बुढा नेतालाई सुधार्नु भन्दा विदा गर्नु उत्तम

हेक्का राख्नु पर्ने कुरा के छ भने प्रत्येक नयाँ पुस्ताले पुराना पुस्ताका काम गर्ने तरिका लाई सुस्त गतिमा अगाडी बढिरहेको अनुभव गर्छ । यदि उनीहरुको तालमा ताल मिलाउन सकिएन भने त्यो पुस्ता अवश्य पनि नयाँ बाटो तिर लम्किनेछन् ।

 

 

 

 

भनिन्छ नेपालमा प्रत्येक दश-दश वर्षमा परिवर्तन हुन्छ । सात साल, राणा शासन अन्त्य, प्रजातन्त्र प्राप्त । सत्र साल, पञ्चायती व्यवस्था सुरुवात, प्रजातन्त्र समाप्त । छब्बीस, सत्ताइस साल, झापा आन्दोलन पराकाष्ठामा । छत्तीस साल, बिद्यार्थी आन्दोलन । छयालीस साल, प्रजातन्त्र पुनः प्राप्ती । पचपन्न, छपन्न साल, माओवादी आन्दोलन चरम रुपमा । पैंसट्ठी साल, देशमा राजतन्त्र समाप्त, गणतन्त्र सुरुवात । त्यसैले अब फेरि देशले केहि परिवर्तन त खोजिरहेको छैन ?

 

हुनत पहिलेको जस्तो राजनीतिक उथलपुथल अब सम्भावना छैन । तर, संसारमा असम्भव भन्ने पनि केहि छैन । अहिले राजधानीमा काँग्रेसको महासमिती बैठक चलिरहेको छ भने उता नेकपाले पनि त्यसलाई काउण्टर दिन स्थायी समितीको बैठक चलिरहेको छ । दुवै पार्टीमा पक्ष-बिपक्षको बिचमा चरम असन्तुष्टि व्यक्त भइरहेको छ । जनताका जिजिविषाका सवालहरु माथी छलफलत कता हो कता ‘एजेण्डा’ मै छैन, हुँदैन र राखिँदैन ।

 

हुनत जिवन्त पार्टीमा असन्तुष्टि पोखिनु, वादविवाद हुनु, प्रजातान्त्रिक पद्धती भित्रै पर्दछ । तर, जुन विषयमा त्यस किसिमका विवादहरु बाहिर आउँछ त्यसलाई स्वीकारेर, सुधार गरेर जानु पर्नेमा संस्थापन पक्ष वा बहुमतले पेलेर जाँदा त्यसको सन्देश नकारात्मकनै हुन्छ ।

 

शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र रेष्टुरेण्टमा पारिवारिक समारोहमा नाचेको फोटो बाहिर आयो । के त्यो नाच बाट वर्तमान प्रधानमन्त्रीले प्रतिकृया जनाउनु आवश्यक थियो वा सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले मञ्चबाटै बिरोध गर्नु पथ्र्यो र ? यसबाट उनीहरु झस्कनुमा दुईवटा कारणहरु हुनसक्छ ।

 

एक त उनीहरुले साँच्चीकै भुतपुर्व राजाले गुमेको राज्य फिर्ता लिन देश, विदेश हल्लाउने गरी आन्दोलन थाल्दैछन्, दोस्रो आफ्नो पार्टी र सरकार माथी आइपरेको बिरोधका चर्का श्वरहरुलाई अन्त कतै लगेर मोड्न चाहिरहेका छन् । जनता अब धेरै बाठा भइसकेका छन् । एकातिरको दोष लुकाउन अर्को तिर औंला तेर्साउँदैमा जनता त्यसकै पछाडी दौडिने छैनन् । पक्ष र विपक्ष सबैको हुन्छ ।

 

राजा चाहिन्छ भन्दै ज्ञानेन्द्र शाहको जन्मदिनमा ‘श्री ५ महाराजाधिराज सरकारको जय जयजय’ भन्दै ‘प्लेकार्ड’ बोकेर मनशान्तीको लागि आफ्नै आत्मरतिमा कुर्लने व्यक्तिहरु पनि छन् । त्यसो भन्दैमा त्यसलाई प्रतिबन्ध लगाउनु प्रजातान्त्रिक मुलुकमा सुहाउने विषय होइन । यसमा स्वयं तिनवटै राप्रपाहरु त एक ठाऊँमा आउन सकिरहेका छैनन् भने अन्य पक्षबाट कतिनै सहयोगका पाइलाहरु अगाडी बढ्लान्र ? राजगद्दी त्यागेर साधारण जनता बनेका राजालाई रेष्टुरेण्टमा नाच्न गाउन अन्य नागरिक सरह छुट छ ।

