अन्तै बनाऊँ धरहरा

 

अफसोच, धेरै जटिल राजनीतिक मुद्दाहरुमा जनताको मततिर ढल्केर जनताको मन जितेको सेनाले यति सानो चित्त देखाएर भद्रकाली मन्दिरको बायाँतर्फको  टुँडिखेल समाप्त पारिदियो । जनप्रतिनिधिहरु कोही बोल्दैनन्, जनता मौन छन् ।

 

 

 

 

धरहरा’bout अनगिन्ती गीत गाइए, कथा लेखिए र किंवदन्ती सुनाइए । रानी ललित त्रिपुरासुन्दरीको निर्देशनमा तत्कालीन मुख्तियार भीमसेन थापाले यो गगनचुम्बी सुरुङ जस्तो, यसो हेर्दा मुस्लिम मिनार जस्तो अनौठो ‘टावर’ बनाउन लगाएका थिए, करिब पौने दुई सय वर्षअघि ।

 

जब २०७२ साल बैशाख १२ गते ७.९ रेक्टर स्केलको भूकम्प आयो, मानिस आत्तिए । घर बाहिर आए । सबैको बास सडक, चौर वा खुला स्थानमा भयो । त्यस्तो बेला पनि सबैजना आफ्नो घरको भन्दा पनि आ–आफ्नो मोबाइल हेर्दै र एफएम सुन्दै त्यस ऐतिहासिक स्तम्भको बढ्ता पीर गरिरहेका थिए । टेलिभिजन हेर्दै आँसु बगाइरहेका थिए । विदेशमा बस्ने नेपाली अनलाइन न्युज हेर्दै आफन्त फोन गर्दै धरहरा त ढलेछ भन्दै मन अमिलो बनाइरहेका थिए ।

 

विकास गर्न विनास गर्ने होइन । सुनिंदैछ, यो ऐतिहासिक धरहराको सट्टा अति आधुनिक अर्कै धरहरा बन्दैछ । बृहत्तरको भूकम्पभन्दा अघि एकदिन टिकट काटेर धरहरा उक्लिँदा त्यहाँ स्थानीय बासिन्दा (नेवार) टाउकोमा पहेंलो, रातो रङ्गको टोपी लगाएर हुलका हुल धरहराको टुप्पोमा पुगेर शिवलिङ्गको दर्शन गर्दै फर्कंदै थिए ।

 

त्यस दिन उनीहरुको देवाली पूजा रहेछ । त्यसैले त्यस दिन टाउकोमा उक्त टोपी लगाएपछि उनीहरुले बिना टिकट त्यहाँ प्रवेश पाउँदा रहेछन् । यो उनीहरुको वर्षौंदेखिको प्रचलन रहेछ । यसरी कसैको धार्मिक आस्थाको केन्द्र पनि भएको उक्त धरोहरलाई भोलि बन्ने आधुनिक धरहराले कहाँ स्थान देला ? दिए पनि त्यसको विश्वास र ऐतिहासिक महत्व कति बाँकी रहला ? तर, के यसले मौलिकता प्रदान गर्ला ? त्यो नयाँ बन्ने धरहरारुपी स्तम्भ त हरेक आधुनिक शहरमा हुने आधुनिक टावर हुनेछ ।

 

जहाँ सरर लिफ्ट वा बिजुली भर्याङ अर्थात् (एलिभेटर) बाट उपल्लो तल्लामा चढेर शहर नियाल्ने, चिया, कफी, बीयर पिउने, मनोरञ्जन गर्नेजस्ता कार्यहरु गरिन्छ । अन्तत्वगत्वा हामी वर्षौंदेखिको ऐतिहासिक स्तम्भको सट्टा पैसा कमाउने व्यापारिक टावरको निर्माण गर्दैछौँ । हो, समयअनुसार विश्वका अन्य आधुनिक शहरजस्तै हाम्रो शहरमा पनि यस्ता टावरको माग त हुने नै भयो तर त्यो आधुनिक स्तम्भको निर्माण धरहराको सट्टा अन्य स्थानमा निर्माण गर्दा झनै राम्रो हुन्थ्यो होला ।

 

