सकारात्मक शिक्षाका विशेषता

डा. रामचन्द्र लामिछाने
प्रसिद्ध दार्शनिक सुकरातका अनुसार शिक्षाले प्रत्येक मानिसको मष्तिष्क भित्र लुकेर रहेका असिमित सकारात्मक एवम् सिर्जनात्मक सोचहरुलाई प्रष्फुटन गराउन सक्नु पर्दछ ।
प्रसिद्ध वैज्ञानिक अल्वर्ट आन्सटाइनका अनुसार शिक्षा भनेको वास्तविकताहरुको सिकाइमात्रै होइन यो त मष्तिष्कलाई सोच्न सिकाउने तरिका हो । शिक्षा भनेको निश्चित मापदण्ड पुरा गरेर प्रमाणपत्र प्राप्त गर्नु भन्दा अधिक वढी हो ।
यो रचनात्मक तौर तरिकाहरु आविष्कार गरेर जीवनलाई गुणस्तरीय र सहज वनाउन सहजीकरण गर्ने सीप हो । परम्परागत औपचारिक शिक्षामा निश्चित मापदण्ड पूरा गरेर प्रमाणप्रत्र प्राप्त गर्नुलाई शिक्षा भनिन्थ्यो भने आधुनिक सकारात्मक शिक्षाको मूख्य उद्धेश्य भनेको विद्यालयसँग सम्वन्धित क्षेत्रहरु तथा विद्यार्थीहरुको मानसिक स्वास्थ्यलाई सकारात्मक रुपले फष्टाउने गरी प्रवद्र्धन गरी व्यक्ति स्वयम्, परिवार, समाज, राष्ट्र र सिंगो मानव समुदायको हितमा सकारात्मक कार्य गर्न अभिप्रेरित गर्नु हो ।
विद्यालयहरुमा विद्यार्थीको भर्नादरमा निकै सकारात्मक उपलब्धी हासिल भए पनि सिकाईको दृष्टिकोणले हेर्ने हो भने नेपालको अवस्था निकै नै निरासाजनक छ । सबै अभिभावकहरु आफ्ना वाल वच्चाहरुले राम्रो ज्ञान सिकुन र विज्ञता हासिल गरुन भन्ने चाहना राख्छन तर नेपालको शिक्षा प्रणाली परम्परागत मनोविज्ञान र सैद्धान्तिक एवम परिक्षा केन्द्रित शिक्षण भएका कारण लामो समयदेखि अपेक्षाकृत परिणाम प्राप्त हुन सकिरहेको छैन ।
समग्र शिक्षा प्रणालीमा वैज्ञानिक प्रणाली स्थापना हुन नसकेको कारण जति लगानी गरे पनि अपेक्षीत प्रतिफल प्राप्त हुन सकेको छैन र यही पद्धतिलाई निरन्तरता दिने हो भने शिक्षा क्षेत्रको लगानी सधै वालुवामा पानी हाले सरह भैरहन्छ ।
जव शिक्षाको लगानीले प्रतिफल दिदैन तव देशका अन्य सबै पद्धति निष्प्रभावी हुन्छन । समग्र शैक्षिक प्रणाली प्रभावकारी नहुदा सरकारी लगानी खेर गइरहेको छ भने विद्यार्थी एवम अभिभावकहरुमा असन्तुष्टि वढेको छ ।
देशमा भ्रष्ट्राचार मौलाएको छ, समाजमा सदभाव र प्रेम अस्ताएको छ । सिंगो देश परनिर्भर भइरहेछ, सुशासन र जवाफदेहिता केवल प्राज्ञिक वहसको विषय भएको छ ।
यस्तै अवस्थाको निरन्तरतामा रमाउने कि नयाँ पद्धतिको सुरुवात गर्ने ? निर्णय गर्ने वेला आएको छ । अवको शिक्षा प्राणाली यस्तो अवस्थाको अन्त गरि द्रुत सकारात्मक प्रतिफल दिने र सकारात्मक जीवन पद्धति निर्माण गर्ने प्रकारको हुनु पर्दछ । त्यसकोलागि शिक्षासँग सम्वन्धित सबैको दृष्टिकोण र सोचमा आमूल रुपान्तरण आवश्यक छ ।
