अल्छी तिघ्रो, स्वादे जिब्रो !

गत महिना अमेरिका भ्रमणमा गएका एक भुतपूर्व प्रधानमन्त्री त्यहाँ लखरलखर सडकमा हिँडे तर, नेपाल फर्कने वितिकै एअरपोर्टबाटै राज्यको खर्चमा अघिपछि साईरन बजाउँदै सरकारी गाडी लिएर हिड्छन् । यो ‘अल्छि तिघ्रो, स्वादे जिव्रो’को उदाहरण हो ।
आलेखको शिर्षकबाटै पाठकलाई प¥यो होला “सबै मान्छे स्वभावैले अल्छी हुन्छन् । सबैको जिब्रोले मिठै खोज्दछ ।” नेपाली समाजमा परा पूर्वकालदेखि चल्दै आएको उक्ति हो, यो । यसको अर्थ हो, जाँगरिलोले मिठो खोज्नुलाई स्वभाविक मानिन्छ, तर अल्छीले मिठो खोज्दछ भने त्यो अस्वभाविक मानिन्छ । र, भनिन्छ “अल्छी तिघ्रो, स्वादे जिब्रो” ।
यहि उखान तुक्कासँग मिल्दो गीत छ, जसलाई प्राथमिक विद्यालयका बालबालिकाहरुले दिनहुँ जसो गाउँछन् । गीतको बोल छ “इलमीको हातमा माछा र मासु, अल्छीको हातमा आँशु ।” आजको आलेखमा यसै विषयमा चर्चा गरिन्छ ।
बडादशैंको शुरुवातमै इलमीको सम्मान
प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुरुवातसँगै हिमाली जिल्ला मनाङ्गको भ्रमण गरी मनाङ्गमा व्यवसायिक किसिमले स्याउ उत्पादन गर्ने उद्यमी सांसद पाल्देन गुरुङ्गलाई प्रोत्साहन गरे । सम्मान गरे । देशको कार्यकारी प्रमुखले उद्यमी किसानको बारीमा गएर उसको खेतिको अबलोकन गरेर हौसला प्रदान गर्नु भनेको उद्यमीको लागी ठूलो तक्मा प्रदान गरे सरह हो ।
मनाङ्गका पाल्देन गुरुङ्गले केहि बर्ष पहिले राजधानीको पर्यटकीय क्षेत्र ठमेल पकनाजोलमा रहेको करिब तीन रोपनीमा रहेको आफ्नो होटल बिक्रि गरी मनाङ्ग जिल्लाको दिङ्गस्याङ्ग गाउँपालीकामा २७ बर्षको लागी ७३५ रोपनी बारीमा स्याउखेति गरि उद्यमशिलताको अनुकरणीय काम गरेका छन् ।
नेपालमा बार्षिक १४अर्बको स्याउ आयात हुने गरेको तत्थ्यांक बाहिर आएको छ । गुरुङ्गले बार्षिक २१ लाख किलो स्याउ उत्पादन गरि राजधानीका ३२५ पसलबाट बिक्री वितरण गर्ने योजनाअनुसार स्याउ फार्म सञ्चालनमा ल्याएका छन् ।
यो कामको प्रशंसा प्रधानमन्त्रीबाट भएको छ । प्रधानमन्त्रीले सरकारले आगामी बर्षमा स्याउको विरुवा लगाउँने सिजनमा १ लाख स्याउको विरुवा वितरण गर्ने उद्घोषसमेत गरे ।
प्रधानमन्त्रीले प्रत्येक हप्ता वा दश दिनमा देशका एक उद्यमीको श्रृजनाको र मेहनतको स्थलगत अबलोकन गरेर प्रशंसा शुरु गर्ने अभियान चलाउँने हो भने प्रधानमन्त्रीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ महाअभियान सफल हुने निश्चित छ ।
दशैंमा फेसबुकका फोटाहरु
यस बर्षको दशैंमा धेरैले खुसी साटसाट गरेको निधार भरी अक्षेता र जमरा लगाएका फोटा आफ्ना फेसबुक वालमा रंगिन बनाए । नेता, मन्त्री, व्यापारी, कर्मचारी सबैले सबै सुटेट बुटेटमा रमाईला तस्वीरहरु शेयर गरे ।
तर, केहि केहि अपबादवाहेक कोही कसैले पनि पाल्देन गुरुङ्गको जस्तो उद्यमशिलताको तस्वीर पोष्ट गरेको देख्न पाईएन । कारण प्रष्ट छ । हामीले अझै मुलुकको समृद्धि सपना देख्न सकेका छैनौं । पाल्देन जस्ता अन्य उद्यमी पनि नभएका होईनन् । बुद्ध एअरको घान खेति अभियान, पश्चिममा गाईपालक कृषकको कथा, केरा, फलफुल तरकारी खेति गर्नेहरु पनि कम छैनन् ।
