‘भलायोको रुखमा झुण्डिएको कांग्रेस !’, काँठमा गफिंदै गरिएको कांग्रेसको चिरफार

अहिलेको कांग्रेसलाई हिन्दी सिनेमामा झैं अन्तिम समयमा भारतीय र अमेरिकन दैव आएर जोगाउलान् ? अहँ, आफ्नो जगमा नउभिएको कसैलाई पनि कसैले टिकाउन सक्दैन । टाउको तल र खुट्टामाथि भएर प्रेत झैं भलायोको रुखमा झुण्डिइ सकेको कांग्रेसलाई दैवले पनि जोगाउदैनन् ’cause दैबले नै कांग्रेसलाई यो अवस्थामा पु¥याएका हुन् । हिजो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कोइराला परिवार र उनीहरुका निम्ति सत्ताको लागि जे जे कुकर्म गरियो, जजस्लाई अगाडि बढाइयो र नियोजित रुपमा जजस्को पत्ता साफ गरियो, त्यसैको फल पाइरहेको हो यतिखेर कांग्रेसले !

 

 

कांग्रेस नेतृत्वमा बाहिर देखाउने एउटा र भित्र गर्ने ब्यवहार अर्कै छ । यही दोगला चरित्रले गर्दा यतिखेर नेपाली कांग्रेस डगमगाएको मात्र छैन, बरबराउन पनि थालेको छ । लाग्छ, आफू कोहो, कस्तो हो र केहो भन्ने चेत नै कांग्रेसमा हराएको छ । उ अरु यस्तो र उस्तो भनेर निर्वाचनको मुखमा मात्र सत्तोसराप गरेर समय खेर फालिरहेको छ । लोकतान्त्रिक आन्दोलनका सहयोद्धालाई सत्तोसराप गर्दै आफूलाई नांगो बनाइरहेको छ । प्रतिगामी पंचमागीतत्वसंग साँठगाँठ गरिरहेको छ । यसबाट सबैभन्दा बढी जेन्युइन कांग्रेस आहत भएका छन् । कुलिन र लाहुरे कांग्रेसमा शरम, धरम र करमबीच कुनै विभेद देखिदैन ।

 

कांग्रेस यति टिठ लाग्दो चरणमा यसअघि कहिल्यै देखिएको थिएन । लामो समय सत्तावाहिर रहे पनि कांग्रेसको शिर अहिले सत्तामा रहँदा जस्तो कहिल्यै लत्रिएको देखिएको थिएन । तर यसपाली भने शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले इतिहासका ती सबै चरण पार गरेको छ । सत्ताको लागि कांग्रेस पंचमागीतत्वको शरणमा हरिशरणम् मात्र होइन, नारायणहरि नै बनेको छ ।

 

कांग्रेस आफ्ना पूर्वजहरुको सिद्धान्त, आदर्श र ब्यवहार समातेर होइन, पंचको पुच्छर समातेर निर्वाचनको वैतरणी तर्ने प्रयत्नमा छ । तर सत्ताको मात चढेका लाहुरे र कुलिन कांग्रेसीहरुलाई सिद्धान्तहीन, इतिहासको कालो र वर्तमानको अस्ताउदो एकताले ठड्याउला ? मंसीर १० र २१ गते हुने प्रदेश र संसदको निर्वाचनमा कांग्रेसले प्रमुख पार्टीको हैशीयत कायम राख्न सक्ला ? शनिवार र आइतवार काठमाण्डौंको काँठमा घुम्दा कांग्रेसवारे कांग्रेसीहरुसंग भएका वाद, विवाद र संवादको निश्कर्ष थियो यो ।

 

जेन्युइन कांग्रेसीहरु, जो कांग्रेसको संगठन भित्र किनारामा पुगिसके पनि चुच्चे टोपी र ज्वारीकोट लगाउन छाडेका छैनन् । लेग्रो तानेर चुरोटको धुवाँ उडाउदै चियाको सुर्कोमा राजनीतिक विश्लेषण गर्ने कांग्रेसको चुरो यदि कतै जोगिएको छ भने तिनैको इतिहास र वर्तमानको जीवन पद्धतिले जोगाइरहेको छ, भन्छन्–शेरबहादुरले हिजो पार्टी फुटाएर कांग्रेसलाई राजा ज्ञानेन्द्रको पोल्टामा पु¥यायो, आज त्यही देउवा प्रवृत्तिले कांग्रेसलाई पंचहरुको शरणमा लम्पसार पारिरहेको छ । हिजो कहिले एमाले र कहिले माओवादीको शरणमा पनि उ र उसकै गुरुले त्वम्शरणम् गराएकै हो ।

