नेकपाको चियापानसंग जोडिएका केहि प्रसङ्ग

 

 

यस्ता चियापान कार्यक्रममा पकवान मिठो र देख्दा आकर्षक मात्र भएर हुन्न, गुणस्तर र विश्वसनीयतामा पनि ध्यान जानु पर्छ । कमसल खाध जनस्वास्थ्यको लागि हानिकारक बन्न सक्छ । जनस्वास्थ्यमा खेलवाड कहिले काँही समस्या ल्याउँछ ।

 

 

 

 

नेपालको राजनीतिक इतिहासमा बिपी कोइराला २०३३ सालमा सहकर्मी गणेशमान सिंहसहित राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट फर्केपछि बडादशैंको कोजाग्रत पूर्णिमाको दिन चियापान गर्ने संस्कृतिको शुरुवात गरेका थिए ।

 

आपसी वैरभावको अन्त्य गरि एकापसमा समझदारी मैत्रीभाव राख्नु र देश भित्र नै एकता मेलमिलाप र सौहाद्रता बढाउँनु उनको उदेश्य थियो ।

 

नेपाली कांग्रेसका नेता कोइरालाले शुरु गरेको यो परम्परा विपीको सेखपछि पनि कांग्रेसका दिवंगत नेता क्रमशः गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शुशिल कोइरालाहँुदै कांगे्रस सभापति शेरबहादुर देउवा पनि यो निरन्तरता धान्दैछन् ।

 

कम्युनिस्ट पार्टीमा स्वर्गीय मनमोहन अधिकारीले २०५४ सालबाट शुरु गर्नु भएको चियापान आज सत्तासिन र इतिहासमा दुई अध्यक्ष भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि निरन्तरता दिदैछ ।

 

राजनीतिक दुरी कम गर्न आपसी भाइचारा र सद्भाव कायम गर्न चियापान समारोह आयोजना गरिएको इतिहास छ । कांग्रेसका नेता बिपीले शुरु गरेको चियापान संस्कृतिको ‘फलोअर्स’ आज सबै पार्टी भएका छन् ।

 

प्रायः सबै पार्टी अनि बिभिन्न संघ संस्थाले पनि शुभकामना भन्दै चियापान गर्ने संस्कृति विकास गरेका छन । दशैँ तिहार छठ र नेपाल संम्वतको उपलक्ष्यमा दशैँअघि देखि छठ सकिनेबेलासम्म बिभिन्न तह र तप्कामा देशभर चियापान आयोजना गरिन्छ ।

 

दशैँ, तिहार, छठ, र नेपाल संम्वत आआफ्नो जातीय र धार्मिक संस्कार र प्रचलन भए पनि चियापान संस्कृति भने सम्पूर्ण नेपालीको विशेष अवसर पारेर फरक फरक समय, तर उही सिजनमा गरिने विशेष संस्कृतिक पर्व र चाडको रुपमा विकास हुदैछ । चियापान कुनै जात धर्म बर्ग र सम्प्रदायमा विभक्त छैन । सबै नेपालीको साझा परम्पराको मान्यता ग्रहण गरेको छ ।

 

नेपालको सबैभन्दा कान्छो संस्कृति र परम्पराको रुपमा फैलदै र जम्दैछ चियापान संस्कृति । केन्द्र प्रदेश र जिल्ला हँुदै हरेक गाउँ टोल तहसम्म राजनीतिक रुपले गरिने सांस्कृतिक चियापानीको संस्कार पुगेको, भित्रेको छ । निःसन्देह योपछि विकसित नेपाली मौलिक संस्कार हो, जसको स्वामित्व र अपनत्व प्रत्येक नेपालीले लिनुपर्छ लिएका छन् ।

 