तर, हामीले ती तस्वीरहरु देख्न पाएनौं । दशैंको लामो छुट्टिमा विद्यार्थीले खेतबारीमा कामगर्ने परम्परा मासिँदो छ । हामी कृषि र उद्यमशिलतामा भन्दा बढि व्यापार तथा सेवामा लाग्ने र व्यापार र सेवाको विस्तारले उत्पादन बढ्दैन भन्ने विर्सेका छौं ।
गफ, टुईट र फेसबुकले समृद्धि आउँदैन । समृद्धिको लागि श्रम संस्कृतिको विकास चाहिन्छ । उद्यमशिलता विनाको समृद्धि कल्पना नगरे हुन्छ ।
युद्धस्तरको काम हेर्न फाष्ट ट्रयाक जाऔं
नेपाली सेनाले शुरु गरेको फाष्ट ट्रयाकको काम हेरेर फर्केका युवा पत्रकार गिरीश गिरीले आफ्नो अनलाई पोर्टलमा लेखेका छन् “युद्धगतिमा काम” भन्ने शब्द धरैपटक सुनेको थिएँ । तर, यसपाली नेपाली सेनाले फास्टट्रयाकमा गरेको काम हेर्दा पो थाहा भयो । यस्तो पो हुँदो रहेछ युद्धगतिमा काम । उनी अगाडि लेख्छन् “डाँडाकाँडा ढपक्कै ढाकेर एस्काभेटर कीरा जस्तो खटिईरहेका छन् ।” काम नभएको होईन । तर, सबैले ती काम देख्न पाएका छैनौं । संचार माध्यम पनि भाषण भुषण र आलोचनाका अभिव्यक्तिमै रमाउँने परम्परा नमासिएसम्म नेपाली पाठक र दर्शक एवं श्रोताले राम्रो कामको सिको गर्न सक्दैनन् ।
जसरी नेपालको फाष्ट ट्रयाकको काम शुरु भएको छ । त्यहि गतिमा कम्तिमा त्यस्ता परियोजनाहरुको नियमित अनुगमन गर्दै कार्य प्रगति सार्वजनिक गर्ने मेकानिज्म् बनाएर हाम्रा राष्ट्रिय गौरबका आयोजनाहरु अगाडि बढाउँनु पर्दछ । तब मात्र नागरिकहरुमा उत्साह उमंग आउँछ । देश समृद्धिको यात्रामा अभियानको रुपमा अगाडि बढ्दछ ।
दशैंमा एनआरएनको चहलपहल
एक पटकको नेपाली सधैको नेपाली भन्दै गैह्र आवासीय नेपालीलाई सरकारले प्रत्येक बर्ष सम्मेलन गर्न खर्च दिने परिपाटी छ । यो समुह संसारभर छरिएर रहेको छ ।
तर, दुर्भाग्य त्यस्तो समुह संसारभर रहेता पनि विभिन्न पार्टि गुट र समुहमा विभाजित छ । उनीहरुले विदेशमा बसेर पनि नेपालमा हैसियत बनाउँने र नेपालका राजनीतिक नेता र कार्यकारीसँगको सम्बन्ध विस्तारमा मात्र सिमित रहेको टिप्पणी गर्छन्, एनआरएनका एक नेता ।
प्रत्येक बर्ष दशैं र तिहार जस्तो चाडबाड मान्ने उद्धेश्यले नेपालमा सम्मेलन गर्न आउने परम्परा बनाउँदै गरिने कार्यक्रमहरुमा यस बर्ष विज्ञ सम्मेलन नै आयोजना गरे । एक एन्आरएनका नेता भन्छन् “त्यस्ता सम्मेलनहरु दशै तिहारको चाड पर्ववाहेकको समयमा सम्भब नै हुँदैन ।”
एन्आरएन्हरुमा पनि विचौलिया र व्यापारीहरु नै बढि हावी हुने र प्राज्ञिक एवं उद्यमीहरु कम क्रियाशिल हुने हुँदा नेपालमा उद्यमशिलताको विकास गर्नमा उद्योग विस्तार गर्नमा उनीहरुको खासै ठूलो योगदान हुने देखिन्न ।
तैपनि यो समुहलाई पनि क्रियाशिल बनाउँन के कस्तो नीति बनाउन सकिन्छ जसको कारण एन्आरएन्हरुले समृद्ध नेपाल सुखी नेपाली अभियानमा सहभागि हुन सकुन् । यस विषयमा एन्आरएनहरुका अगुवाहरुसँगै निरन्तर छलफल, संवाद र बहसको जरुरी छ ।
दशैं तिहारको छुट्टिमा विद्यार्थीहरुलाई खेतबारीमा पठाऔं
