हामीलाई पनि सोधी हेर के छौ तिमी हाम्रोलागि…

जुन ऐना हाम्रा दलले हेरिराखेका छन आफ्नो रुपमा आएको परिवर्तन हेर्न, त्यसले पटक-पटक तिनलाई  ढाँटेको छ । कुनै बेला मूल प्रतिवेदन पेश गर्नेहरू अहिले फरक मत राख्दैछन, कुनैबेला फरक मत राख्नेहरू अहिले मूल प्रतिवेदन पेश गर्दै छन, बामदेवहरू, देउबाहरू, रामचन्द्रहरू ।  कसैले दल कब्जा गर्छन, त्यसको विरुद्धमा पार्टीको लोकतान्त्रिकरण, निर्णय प्रक्रियाको पारदर्शिता आदि आदि हुन्छ, त्यो फरक मतमा । पात्र फरक कुरा उही ।

 

 

 

हिजो बिहानै अफिस आउँदै गर्दा गाडीमा चर्को चर्को स्वरमा समाचार सुनेँ । काङ्ग्रेसले देउवा नेतृत्वको महासमिति बैठकमा आफ्नो कामको समीक्षा गर्दै गरेको र बामदेवले स्थायी समिति बैठकमा अलग्गै प्रतिवेदन मार्फत पार्टी र सरकारको समीक्षा गरेको । अरू थुप्रै गन्थन थिए काङ्ग्रेसले के गर्नु पर्थ्यो गरेन र नेकपाले के गर्नु पर्नेमा अर्कै गर्यो  भन्ने गुनासा सहितका ।

 

आठ वर्षको उमेर देखि राजनीतिक गफबीच हुर्किएको मलाई एक दुई साल भयो किन किन राजनैतिक गफ चिया पसलका “हमजाएगा जोक” जस्तै लाग्छन ।  बीस बर्ष देखि जागीर नै राजनीतिक गफको अखडामा खाएँ,  गफ सुन्छु, आक्कल-झुक्कल गर्छु पनि तर  केवल जागीरका लागि । त्यसैले मैले च्यानल घुमाएँ र गीत गाउँदै गरेको ठाउँमा अड्किएँ ।

 

कसले रच्यो मैले दिमागमा राखिनँ तर गायक भने चिन्छु ।

 

उदित नारायण गाउँदै गए, “कहिलेकाहिँ मनका कुरा हामीलाई पनि…”।

 

सिंहदरवार जाने बाटो छुट्टियो, वानेश्वर तिर लागेँ।  विजुलीबजार पुल पुग्दा गीतको अर्को हरफ आयो:

 

 

“कति चोटी ढाँटिसक्यो दर्पणले तिमीलाई,

अझै किन सोध्यौ नानी आफ्नो रुप उनलाई ?

हामीलाई  पनि सोधी हेर,

हामीलाई  पनि सोधी हेर के छौ तिमी हाम्रो लागि?

दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन ।

 

 

हो, ऐना भन्दा विश्वासिलो हाम्रो अर्को साथी छैन,  जे छ त्यही देखाइदिन्छ । श्रीमती, भाई–बैनी र कमरेड भन्दा उल्टो, भलै दाहिनेको देब्रे देखाउँछ तर थाहा नदिई।

 

हाम्रा दलहरूले आफ्ना कामको समीक्षा गर्ने भनेपछि मैले यसो सोचेँ, ७०वर्ष देखि गरि राखेको कर्म भन्दा फरक  के गरे त? तिनले ऐना हेरेको चान्चुन ७० वर्ष पुग्यो ।  २००४ सालमा जन्मेका पार्टीले ६ सालमै ऐना हेर्न थालेका थिए, ६ सालमा जन्मिनेले ७ सालमै ।  अनुहारमा  दाग थिए, ऐना पुछेर ७० वर्ष काटे । धेरै दाग देखिए ऐनै हेर्न छोडिदिए, ऐना फेरे तर दाग बढ्दै गएका छन।

 

जुन ऐना हाम्रा दलले हेरिराखेका छन आफ्नो रुपमा आएको परिवर्तन हेर्न, त्यसले पटक पटक तिनलाई  ढाँटेको छ । कुनै बेला मूल प्रतिवेदन पेश गर्नेहरू अहिले फरक मत राख्दैछन, कुनैबेला फरक मत राख्नेहरू अहिले मूल प्रतिवेदन पेश गर्दै छन, बामदेवहरू, देउबाहरू, रामचन्द्रहरू ।  कसैले दल कब्जा गर्छन, त्यसको विरुद्धमा पार्टीको लोकतान्त्रिकरण, निर्णय प्रक्रियाको पारदर्शिता आदि आदि हुन्छ त्यो फरक मतमा। पात्र फरक कुरा उही ।

