राज्यको आशै नगरौँ, आफ्नो जोहो आफै गरौं

वास्तविक   मार्क्सवादी राज्य हुन्थ्यो भने यस्तो वेथिति हुन्नथ्यो । सामाजिक करारले बनेकोे राज्यमा सरकारले जनताप्रतिको दायित्व निभाउँथ्यो । दैवी सिद्धान्तको राज्यमा पापको डरले थिति बस्थ्यो । मातृत्वको सिद्धान्तकोमा आमाले र पितृत्वको सिद्धान्तकोमा बाऊले यस्तो बेथिति हुन दिदैनथे । तर, यो कुन सिद्धान्तले निर्मित राज्य हो, बबुरो जनतालाई थाहा भएन ।

 

 

“आगो र पानी, तरूनी र मूर्ख

राजा र साहू सङ् नमान्नू हर्ष ।“

 

यो नेपाली उखानमा भएका आगो, पानी, तरूनी, मूर्ख, राजा र साहूका रुप नेपाली समाजको बदलावसँङ्गै फेरिदै छ । कुनै सान्दर्भिक छन, कुनै त असान्दर्भिक नै भै सकेका छन् । कुनै सार्वजनिक रुपमा बोल्दा समाजको बहुलताप्रति असंवेदनशील भनि आलोच्य विषय पनि भैसके ।

 

तर, एउटा चाहिँ साश्वत जस्तै छ, राजा अर्थात शासक । शासक र शासितको सम्बन्धका कारण होला यीसँङ्ग नजिक भएर हर्ष नमान्नु भनिएको होला । उसका लागि एउटा प्रजा दशैँको खशी, भेडा वा च्याङ्ग्रा समान कुनै चिज हो । ढाड्मा हात गाढ्ने, हरेक मोटोको पालो पहिले आउँछ कि पातलोको, दुब्लो वा बलियो के हो, त्यो छुट्याउँने ।

 

त्यही भएर शासकका लागि जनता ‘सब्जेक्ट’ भएका हुन । यसको नेपाली अर्थमा ‘प्रजा’ ।

 

राज्य निर्माणको सामाजिक सम्झौता, शक्तिको सिद्धान्त वा दैवी सिद्धान्तलाई फरकफरक रुममा लिने हो भने पनि राज्य निर्माणको उद्देश्यमा केही फरकपन देखिएला, तर कालान्तरमा कायम हुने राज्य र नागरिक वीचको सम्बन्धमा भने खासै फरक देखिन्न, जति देखाउँन खोजे पनि ।

 

दैवी सिद्धान्त, शक्तिको सिद्धान्त, पितृत्वको सिद्धान्त, मातृत्वको सिद्धान्त र माक्र्सवादी सिद्धान्तभन्दा हब्स, लक र रुसोले बढि उचालेको राज्य निर्माणको सामाजिक करारको सिद्धान्तलाई अहिलेका आधुनिक धेरै विद्वानहरूले विश्वास गरेका छन ।

 

तर, राज्य निर्माणपछिको करारका दुई पक्षवीचको सम्बन्धलाई हेर्ने हो भने त्यो केवल आर्दशवादी सिद्धान्त शिवाय केही पनि होइन जस्तो देखिन्छ । ११ नोभेम्बर १६२० को ‘मे फ्लावर सम्झौता’ र राजा फिलिप द्वितीयलाई डचहरुले १५८१ मा गरेको सत्याच्युतको घटनावाहेक यो सम्झौता उल्लङ्घन गरे बापत गरिएको सजायँ कमै पाइन्छन् । फिलिप सत्ताच्युत गर्दा स्पष्ट भाषामा ‘राजाले आफ्नो सम्झौता तोडेकोले अरू धोखेबाज नोकरसरह पदबाट हटाईएको’ उल्लेख थियो ।

 