२०४० को दशकमा प्रत्येक बर्ष दशैं विदामा दशैंको तीन दिन हाम्रो आफ्नै खेत बाह्रबिसेमा चारको पानी लगाउँने पालो पर्ने गर्दथ्यो । खेतमा पानी लगाउँने काम सधैं जसो मेरै भागमा पर्दथ्यो । खोलोदेखि खेतसम्मका पानीको कुलोको ठाउँठाउँमा छिमेकीले पानी खोली दिन सक्ने र समय सिमा भित्र खेतमा पानी नढाकेमा पालो सकिने भएले गर्दा अनवरत विहान, दिउँसो र रातीसमेत पानी कुर्नु पर्दथ्यो ।
हिजो आज त्यो काम हरायो । लहलह धान फल्ने खेतमा ईट्टा भट्टा बस्यो । स्थानीय दलालको विगविगीले सबै खेतियोग्य जमिन बगरमा परिणत हुँदैछ । दलाली प्रबृति यस्तो खतरनाक हुँदो रहेछ कि पैसो आउँछ भने पछि केहि बाँकी नराख्ने । उत्पादन गर्नु नपर्ने । बाताबरण विनासको पनि कोही कसैले जिम्मेवारी नलिने ।
यो प्रसंग यहाँ उल्लेख गर्नुको उद्धेश्य हो । हामीले दशैंको विदाको समयमा चौधबर्ष माथीका र पच्चीस बर्ष कम उमेरका विद्यार्थीहरुलाई खेतबारीमा काम गर्ने संस्कृतिको अभ्यास गराउँन सक्ने उपयुक्त समय र अबसर यहि विदाको समय हुन सक्थ्यो । जसले यो समयमा खेतबारीमा काम गर्छन् उनीहरुले श्रमप्रतिको सम्मान गर्ने अभ्यास गर्न सक्छन् ।
श्रम गर्नमा गौरव गर्ने पुस्ताले मात्रै हो समृद्धि ल्याउने भनेको । नयाँ युगमा नयाँ नेपाल बनाउने संस्कृतिको शुरुवातको निम्ति दशैं तिहारको छुट्टिमा विद्यार्थीलाई खेतबारीमा काम गर्ने संस्कृतिको शुरुवात गरौं । कक्षा आठदेखि स्नातकसम्मका विद्यार्थीहरुलाई अनिवार्य खेतिमा पठाउँने अन्नवाली भित्राउँने अभियानमा लगाऔं । तब मात्रै हाम्रा भविष्यले श्रमप्रति सम्मान गर्ने छ । र, हामी सुखी बन्न सक्ने छौं ।
एक बर्ष सेवा अबधी बाँकी सैनिक र प्रहरीलाई विशेष तालिम
नेपालको सुरक्षा निकायमा काम गर्ने व्यवसायिक क्षमता भएका करिब दुई लाख भन्दा धेरैको हाराहारीमा सेना र प्रहरी रहेका छन् । यीनीहरुको सेवा अबधी ३० बर्ष निर्धारित छ ।
‘समृद्ध नेपाल, सुखि नेपाली’ अभियानमा संलग्न गराउँन प्रत्येक बर्ष सेवा निवृत्त हुने सैनीक एवं प्रहरीलाई एक बर्ष सेवा अबधि बाँकी रहँदै विभिन्न किसिमका प्राविधिक तालिम उपलब्ध गराउँनु पर्दछ । हेभि इक्युपमेन्ट, ड्राईभिङ्गलगायत प्राविधिक तालिम दिने व्यवस्था गरेमा उनीहरु सेवा निवृति पश्चात पनि क्रियाशिल हुन सक्दछन् । कतिपय प्राविधिक क्षेत्रमा काम गर्ने सेना र प्रहरीलाई उपयुक्त सेवा दिने वातावरण बनाउँन सकेमा उनीहरु सेवा निवृत पश्चात पनि क्रियाशिल रहने छन् । समृद्ध नेपाल सुखि अभियानमा यो जनशक्ति पनि प्रयोग हुन सक्दछ ।
उद्यमशिलताको लागि पार्टी संगठनहरु परिचालन गरौं
राजनीतिक पार्टीमा लाग्ने भनेको गफ गर्न सिपालु । काम कम गर्ने । सजिलै पैसा पार्न सक्ने । विचौलिया । ठेकेदारी । एन्जिओ । दलाली । दाउपेचमा विश्वास गर्ने । रेन्ट सिकिङ्ग प्रबृत्ति हावी छ । एक अर्कालाई आलोचना र होच्याउँन सक्ने । कुनै विशेष ज्ञान र सीप नभएको । आफ्नो क्षमताले भन्दा पनि कति बर्ष गफ गरेर हिँड्यो । सोही आधारमा पार्टीहरुमा हावी हुने सँस्कृति मौलाउँदो छ ।