एउटा खुशी र नेपाली सांस्कारिक कुरा के छ भने चियापान राजनीतिक रुपले, राजनीतिक पार्टीले गर्छन, तर यसलाई विसुद्ध सांस्कृतिक परम्परा र शुभकामना आदानप्रदानको शैली र संस्कृतिमा रुपान्तरण गरिदैछ । यसको ताजा उदाहरण नेकपाको चियापान हो, जसलाई नेकपाका नेता र कार्यकर्ताले मात्र हैन अरु पार्टीका नेता कार्यकर्तासमेतले बडो सौहाद्रपूर्ण तवरमा भाग लिए ।

 

राजनीतिसँग जोडेर छूतअछूत तेरो मेरो भनेर राजनीतिको रंगमा चोबलेनन् । बरु स्नेहपूर्ण आदरभावका साथ् यो पर्वको महत्व र गरिमालाई आत्मसात गरे । सबैले हाम्रो हो भन्ने अनुभूत गर्ने सके । असल संस्कृति र परम्पराको पदचाप त सबैलाई पछ्याउँन मन लाग्छ । हार्दिकता, आत्मीयता सौहाद्रता, मित्रता र बन्धुत्व सबैका लागि प्रिय हुन्छ ।

 

राजनीतिक दुरी कम गर्नदेखि सामाजिक र ब्यवहारिक र व्यक्तिगत या जोसुकैको जहाँपनि जुनसुकै समस्या या कुनै पनि कुराको सामाधानको अचुक अस्त्र र उपाय भनेकै दुरी कम गर्नु हो । एकापसमा दुरी बढाएर कहिल्यै पनि सकारात्मक नतिजा अपेक्षा गर्न सकिन्न ।

 

चाँहे व्यक्तिगत मनमुटाव होस् या सामाजिक र राजनीतिक जहाँ पनि समस्याको सामाधानको पहिलो बिन्दु र शुरुवात भनेकै दुरी कम गरेर परस्पर विश्वास गर्नु हो । यसका लागि हाम्रा चाडपर्व र परम्परा सहायक सिद्ध थिए र छन् । अहिले झन् चियापान संस्कृतिले यसको प्रगाढता थपेको छ ।

 

पानी बाराबारको स्थितिमा रहेका शक्ति, व्यक्ति, र संस्थालाई पनि यो संस्कृति र परम्पराले थप नजिक ल्याएको छ । हाम्रा संस्कृति र परम्पराको बलियो पाटो भनेको नै यहि हो । हामीले जगेर्ना गर्नुपर्ने संस्कृति र परम्परा भनेकै यहि हो ।

 

यसको डोरोले समाज एक बनोस्, र त्यो चिरस्थाई होस् । सामाजिक एकता र मेलमिलाप अनुपम बनोस् । समाज र संस्कृतिको सम्बन्ध अन्योन्याश्रित रहोस । समाज सुसभ्य बन्न, राजनीति सुद्ध बन्न पनि यस्ता परम्परा र संस्कृति जीवन्त बन्नुपर्छ । ज्वलन्त बन्नु आवश्यक हुन्छ । उज्यालोको पछिल्तिर अंध्यारो पनि हुन्छ ।

 

हाल राजनीतिक पार्टीले आयोजना गर्ने चियापान समारोहमा पनि यसका विकृत पक्ष र रुपहरु छन् त्यसलाई कम गर्न निर्मुल गर्न राजनीतिक तवरबाट नै इमान्दार प्रयास र सत्चरित्र देखाउँनु आवश्यक छ । यसको परीक्षा अब पार्टीले दिनुपर्छ ।

 

अहिले राज्य हाँक्ने देशको शक्तिशाली पार्टी नेकपाले चियापानको पारदर्शिता खर्चको जोहो र प्रबन्ध र यसको मितव्ययिता’boutमा अब जनतालाई भन्नुपर्छ ।

 

चियापान संस्कृति र परम्परा भनेको भोज भतेर, पार्टी, डिस्को, रोदीघर, र डान्स बार होइन । यसको व्यवहारिक महत्व र स्थान छ, त्यसलाई सामान्य चिया मात्रै खुवाइएर पनि पुरा गर्न सकिन्छ । फजुल, तडकभडक, र अपारदर्शी खर्चको बोझ र खानेकुराको स्वादको सौदाबाजी बनाइनु हुन्न । यो स्वादको संस्कृति होइन ।