प्रसिद्ध दार्शनिक सुकरातका अनुसार शिक्षाले मानिसको मष्तिष्क भित्र लुकेर रहेका असिमित सकारात्मक एवम् सिर्जनात्मक सोचहरुलाई प्रष्फुटन गराउन सक्नु पर्दछ ।
विद्यालय, शिक्षक, अभिभावक र सम्वन्धित सरोकारवालाले प्रत्येक विद्यार्थी भित्र रहेका त्यस्ता असिमित तर असाधारण सोच र सिर्जनशीलतालाई प्रष्फुटन गराउने शैक्षिक वातावरण र तौर तरीकाहरु निर्माण गर्नु पर्दछ । जसले गर्दा मात्र २१ औ शताब्दीको लागि अन्तराष्टिय शिक्षा आयोगले परिकल्पना गरेको प्रत्येक विद्यार्थीका शारिरिक, मानसिक, वौद्धिक तथा आध्यात्मिक संभावनाहरु प्रष्फुटन गराउने गरी गुणस्तरीय शिक्षाका लक्ष्य प्राप्त गर्न सकिन्छ ।
गुणस्तरीय जीवन उपयोगी शिक्षामा प्रत्येक विद्यार्थीले सिकेका ज्ञान र सिप अनुरुप व्यवहार गर्न सक्ने तथा एक अर्कासँग घुलमिल हुन सक्ने हुनु पर्दछ । यसको लागि परम्परागत मनोविज्ञानमा आधारित शिक्षाको सट्टा सकारात्मक मनोविज्ञानमा आधारित शैक्षिक प्रणाली अवलम्वन गर्न सक्नु पर्दछ ।
सकारात्मक शिक्षा प्रणाली परम्परागत मनोविज्ञानका सकारात्मक पक्षहरु र सकारात्मक मनोविज्ञानको समिश्रण हो जसले मानवीय संवेदना र खुशीका कारणहरुको खोजविन गरी ती कारणहरु वढाउने आधारहरु खोज्दछ । यस प्रकारको अभ्यासले व्यक्ति भित्रको नैरश्यता, नकारात्मकता र कमजोरीलाई हटाएर सकारात्मक र समृद्धिका कारणहरु प्रवद्र्धन गर्न प्रोत्साहित गर्दछ ।
सकारात्मक मनोविज्ञानले विद्यार्थीहरुका सकारात्मक पक्षहरु के के हुन र के कति कारणले विद्यार्थीहरु खुशी साथ सफलता प्राप्त गर्न सक्छन भन्ने कारण खोज्दछ ।
माहात्मा गान्धीका अनुसार, शिक्षा भनेको समाजका विविधतालाई स्वीकार गरेर एक अर्काको अस्तित्वलाई सम्मान गर्दै सहज र सरल तवरले घुलमिल हुन सक्नु हो । यसका लागि कक्षा सहपाठी एवम समाजका सवै पक्षहरुको अस्तित्व स्विकार गर्न सक्ने सोच र तदनुरुपको व्यवहार निर्माण आवश्यक पर्दछ ।
सकारात्मक शिक्षाले विद्यार्थीहरुमा अन्तरनिहित सकारात्मक क्षमता एवम् दक्षताहरुलाई सकारात्मक संवेगका माध्यमले प्रष्फुटन गराउदछ र खुशी एवम् उत्साहजनक सिकाइको वातावरण निर्माण गर्दछ । सिकेका कुराहरुकोे व्यवहारिक रुपमा प्रयोग गर्ने सिपको विकास गर्ने वैज्ञानिक पद्धतिसहितको कला हो । यो नयाँ अवधारण हो । नेपालका विद्यालय शिक्षण प्रकृयामा यो पद्धतिको प्रयोग एकदम नयाँ र आधुनिक हो ।
सकारात्मक शिक्षा विद्यार्थीहरु एवम् शिक्षक र तिनका परिवारका सदस्यसमेतको खुशीका कारण र ती कारणहरुको सम्वद्र्धन एवम् प्रवर्धन गर्न सक्ने संवेगात्मक भावना तथा सीपहरुको विकास गर्ने माध्यम हो ।