 

यत्तिकैमा डर मान्नु पर्दैन । बरु नाचेर तोडफोड गरे भने वा असामाजिक व्यवहार गरे भने प्रहरीले अरुलाई गरेको जस्तै चौकी तिर दौडाउनु पनि सक्नु पर्दछ । डर त त्यो विषयसँग लाग्नु पर्ने हो जसले जनताहरुलाई स्वस्फूर्त रुपमा सडकमा आउने वातावरण निर्माण गरिरहेको छ । ‘आइ एम विथ डा. के.सी.’ र ‘आइ एम विथ निर्मला पन्त’ भन्ने ह्यास ट्याग किन यति ‘पपुलर’ हुनपुग्यो भनेर चाहिँ डर मान्नु पर्छ ।

 

युग परिवर्तन भइसक्यो, अबको क्रान्ती सडकमा जम्मा भएका मानिसहरुको टाउको गनेर मात्रै हुँदैन । नयाँ पुस्ता शिक्षा र ‘टेक्नोलोजी’ मा धेरै अगाडी बढिसक्यो । साथ दिने हातहरु माइतिघर मण्डला, बानेश्वर, महाराजगञ्ज वा बालुवाटार गएरै मात्र गरिरहेका हुन्छन् भन्ने सोचाई राख्नुनै पछौटे सोचाइ हो ।

 

हेक्का राख्नु पर्ने कुरा के छ भने प्रत्येक नयाँ पुस्ताले पुराना पुस्ताका काम गर्ने तरिका लाई सुस्त गतिमा अगाडी बढिरहेको अनुभव गर्छ । यदि उनीहरुको तालमा ताल मिलाउन सकिएन भने त्यो पुस्ता अवश्य पनि नयाँ बाटो तिर लम्किनेछन् । उदाहरणको लागि नयाँ मिस नेपाल शृंखला खतिवडा नेकपाका नेताहरुको छोरी हुन् तर उनको फेसबुकमा ‘आइएमविथ डा केसी’ प्रष्ट रुपमा छ । जबकी डा केसीको लँडाई राज्यको संस्थापन पक्ष सँगै भइरहेको छ ।

 

बाँचुन्जेल पदमै बसेर राजनीति गर्नु पर्ने, कस्तो लोभ हो यो ? विशेष गरी काँग्रेसी बृत्तमा यो विषय धेरैनै उठ्ने गर्दछ । पुराना पुस्ताले ठाउँ छाडिदिनु पर्छ भनेको भन्यै छन् । गगन थापाले यसको खुलेआम आवाज उठाइरेका छन् । महामन्त्रीको उम्मेदवार हुँदा यसको सुनुवाई हुनु पर्नेमा ज्वाईं ससुरा एक आपसमा लड्न पुगे । जसको फाइदा शशांक कोइरालालाई हुनपुग्यो । हुनत शशांक कोइराला पनि अरु भन्दा युवानै थिए तर गगन थापा जस्तो राजनीतिलाई नजिक बाट बुझेको र बिद्यार्थी कालदेखि राजनितीको मैदानमा जेल, नेल पर्दै ‘ग्राउण्ड रियालिटी’ बुझेको व्यक्ति अवश्यपनि थिएनन् ।

 

राजनीतिको मैदानमा लडिबुडी खेलेको र कसैको पुत्र भएर चिकित्सा क्षेत्रबाट सहज प्रकट भएका व्यक्तिमा जनताका समस्याहरु बुझ्न सक्ने क्षमतामा धेरैनै फरक पर्दछ । त्यसैले पार्टी भित्रका मतदाताहरुले जब बाहिर वा ‘मिडिया’हरुमा युवा पुस्ताको हातमा पार्टीको साँचो दिनुपर्यो भनेर कुर्लेको पटक्कै सुहाएको लाग्दैन । नेतृत्व भनेको खोसेर लिने हो, कसैसँग त्यसको साँचो माग्ने होइन । त्यतिबेला चुनावमा भोट दिएर युवावर्गमा नेतृत्व लिने बेला आइसकेको थियो, साथ दिएको भए आज उनी नेबिसंघको महामन्त्री जस्तै काँग्रेसको महामन्त्री हुने थिए । त्यसपछि हेर्नु थियो, रात दिन युवा पुस्ता भनेर अलाप गर्ने व्यक्तिले पद पाएपछि भनेको जस्तो गरिरहेका छन् कि छैनन् ?