धरहराको पर्यायवाचीको रुपमा रहेको सुन्धाराको हालत त झन् दुःखदायी छ । धरहराले टुलुटुलु हेरेर बसेको सँगैको सधैंको सुखदुखको साथी सुन्धारा अधमौरो भएर बाँचेको आज वर्षौं भइसक्यो । यसको हालत कुनैबेला वीर अस्पतालमा जीवनमरणको रुपमा छटपटाइरहेकी गंगामायाको जस्तै भएको छ ।

 

केही वर्षअगाडिसम्म पनि सुन्धारामा पानी आउँथ्यो । भूमिगत ढलबाट बगेर जान्थ्यो तर ज्ञानबिनाका विकासविद्ले सञ्चयकोष भवन बनाउँदा यसको वातावरणीय पक्षलाई वास्तै गरेनन् । त्यो विशाल काठमाडौं मलले गर्दा सयौं वर्षपुरानो सुन्धाराको हालत आज हामी सबैसामु छर्लङ्ग छ ।

 

अझै पनि त्यसको रुप नबिगारी पानी तान्ने मेशिन र बगेको पानी ढलबाट फाल्ने व्यवस्था गरी दिनभरि सञ्चालन गर्न त सकिन्थ्यो । त्यस’bout किन नसोचिएको होला ? यही शहरका कैयौं होटलहरुले यस्ता आकर्षक ढुंगेधाराहरु बनाएर सञ्चालन गरिरहेकै छन् । हामी भने बनेको धारामा पानी तान्ने र फाल्ने पनि गर्न नसकेर माल पाएर चाल नपाएको भएका छौं । त्यत्रो वर्ष सँगै बसेका छिमेकीहरु धरहरा र सुन्धारा । एउटाको ठूटे रुप र अर्कोको पानीको थोपै नझर्ने रुपको महत्व हाम्रा नीति निर्माताहरुको आँखामा किन नपरेको ?

 

सडक चौंडाको नाममा हामीले हेर्दा हेर्दै ऐतिहासिक सोह्रखुट्टे पाटी कहाँ गायव भयो ? के अब उक्त पाटीको ठाऊँमा भुइँभरि मार्बलै मार्बल ओछ्याइएको, भित्तामा पनि चिल्लो पेरिस प्लास्ट गरेको अनि छानामा आधुनिक झुमरसहितको फल्स सिलिङ हालेको, बस्नलाई लाखौं रुपैया पर्ने आधुनिक सोफा हालेको हल बनाएर अहिलेको आधुनिक सोह्रखुट्टे पाटी यही हो भनेर दियौं भने त्यसलाई देशले विकास गरेको मानकमा अङ्क थपिएको मान्ने ? केही महिनाअघि मात्र केही स्थानीयको दबाबमा बटुकभैरव जोगिएको छ । अगाडिको पेट्रोल पम्प जोगाउन धार्मिक तथा साँस्कृतीक धरोहर मास्न किन लाज नलागेको होला ? दिनदिनै अलिअलि गर्दै सबैको सामु सेनाले सानो टुँडिखेल आफ्नो पोल्टामा पार्यो ।

 

अस्तिसम्म स्थानीयहरु मर्निङ वाक गर्थे, योगा गर्थे, फुटबल खेल्थे, साइकल सिक्थे, भोज खान्थे । त्यही बाटो भएर खेलप्रेमीहरु दशरथ रङ्गशालामा फुटबल हेर्न जान्थे । आज कम्पाउण्ड बारबाटै छिर्न पाइँदैन । जहाँ सेनाले भोजभतेर खाने, खेल खेल्ने र हेर्नेजस्ता कार्यको लागि चौरभरि भौतिक संरचना बनाइरहेको छ । जुन उसले जहाँ पनि गर्न सक्दथ्यो । अफसोच, धेरै जटिल राजनीतिक मुद्दाहरुमा जनताको मततिर ढल्केर जनताको मन जितेको सेनाले यति सानो चित्त देखाएर भद्रकाली मन्दिरको बायाँतर्फको  टुँडिखेल समाप्त पारिदियो । जनप्रतिनिधिहरु कोही बोल्दैनन्, जनता मौन छन् ।

 

