अन्तरपार्टी विवादः खतरनाक भबिष्यको संकेत

जब संगठनभित्र आत्मविकासका स्वाभाविक बाटा बन्द हुन्छन्, तब त्यसभित्र अन्तरविरोध शुरु हुन्छन् । योग्यता, सक्षमता र सुपात्रताको अवमूल्यन हुन थाल्छ । विज्ञहरु किनारामा उभिएर अधकल्चा र नवसिखुवाहरुको विगविगी हेर्न बाध्य हुन्छन् । यस्तो स्थिति संगठनको स्वस्थ विकासको निमित्त सहयोगी हुँदैन बरु यसले साम, दाम, दण्ड, भेद जेसुकै गरेर भए पनि शिर्ष नेतृत्वको नजरमा पर्ने, उनीहरुको वरिपरि घु म्ने, नेताहरुलाई उपहार टक्राउने , निर्वाचनका समयमा मोटो रकम उपलब्ध गराएर भविष्यमा आफ्नो राजनीतिक स्थान सुरक्षित गर्ने जस्ता अस्वस्थ संस्कारको जन्म गराउँछ ।

 

 

 

नेपालका राष्ट्रिय राजनीतिक दलहरुभित्र अन्तरकलह सांगठानिक जीवनको अभिन्न अंग जस्तै भएको छ । अन्तरकलहको यो प्रवृत्ति वामपंथी र दक्षिणपंथी दुबै दलहरुमा उत्तिकै हावी छ । यसैले गर्दा यी दलहरुमा एउटा दिगो संस्थागत संरचना र सिद्धान्तनिष्ठ सञ्चालन विधि बन्न सकेको छैन । महत्वपूर्ण निर्णयहरु दलहरुको सानो केन्द्रीय निकायद्वारा गर्ने गरिएको पाइन्छ । अहिले सांगठानिक सिद्धान्त र लोकतान्त्रिक विधिअनुसार राजनीतिक दलहरु नचलेको कारणले गर्दा नै दलहरुप्रतिको जनआस्था खस्कदो छ र दलका नेताहरुको प्रभाव र श्रेय पनि घटिरहेको छ । यसले दशकौं लामो राजनीतिक आन्दोलनबाट ल्याइएको परिवर्तनलाई संस्थागत गर्ने र लोकतान्त्रिक शासन पद्धतिको श्रेष्ठता स्थापित गर्ने कुरामा व्यवधान पैदा भएको छ ।

 

 

संगठन भनेको कुनै आवश्यकता पुरा गर्न या खास सामुहिक लक्षतर्फ अगाडि बड्नका लागि बनाइएको व्यक्तिहरुको सामाजिक इकाई हो । यदि एउटा सांगठानिक संरचनाले कुनै आवश्यकता पूरा गर्न मदत गर्दैन अथवा कुनै सामुहिक लक्ष तर्फ अघि बढ्न मदत पुरयाउँदैन भने संगठन हुनु र नहुनुको कुनै अर्थ हुँदैन ।

 

 

संगठन व्यक्तिहरुको एउटा सामाजिक इकाइ हो, तर यसको  स्वरुप अव्ययक्तिक हुन्छ । यस्ले कुनै खास दर्शन तथा सिद्धान्तलाई स्वीकार गर्ने समाजका सदस्यहरुको प्रतिनिधित्व गरेको हुन्छ । त्यसकारण सामान्य समझदारीमा दलहरुका निर्णयहरुले ती दलले नेतृत्व गरेका व्यक्तिहरुको भावना र प्रतिबद्धतालाई व्यक्त गरेको हुनुपर्छ । यदि कुनै संगठानिक संरचनाले त्यसमा आबद्ध सदस्यहरुको मनोभावना र विचारको प्रतिनिधित्व गर्न सकेन भने संगठनभित्र अन्तरकलह जन्मन्छ, जसको कारण विकासको अग्रगति कुण्ठित हुने गर्छ ।

 

 

