प्रचण्डको पासोमा ओली !

कांग्रेसले प्रधानमन्त्री अफर गरेकै भए पनि प्रचण्डले आफैं त्यस्ता कुराको प्रचार गर्दै हिँड्न मिल्दैन, यो अनैतिक त हो नै चुनावपूर्व गरिएका गठबन्धनको भावना र अक्षर दुबैका विरुद्धसमेत हो । साथै उनले के पनि बिर्सन मिल्दैन भने उनी कम्युनिस्ट गठबन्धनका दुई प्रमुखमध्ये एक मुख्य घटक त हुन् नै एमाले र उनको दल एउटै घोषणापत्रमा चुनावमा गएका हुन् ।

 

 

जनादेश प्रस्ट छ । नेपालका कम्युनिस्टहरुले आगामी पाँच वर्ष एकलौटी शासनसत्ता सञ्चालन गर्ने गरी जित हासिल गरेका छन् । यिनीहरुलाई यो जित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा प्राप्त भएको र उनैको नेतृत्वमा आगामी पाँच वर्ष शासन गर्ने जनादेश मिलेको हो । यही सत्य हो, यस अतिरिक्त कुनै पनि न्यारेटिभ बगम्फुसे गफ हुन् ।

 

कसैलाई मन परे पनि नपरे पनि, तर्से अथवा तर्साए पनि कम्युनिस्टहरु विशेष गरी एमाले र माओवादी केन्द्र अब नेपालका शासनाधिकारी भएका छन्, केन्द्रमा मात्र होइन सातमध्ये ६ प्रदेशमा समेत । उनीहरु एउटै घोषणापत्र लिएर निर्वाचनमा गएका थिए, जनताले यिनीहरुका भनाइ पत्याएर सुविधाजनकभन्दा बढी बहुमत दिएका हुन् ।

 

हो, निश्चय नै निर्वाचन नहुँँदै र त्यसपछि परिणाम आउँदैदेखि एमाले र माओवादीले चुनावमा जित हासिल गर्नमात्रै गठजोड गरेका हुन्, यिनीहरु एक भएर जाँदै जाँदैनन् भन्ने अनेक लख काटिएका थिए ।

 

एउटा अर्को पनि कथ्य थियो, माओवादीका मतदाताले त एमालेलाई मत देलान् तर एमालेका मतदाताले कुनै पनि हालतमा माओवादीलाई मत दिँदैनन् । नेपाली कांग्रेस त्यही आशमा थियो । जहाँ जहाँ माओवादीका उम्मेदवार थिए, त्यहाँ एमालेका मतदाताले कांग्रेसलाई भोट दिन्छन् भन्ने आधारमै कतिपय कांग्रेस नेताले मनमनै लड्डु खाएका थिए । सम्भवतः लड्डु धेरै खाएकाले अहिले कतिपय कांग्रेस दिग्गजहरुको रक्तचाप त बढेको त छ नै साथै उनीहरुलाई चिनीको बिरामीले पनि सताएको छ ।

 

साथै मननीय छ, आफ्नो दुर्दशाग्रस्त राजनीति जोगाउन एमालेसँग तालमेल गर्न पुगेका पुष्पकमल दाहाल अर्थात् प्रचण्ड, चुनावको नतिजापछि निकै हौसिएका छन् । उनको हौस्याइमा वास्तवमा धेरै चकित हुनु आवश्यक छैन ’cause हौसिन र एक शिविरबाट अर्को शिविरमा उफ्रिन उनले महारत हासिल गरेका छन् । त्यसैले हुनुपर्छ कांग्रेसले उनलाई पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको प्रसंग’bout हल्ला मच्चाउँदै हिँडेका ।

 

वास्तवमा कांग्रेसले केन्द्र मात्र गुमाएको होइन, कुनै पनि प्रदेशमा सरकार त परै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहिनेसम्मको स्थान प्राप्त गर्न नसकेका कारण यसका नेताहरु अहिले त्यति होशमा छैनन् त्यसैले जे पनि भन्न सक्छन् । एउटा ‘टिभी शो’मा मित्र पुरञ्जन आचार्यले भनेजस्तै उनीहरु हारका कारण डिप्रसनमा छन् । शास्त्रमत छ,, कसैले चरम अवशाद (डिप्रेसन) का बेला बोलेको कुरा पत्याउनु हुँदैन ।