 

यो सबै केका लागि ? कसलाई थाहा छैन, यो सबै खेल सिद्धान्त र आचरणका लागि होइन, सत्ताका लागि भैरहेको छ । परिवारवाद र सिद्धान्तहीन खेलका लागि भैरहेको छ । जेन्युइन कांग्रेसलाई मटियामेट पार्ने डिजाइन अन्तर्गत भैरहेछ ।

 

यतिखेर कांग्रेसलाई सत्तामोहले त्यस्तो दलदलमा पु¥याएको छ, जहाँ भक्ष र अभक्षबीच काँग्रेस नेतृत्वका लागि कुनै भिन्नता रहेको देखिदैन । हेर्नुहोस्, राजधानी उपत्यकाका एक जेन्युइन कांग्रेसीले भने, प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएका अनुहारहरु र समानुपातिकमा राखिएका नामहरु ! तपाई त्यहाँ जेन्युइन काँग्रेसलाई पाउनु हुन्छ, देख्नु हुन्छ ? नेताका स्वास्नी, साली र गर्लफ्रेण्डको ताँती । कुलिन र लाहुरे, तस्कर, गुण्डा, जग्गा दलाल, जल र भूमाफिया, भ्रष्टहरुको उम्मेदवारी । औंलामा गन्न सकिने उम्मेदवारमा अलिकति कांग्रेसी धङधङी भएको अनुभव गर्नु होला तर तिनमा काँग्रेसी प्राण छैन ! सत्तासुखका लागि लालायित भएर आफ्नो जुझारुपन गुमाएका बुख्याँचा बनेपछि मात्र तिनले टिकट पाएका हुन् । तिनको टेक्ने, समाउने सबै लाहुरे (अर्थात, चैते) र कुलिन (अर्थात, परिवार–सन्तान) काँग्रेस हुन् । जेन्युइन (अर्थात, खाँटी ) कांग्रेसी होइनन् ।

 

अब भन्नुहोस्, यस्ता नामका कांग्रेसी तर कामका अवसरवादीहरुको झुण्डले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको इतिहास बोकेको कांग्रेसको भूमिका निर्वाह गर्न सक्छ ? जग्गा दलाल, तस्कर, कमिशनखोर, डन र माफिया, भ्रष्टहरुलाई अंगालेर, पैसाको खोलो बगाएर जितेकाहरुले कांग्रेसको चुरो जोगीन सक्छ ? मलाई सोध्नु हुन्छ भने म भन्छु, मेरो मनमा एकरत्ती विश्वास छैन । तपाईको शब्द सापटी लिएर भन्छु, कांग्रेसलाई शेरबहादुर एण्ड कम्पनीले नारायणहरि बनायो !

 

के अहिलेको कांग्रेसलाई हिन्दी सिनेमामा झैं अन्तिम समयमा भारतीय र अमेरिकन दैव आएर जोगाउलान् ? अहँ, आफ्नो जगमा नउभिएको कसैलाई पनि कसैले टिकाउन सक्दैन । बुढी गण्डकी भारतलाई दिएर र अमेरिकनका लागि दलाइ लामाको भेलामा उपस्थित भएर पनि लछारपाटो लाग्दैन । टाउको तल र खुट्टामाथि भएर प्रेत झैं भोर्लाको रुखमा झुण्डिइ सकेको कांग्रेसलाई दैवले पनि जोगाउदैनन् ’cause दैबले नै कांग्रेसलाई यो अवस्थामा पु¥याएका हुन् । हिजो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कोइराला परिवार र उनीहरुका निम्ति सत्ताको लागि जे जे कुकर्म गरियो, जजस्लाई अगाडि बढाइयो र नियोजित रुपमा जजस्को पत्ता साफ गरियो, त्यसैको फल गिरिजाप्रसादका अनुयायीबाट पाइरहेको हो यतिखेर कांग्रेसले !