अहिले नेपालका राष्ट्रिय राजनीतिक दलहरु यही स्थितिबाट गुज्रीरहेका छन् । देशका जनताको अत्यधिक बहुसंख्या लोकतान्त्रिक मूल्यमान्यता तथा शोषणरहित, सम्पन्न तथा न्यायपूर्ण समाज निर्माणका सपनाहरु बोकेर राजनीतिक दलहरुमा आबद्ध भएको हो । जनताहरु ती संगठनसितका आबद्धताको माध्यमबाट न्याय, समानता, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता मूलभूत अधिकारहरु प्राप्त गर्न चाहन्छन् । दलका कार्यकर्ता र नेताहरु आफ्नो योग्यता, क्षमता, क्रियाशीलता, त्याग र बरिष्ठताका आधारमा सांगठानिक नेतृत्वका उच्चतर तहमा कसैको कृपा, अनुकम्पा, निगाह सहानुभूति बिनै स्वभाविक रुपले उक्लन सक्ने परिस्थिति संगठनभित्र विकास भएको देख्न चाहान्छन् ।

 

 

जब संगठनभित्र आत्म विकासका स्वभाविक बाटाहरु बन्द हुन्छन्, तब त्यसभित्र अन्तरविरोधहरु शुरु हुन्छन् । योग्यता, सक्षमता र सुपात्रताको अवमूल्यन हुन थाल्छ । विज्ञहरु किनारामा उभिएर अधकल्चा र नवसिखुवाहरुको विगविगी हेर्न बाध्य हुन्छन् । यस्तो स्थिति संगठनको स्वस्थ विकासको निमित्त सहयोगी हुँदैन बरु यसले साम, दान, दण्ड, भेद जेसुकै गरेर भए पनि शिर्ष नेतृत्वको नजरमा पर्ने, उनीहरुको वरिपरि घम्ने, नेताहरुलाई उपहार टक्राउँने, निर्वाचनका समयमा मोटो रकम उपलब्ध गराएर भविष्यमा आफ्नो राजनीतिक स्थान सुरक्षित गर्ने जस्ता अस्वस्थ संस्कारको जन्म गराउँछ ।

 

अहिले नेपाली काँग्रेस र नेकपामा यस्ता अनगिन्ती कार्यकर्ता छन् जसले जीवनका महत्वपूण कालखण्ड सक्रिय राजनीतिमा सम्मिलित भएर विताएका थ्एि । त्यही कारणले गर्दा उनीहरुको आर्थिक, शैक्षिक र पारिवारिक जीवन तहसनहस भएको थियो । राजनीतिक संक्रमणको लामो समयमा गुमनाम बनाइएका धेरै मानिसहरु, शिक्षित र सुसंस्कृत छन् । विद्यमान समयको राजनीतिक धारलाई बुझ्दछन् र उच्चस्तरको सैद्धान्तिक, दार्शनिक चेतनाले भरिएका छन् । तर उनीहरु राजनीतिक जिम्मेवारी र सांगठानिक हैसियतबाट बञ्चित छन् ।

 

 

अहिले दलहरुभित्र अनुभव, बरिष्ठता, औपचारिक शिक्षा र विशेश प्राविधिक क्षमतालाई प्राथमिकता दिइँदैन । त्यसैले संगठनभित्र गुट र उपगुटहरु बन्ने गरेका छन् । त्यहाँ दमित असन्तुस्टि, आक्रोशहरु, बेदनाहरु र छटपटीहरु छन् ।

 

 

युवा पुस्ता पुरानो राजनीतिक पींढिदेखि विरक्त छ । अहिलेको समग्र बेथितिको लागि यही पुस्तालाई जिम्मेवार सम्झन्छ । २०४६ सालदेखि निरन्तर कुनै न कुनै तरिकाले राज्यका नीति निर्माण या सत्ता सञ्चालनमा सहभागी भइरहेका नेताहरु राजनीतिको शिर्ष तहमा रहेका छन् । उनीहरु निर्वाचनका सम्पूर्ण गैर लोकतान्त्रिक तिकडमको सहारा लिएर पार्टीको नेतृत्वलाई आफ्नो नियन्त्रणमा राख्न सक्षम छन् । सैद्धान्तिक धरातल उच्च भएका, दार्शनिक चेतनायुक्त, शिक्षित,नैतिकवान् र नवप्रवर्तनकारी क्षमता भएका युवाहरुले नेतृत्वमा पुग्नै पाएका छैनन् । यस्तो अवस्थाको कारण पुराना पुस्ताका नेताहरु प्रति सक्षम युवाहरुमा वितृष्णा पैदा भईरहेको छ, जुन अस्वभाविक पनि होइन ।