यसले व्यक्तिका सकारात्मक क्षमता एवम् दक्षताहरु, सकारात्मक संवेग, सकारात्मक र विलक्षण गुणहरु, सकारात्मक सम्वन्धका कारणहरु, सकारात्मक संगठनात्मक व्यवहारहरु, सकारात्मक नेतृत्व विकास र परिवर्तन, सकारात्मक दृष्टिकोण आदि कुराहरुको खोजी गर्न अभिप्रेरित गर्दछ र यी कुराहरुमा अभ्यस्त गराएर सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्दछ ।
यस शिक्षण पद्धतीले राम्रो गर्न र राम्रो महशुश गर्न आभिप्रेरित गर्दछ । सकारात्मक शिक्षाले विद्यार्थीहरुका नकारात्मक र कमजोरीहरु खोजी गर्नुको सट्टा उनीहरुमा अन्तरनिहित सकारात्मक संभावनाहरुको खोजी र विकास गरि उनीहरुमा सकारात्मक चरित्रको निर्माण गर्ने र सकारात्मक व्यवहारको लागि अभिप्रेरित गर्ने हुँदा कक्षाकोठामा एक अर्काप्रतिको सम्मानमा वृद्धि हुँदै जान्छ र यस्ता व्यवहारहरुको सकारात्मक प्रभाव घर परिवार र समाजमा पर्दछ ।
यस प्रक्रियाले विद्यालय, परिवार र समाजमा एक अर्काको अस्तित्व स्विकार गर्ने, एक अर्कालाई सम्मान गर्ने सकारात्मक संस्कृतिको विकास हुन्छ र सिंगो समाज सकारात्मक रुपान्तरणको दिशामा अगाडि वढ्छ ।
प्रोफेसर मार्टिन सेलिगमेनका अनुसार कुनै पनि व्यक्ति वा विद्यार्थीहरुसँग सकारात्मक व्यक्तित्व विकास गर्ने सकारात्मक संवेग, आवद्धता वा सहभागिताको रुचि, सकारात्मक सम्वन्धहरु विकास गर्ने क्षमताहरु, वृहत्तर सपना र सफलता प्राप्त गर्ने दक्षताको भण्डार हुन्छ ।
अतः प्रत्येक विद्यार्थीहरुमा पर्याप्त मात्रामा यस्ता सकारात्मक गुणहरु हुने हँुदा शिक्षण प्रणालीले ती गुणहरुलाई प्रष्फुटन गराउन सक्नु पर्दछ । प्रत्येक शिक्षक, शैक्षिक व्यवस्थापक वा योजना विज्ञले उपरोक्त कुराहरुलाइ ध्यानमा राखेर शैक्षिक नीति एवम् कार्यक्रमहरु वा विद्यालयका वार्षिक कार्यक्रमहरु, कक्षा शिक्षा योजना तथा पाठ योजना निर्माण गरेर कार्यक्रम सञ्चालन गर्ने वातावरण निर्माण गरेमा शैक्षिक क्षेत्रमा चमत्कारिक रुपमा सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ ।
यसको लागि शैक्षिक नेतृत्वमा रहेका व्यक्तिहरुको सोच्ने तरिकामा आमूल रुपान्तरण हुनु जरुरी छ ।
मानिसका अनुभूति र सोचहरुको वीचमा प्रत्यक्ष सम्वन्ध हुन्छ । सकारात्मक अनुभूतिहरुले सकारात्मक सोचको निर्माण गर्दछन भने सकारात्मक सोचहरुले नै सकारात्मक अनुभुतिहरु सिर्जना गराउदछन ।
