को बढी पूँजीवादी : पुरातनवादी कि सर्वहारावादी ?

केही दिनअघि बीबीसी टेलिभिजनको प्रत्यक्ष प्रसारण देखेर छक्क परियो, विश्वासै लागेन । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको वार्षिक अधिवेशन चलिरहेको थियो । उक्त अधिवेशनमा सरकार प्रमुखलाई गतिलो टक्कर दिइरहेका थिए, पूर्व परराष्ट्र मन्त्री बोरिस जोनसन । सम्बोधन गरिसकेपछि उनले जे गरे त्यसले सर्वहारावर्गको नाउँमा नेपालमा शासन गरिरहेका कम्युनिष्ट पार्टीका नेताहरु झलझल मनमस्तिस्कमा छाइरहे ।

 

 

सम्मेलनमा भाषण सकिसकेपछि हामी नेपालीहरु झस्किने गरी जोनसन सभाहलबाट बाहिरिए । उनी बाहिर निस्किदैगर्दा हेल्मेट निकालेर लगाए र साइकल स्ट्याण्डमा पुगेर सिक्रीले बाँधिरहेको साइकलको ताल्चा खोले र साइकल चढेर सररर घरतिर लागे !

 

 

 

यी बेलायतका तिनै सशक्त परराष्ट्रमन्त्री हुन्, जसले कन्जरभेटिभ पार्टीको संसदीय दलकी नेता तथा प्रधानमन्त्री टेरेसा मेसंग नीतिगत असहमती जनाउदै गत जुलाईको दोस्रो साता परराष्ट्रमन्त्रीको पदबाट राजीनामा गरेका थिए । जोनसनले पार्टी महाधिवेशनमा प्रधानमन्त्री मेलाई दमदार चुनौति दिए ।

 

 

बेलायतको शासक दलका सांसद, प्रभावशाली नेता र पूर्व प्रधानमन्त्री दैनिक साइकल चढेर पो पार्टी अफिस र संसद भवन आवत–जावत गर्दा रहेछन् ।

 

 

नेपालको शासक दल नेपाल कम्युनिष्ट पार्टी हो । यसका अरु नेताको कुरा थाँतिराखेर पार्टीका स्थायी समिति सदस्यहरुको मात्र आज कुरा गरौं । अरुका पछि चर्चा गरौंला !

 

 

नेकपा स्थायी समितिमा हाल ४५ सदस्य रहेका छन् । ती मध्ये पाँच जनाबाहेक ४० जना कमरेडहरु नीजि वा सरकारी गाडीवीना पाइलो चाल्दैनन् ।

 

 

सर्वहारावर्गका नेताहरु चढ्ने गाडी निजी होस् वा सरकारी नम्बर प्लेटका भएका नै किन नहुन्, महान सर्वहारावर्गका महान कमरेडहरुले यतिखेर साइकल चढ्ने कल्पनासम्म पनि गर्न सकिदैन, तर चरम पूँजीवादमा भासिएको बेलायतको सबैभन्दा कट्टरपन्थी पार्टीका नेता भने साइकल चढेर वा सार्वजनिक बस÷रेलमा पो यात्रा गर्दा रहेछन् । तर, हाम्रो सर्वहारावर्गका महान नेताहरुलाई भने पूँजीपतिहरुले चढ्ने साइकल र बसमा यात्रा गर्न नहुने, कार÷जीप नै चाहिने !