आफूलाई उदार लोकतन्त्रवादी मान्नेले यसलाई मानि राखून, हामी चाहिँ माक्र्सवादीले दुई तिहाई बहुमत ल्याएका देशका बासिन्दा भएकोले तत्काललाई शक्तिकै सिद्धान्तलाई विश्वास गरौँ । त्यसै वरिपरि चर्चा गरौँ । माक्र्सवादी र शाक्तिवादी दुवैले विश्वास गरेको एउटै कुरा भनेको राज्य निर्माण बल प्रयोगबाट मात्रै सम्भव छ । चाहे वर्ग सङ्घर्ष होस, दुई राजावीच वा जातिजातिको वीचको लडाईं नै किन नहोस ।

 

एक थरी पृथ्वीनारायणको शक्तिले आर्जेको मुलुक भन्छन, अर्काथरि दैवी हिन्दू राज्य र अर्काथरि भन्छन यो तत्कालीन समयको मागअनुसार सामाजिक सम्झौता अन्तर्गत बनेको अर्थात ब्रिटिश साम्राज्य बिरुद्ध मुकाबिला गर्न हाम्रा पूर्खाले थाहा नपाइकनै अर्थात अचेतन अवस्थामा नै सिर्जना गरेको ।

 

नेपाली राज्य निर्माणको जुनसुकै सिद्धान्तमा विश्वास गर्नुस, तर हामी सबैले विश्वास गरेको वास्तविकता के हो भने हामी माक्र्सवादी मुलुकमा छौँ । माक्र्सवादीहरूले कब्जा गरेको मुलुकका प्रजा भएका छौँ । ‘कब्जा’ शब्द यहाँ अनुकूल नहोला र धेरैको बिमतिसमेत होला, तर चुनाव लगत्तै शीर्ष नेताका भाषण दोहोर्याएर सुन्नेसँङ्ग मात्र म तर्कमा उत्रिनेछु । र त्यो शक्तिकै भरमा आर्जन भएको हो, कुन शक्ति भन्ने तिर चै अहिले नजाऊँ ।

 

माक्र्सवादी शासन भित्र हामी दैवी शक्तिका आराधनामा लागेका छौँ, नवरात्री लागेपछि । निर्वाचनको विजयलाई समेत अलौकिक शक्तिको उदय ठान्यौँ । चुनाव देशको व्यवस्थापन गर्ने व्यवस्थापकको छनौट हुने नियमित प्रक्रिया थिएन, हाम्रा लागि । चुनाव जित्नेहरू युद्धनायकहरू थिए, अर्को अर्थमा देवताका अवतार । हामीले यिनलाई देवत्ववरण गरायौँ, पटकपटक । चुनावलाई भिडन्त लेख्यौँ, महासङ्ग्राम लेख्यौँ, र सँङ्गसँङ्गै बाजी पनि बनायौँ ।

 

यही राज्य निर्माणको प्रकृया, शक्ति आर्जन गर्ने तरीका, शक्ति प्रदान गर्ने तरीका र शक्ति प्रयोग गर्ने तरीका’bout हाम्रा अबधारणाको हाम्रा दैनिक कामसँङ्गको सम्बन्ध’bout भने कुनै ध्यान दिएनौँ । यी प्रकृया वा तरीका’bout हाम्रो बुझाई सही हुन्थ्यो भने जहाँ सरकारको उपस्थिति त्यहाँ अनियमितता, जहाँ सरकारको अनुपस्थिति त्यहाँ अभाव, जहाँ सरकारको अनुपस्थिति त्यहाँ भ्रष्टाचार, जहाँ सरकारको उपस्थिति त्यहाँ अन्याय, जहाँ सरकारको अनुपस्थिति त्यहाँ अस्तव्यस्तता हुन्थ्यो होला? सरकार देखा पर्ना साथ संसारभरि हुने कुनै पनि प्रकारका फटाइँ त्यहीँ देखिन्थे?