झण्डै आधुनिक रानीपोखरीको नाममा यसमाथि पनि प्रहार भइसकेको थियो तर धेरै नै विरोध भएपछि पुरानै रुपमा पुनर्निर्माण हुन्छ कि भन्ने झिनो आशा देखिँदैछ । यसलाई छेकेर वरिपरि निर्माण भएका भौतिक संरचनाहरु हटाएर किन यसको सौन्दर्य बढाउन नसकेको होला ? यदि यसको रुपमा सुन्दरता थप्ने हो भने यसलाई कुरुप पार्न प्रमुख भूमिका खेलिरहेका प्रहरी कार्यालयलाई अन्तै स्थानान्तरण गरेर त्यसलाई भत्काउनुपर्छ । त्यसैगरी त्रिचन्द्र कलेजलाई पनि सम्बन्धित पक्षहरुको सहमतिमा उपयुक्त स्थानमा सारेर रानीपोखरीलाई चारैतिरबाट देखिने गरी बनाउन सकिएमा प्रताप मल्लको कोसेलीको रुपमा रहेको मल्लकालीन सम्पदाको सौन्दर्य र हरियालीले खुम्चिँदै गएको शहरलाई केही हदसम्म भए पनि सास फेर्नसक्ने बनाउने थियो ।

 

रानीपोखरीअगाडिको भानुभक्तको सालिक हेर्दा हामी कस्तो शहरमा बस्छौं भनेर जान्न मन लाग्छ, जहाँ आदिकवि भनेर राष्ट्रले नै उपमा दिएको एउटा साहित्यकारलाई त्यसै बेवारिशे अवस्थामा छाडिदिएको दृश्य देख्दा मनभित्रैबाट अति नमिठो लाग्दोरहेछ । त्यस्ता महान व्यक्तिको स्वरुपलाई अपहेलित गरेर यो रुपमा खुम्च्याएर राख्दा पनि सम्बन्धित निकायको ध्यान अझ पुगेको छैन । बरु त्यो सालिकलाई पनि उराठ, कोलाहलयुक्त र मलमूत्रले नाक खुम्च्याउँदै हिँड्नुपर्ने सडकबाट उठाएर नवनिर्मित रानीपोखरीको हरियो बगैंचामा सार्दा राजधानी शहरले अर्को एउटा स्तरीय कार्य गरेको मानिने थियो ।

 

माथिका धरोहरहरु त उदाहरण मात्र हुन् । यीबाहेक पनि काठमाडौँ उपत्यकाका सम्पदाहरु, लिच्छवीकालीन, मल्लकालिन, शाहकालीन, राणाकालीन कति छन् कति ? ती सबैको उचित संरक्षण, रेखदेख, पुनःनिर्माण लगायत अतिक्रमणको चपेटाबाट बचाउन अब ढिलो गर्नु हँुदैन ।

 

काठमाडौँ उपत्यका भनेको राजधानी बनाउनै नहुने ठाउँ हो । यहाँको भौगोलिक, साँस्कृतिक तथा धार्मिक धरोहरहरुलाई जोगाउन राजधानी अन्तै स्थानान्तरण गर्नुपर्दथ्यो । यदि त्यसो भएको भए आज यो विश्व मानचित्रमा एउटा खुला तथा जिउँदो सँग्रहालय हुन्थ्यो तर अब ढिलो भइसक्यो । अब त भूलचूक सच्याउने र थप विनाश हुनबाट जोगाउने मात्र हो ।

 

अहिले देश संघीयतामा गएको छ । अब एउटा होइन, सातवटा राजधानी भइसके । अझै पनि यही केन्द्रीय राजधानीलाई नै साँघुराउनतिर लागिँदैछ । त्यसैले अब चाहिँ यसको अति अतिक्रमण रोक्नै पर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, मनोरञ्जन जस्ता अति आवश्यकीय क्षेत्रहरुको निर्माण सम्बन्धित प्रदेशमै गरेर अति राजधानी केन्द्रित बसाइँसराईलाई रोक्ने कोशिस गर्नुपर्दछ । यसो गरेको खण्डमा मात्र बाँकी कुरुप हुनबाट यो शहरलाई जोगाउन सकिन्छ ।