राजसी शान, नवसामन्त र भूइँमान्छेको दशैँ

 

 

भुक्तभोगी भन्छन, भुइमान्छेको वर्गवाट उठेका, त्यत्रो सङ्घर्षको पृष्ठभूमि भएकाहरु यसरी बदलिन्छन भन्ने कुनै कल्पनासमेत थिएन । उनीहरू गायक आभास फुयालको एउटा गीतको भावमा घुम्दा हुनः ‘‘गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ ।’’

 

 

 

 

अनगीन्ति मर्यादाले थिचेको समाजमा युवालाई कम्युनिष्ट बनाउँने एउटै प्रमुख आकर्षण थियो, समानता । मर्यादाको भर्याङ्ग सामन्ति समाजको प्रमुख विशेषता थियो र युवाहरू सँधै सबैभन्दा पुच्छारका खुडकिला ।

 

पञ्चका आँखा छल्न मूलबाटोभन्दा अलि परको घरमा युवाका गीतको रिहर्शल हुन्थ्यो दशैँदेखि तिहारसम्म हरेक राति आमा, दिदी बैनी हो कति बस्छौ दासी भै, सङ्घर्ष हो जीवन, भाग्यले छेके छेकीमा रहोस शाहसले छेकेन नि लै लै जस्ता सबै गीतका सन्देश हुन्थे, यो सामन्ति समाजको जरा उखेल्ने र समानतामूलक नयाँ समाज निर्माणका लागि सङ्घर्ष गर्ने ।

 

मेरो पुस्ताका धेरैमा राजनैतिक चेतना भरेको तिनै गीतले हो र तिनमा अन्तरनिहित समानताका आवहानले हो ।

 

ती गीतका प्रणेताहरू अहिले सत्तामा छन । बन्दूकले मान्छे मारेर बलिया सरकारहरू अन्यत्र पनि बने होला, तर चुनावकै ढ्वाङ्गबाट यति बलियो सरकार बनेका संसारमा कमै छन । र जुन पुस्ताले ति गीत रचना गर्यो, गायो र नचायो त्यो पुस्ता अहिले सत्ताधारी दलको पहिलोदेखि पाँच सयौँ स्थानमा पकड जमाएर बसेको छ, एका दुई छड्के प्रवेशीवाहेक ।

 

तिनै गीतमा पूर्वी नेपालको भोजपुरमा नाच्ने व्यक्ति राष्ट्रप्रमुखको भूमिकामा छिन, इलाम, झापामा गाउँन र नचाउन प्रेरित गर्ने व्यक्ति सरकार प्रमुख छन र गीत लेख्ने, गाउने र नाच्नेहरू कोही प्रदेशका मुख्यमन्त्री छन, कोही केन्द्रीय मन्त्री छन । ति मध्ये धेरै सानाठूला बाहनका चालक नै छन, यात्रु होइन ।

 

समाज फेर्नेहरूको अर्कोसमेत समूह पनि थियो, तर फरक कार्यशैली भएको । क्रान्तिमा होमिए पनि, बलिदानी गरेपनि त्यो समूह जनवादी थिएन, एउटै कारणले त्यसमा लाग्नेहरूको वर्ग एउटै थिएन, वर्गीय असमानता हटाउँने वाटो घुमाउँरो थियो अर्थात कुनै प्रकारको वर्ग समन्वयमा अप्रत्यक्ष समर्थन थियो ।

 

त्यो समूहले एउटा अमूर्त प्रजातन्त्र वा लोकतन्त्रको नारा लाएको आरोप खेप्यो, पूरानै पञ्चहरूको पद चाप पछ्याएको आरोप खेप्यो र पुर्खेयौली  सम्पत्तिका कारण सामन्तको आरोप खेपेर आफ्नो क्रान्तिकारीपन देखाउँन नपाई सत्ताबाट बहिर्गमनमा पर्यो, १५-२० वर्षको सत्ता नेतृत्व वा अंशियारीपछि पनि र अनेकन समाजसुधारका क्रान्तिकारी निर्णयपछि पनि ।

