणले स्थानीय निर्वाचनमा मतदाता र उम्मेदवारलाई मतदानका निम्ति सक्रिय बनाउछ । तर संसदीय उम्मेदवारसंग कतिपय मतदाताको परिचय समेत नहुनांले मतदान गर्न स्थानीय चुनावको तुलनामा अत्यन्त उत्साह त्यसै पनि कम हुनेहुन्छ ।

 

आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।

 

निर्वाचन आयोगले यकिन तथ्यांक आउन केही समय लाग्ने भए पनि पहिलो चरण अन्तर्गत मंसीर १० गतेको चुनावमा ६५ प्रतिशत भन्दा बढी मत खसेको प्रारंभिक अनुमान गरेको छ ।

निर्वाचन आयोगका अनुसार मतपत्रले भरिएका मतपेटिका मतदान केन्द्रबाट आइतवार नै जिल्ला सदरमुकाम ल्याएर राखिने छ । उच्च हिमाली र बिकट क्षेत्रबाट ल्याउन नभ्याइएका मतपेटिका सोमबार मात्र हेलिकोप्टरबाट सदरमुकाम ल्याइने बताइएको छ ।

 

मंसीर २१ गते दोस्रो चरणको निर्वाचन सकिएसंगै आइतवार सकिएको ३२ जिल्लाको र दोस्रो चरणमा हुने ४५ जिल्लाको मतपत्र त्यसै दिन साँझदेखि मतगणना गरिने आयोगले बताएको छ । दुबै चरणको निर्वाचन गरेर कूल १ करोड ५४ लाख २७ हजार ७ सय ३१ (पहिलो चरणमा ३१ लाख ९१ हजार ९ सय ४५ र दोस्रो चरणमा १ करोड, २२ लाख ३५ हजार ७ सय ८६) मतदाता रहेका छन् ।