नेपलाको शैक्षिक प्रणाली परम्परागत मनोविज्ञानमा आधारित भएको कारण विद्यार्थीहरुलाई दवाव दिएर वा दण्ड दिएर उत्कृष्ट हुन अभिप्रेरित गरिन्छ । जव शिक्षकले विद्यार्थीलाई दवाव वा दण्ड दिने गर्दछन् तव विद्यार्थीले नकारात्मक अनुभुति गर्दछन् र त्यस्ता नकारात्मक अनुभूतिहरुले नकारात्मक सोच पैदा गराउदछ । फलस्वरुप विद्यार्थीको भूमिकामा सुधार आउन सक्दैन ।
त्यसको विपरीत जव विद्यार्थीका सकारात्मक कुराहरु पत्तालगाई स्यावासी दिइन्छ तव सकारात्मक अनुभूतिहरु पलाउदछन् र विषयवस्तुप्रति सकारात्मक सोच पलाउदछ । फलस्वरुप विद्यार्थीहरुले सकारात्मक परिणाम प्राप्त गर्दछन् ।
त्यसकारण सकारात्मक शैक्षिक प्रणालीले हृदय र मस्तिष्कलाई जोडने र उत्साह एवम सकारात्मक उर्जा वढाउने आधार तयार गर्दछ । यस प्रणालीले विद्यार्थीलाई उनीहरुको सकारात्मक चरित्र र प्राज्ञिक उत्कृष्ठता वृद्धि गर्ने कुराहरु प्रति केन्द्रित गराउदछ ।
सकारात्मक शिक्षा प्रणालीले विशेषतः सकारात्मक चरित्रलाई प्रमुख प्रवल चरित्रहरुको रुपमा खोज गरी ती चरित्रहरुका आधार एवम् ’emको वृद्धि एवम् विकासका कारणहरु खोज्न अभिप्रेरित गर्दछ जसले गर्दा विद्यार्थीहरुको सकारात्मक व्यक्तित्वको विकास हुन्छ ।
विशेषतः विद्यार्थीहरुका जन्मजात वाहेक आर्जन गरेका सकारात्मक चरित्रहरुलाई वारम्वार स्याहार, संभार एवम् प्रयोग गरिरहनु पर्दछ जसले गर्दा विद्यार्थीहरुमा सकारात्मक चरित्रको विकास हुन्छ र सकारात्मक एवम् रचनात्मक सिर्जना गर्न अभिपे्ररित हुन्छन् ।
सकारात्मक शिक्षा पद्धति नयाँ भएकोले यस विधिलाई विद्यालयमा लागु गर्न यससँग अन्तरनिहित अर्थहरु वुझ्ने विद्यालयका सम्वन्धित सवै पक्षहरु शिक्षक, व्यवस्थापन समूह, विद्यार्थी एवम् अभिभावकहरुलाई यस पद्धति, यसमा अन्तरनिहित अर्थ र उद्धेश्यहरुको वारेमा पर्याप्त ज्ञान र सीप विकास गरी तदनुरुपका योजना र शैक्षिक क्यालेण्डर वनाउन जरुरी हुन्छ ।
सकारात्मक शिक्षा एक सम्पूर्ण प्रकृया भएकोले विद्यालयको शैक्षिक क्यालेण्डर नै सकारात्मक खोज पद्धतिमा रहेर निर्माण गर्न सकेमा मात्रै यो प्राप्त योग्य हुन्छ ।
विद्यालयको सकारात्मक शैक्षिक क्यालेण्डरले विद्यार्थी, शिक्षक, कर्मचारी एवम् अभिभावकहरु सबैलाई नकारात्मक र नैराश्यतावाट टाढै राखेर रणनीतिक रुपमा उत्साह र खुशीका कारण खोज्न अभिप्रेरित गर्दछ । विद्यार्थीहरुलाई सिर्जनात्मक र रचनात्मक हुने आधार तयार गर्दछ ।
सकारात्मक शिक्षा पद्धतिलाई प्रार्थमिक विद्यालयदेखि नै व्यापक रुपमा लागु गर्न सकेमा नेपाली समाजमा सकारात्मक संस्कृतिको दिगो आधार तयार गर्न सकिन्छ ।
लेखक, सामुदायिक रेडियो प्रशारक संघ, एकोरावका कार्यकारी निर्देशक हुन् ।