 

 

तर, यसो भन्दा पुराना पुस्ताका नेताहरुप्रतिको निरपेक्ष अस्वीकृतिको संस्कृतिलाई पनि स्वीकार गर्नुपर्छ भन्ने होइन । पुराना पुस्ताका नेताहरु इतिहासलाई वर्तमानसित जोड्ने कडी हुन् । नेतृत्व विकास र पुस्ता हस्तान्तरणमा उनीहरुको ठुलो महत्व रहेको हुन्छ । पुरानो पुस्तामा भएको विज्ञता, व्यावहारिक अनुभव र सूचना नयाँ पुस्ताको निमित्त अमूल्य ज्ञानका भण्डार हुन् जसको आधारबाट सामाजिक जागरणको नयाँ उचाई स्थापना हुने हो ।

 

 

वास्तवमा राजनीतिक दलका सांगठानिक संरचनाले समाजको यथार्थतालाई प्रतिविम्बित गर्न सक्यो भने मात्र त्यो प्रतिनिधिमूलक नेतृत्व बन्न सक्छ जसरी बृद्ध, अधवैंसे र युवाहरुले सामाजको जीवन चक्र चलाएको हुन्छ् त्यसरी नै राजनीतिक दलहरुले पनि उपरोक्त तीनवटै पुस्ताको सहज समिश्रण झल्कने संरचना निर्माण सके भने मात्र ’emको जीवन्तता र निरन्तरता कायम रहन्छ । त्यस्तो भएन भने संगठनहरु बृद्धतन्त्रको कैदमा उकुसमुकुस भएर सिद्धिने स्थिति आउन सक्छ । अहिले राजनीतिक दलहरु त्यही स्थितितिर उन्मुख छन् ।

 

 

नेपालका प्राय सबै राष्ट्रिय स्तरका दलहरुको नेतृत्व संरचना समावेशी र सवै पुस्ताको प्रतिनिधित्व झल्कने खालका छैनन। युवाहरुको प्रतिनिधित्वका नाममा घरजग्गा कारोबारी, बैदेशिक रोजगारीका एजेण्ट र डनहरुलाई धोईपखाली पार्टी प्रवेश गराउँने  नेतृत्वमा ल्याउने र सरकारका मंत्री बनाउने प्रवृत्ति प्रवल छ ।

 

 

यसो गर्दा राजनीतिक दलहरुले आफ्नै पंक्तिभित्रका लामो राजनीतिक अनुभव संगालेका, आन्दोलनको राप र तापमा खारिएका, शिक्षित र बौद्धिक व्यक्तित्वहरुलाई उपेक्षित र अपमानित गरिरहेका छन् । दलहरु आफुसितै भएका योग्य, सक्षम, शिक्षित र विवेकसम्पन्न व्यक्तित्वहरुलाई प्रतिशोधपूर्ण ढंगले पछाडी पारेर अयोग्य, असक्षम, ढोंगी र ठग बैद्यहरुको घेराबन्दीभित्र रमाइरहेका छन् । माथ्लो दर्जाको विज्ञता चाहिंने परिवेशमा समेत त्यस्तो ज्ञान नभएका व्यक्तिहरुलाई प्रतिनिधित्व गराएर देशलाई हाँसोको विषय बनाउँने काम भएका छन् ।

 

 

मुखले सामुहिक नेतृत्व कर्मले व्यक्तिगत स्वेच्छाचारिता नेपाली राजनीतिक दलका शिर्ष नेतृत्वले अवलम्बन गर्ने व्यवहार बनेको छ । जटील राजनीतिक सवालहरुलाई केन्द्रीय समिति र स्थाई समिति जस्ता शक्तिशाली, तर प्रतिनिधि\मूलक निकायको सुक्ष्म निरक्षणभित्र नल्याई शिर्ष नेतृत्वको सानो समुह र कहिलेकाहीं त पार्टी अध्यक्ष या सभापतिकै स्वविवेकबाट निर्णय गर्ने परम्परा प्रबल भएर गइरहेको छ । यसले गर्दा उच्च नेतृत्व एकीकृत र एकमना छैन । बाहिरबाट हेर्दा पार्टीहरु विशाल छन् । लाखौ संगठित र साधारण सदस्यहरु छन्त, र भित्र भित्रमाथिदेखि तलसम्म शिर्ष नेताहरुका आफ्नाआफ्ना प्यानल, गुटहरु निर्माण भइरहेका छन् र सत्ता संघर्षको मैदानमा किल्लाबन्दी गरिरहेका छन् ।