 

मतपेटिकाबाट भएको क्रान्तिपछि बनेको इतिहासकै सर्व शक्तिमान सरकार छ । यो ठूलो राजनैतिक परिवर्तन हो । दीर्घकालिन जनयुद्धका लागि तयार पुस्ता ३०÷३५ बर्षकै उमेरमा शक्तिशाली मन्त्री बने । जर्नेलको स्यालुट खाए, प्रहरी प्रमुख छान्न पाए । आँखा लागेको गाडी लिन पाए, अफूमात्रै होइन श्रीमानजी र श्रीमतिजीलाई समेत । कर्मचारीतन्त्रका मान्छे विहान बेलुका फाइल लिएर तिनका क्वार्टर धाउन थाले । अर्को अर्थमा सम्पूर्ण राज्यसत्ता नै कब्जा भयो ।

 

 

त्यहि कब्जासङ्गै भएका परिवर्तन हेर्नुस । तिनको आफ्नो जीवनशैली र तिनका सन्तान तथा आसेपासेमा यो ८–१० बर्षमा देखिएका परिवर्तन हेर्नुस । आहारविहार, सङ्गत, कुराकानीका बिषयबस्तु सबै फरक भैसकेका छन । प्रभावशाली नेताहरूका परिवारको जीवनशैली वाह्य समाजले नदेखेको भ्रम होला, तर त्यो कम्तिमा तिनका सहयोगी कमरेडलाई सबै अनुभूत छ ।

 

समाजको दिमाग भुट्न प्रयोग हुने पत्रकार र मतदाताको दिमाग भुट्न प्रयोग हुने सिमित संख्याका कार्यकर्तावाहेक अरूको पहूँच प्रभावकारी नेतासम्म टुटिसक्यो । जसरी मत पञ्चले एकएक वटा ठेकेदार समाएर मतदाता ‘इङ्गेज’ गर्ने नीति लिएका थिए, अहिले त्यही छ । श्री र शक्ति आर्जन गर्ने र आफ्नो मान्छे फिल्ड्मा खटाउँने प्रवृत्तिलाई थप मलजल गरिँदैछ ।

 

दशैँमा मान्छे मःमःको भैँसी जस्तो ट्रकमा राखेर नत्थि नै चाहिँ लगाइएन, तर खशीबोका जस्तो कोचिएर यात्र गरे । तर, नयाँ शासकका आसेपासे कति सरकारी गाडीमा दौडे, समाजले सबै देख्यो ।

 

कति त्यस्ता गाडि मुस्ताङ्ग गए, कति रारा सामान्य सामाजिक सञ्जालमात्रै पछ्याए पुग्छ । उनीहरू जानै पाउँदैनन भन्ने तर्क होइन, उनीहरूको मानवीय आवश्यकता र इच्छाप्रति मेरो सदभाव नै छ । तर, त्यो चिज समाजका अरूलाई ब्यङ्ग गरे जसरी देखाउँदा त्यो पहिलेकै राम्रा भन्ने मनोविज्ञान बढ्दो छ ।

 

जुन प्रकारले सत्ताधारी दलका समर्थक र अरू वीचको खाल्डो बढ्दै छ यसले सँङ्गसँङ्गै वरिष्ठ नेता र कनिष्ठ नेताको ‘हाइरार्की’ सिर्जना गर्दैछ, विशिष्ट र सर्वसाधारणूको नयाँ परिभाषा स्थापित गर्दैछ । यो प्रवृत्ति अरू संस्थागत भयो भने नेपालमा अर्को २५ बर्ष समानताको लडाइँ लड्ने जाँगर कसैमा पलाउँने छैन ।

 