 

त्यसैले कांग्रेसले प्रधानमन्त्री अफर गरेकै भए पनि प्रचण्डले आफैं त्यस्ता कुराको प्रचार गर्दै हिँड्न मिल्दैन, यो अनैतिक त हो नै चुनावपूर्व गरिएका गठबन्धनको भावना र अक्षर दुबैका विरुद्धसमेत हो । साथै उनले के पनि बिर्सन मिल्दैन भने उनी कम्युनिस्ट गठबन्धनका दुई प्रमुखमध्ये एक मुख्य घटक त हुन् नै एमाले र उनको दल एउटै घोषणापत्रमा चुनावमा गएका हुन् ।

 

त्यही घोषणापत्र देखाएर उनी र उनको दलले भर चुनाव राजनीतिक स्थायित्व प्रमुख नारा लगाएका थिए । उसो भए प्रश्न छ, के ती नारा मतदातालाई झुक्याएर मत लुट्न लगाइएका थिए ? त्यसैलाई पत्याएर गठबन्धनका पक्षमा जनादेश आयो तर जनादेश कार्यान्वयन पनि नहुँदै जनादेशको अर्थ नै बिर्सेर उनी भने अर्को पक्षबाट आफूलाई प्रधानमन्त्रीको अफर आएको प्रचार गर्न थाल्नु सामान्य अर्थमा पनि राजनीतिक चरित्रभित्र पर्दैन । यदि त्यस्तो केही गरियो भने त्यो सरासर गठबन्धन मर्यादाका खिलाफ त हो नै, न्यूनतम राजनीतिक नैतिकका पनि विरुद्ध हो । जनतामाथि सोझै विश्वासघात हो ।

 

एमाले माओवादीको औपचारिक एकता कहिले कसरी कुन विधिले हुन्छ, त्यो उनीहरुको कुरा हो तर मतदाताका लागि भने यी दुबै एउटै पार्टी हुन् र यिनीहरुले चुनाव चिन्ह फरक भए पनि एउटै पार्टीका रुपमा मत प्राप्त गरेका हुन् । मतप्राप्त गर्नकै लागि देश दुनियाँलाई झुक्याउन पाइँदैन र यदि झुक्याइयो भने त्यसबाट उत्पन्न हुने प्रतिक्रिया सोचेभन्दा धेरै अप्रिय हुन्छ ।

 

प्रचण्डलाई निश्चय नै मन नपर्ला तर उनलाई थाहा छ, यो जनादेश उनलाई प्रधानमन्त्री बन्न प्राप्त भएको होइन र आलोपालोका लागि पनि होइन, गठबन्धनलाई मत दिने मतदाताले ओलीको नेतृत्व पत्याएर उनैलाई शासनको बागडोर दिन चाहेका हुन् । मतदाताको यस अभिप्रायका खिलाफ अन्य कुनै प्रबन्धले प्रचण्डले प्रधानमन्त्री बन्ने लोभ पाल्नु जनादेशको सरासर अवमूल्यन र अपहेलना हो ।

 

जनताले कम्युनिस्ट गठबन्धनलाई पाँच वर्षको अवधिका लागि शासन गर्ने अभिमत दिइसके, यस अभिमतलाई कसैले कतैबाट पनि लत्याउने, पासो थाप्ने काम गर्नु हुँदैन । हुन त नीतिच्युतहरुलाई जनतालाई ठगी हाल्यौं, अब पाँच वर्ष ढुक्क भयो भन्ने लागेको हुनसक्छ । तर ख्याल रहोस्, दुनियाँलाई ठगेर केही समय आफ्नो दुनो सोझ्याउन सकिएला, सधैं सकिँदैन । जनताले आफू ठगिएको थाहा पाएका दिन अहिले नसोचिएको, नचिताएको पनि हुनसक्छ र हुन्छ ।