 

गिरिजाप्रसादले क्वाँ क्वाँ रुवाएका गणेशमानलाई संझनुहोस् ! भित्रभित्र रोएर पिल्सिएका कृष्णप्रसाद भट्टराईलाई संझनु होस् ! ती भट्टराई तिनै सन्त नेता हुन्, जसले विदेशी भूमिमा बसेर बन्दूकवाजी गर्ने बीपीको लाइनलाई इन्कार गर्दा पंचायती शासनमा जेलमै सड्नु प¥यो, तर सिद्धान्तमा संझौता गरेनन् । अनि गणेशमान ? यी ‘फादर अफ डेमोक्रेसी’ ले जाति, जनजातीलाई कांग्रेसको सरकारले समानुपातिक प्रतिनिधित्व गराउनु पर्छ भन्दा गिरिजाप्रसादले गणेशमानको दोहोलो काडे । अन्तमा, कांग्रेसका संस्थापक गणेशमान र कृष्णप्रसादलाई कांग्रेस पार्टी नै छाड्न बाध्य पारियो ।

 

अहिले भक्ष–अभक्ष छुट्याउन नसक्ने कांग्रेस दुर्गतीको मुहान त्यही हो । यो सत्य अवगत भएकाहरु कति दिक्क बनेका छन् तिनकहाँ पुग्नुहोस् । तिनले तपाईलाई कांग्रेसको वास्तविकता अवगत गराउने छन् र तपाईलाई कांग्रेस पार्टी पहिला फुटाउने गिरिजाप्रसाद हुन् भन्ने पनि थाहा हुनेछ । कांग्रेसलाई ३६ से र चौहत्तरे बनाएर पार्टी फुटाउने यश गिरिजाप्रसादको खातामा बचत रहेको छ । शेरबहादुरले त्यसपछि ०५९ सालमा मात्र गिरिजाप्रसादको नक्कल गरेका मात्र हुन् ।

 

काँठका एक कांग्रेसीजनले आफ्नो क्षेत्रको मतदाताको अवस्था विश्लेषण गर्दै भने, हेर्नुहोस् हामी चुनाव जित्दैनौं । स्थानीय निर्वाचनले त्यसको झलक दिइसकेको छ । स्थानीय चुनावमा कांग्रेसी वर्चस्व जोगाउने माओवादी एमालेसंग चुनावी गठबन्धन गर्न गएपछि यो घाम जत्तिकै छर्लंग भैसकेको छ । त्यसमाथि कांग्रेस बीसवर्षदेखि कम्युनिष्टका एजेण्डा बोकेर हिडिरह्यो । तिनैलाई काँधमा चढाएर बोकिरह्यो ।

 

अहिले आएर कम्युनिष्टलाई गाली गरेर मत पाउछ कांग्रेसले ? ०४७को संविधानमा सामान्य संशोधन पनि गर्नु हुँदैन भनेर जडसुत्रवादी बनेको होइन कांग्रेस ? संबैधानिक राजतन्त्र, संसदीय व्यवस्था र प्रजातान्त्रिक समाजवाद होइन कांग्रेसको चुरो ? ल भन्नुस, अहिले यो चुरो कहाँ छ ? राप्रपालाई बोकेर यो चुरो समातिन्छ ?

 

अनि, संविधानसभा कस्को एजेण्डा हो ? प्रजातन्त्रलाई लोकतन्त्र कस्ले बनायो ? गणतन्त्रको बिजारोपण कस्ले ग¥यो ? संघीय लोकतान्त्रिक गणतन्त्र कस्का बलमा घोषणा भयो ? संविधानमा समाजवाद कस्ले हालेको हो ? धर्मनिरपेक्ष र संघीयता कताबाट आयो ? कस्को पुच्छर बनेर कांग्रेसले यी कुरा अंगीकार गरेको हो ? अहिले कम्युनिष्ट अधिनायकवादको फलाको लगाउने शेरबहादुर र रामचन्द्र पौडेलहरु त्यतीबेला कहाँ थिए ?

 

जनतामा यति कुरा छुट्याउने विवेक पनि छैन होला त ? तर हाम्रै नेताहरु जनतालाई गुमराहमा पार्न सकिन्छ भनेर कन्दनी कसेर लागेका छन् ! मतदाताको यो भन्दा घोर अपमान के हुन्छ ? यो कुरा मैले सार्वजनिक रुपमा भनिदिएँ भने मेरै साथीहरुले मलाई मार्छन् ! ’cause उनीहरुलाई मैले भनेकोले हारेको भन्नलाई ठूलो दशी प्रमाण बन्छन् यी कुरा । अनि उनीहरुले भन्नेछन्, तैंले कांग्रेस हार्छ नभनेको भए हामी जित्थ्यौं । तर तैंले भनेकोले हामीले चुनाव हा¥यौं, यो हारको जिम्मेवारी तैंले लिनु पर्छ ।