 

जे ले पटक पटक ढाँटेको छ त्यसैलाई पटक-पटक सोधिएको छ आफ्नो रुप वारे ।  हामीलाई सोधे हुन्न?हामीले तिनमा आएको परिवर्तन लगातार नियाली रहेका छौँ ।

 

हामी भन्दिनेथियौ निः

 

पहिले ३६ सालमा आउँदा मकै र मोही हाम्रो पेटीमा बसेर खाएका थियौ  । तिम्रो यौवना गालाका चाउरीमा लुकेको थियो तर तिम्रो हिम्मत नाक र ओठमा देखिन्थ्यो । तिम्रा आँखा इनार जस्तै पृथ्वीको गभ तिर गडेका थिए तर तिनले देखेका सपना चौडा निधारको छेऊमा चम्किरहेका देखिन्थे, बाहिरै टल्किन्थे ।

 

दोस्रो पल्ट २०४६ मा आयौ । तिमी “अराष्ट्रिय तत्व” भएर लुकि हिँड्थ्यौ, गाउँलेले छातीभित्र लुकाएका थिए शासकको गोलीबाट जोगाउन । तेस्रो पल्ट २०५२-६३ को दशकमा आयौ । खोले फाँडो खायौ, फाटेका जुत्ता र गञ्जी लायौ । जुत्ताबाट हामीले संसार घुम्न हिँडेका पाइतलाको अग्रभाग देख्यौँ, फाटेको गञ्जीबाट तिम्रो छातीमा संसार फेर्ने साहस देख्यौँ ।

 

मेरा हजूरवाले तिमिलाई १९९७ सालदेखि  २०१७ सम्म देखे, मेरा बाले २०१७ देखि २०३६ सम्म देखे, मैले २०३६-३७ देखि अहिले सम्म हेरिरहेको छु, निरन्तर । हामी तीनपुस्ताको आँखा अलग थिए तर स्मरण एउटै छ । अर्थात त्यो तिम्रालागि भरिलो ऐना बनेर बसेको छ, समग्रतामा । पञ्जा निस्केका जुत्ता देखि जमदारले टल्काइदिएका देशी जुत्ता सम्मको फोटो छन हामी तीनपूस्ताको स्मरणमा । ढाडमा मकै-भटमासको पोको हालेको झोला देखि एयरपोर्ट्बाट निस्कँदा जमदारले बोकिदिएको ब्रिफकेश सम्म देखेका छन यी आँखाले ।

 

तर तिमिले कहिल्यै मलाई सोधेनौ तिम्रो रुप’bout, तिम्रो फेरिएको कार्यशैली ’bout। न सोध्यौ मेरा बालाई यस ’bout । हाम्रो दृष्टिमा के थियौ र अहिले के भयौ, हामीले कहिल्यै सुनाउन पाएनौँ ।र अझै पटक पटक धोखा दिने त्यही दर्पणलाई सोधि रहन्छौ, तिमि कस्ता भयौ भनेर ।

 

मलाई सोधेको भए म तिमिलाई पुक्क फुलेर सुन्दर भएका गालालाई सोभा दिने तिम्रा अहिलेका नाक र ओठलाई तिम्रा उस बखतका ति चाउरीपरेका गाला सङ्गै सुख दुःखका साथी  बनेर बसेका ओठ र नाक  सङ्गै राखेर देखाइदिने थिएँ ।  तिम्रो हिम्मत देखिने नाक र ओठ तिम्रा गालामा बढेको लालीले गर्दा कसरी खुइले देखियो तिमीले आफैँ थाहा पाउँथ्यौ ।

 