 

सेवा, सौहाद्रता, र समभावको संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ । दशैँ, तिहार, छठ, र नेपाल संम्वतको अवसरमा भनेर आयोजना गर्ने चियापान र शुभकामना आदानप्रदान संस्कृतिले सबै चाड पर्वको निरंतरता र सर्वस्वीकार्यता ग्रहण गर्ने वातावरण बनाउँनु आआफ्नो धर्म संस्कृतिप्रति अगाध विश्वास राख्ने नेपालीप्रतिको सम्मान र कदर गर्नु पनि हो ।

 

संस्कृति जगेर्नाको निरन्तरता र नयाँ राजनीतिक र दार्श्िनक पक्षको आत्मसाथको रुपमा यसलाई हेरिनु पर्छ । असंस्कृति र मर्यादाहिन भएर डा. बाबुराम भट्टराईको झैँ बहिस्कार कुनै पनि राजनीतिक नेताको लागि शोभनीय होइन ।

 

यसको विकृति र विसंगति विरुद्ध आवाज उठाउँन पाइन्छ । तर, यसले हाम्रो कुनै पनि मौलिकता सिध्याएको छैन, कुनै पनि सांस्कृतिक र धार्मिक आस्था र विश्वासमा चोट पुर्याएको छैन ।

 

समुन्नत राजनीतिक संस्कृतिको रुपमा सबैको मन मस्तिस्कमा बस्न सफल बन्दै र साझा नेपाली मौलिक प्रयोग बन्दै गएको छ भने यसको विरोध बाबुरामको कमजोर बुझाई अत्यन्तै अबौद्धिकता हो ।

 

उनले यो परम्पराले बसालेको राजनीतिक अभिष्ट र दार्शनिक पक्षमा आधारित भएर प्रतिक्रियात्मक बन्नु शोभनीय हुन्थ्यो । तर, उनले नवसंस्कृति र सर्वस्वीकृत राजनीतिक परम्पराप्रति नकारात्मक भाव पोखे । यसको इतिहासले निर्मम समिक्षा गर्ने नै छ । बाबुरामले दिन खोजेको सन्देश उनका लागि नै प्रत्युत्पादक बन्ने छ, कालान्तरमा ।

 

बिपी कोइरालासमेतले मन पराउँने बाबुरामको दरिद्र चिन्तन सोच र शैली कुनै दिन पश्चातापको ज्वालाले लपेटिएको हुन्छ । असंगत लय पनि हुन्छ र ?

 

अहिले बाबुरामको बेमौसमी राग अलाप हो । नेकपाप्रतिको वैरभाव र कुण्ठा हो । क्षणिक उत्तेजना र आक्रोश हो । यसलाई समयको फन्कोले आफ्नो लयमा मिलाउँछ । अन्यथा उनि कतै छुट्ने छन् । राजनीतिको मुलधारभन्दा पर कतै रहने छन् । ओझेलमा पर्छन ।

 

बौद्धिक हुनु र विवेकवान हुनु फरक र भिन्न कुरा हो । समाज सापेक्ष नेता होइनन बाबुराम । निरपेक्षता समाजको चासो हुँन सक्ला, आलोचनाको विषय बन्ला । तर, रुचि र मोह बन्न सक्दैन । नेपाली संस्कृति र सम्पदाप्रति घृणा बोक्ने जुनसुकै पात्र पनि मुलधारको राजनीतिबाट अलग हुने परिस्थिति देख्न धेरै समय प्रतिक्षा गर्नु पर्दैन ।

 

चियापान समारोह गर्दा ध्यान दिनुपर्ने कुरा

 