 

कान खोलेर सुन्नुहोस् पत्रकारजी, हामी कांग्रेसीहरु पनि ७० प्रतिशत कम्युनिष्ट हौं भने कम्युनिष्टहरु पनि ७० प्रतिशत कांग्रेस हुन् ! उनले जींउदो काँग्रेसी लवजमा भने, कांग्रेसीमा ३० प्रतिशत मात्र आफ्नो पन छ भने यहाँका कम्युनिष्टमा पनि त्यही नै हो । तर सत्तामा बसेर राजसी सुख भोग गरिरहेका कांग्रेसीहरु बेकारका इसुलाई चुनावी मुद्धा बनाइरहेका छन् । यो अरु केही होइन, सत्तामा रहने बहानावाजी मात्र हो । न यहाँका कम्युनिष्टमा सच्चा माक्र्सवाद र लेनिनवाद छ नत काँग्रेसीमा सच्चा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद छ ।

 

हृदयदेखिको जेन्युइन कांग्रेसीलाई यति चाँहि अवगत छ । त्यसैले चुनावको परिणाम के आउछ भन्ने पनि सालाखाला अनुभूत भैसकेको छ । होइन, यति पनि विश्लेषण नगर्दो हो त चउन्नी कांग्रेसी आफ्ना एजेण्डा लिएर फुर्तीसाथ अगाडि बढेको हुनेथ्यो, सत्ताको लालची होइन !

 

सत्ताको लालचले मात्र कांग्रेसलाई पंचको शरणमा पु¥याएको हो । तपाईलाई लाग्छ, पंचले कांग्रेसलाई वैतरणी पार गराउला ? कुरा प्रष्ट छ, लेख्नुहोस् पत्रकारजी पंचको पुच्छर समातेर कांग्रेसले राजनीतिक वैतरणी पार गर्न सक्दैन । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद डुब्छ !

 

अहिले खाँट्टि कांग्रेस को हो ? सत्तामा हालीमुहाली गर्नेहरु नै खाँट्टी कांग्रेस हुन् ! सत्तासंग साइनो नजोडिएको कांग्रेसलाई अहिले कसैले कांग्रेसी मान्छ ? कांग्रेसभित्रको हुटहुटी यत्तिमात्रै हो । यसो नहुँदो हो त सत्ताबाहिर रहनु पर्दा के को हाइतोबा ? हिजो राजाले कांग्रेसीको संपत्ति लुट्दा हामीले पनि प्लेन हाइज्याक गरेकै हो । तीन तीनपल्ट हतियार उठाएकै हो । भारतमा शरण लिएकै हो । आज बढी भोट पाउन कम्युनिष्टलाई यही आरोप लगाउनुको के तुक ? ऐना हेरौं न !

 

०४७ यता दुइपल्ट कांग्रेसले पाएको बहुमत अरुको कारण होइन, कांग्रेसको कारण नै गुमेको हो । सत्ताले नै कांग्रेसलाई नारायणहरि बनाएको छ, त्यो चाहे ०१५ सालको सरकार होस् वा ०४८ र ०५६ को ! त्यतीबेला सत्तामा को थियो भन्नसक्नु हुन्छ, कोइरालाहरु–देउवा थिए भनेर ?

 

अहिले पनि सत्तामा कांग्रेस छ । त्यसैले सत्तावाहेक सत्तासिन कांग्रेसजनको भेजामा अरु केही रहँदैन । घुस्ने अवस्था पनि छैन । घुस्दो हो त यस्तो गाइजात्रा प्रदर्शन गरेर आफैंलाई यति लज्जीत पार्ने अवस्था कांग्रेसीहरुमा सिर्जना हुने पनि थिएन । उनले भने, कांग्रेसको लगभग ७० वर्षको इतिहासमा यो पार्टी कतिवर्ष सत्तामा बस्यो ? अनि विकृति विसंगति कांग्रेस सत्तामा बसेका बेलामा आयो कि सत्ता बाहिर प्रतिपक्ष रहेको बेलामा ? मेरो बिचारमा जतिबेला कांग्रेस प्रतिपक्षमा बसेको छ, त्यतीबेला कांग्रेस सुदृढ भएको छ र कांग्रेसीहरुको प्रतिष्ठा पनि गरिमामय बनेको छ । मैले त त्यसैको लागि अभ्यास शुरु गरिसके । के गर्ने ? बहुचर्चित भनाइ नै छ–मजबुरीका नाम महात्मा गान्धी !