बिजुली बल्ला, सडक बन्ला, गगनचुम्बि घर बन्लान, ह्वारह्वार्ती विदेशी पर्यटक आउँलान र हरेक नेताका नाममा टोलटोलमा अस्पताल पनि बन्लान, समृद्धि देखिने गरी । तर, असमानताको डङ्गूरमाथि खडा भएका यस्ता समृद्ध संरचना दिगो हुन्नन । र, जानी वा नजानी यो असमानतालाई शीर्ष तहमै बस्नेले मलजल गरि रहेका छन ।

 

मान्छेको व्यवहार हेरेर उसको स्वभाव वा भावना’bout अनुमान लगाउँने गरिन्छ । यो समुद्रमा तैरिरहेको हिमशीला जस्तै हो । त्यसैले ‘एटिच्युड’को आंशिक छायाँ मात्रै ‘बिहेवियर’ हो भनिएको होला । यो समुद्रमा तैरिरहेको एउटा हिमशीला जस्तै हो । हिमशीलाको टुप्पो देखियो भने जहाजको क्याप्टेनले थाहा पाउँछ, त्यसको डुबेको भागको आयतन । क्याप्टेनलाई थाहा छ, हिमशीलाको १० प्रतिशत सतहमा हुन्छ र ९० प्रतिशत तल । हाम्रा सत्ताधारीको ‘एटिच्युड’ पनि तिनको देखिएको १० प्रतिशत व्यवहारले देखाउँने हो ।

 

मैले त कहिल्यै नजिकबाट अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको सङ्गत गर्न पाइनँ । तर, उनीहरूसँङ्ग एउटै भाँडोको भात खाएका केहीसँङ्ग मेरो राम्रै चिनजान छ । तिनले ज्ञानेन्द्र होइन, उनका पिताको रवाफ प्रधानमन्त्रीमा देख्छन रे । र, कोमल होइन ऐश्वर्य वा रत्नको शान राष्ट्रपतिमा देख्छन रे ।

 

भन्छन, हाम्रो वर्गवाट उठेका, त्यत्रो सङ्घर्षको पृष्ठभूमि भएकाहरू यस्ता हुन्छन भन्ने कुनै कल्पनासमेत थिएन । उनीहरू गायक आभास फुयालको एउटा गीतको भावमा घुम्दा हुनः ‘‘गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ ।’’

 

 

मलाई पनि त्यस्तै लाग्दैछ, श्रीपेच स्थापनाको दिन नारायणहिटीमा भेला भएका मध्ये एक पाटो उभिएकाको धुमिलधुमिल फोटो देखेको थिएँ, त्यही साँझ एउटा टिभिमा । ति सबैमा मैले पशुपतिभक्त मर्हजन, चिरणशमशेर थापा, भरतकेशर सिंह, शान्तकुमार मल्ल आदिको अनुहार देखेँ । टोपी उस्तै, लामो दौरा, कसिलो सुरुवाल, घेराभन्दा माथि चौडा भएको भादगाउँले टोपी, जाहेरी गराउँने एउटा ‘एटेण्डाण्ट’ र उस्तै बुझेँबुझेँ भन्ने आसयको टाउको हल्लाई ।

 

मेरो सोझो मनले सोच्यो त्यो श्रीपेच अड्याउँने त्यो रातो ठूटोको ठाउँमा आफैँ अडिन पाएको भए कस्तो हुन्थ्यो भन्ने हाम्रा शासकलाई लाग्यो होला । त्यो श्रीपेचका अन्तिम हकदारसम्मले एक दिन केही घण्टा भुईँमान्छे वा सर्वसाधारणलाई बक्सू हुने चिज ४ दिनसम्म बक्स हुने घोषणासँङ्ग मैले त्यो रातो ठूटामा बसेको आत्माको सम्बन्ध देखेँ । हुन सक्छ मेरो पापी मनले गलत सोच्यो होला।

 

