नयाँ वर्ष–२०१८: न हर्ष–न बिस्मात !

संसारभर मनाइरहिएको पुरानो इस्वी संवत २०१७ लाई विदा र नयाँ वर्ष २०१८को स्वागत नेपालमा भने उत्साहपूर्वक हिजो आइतवार र आज सोमबार मनाउन पाइएन । यसअर्थमा, नयाँ वर्ष–२०१८ संपूर्ण नेपालीहरुका लागि न हर्ष, न बिस्मात भई नारायणहरि बन्यो ।

 

इस्वी संवतको नयाँ वर्ष–२०१८ सोमबार शुरु भयो । तर जुन उत्साह र उमंग ल्याउने वर्षको रुपमा नेपालीले यो नयाँ वर्ष मनाउन सक्थे, त्यो भने ठ्याम्मै हुन सकेन । नयाँ वर्ष आयो र नयाँ वर्षको पहिलो दिन त्यत्तिकै खेर पनि गयो !

 

यसअर्थमा यो नयाँ वर्ष न हर्ष, न बिस्मातको रुपमा आयो । यसलाई अविष्मरणीय बनाउन नेपाल र नेपालीहरुका लागि धेरै नै ठूलो अवसर थियो तर हामी नेपाली यसमा नराम्ररी चुकेका छौं । उसो त नेपालीहरुका लागि वर्षैभरि नयाँ वर्ष आउने जाने गरिरहन्छन्, इस्वी संवत मनाउदा चुके पनि बिक्रम संबत, लोसार, न्हुदया भिन्तुना वा अरु नयाँ वर्षमा मनाउला भन्ने झिनो आवाज पनि नसुनिएको होइन ।

 

तर इस्वी संबत संसारभर मनाइने र विश्वभर नै यो संवत चलिरहेकोले यसको विशेष महत्व छ । त्यसवाहेक नेपाललाई सहयोग गर्ने दातृ राष्ट्र र संघसंस्थाहरु इस्वी संवत पालना गरेर त्यसै अनुसार योजना र कार्यक्रम बनाउछन् । उनीहरुको बजेट हेरेर मात्र नेपालमा बिकास योजना बनाउनु पर्ने बाध्यता रहेको कसैबाट छिपेको पनि छैन । अमेरिका, बेलायत, चीन, रुस, भारत लगायत सबैतिर यही संवत चलनचल्तीमा रहेको छ ।

 

संसारभर चलन चल्तीमा रहेको र विश्वव्यापी मान्यता पाइरहेको सन् २०१८ को शुरुवात हुँदा गएको वर्ष २०१७ मा नेपालमा के भयो ? यसको समीक्षा मज्जाले गरेर मनाउन सकिन्थ्यो । त्यसैगरी दैलोभित्र प्रवेश गर्न लागेको सन् २०१८मा के गर्ने, के नगर्ने भनेर योजना बनाएर मनाउन सकिन्थ्यो ।

 

सन् २०१८ शुरु हुँदा यसको मुहुर्त पारेर नेपालमा धेरै ठूलो परिवर्तन पनि सम्पन्न भएको थियो । वास्तवमा नयाँ वर्ष त्यसैलाई ‘सेलेब्रेसन’ गर्नका लागि आएको झैं भएको थियो । तर नेपाल सरकार, नेपालका नेताहरुले यो अपूर्व अवसरबाट चुकेका छन् ।

 

नेपालीहरु वर्षमा धेरैपल्ट लुगाफेर्ने हैशीयतमा पुग्दैछन्, पुगिरहेका छन् । तर वर्षको एकपटक मात्र सर्पले काँचुली फेरे झैं समयले काँचुली फेर्ने प्रतीकको रुपमा आएको नयाँ वर्षलाई नयाँपन, नयाँरुप र नयाँ उमंगका रुपमा स्वागत गर्न पाइएन । स्वागत नै गर्न नपाइएपछि उत्सवको रुपमा मनाउन पनि पाइएन ।

 

हिजो, अस्ती, आज र भोलिमा खास फरक देखिदैन । तर पनि नयाँ वर्षको पहिलो दिन भनेपछि त्यसको आफ्नो विशेष महत्व छ ’cause समयले यसैदिनबाट काँचुली फेर्छ । दिन, हप्ता, महिना, ऋतु नै नयाँवर्षबाट फेरिने हुनाले पनि यसलाई विशेष अर्थ र ब्यापक महत्व दिएर संसारभर मनाइने गरिन्छ ।

 

जर्मनीकी कार्यवाहक चान्सलर एन्जेला मार्खेलले टेलिभिजनबाट राष्ट्रका नाउमा संबोधन गर्दै विगतको समीक्षा गर्दै भविश्यको यात्राका वारेमा योजना वनाइन् । उनको संबोधन जर्मन नागरिकहरुले त सुनेनै संसारभर सन्देश जाने गरी उनले वितेको वर्षको उतार चढाउको समीक्षा र विवेचना गर्दै नयाँ वर्षलाई कसरी सफलतम वर्ष बनाउन सकिन्छ भनेर आशावादी योजनाहरु सुनाइन् ।

 

तर नेपालमा वीस वर्षदेखि हुन नसकेको स्थानीय चुनाव सन् २०१७ मै सम्पन्न हुन सक्यो । संबिधानसभाले नयाँ संबिधान बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । कर्मचारीले त्यत्रो लामो समयदेखि हारलधुरल गरिरहेका स्थानीय गाउ÷नगरपालिका अहिले निर्वाचित जनप्रतिनिधिहरुबाट टनाटन भरिएका छन् ।

 