अहिले किन ति नाक एउटा सामन्ती-युगिन सानमा रमाउछन तिमिले तुलना गर्न पाउँथ्यौ र त्यतीबेला तिम्रा हिम्मतका स्वर  निकाल्ने ओठ आज कसरी  अर्काको भक्ति-खातिर सिद्धान्त र वादका गाफ छाँट्नमा मात्रै प्रयोग भएका छन, झुठ बोल्न र ओठे प्रेम देखाउन प्रयोग भएका छन।  जनतालाई भित्री गल्लीमा धकेलेर सडकमा हाइँ-हाईँ हुइँ बनाएर सडक  रित्तो बनाएर हिँड्दा फुल्ने नाक को त्यति बेलाको नाक सङ्ग तुलना गर्थ्यौ । तिमिले छर्लङ्गै देख्थ्यौ ति नाक र यि नाकवीचको फरक, ति ओठ र यि ओठ वीचको फरक।  तर तिमिले हामीलाई सोध्ने ’bout सोच्न सम्म सकेनौ।

 

तिम्रा ति इनाररूपी आँखा अहिले फर्सीमा गोलभेँडा टाँसेजस्तो वाहिरै टिप्लिक्क देखिन्छन । त्यति गहिरो इनार कसरी उक्सियो भन्ने तिमिले आफैँ कति महसूस गर्यौ थाहा छैन तर हामीलाई सोधेका भए बताइदिन्थ्यौ ।  ति इनारमा कति फोहोर पसेको छ हामी देखाइ दिन्थ्यौँ ।  भक्ष-अभक्ष के के पसेको छ, मेरा बाको उपचार गर्ने द्रव्य कति पसेको छ, मेरी छोरीकोलागि दुध किन्ने द्रब्य कति पसेको छ, सडकको अलाकत्रा कति पसेको छ र  पुल बनाउने फलामे डण्डी कति पसेका छन  हामीलाई सोधेका भए सबै देखाइ दिन्थ्यौँ । हामीले हाम्रा मानसपटलमा संचित तस्वीर तिमिलाई देखाउन पाएको भए तिमीलाई थाहा हुन्थ्यो  ति इनाररूपी आँखा कसरी पुरिए ।

 

पट-पटि फुटेका खुट्टामा  जुत्ता -चप्पल नलगाई तिम्रा-हाम्रा बा-आमाले बेसाहा बोके, तिमीलाई खोले खुवाए, तिमीले टेक्ने जमीन देखाए, सङ्घर्ष गर्ने हिम्मत दिलाए र एउटा सुन्दर संसारको सपना देखाए जहाँ ति फुटेका खुट्टाले निर्वाध नारायणहिटी र सिँहदरवारको यात्रा गर्न सक्छन।

 

ति नारायणहिटी र सिँहदरवारको यात्रा सहज बनाउन एयरपोर्ट-मार्ग हुँदै सुन तस्करी गर्ने  पजेरो प्रयोग कसले गरायो?  ति सपना साकार पार्न सङ्गै लड्ने मध्येका मुट्ठिभर साथीलाई काखी च्यापेर ति बेसाहा बोकेर ल्याएको खोले बिर्साएर महलको बास र पाँच तारेको गाँसमा कसले बानी बसाइदियो?  मलाई कहिल्यै सोध्यौ?

 

लोकतन्त्रको सरल मार्गमा हिँडेको देश  बीस वर्ष दलदलमा भासियो । करीव ५० वर्ष सम्म त्यो बाटो हिँड्न पाउनुपर्छ भनेर सङ्घर्ष गर्ने जनतालाई नै त्यो मार्ग’bout द्विबिधा उत्पन्न कसले गरायो? आफू सङ्गै जनताका अधिकाँश प्रतिनिधिलाई प्राडो र पजेरोको संस्कृतिमा कसले डुबायो? आज त्यही “महान संस्कृति” झाँङ्गिँदै गएर १८ करोडका गाडी र डेढ अर्वका हेलिकटरको रुप लिँदैछन ।  मलाई कहिल्यै सोध्यौ को हो त्यो दुरद्रष्टा भनेर ?

 

मलाई सोधेका भए म देखाइदिन्थेँ मेरो तीन पुस्ताले खिचेका तस्वीरहरू र तिमीले थाहा पाउने थियौ तिमीले कहाँ बाटो बिरायौ।

 

अहिले तिम्रा गाला खाइलाग्दा, सुन्दर छन तर तिम्रा गालामा देखिएको चमकले कसरी तिम्रा स्वाभिमानी नाक र सत्य बोल्ने ओठलाई छायाँमा पारेको छ?  तिम्रा आँखा उक्सिएर पुर्लुक्क माथिआउँदा कति र कस्ता चिज त्यसभित्र छोपिएका छन ?  ति चिज ७० बर्ष देखि जसलाई सोधि राखेका छौ, त्यसैलाई यि प्रश्न पटक-पटक सोधेर केही नयाँ जबाफ आशा गर्छौ ?