 

 

दलभित्रको विभाजनकारी प्रवृत्तिले सत्ताधारी र प्रतिपक्षी दुबै खेमामा उत्तिकै जरा गाडेको छ । कम्युनिष्ट पार्टीभित्र र उदारवादी पूँजीवादी दलहरुभित्र कहीं पनि आन्तरिक पार्टीजीवनमा जीवन्तता छैन । पार्टीभित्र सहृदयता, मित्रता, समभाव, पारस्पारिक सहयोग, समर्पण, त्याग केही छैन । आफ्नो समग्र जीवन पार्टी कार्यमा विताएर पनि पार्टीको जिम्मेवारी र पदबाट बञ्चित गरेर किनारा लगाइका कार्यकर्ता र नेताहरुको ठुलो जत्था जीवनको सूर्यास्तमा आइपुगेर हतप्रभ र अन्योलग्रस्त मनस्थितिमा बाँचिरहेको देखिन्छ । कैयौं शिर्ष कम्युनिष्ट नेताहरुका छोराछोरीहरु गम्भीर डिप्रेसन लगायतका मनोरोग र मानसिक समस्याबाट पीडित रहेछन् । कतिपय हिजोका आन्दोलनका सारथीहरु मागेर खाने तहसम्मको आर्थिक विपत्ती भोगिरहेका  छन्,तर पार्टीसित आफ्ना नेता कार्यकर्ताको आत्मसम्मान रक्षा गर्न सक्ने सामथ्र्य र इच्छाशक्ति दुबै छैन । कम्युनिष्ट नेता र कार्यकताका छोराछोरीहरु आफ्ना क्रान्तिकारी बाबु आमालाई प्रश्न गर्दैछन् के यही हो साम्यवादी आदर्शको श्रेष्ठता? तपाइँहरुको जीवनलाई हेरेर हामीले के प्रेरणा लिनु ?

 

 

अहिलेका पार्टी नेताहरु हिंजो सादा, सदाचारी र पारदर्शी जीवन विताउँथे । तर, आज उनीहरुसित आपसमा बाँड्ने कुराभन्दा लुकाउँने कुरा धेरै छन् । लुकाउँनु पर्ने कुरा धेरै भए पछि अरुको पहुँचभन्दा पर बस्नुपर्ने हुन्छ । त्यसैले नेताहरुलाई अहिले साधारण कार्यकर्ताहरु र जनताले सजिलै भेट्न, आफ्ना विचार प्रस्तुत गर्न, सुझाव दिन र परिचय नवीकरण गर्न पाउँन छोडेका छन् ।

 

 

यो अवस्था खतरनाक र चिन्ताजनक भविष्यको संकेत हो । अहिले देखिंदै छ सत्ताको स्वरुपमात्र फेरिएको छ । सत्तामा पुगेकाहरुको आडम्बर र तामझाम हिंजोको राजतन्त्रलाई फिक्का पार्ने खालका छन् । नेताहरुमा सुधारका संकेतहरु देखिएका छैनन् । सामुहिक नेतृत्व र व्यक्तिगत जवाफदेहीको अभावमा देशमा अधिनायकबादी नेतृत्वशैलीको विकास हुने गर्छ जसले जनताका आकांक्षा र सवैधानिक सीमा भित्र रहेर जबाफदेही तरिकाले जनादेशको कार्यान्वयन गर्ने कर्तव्यबाट नेताहरुलाई विचलित गर्दछ ।

 

 

त्यसैले सबै शिर्ष नेताहरुले एकअर्कालाई निषेध गर्ने संस्कारलाई त्यागेर सर्वसहमति वा अधिकतम सहमतिको संस्कृति निर्माण गर्दै अघिबड्न नसके नेपालको लोकतान्त्रिक आन्दोलनमा प्राप्त उपलब्धीहरुको रक्षागर्न तथा समाजवाद र सम्पन्नतातर्फ अधि बड्न असहज मात्र होइन असम्भव हुनेछ ।