खानेकुरामा पृथकता हुन्छ र चाहिन्छ पनि । तर, बिशिष्ट, कनिष्ठ, र बरिष्ठ भनेर होइन सम्बन्धित पाहुना र तिनको स्वास्थ्य स्थिति हेरेर खानेकुराको मेनु बनाउँनु ठिक हुन्छ । नेकपाको चियापानमा बिशिष्ट, बरिष्ठ कनिष्ठ र सर्वसाधारण भनेर खाने कुरामा विभेद गरियो ।

 

त्यो पक्कै पनि समाजवादी पार्टीको समतामुलक समाज निर्माणको ब्यवहार थिएन, र होइन । सुरक्षा र स्वास्थ्य संवेदनशीलताको आधारमा बस्ने ठाउँ र अवस्था निर्धारण एउटा कुरा त्यो जायज हो ।

 

तर, सर्वसाधारण र बिशिष्टको लागि भनेर खानेकुराको मेनु नै अलग हुनु चै गलत र सामन्ति मानाशिकता हो । साधारण र सामान्य जस्ता लाग्ने कुराले नै सिद्धान्त र व्यवहारको परिक्षण गरिरहेको हुन्छ ।

 

तसर्थ सर्वसाधारण जनता नेता र कार्यकर्ता अनि विशिष्ट मान्छेलाई गर्ने व्यवहारमा नेकपा फेल भयो भन्ने धेरै र आम सर्वसाधारणको ठहर रह्यो । चियापान समारोह भन्ने अनि भव्य मिठाइका परिकार, फलफुल फजुल खर्च र अनावश्यक आर्थिक बोझ हो ।

 

तसर्थ सुगर फ्री बिस्केट र सामान्य, तर हाइजेनिक बिस्केटको परिकार जो सबै पाहुना र सहभागीले खान सकुन त्यो नै चियापान समारोहको लागि उचित र मितव्ययी मेनु हुनसक्छ । संस्कृति भद्दा र तामझाम होइन असल परम्पराको शुरुवात असल आचार, विचार र पद्दतिबाट गर्नुपर्छ । अब अरु पार्टी संस्थाले आयोजना गर्ने चियापान संस्कृतिमा यो कुराको हेक्का राखून ।

 

सरल होस, चुस्त होस् । चियापान खानपानसँग होइन यसको सन्देश र भावनात्मक पक्षसंग जोडियोस । पार्टी समुह र गुट ठुलो हुनु धेरै देखिनुले अर्थ राख्दैन । जति असल हुनु पारदर्शी हुनु, मितव्ययी हुनु, उद्दमी हुनु, जवाफदेही हुनु र दायित्व नभुल्ने हुनुले अर्थ राख्छ । कुनै व्यापारीको प्रायोजना र स्वार्थको लेनदेन र किनबेच हुँनुहँुदैन चियापानको खर्च ब्यबस्थापन ।

 

नेताहरुसँग भेट हुँदा फोटो खिच्नु आत्मीयता साटासाट गर्नु, नजिक रहेको अनुभूत गर्नु भावनात्मक एकाकार एउटा कुरा, तर पहँुच देखाउँने, फुई गर्न र कहिँ बार्गेनिङ गर्ने हिसाबले जसरी फोटो खिच्ने र सेल्फि लिने कुरा आएको छ, त्यो डरलाग्दो असंस्कृति हो ।

 

बिभिन्न सभा समारोहमा सबैले सबैलाई चिनेर सम्भव हुँदैन । फोटो खिच्न मन गर्नेलाई फोटो खिच्दिन भनेर नेताले भन्न पनि मिलेन । तर, फोटो खिचाउँने उदेश्यले समाजका खराब मान्छेहरु पनि त्यहाँ गएका हुन्छन र फोटो खिचाएर सार्वजनिक रुपमा राखेका हुन्छन ।

 

चोर, डाका, अपराधी, बलात्कारी, भ्रष्टचारी र फटाहा पात्र पात्र र प्रवृतिका नालायक मान्छेहरु नेताको कुम जोडेर मुस्काएको फोटो देख्दा समाजमा कस्तो सन्देश जान्छ यसतर्फ पनि सोच्ने हो कि ?