 

अहिले हामीले झेलेका समस्या र सरकारको उपस्थिति हेरौँ अनि थाहा हुन्छ, सरकार र ‘प्रजा’ वीचको सम्बन्ध । काठमाण्डु खाल्डो छोड्ने हरेक यात्रुलाई प्रत्यक्ष भेटेर सोध्नुस, नत्र । म मात्रै गलत छु कि उनीहरूको बुझाई पनि मेरो जस्तै छ, सोध्नुस त । सरकार शक्ति प्रयोगमार्फत आर्जित, शक्ति प्रयोगकै लागि जीवित र शक्ति प्रयोगमै लक्षित इकाई हो भनेर सबैले बुझेका छन । जुन समस्या सडकमा देखिन्छ ति असाध्य होइनन । अव्यवस्थापन वा गलत व्यवस्थापनका परिणाम मात्रै हुन ।

 

एक दुई प्रतिनिधि उदाहरण हेर्नुस, सरकारले तपाईँप्रति निर्वाह गरेको दायित्व बुझ्न । आज ७ घण्टा ३० मिनेट्को गाडी यात्राबाट एउटा पुरानो फोटो पत्रकार ११३ किलोमिटर तय गर्न सफल भएछन । चितवनबाट राती १० बजे आइपुगेको एम्बुलेन्स फर्किने तेल नभेटेर ड्राइभर यतै सुतेछन । दिउँसो १ः३७ मा एउटा सरकारी कार्यालयमा कर तिर्न पुगेको, आजको कर बैङ्क चलानी भैसक्यो, अब दशैँपछि आउँनु भन्ने जबाफ पाएर फर्किए । छेउको सेवा केन्द्रमा ७०० रुपैयाँ थप दिएपछि आजै काम भयो । बिदेशबाट फर्केको एउटा साथीले डेढ सय रुपैयाँ तिरेर एयरपोर्टको सरकारी कार्यालय भित्र एक कप चिया पिएछन, उनलाई अमेरिकाभन्दा महँगो लागे छ । छ सय रुपैयाँमा यात्र गर्ने गरेको छिमेकी १००० रुपैयाँ तिरेर घर गयो ।

 

यि सबै सरकारको उपस्थितिका कारण । सरकार चलाउँनहरुले घुस लिएका कारण चिया महाङ्गो छ । सरकारले हस्तक्षेप गरेका कारण यातायात क्षेत्र अस्तव्यस्त छ । सरकारले कर उठाउँदा घुस लिन्छ । सरकारी निकाय आफ्नै पम्पमार्फत पेट्रोल बेच्छन । तिनकै संस्थानले ढुवानी गर्छ । काम गरे वापत तिनका कर्मचारी ओभर टाइम खान्छन । शनिवार न पेट्रोल दिन्छन, न राती पम्प खोल्छन । तिनलाई राती सरकारलाई जस्तै सुत्न पर्छ । तिनको लागि रोगसमेत राति सुत्छ, रातमा मुटुमा आक्रमण गर्दैन, बिमारीलाई अस्पताल दौडाउँनु पर्दैन ।

 

यी सरकारी अड्डा जस्तै सुबिधा र सहुलियत सोहोरेर बसेको साझा भन्ने संस्था छ । त्यो पनि शनिवार सुत्छ । तिनका सञ्चालक संसारलाई हामीले नैतिकता सिकाउँने हो भन्छन, कुनै पम्प २४ घण्टे सेवामा लगाउँदैनन ।

 

माक्र्सवादी राज्य हुन्थ्यो र सरकारको सबै सेवामा पकड हुन्थ्यो भने पनि यो काम हुन्नथ्यो । सामाजिक सम्झौताको आधारमा बनेको राज्य हुन्थ्यो भने पनि सरकारले जनताप्रतिको दायित्व निर्वाह गर्दथ्यो । दैवी सिद्धान्तलाई नै मान्ने भए पनि पाप धर्मको कुरा आउँथ्यो । मातृत्वको सिद्धान्तले खडा भएको राज्य भए आमाले यस्तो हुन दिन्नथिन, पितृत्वको सिद्धान्त मान्ने हो भने बाऊले । यो कुन सिद्धान्तका आधारमा खडा भएको राज्य हो, कुन सिद्धान्तका आधारमा बनेको सरकार हो, जनतालाई थाहा भएन ।

 

त्यसैले यो शक्ति प्रयोगको अखडासँङ्ग केही आशा नगरौँ, सकिन्छ आपसी सहयोग गरौँ, आफ्नो सेवा आफैँ गरौँ । २०७५ सालको बडा दशैँको सबैमा शुभकामना ।