 

सायद काँग्रेस भित्र युवा पुस्तालाई ठाऊँ दिनु पर्यो, पहिलो पुस्ताले ठाऊँ छाडिदिनु पर्यो भन्ने आवाज बढी आएर होला हिजो आज शेर वहादुर देउवाले चश्मा लाउन छाडेका छन् । गाला पनि चिल्लो बनाएका छन् । दौरा, सुरुवाल, टोपी पनि कम्तीनै लगाउँछन् । बाहिरी रुप फेरेपनि भित्री रुपमा भने परिवर्तन भएको रहेनछ, बिबिसिको साझा सवालमा पुल्चोक क्याम्पसका विद्यार्थीलाई हप्काएको जस्तै गरी अहिले भाइरल भएको भिडियो ‘ए प्रकाश महत, चुपलाग्नुस्’ भनेर हप्काएको दृश्यले त्यसको पुष्टि गर्छ । यसमा प्रकाश शरण महत देउवा भन्दा बढ्ता दोषी देखिएका छन, पार्टी सभापतीले बोलिरहँदा हलमा हल्ला गर्ने, अनुशासन हिन नेता (नोटः नदेखिएको पाटोको त चर्चा गरेर साध्य छैन) । यहि हो हामीले परिवर्तनको आभाष पाउनै नसकेका सयौं उदाहरणहरु मध्ये एउटा सानो अंश ।

 

सांसदहरु, घर हुनेले घर भाडा लिएको, स्वकीय सचिवको पारिश्रमिक आफू स्वयंले बुझेको, इन्धनको रकम कुम्ल्याएको जस्ता विषयहरु के बृद्ध नेताहरुले मात्र गरिरहेका छन् ? यसमा युवा भनिने नेताहरु सरिक छैनन्र ? पद पाएपछि पुरानै परम्परालाई नै निरन्तरता दिनु हुन्न भन्ने ‘ग्यारेण्टि’ के छ ? यसको स्पष्ट जवाफ बोलिमा हैन ब्यवहार बाट दिन सक्नु पर्छ ।

 

जनता पहिलेको जस्ता छैनन् भनेर बुढा नेताहरु मात्र होइन समग्र बुढा पार्टीहरुले पनि बुझ्नु पर्दछ । प्रजापरिषद नभएको भए जहाँनिया राणा शासन समाप्त हुने थिएन भन्दैमा आज त्यसको अस्तित्व कहाँ खोज्न जाने, कहाँ पाइन्छ त्यत्रा शहिदहरुले बलिदान दिएको पार्टीको साइनबोर्ड ? जसरी बुढा नेताहरुलाई अवकास दिने वा सल्लाहकारको भुमिकामा धकेल्न खोजिरहेका छौं त्यसैगरी बुढा पार्टीहरुलाई पनि अहिले एनजिओ जस्तो देखिने पार्टीहरुले पाखा नलगाउलान् भन्न सकिंदैन ।

 

गत निर्वाचनमा झण्डै काठमाण्डौ–१ मा देखिइसकेको थियो । दिल्लीमा आमआदमी पार्टीले बिजेपी र काँग्रेस आईलाई त्यसरी पछार्ला भनेर कसले अनुमान गरेको थियो र ? बेलैमा होश गरेर जनताको भावना बुझेर देश बनाउने प्रयास गर्नुहोला । बलात्कारीका बा पागल हुन नपरोस्, आमा अनशन बस्नु नपरोस्, आन्दोलनका घाइतेले गृह मन्त्रीकै अगाडी विष सेवन गर्नु नपरोस् । छोराको न्यायको लागि अनशन अवस्थामै जीवन सपाप्त पार्ने नन्दप्रसाद अधिकारीले अझ कति वर्ष सम्म शिक्षण अस्पतालको मुर्दाघरमा सदगत गर्ने दिन गन्ती गर्दै बस्नु पर्ने ? यो देशमा भिमसेन थापाकी श्रीमतीले श्राप दिएको प्रसंग आइरहन्छ अब त्यसमा गंगामाया पनि सरिक हुनेछिन् नयाँ ‘भर्सन’ मा ।