 

झिनामसिना जस्ता लाग्ने यस्ता प्रवृति र पक्षले समाजको बाटो गलत या सहि छ भन्ने कुराको मापन गरिरहेको हुन्छ । सार्वजनिक मान्छे, सार्वजनिक पद र ओहोदामा रहेका पदाधिकारीको सबैकुरा जनताले सुक्ष्म अवलोकन गरेका हुन्छन । तसर्थ आम मान्छेभन्दा अरु बढी सचेतता र सतर्कता नेताहरुको हकमा बढी चाहिन्छ ।

 

नेताहरुको वरिपरी पर्ने, चाकरी गर्ने र जसरी पनि देखिन जाने परम्परा केहि आश केहि त्राश र केहि लोभबाट बौद्धिकहरुले आफुलाई अलग्याउँन सके देशको पक्षमा मात्र बौद्धिकता खर्चीए सबैलाई लाभ मिल्थ्यो ।

 

खानपान जे सुकै होस्, जस्तोसुकै होस् त्यो व्यक्तिको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने कुरा हो । यहाँ चियापान समारोह जिम्मा लिने क्याटरिंग र जिम्मा दिने नेकपाको जिम्वेवार निकायले ध्यान दिन छुटाएको भुलेको या प्राथमिकतामा नपारेको कुरा भाडा कुँडाको सरसफाई हो ।

 

विशिष्ट व्यक्तिहरुको खानपान र बन्दोबस्तिको पाल रहेको पछिल्लतिर जसरी भाडाकुँडा सरसफाइको कुरूप दृश्य देखिएको थियो, त्योबाट सहज अनुमान लगाउँन सकिन्थ्यो खानेकुरा जहाँ बनाइयो त्यहाँ कस्तो थियो होला ? सार्वजनिक स्थल त्यति धेरै मान्छेको उपस्थितिमा लापरबाही थियो ।

 

फोहोर पानीमा भाडा चोबलेर मात्र निकाल्ने गरिएको थियो भने पकाउँने तुल्याउँने ठाउँमा के थियो होला ? कसैले त्यसको निरक्षण गर्यो होला र ? प्रश्न स्वास्थ्यप्रति संवेदनशीलताको हो ।

 

पकवान मिठो र देख्दा आकर्षक मात्र भएर हुन्न यसको सुद्धता, गुणस्तर र विश्वसनीयता हेरिएन भने त्यो घातक र हानिकारक नहोला भन्न सकिन्न । जनस्वास्थ्यमा खेलवाड र हेलचेक्र्याइँ गर्ने जोसुकै पनि कार्यबाहीको दायरा भित्र आउनुपर्छ ।

 

अब गरिने सबै चियापान हार्दिक हुन, मितव्ययी बनुन पारदर्शी र उदाहरण योग्य बनुन । आत्मीयता प्रगाढ बनोस् । कृतिमतामा हैन प्राकृतिक र मौलिक बनाउँन प्रयत्न गरौ । आफ्ना नेताले शुरु गरेको चियापान संस्कृतिको कांग्रेसीलाई विषेश र आत्मिक लाग्नु अस्वाभाविक होइन । त्यसैले यसको निष्ठा, गरिमा र ओजलाई अझ उजिल्याउँन कांग्रेसीले विषेश पहल गरुन ।

 

संस्कृतिको नविनता सबैको प्रिय र अनुरागयुक्त बनोस् । असल संस्कृतिको शुरुवात जुनसुकै वाद र सिद्धान्तले गरे पनि राजनीतिको चस्माले मात्र हेरिन्न ।

 

बिपीको मेलमिलापको ध्येय, उदेश्य र पवित्रता अब दार्शनिक, आध्यात्मिक र भावनात्मक एकतामा देश जोडेर ब्याख्या विश्लेषण र परिस्कार परिमार्जन बान्छनीय बनोस् । चियापानको सांस्कृतिक निरन्तरताले हाम्रो सांस्कृतिक जागरणमा इँटाहरु थपिदै जाउँन ।