यो प्रबृति हावी हुँदासम्म समृद्धि सम्भव छैन । निर्वाचनको समयमा पार्टीले टिकट वितरण गर्दा कति खर्च गर्न सक्छ ? कति पैसा चन्दा दिएको छ ? भन्दा पनि को कति उद्यमशिल छ ? श्रृजनसिल छ ? कति श्रममा विश्वास गर्छ ? श्रम संस्कृति अभ्यास गरिरहेको छ कि छैन ? भनि हेर्ने मापदण्ड बनाएर त्यस्ता समुहको राजनीतिक पार्टीहरुमा होल्ड नभएसम्म समृद्ध नेपाल सम्भव छैन । हिजोका अल्छीहरु, गफाडीहरु, ठगहरु, विचौलीयाहरु, अपराधी गुण्डाका मतियार र संरक्षकहरुको अन्त्य विना सम्भब छैन समृद्ध नेपालको सपना । राजनीतिक पार्टीहरुले उद्यमशिलताको लागि पार्टीका संगठनहरु परिचालन गर्नु पर्दछ ।
छक्का पञ्जा ३ जस्तो पो नेपाली फिल्म
चलचित्र आफैंमा एक समाजको ऐना हो भनिन्छ । यस पटक दशैंको शुरुवातमा रिलिज भएको नेपाली फिल्म छक्का पञ्जा ३ शुक्रबार साँझ सपरिवार जय नेपाल सिनेमा हलमा हेरियो । दशैंको टिकाको भोलीपल्ट साँझको सो सिनेमा हल हाउस फुल थियो ।
नेपालको शिक्षा र सामुदायिक विद्यालयको वेथितिलाई कथावस्तु बनाईएको यो चलचित्रले दर्शकलाई हास्यव्यङ्गसँगसँगै देशको अबस्थाको ’boutमा एकोहोरो तानी रहन्छ ।
चलचित्र हेरेर फर्कदैंगर्दा एक दर्शकले प्रतिक्रिया दिए ‘सिनेमा बन्नु त छक्का पञ्जा ३ जस्तो पो’ शिक्षाविद्हरु, राजनीतिकर्मीहरु र शैक्षिक जागरणका अभियन्ताहरुलाई यो चलचित्र हेर्न सुझाए उनले ।
शैक्षिक माफियाको विगविगि भएको देशमा यस्ता चलचित्रले सबै दर्शकहरुलाई त्यसमा पनि शैक्षिक क्षेत्रका नीति निर्माताहरुलाई तीन घण्टामा नै मुलुकको सामुदायिक विद्यालयहरुको बस्तुस्थीति छर्लङ्गै बनाईदिन्छ चलचित्रले ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ महाअभियानका सपना देखेकाहरुले यस्तो चलचित्र हेरेर देशको वस्तुस्थिति बुझ्न सक्छन् र नीति नियमहरुमा सुधार ल्याउन सक्छन् कि भन्ने विश्वास रहेको पाईयो, ती दर्शक को ।
अमेरिकाको सडकमा लखरलखर नेपाल आएपछि साईरन
अल्छी तिघ्रो, स्वादे जिब्रो को तुजुकको चित्रण गर्दै गएको महिना अमेरिका भ्रमणमा देखिएका नेपालका एक भुतपूर्व प्रधानमन्त्री लखरलखर अमेरिकाको सडकमा हिँडेको ।
त्यहाँका कार्यक्रममा उनले गरेको भाषण र उनका संम्वाद हेर्दै गरेका एक राजनीतिक विश्लेषकले भने हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्छौं । प्रधानमन्त्री भैसकेका हाम्रा नेता अमेरीकाको सडकमा लखरलखर झोला भिरेर हिड्छन् । नेपाल फर्कन पाएको छैन । एअरपोर्टबाटै राज्यको खर्चमा अघिपछि साईरन बजाउँदै सेक्युरीटिको गाडी लिएर हिड्छन् । अनि कसरी हुन्छ हाम्रो देशको समृद्धि ?
सधैंभरी अरुको पैसामा पढेकाले कहिले कति श्रम गरे । प्रश्न गर्ने समय भएको छ । श्रमविनाको सम्पति र श्रमविनाको पदवीले कसरी आउँछ समृद्धि ? उनी अहिले पनि सांसद छन् । उनले किन गर्न सक्दैनन् पाल्देनको जस्तो स्याउखेति ? वा अन्य किसानले जस्तो बाख्रापालन, माछापालन, भैंसीपालन, कुखुरापालन, र वंगुरपालन । वा अन्य कुनै उद्यमशील काम गरेमा पो हो उनलाई नेता र अगुवा मान्ने । अल्छिले जति गफ र अल्छीलाई जति स्वाद कसैलाई चाँहिदैन ।