हुन सक्छ शीतल निवासमा पनि केहीलाई आफ्नो दासमनले स्वतःस्फूर्त रुपमा घुँडा टेकायो । मालिकले दुखेर ऐया नभनुञ्जेल मोलिराख्ने काम पनि नेपाली संस्कारको एउटा अङ्गनै भएकोले मानौँला, तर धेरैलाई घुँडा टेकाइयो जस्तो देखिन्छ फोटोमा । नत्र छोरीज्वाईँ, सरकार प्रमुख दम्पत्ति, मन्त्रीमन्त्राणी बस्ने कुर्सी थिए भने बामदेव गौतमलगायतका सर्वसाधारणका पालामा किन सामन्ति अनुशासनमा अभ्यस्त कर्माचारीले कुर्सी हटाए होला ।

 

तिनलाई लाग्यो होला, हाम्रा ख्वामितसँङ्गै, समान उचाईमा, सोझो आँखाले हेर्न मिल्नेगरी राखिने यि कुर्सीले सामाजिक मर्यादा उल्लंघन गर्छन, राष्ट्रपतीय मर्यादा घटाउँछ, वरिष्ठताको उपहास गर्छन । कुर्सी राख्दा आशिषाभिलाषीहरू आनन्द मानेर टाँसिई रहलान वा समान उचाईमा बसेकाहरूको निधारमा हात पुर्याइरहँदा ख्वामितलाई सास्ति होला ।

 

तर्क जे सुकै हुन, कसैलाई धनुष जस्तो, कसैलाई कुकुर जस्तो र कसैलाई माहुते चढाउँन लागेको हात्ती जस्तो बनाउँदा जे जे जोगाउँने भनिएको थियो, त्यो सबै ध्वस्त भयो । ज्ञानेन्द्र, पारस, कोमलहरू वर्गका कारण आफ्नो नजिक नठानेका लाखौँ वा करोडौँले वर्तमान शासकले ओघटेको पदलाई जनताले पुर्याउँने पद होइन जनताबाट उछिट्टिएरमाथि पुग्ने पदको रुपमा ग्रहण गरे होलान । आफ्नो मतपेटिकाले आफू जस्तैलाई उच्च पदमा पुर्याएको होइन आफू प्रयोग भएको महसूस गरे होलान ।

 

 

जनताले अर्का सामन्त खोजेको होइन, आफू जस्तै सर्व साधारण त्यहाँ पुग्ने व्यवस्था खोजेको हो आफूलाइ सर्वसाधारणको कोटिमा उभ्याउँने असाधारण मानव होइन । आफूप्रति निगाहा बक्स हुने ख्वामित खोजेको होइन, ति ख्वामितको अनुहारमा आफ्नो छायाँ खोजेको हो, तिनका नवयुवराजको रवाफ होइन आफू पनि ति समान हुने व्यवस्था खोजेको हो । खोजेको त्यो प्राप्त भयो के ?

 

खोजी र प्राप्तिवीचको यही खाडलको आकारले समाजमा द्वन्द्वको सम्भावना बढाउँने गर्छ । जति खाडल बढ्दै जान्छ, त्यति द्वन्द्वको सम्भावना बढ्दै जान्छ । म जत्तिको भुइँमान्छेसमेतले यो कुरा बुझ्छु भने शासकीय दिमाग हुनेहरूले नबुझ्ने कुरै भएन । त्यसैले द्वन्द्व नहुने अवस्था सिर्जना गर्नुको साटो द्वन्द्व दवाउँने शक्ति आर्जनमा तिनको ध्यान देखिन्छ । श्रीसम्पत्ति जस्तै शक्ति पनि अस्थिर हुन्छ, सदुपयोग गर्नेका हातमा मात्रै अडिन्छ भने बुझेकै होलान भन्ने विश्वास छ ।

 

हाम्रो समाज त्यसै पनि अहिलेको भन्दा पहिलेको राम्रो देख्ने मनोरोगले ग्रस्त छ । यो कम्युनिष्ट शासनभन्दा काङ्ग्रेसी शासन नै ठिक थियो भन्ने, यि लोकतन्त्रवादी वा गणतन्त्रवादीभन्दा राजाको शासन ठिक थियो भन्नेहरूको समूह ठुलै छ । नत्र किन शीतल निवासभन्दा निर्मल निवासको ताँती लामो हुन्थ्यो र ?