 

अव हुँदा हुँदा पार्टी कसरी बिग्रिए भनेर बामदेव र देउवाको प्रतिवेदन हेरेर समीक्षा गर्नु पर्ने दिन आयो तिमिलाई ?  टुँडिखेलमा भाषण गरेर कस्को नाम लिएका थियौँ मैले बिर्सेँ । त्यसमा सुनका कुरा भएका थिए, पार्टीलाई भित्र-भित्रै बसेर खाने घुनका कुरा भएका थिए ।

 

त्यस्तै प्राडोका कुरा चर्चित थिए, पजेरोका कुरा थिए, पुरुष सांसदले खाएका सुत्केरीले खाने औषधीका कुरा  थिए । बिदेशीका  तालमा नाचेर पार्टी फुटाएका कुरा थिए, किस्तीमा राखेर लोकतन्त्र दरवारमा बुझाएका कुरा थिए, विदेश बसेर नेपालमाथि घातक आक्रमणका गरेका कुरा थिए, राजदरवारको इसारामा सिंहदरवारमा आक्रमण गरेका हुरा थिए,  टुहुरे विजुलीवालाका पैसा खाएर अरुण डुबाएका कुरा थिए, कौडीका भाऊमा उद्योग बेचेका कुरा थिए ।   के तिम्रा समीक्षामा ति आए? ति कुरा तिमिलाई  ७० बर्ष देखि हेरिराखेको ऐनाले देखायो ?

 

त्यसैले तिम्रा सबै भन्दा भरलाग्दा ऐना भनेका सडकमा हिँड्ने म, मेरा बा र मेरा वाजे जस्ता मान्छे हुन | तिम्रो अहिलेको अर्थमा भूइँमान्छे बाँचिरहेको तीन पुस्ता हो जसका आँखामा तिमीले मकै र मोहीले छाक टार्दा देखि गरीवले तिरेको करबाट सोल्टी होटलमा तर मार्दा सम्मका फोटोहरू कैद छन । हात्तीछाप चप्पल देखि हात्ती जस्ता कार सम्मका फोटा कैद छन । डडेल्धुरा र झापाका टहरा देखि बुढानीलकण्ठ र वालकोटका महल सम्म कैद छन । ढिकुरपोखरी देखि धापाखेल सम्मका तस्वीर कैद छन । कहिल्यै सोध्यौ ति दुई वीचको फरक ?

 

म सङ्ग सोधेका भए म देखाइ दिन्थेँ अँगालोभरिका फुलका बुके लिएर “ह्याप्पी बर्थ डे डीयर चेयरम्यान” भन्दै एका बिहानै खुमलटार आएका  युवाको फोटो र गोलीका छर्रा तीघ्रामा राखेर बैशाखीको तकीया लगाएर माइतिघर मण्डलामा सुतेका युवाको फोटो वीचको फरक । तर मलाई कहिल्यै सोध्यौ?

 

चुनावले बहुमतको समर्थन देखाउँछ, असल-पनको होइन । दुई विकल्प मध्ये ताल्कालिक परिस्थितिमा तुलनात्मक रुपमा राम्रो को हो त्यही हेर्ने हो । देउवा र ओलीको तुलना गर्दा ओली राम्रा देखिए होला, बहुमत आयो ।  बल, बुद्धि, धन, तरीका, माहोल.. आदि आदिको सम्मिश्रण हो चुनावी परिणाम । तर  यो जनताको छनौट हो निश्चित अवधी सम्म सम्मान गर्नु पर्छ सबैले ।

 

दुई तिहाई त के ९५ प्रतिशत सीट जितेपनि तिमीले तिनको मन जितेका छैनौ जो ४० बर्ष अघि तिमी जस्तै थिए। तिमीले खाने चिज नै खान्थे, तिमीले लाउने जस्तै चिज लाउँथे  र तिमीले गाउने गीत नै गाउँथे ।

 

के तिम्रा समीक्षामा तिमिले छोडेको धरातलको तस्वीर छ?  कसका नाममा कसका लागि के गर्दैछौ? कुनै लेखा-जोखा छ?

 

यदि छैन भनेः “हामीलाई पनि सोधी हेर के छौ तिमी हाम्रो लागि….. दर्पण छायाँ”।