दश वर्ष अघि देश संघीयतामा गए पनि र गणतन्त्रको घोषणा भए पनि राज्य वास्तविक स्वरुप विहिन थियो । संबिधान अनुसार पहिलो पल्ट प्रदेशहरुको निर्वाचन पनि २०१७ मै संपन्न भएर प्रदेशसभाका सदस्यहरु मंसीर १० र २१ गते चुनिएका छन् ।

 

त्यसैगरी प्रतिनिधिसभाको चुनाव पनि २०५६देखि यता हुन सकेको थिएन । त्यसैमितिमा केन्द्रीय सांसदहरु पनि चुनिएका छन् । राष्ट्रियसभाको चुनाव मुखैमा छ ।

 

यति ठूलो परिवर्तनलाई, नयाँ वर्षको अवसर पारेर साकार पार्ने उद्घोष गर्न सकिने थियो । नयाँ संसदको वैठक बस्ने, त्यसबाट नयाँ सरकार बन्ने, नयाँ सदन बसेर देशका सातै प्रदेशहरुमा समेत नौलो सरकार बनाउने र देशले समृद्धिको मार्ग पहिल्याउने शुरुवात हुने थियो । बिकासका कार्ययोजना बुनेर युग परिवर्तन गर्ने घटनाहरुको वारेमा नयाँ वर्ष २०१८को दिन घोषणा हुन पाएन । त्यसैले आमजनताको मनमा नयाँ तरंग पनि आउन पाएन ।

 

युवा–युवतीहरुले जोस जाँगर राष्ट्रनिर्माणको महायज्ञपट्टि लगाउने अवसर नै पाएनन् । फलस्वरुप, देशका ठूला शहरहरुमा नयाँ वर्ष मनाउन उत्रिएका र विदेशमा रोजगारीका लागि पुगेका पचास लाख युवालाई नयाँ वर्षको अवसरमा अभिप्रेरित गर्न नै पाइएन । त्यसैले उनीहरुको नयाँ वर्ष खाने, पिउने, होहल्लामा संकुचित हुनपुग्यो ।

 

निर्वाचनमा हारेर सरकार गुमाउन पुगेका प्रधानमन्त्री र कांग्रेसका सभापतिका आगामी योजना के छन् ? करीव एकवर्ष लगाएर भएको निर्वाचनमा इतिहासमै नराम्रोसंग चुनाव हारेकोलाई यसका सभापतिले कसरी लिएका छन् ? उनको भावी योजना के छ ? नयाँ सरकारलाई भन्नु पर्ने उनका अनुभव के के हुन् भन्ने नेपाली जनता र विश्वजनमतले थाहा पाउनै पाएन ।

 

त्यसैगरी नयाँ बन्ने सरकारका प्रमुख र उनीसंग गठबन्धन गरेर चुनाव जित्ने एमाले र माओवादीका नेताहरुका भावि योजना, वचनवद्धताहरु केके रहेका छन् ? सरकार प्रमुख बन्नै लागेका नेताको मुखबाट घोषणा हुन पाएन ।

 

नयाँ वर्षको उपलक्षमा देशमा भएका सकारात्मक र नकारात्मक कुराहरुको समीक्षा गरेर आगाडि बढ्ने सोच जनताले बनाउनै पाएनन् । आमजनताले दुख र असफलता त्यागेर नयाँ वर्षमा खुशी र सफल बनाएर मनाउने प्रण गर्ने अवसर नै पाएनन् । जवकि यी कुरा नेपालका मिडिया र खास गरेर सामाजिक संजालले चर्चा परिचर्चा गरेर समाजलाई तरंगीत बनाइरहेका थिए ।

 

नेपालीलाई एकअर्काको खुट्टा तान्दैमा फुर्सद हुँदैन भन्ने पुरानो कथा नै नयाँवर्ष २०१८को शुरुवात र पूर्वसन्ध्यामा पनि दोहोरियो । त्यो कथा अनुसार संसारका हरेक देशबाट भ्यागुता निकासी गर्दा ढक्कीमा भ्यागुता जिऊँदा भ्यागुता हालेर ढक्कीलाई बिर्को लगाएर पठाउने गर्दथे । तर नेपालबाट निकासी गरिने भ्यागुताको ढक्कीलाई भने विर्को लगाइएको छैन । र पनि एउटा नेपाली भ्यागुतो ढक्कीबाट बाहिर उफ्रिएको छैन ।

 

यो देखेर भ्यागुता आयात गर्ने देशका मानिस आश्चर्य चकित बनेछन् । यस्तो त हुनै सक्दैन तर कसरी यो संभव भयो भनेर खोजी गर्ने निर्णय गरेछन् ।

 

बिदेशीहरुले धुईपत्ताल लगाएर कारण पत्ता लगाएरै छाडेछन् । त्यो रहेछ–नेपाली भ्यागुताहरु एकले अर्काको खुट्टा समातेर कसैलाई अगाडि बढ्नै नदिने रहेछन् । र, भ्यागुताले अर्काको खुट्टा तानेर कसैलाई अगाडि बढ्न नदिने बुद्धि नेपाली नेताहरुबाट सिकेका रहेछन् ।

 

संसारभर गरिने पुरानो इस्वी संवत २०१७लाई विदाई र नयाँ वर्ष २०१८को स्वागत नेपालमा उत्साहपूर्वक हिजो आइतवार र आज सोमबार मनाउन पाइएन । यसअर्थमा, नयाँ वर्ष–२०१८ संपूर्ण नेपालीहरुका लागि न हर्ष, न बिस्मात भई नारायणहरि बन्यो ।