 

हेर्दा सामान्य सामाजिक प्रवृत्ति लाग्ला, तर अहिलेको भन्दा अघिल्लो शासन राम्रो, अहिलेका शासकभन्दा अघिल्ला शासक राम्रा भन्ने जस्ता मनोविज्ञान विस्तारै बढेर एउटा आम मनोविज्ञान (मास साइकोलोजी) बन्यो भने ढ्वाङ्गको जनमतको अर्थ रहदैन ।

 

 

आवधिक निर्वाचनले देशको व्यवस्थापक छान्ने हो मालिक होइन भन्ने कुरा शासकले बुझ पचाइदिँदा हरेक निर्वाचनले नयाँनयाँ सम्भ्रान्त वर्ग जन्माउँने र तिनको बोझ जति समाजको सबैभन्दा तल्लो तहका जनतामा थुप्रिने क्रम रोकिएन भने आफूमा नयाँ राजाको छायाँ देख्नेहरूले नै आफूले भोग गरिरहेको शासन बिरुद्ध जनमत बनाइरहेका हुन्छन ।

 

कङ्गालको घरमा भात पाके पनि झगडा, नपाके पनि झगडा भनेजस्तो छ, अहिले प्रमुख प्रतिपक्षीको घर । अवको चार वर्षसम्म पनि होस खुल्ने लक्षण देखिन्न, होसै खुले पनि सामन्तका ज्वाईँ राजा छान्ने, की युवराजाधिराज छान्ने, की अधिराजकुमार छान्ने भन्ने बहसमै तिनको एक दुई साल व्यतित हुने लक्षण देखिँदैछन।

 

दरिलो प्रतिपक्षीको अभावमा शासकको सक्कली रुप देखिन्छ । दवेर रहेको सामन्तपन, वर्गविभेदी सोच सबै मुखरित हुने बेला यही हो । यही हो मैले माथि भने झैँ भित्र लुकेका कुण्ठा व्यवहारमा उत्रिने बेला ।

 

समानताको गीत दशकौँसम्म गाएका, गाउन लाउँनेहरू र गीतको तालमा हामीलाई नचाउँनेहरूले देखाउँने हो, भुइँमान्छे जतिमाथि पुगेपनि धरातल छोड्दैन भनेर । तर, मलाई लाग्दैछ पूर्व भुइँमान्छेका शरिर तिसँङ्गै छन, तिनको भावना रकेटमा सवार छ र व्यवहारमा त्यो रकेटयात्रा छर्लङ्ग देखिन थालेको छ ।

 

नेपाली समाज अझै संक्रमणमै छ । यो पहिलो निर्वाचन पछिको प्रयोग मात्रै हो । यही प्रयोग १० बर्ष नचल्न सक्छ । यिभन्दा हिजोका शासक राम्रा भन्ने भावना बढ्नु भनेको मान्छे अझै केही खोज्दैछन ।

 

हुन सक्छ राजतन्त्र पुनर्स्थापित होला, तर ज्ञानेन्द्रको नेतृत्वमा होइन । हिन्दू राष्ट्र बन्ला, तर कमल थापाको नेतृत्वमा होइन । साम्यवाद वा समाजवाद आउँला, तर ओली र प्रचण्डको नेतृत्वमा होइन ।

 

र, उदार लोकतन्त्र स्थापना होला त शेरबहादुर र सशांकको नेतृत्वमा होइन । यि कुनै पनि एजेण्डा समाजमा स्थापित भए पनि तिनको नेतृत्व गर्नेहरूले जस पाउँने छैनन ।

 

त्यसैले मेरो आग्रह छ, टेकेको जमिन नभुल्नुस, आगे तपाईकै मर्जी ।