काङ्ग्रेसले चरण हैन आचरण फेर्नु पर्छ

 

 

काङ्ग्रेसले अनुहार हैन व्यबहार फेर्नु पर्छ, चरण हैन आचरणमा जोड दिनुपर्छ, आवरण हैन बरणको मुल्य निर्धारण गर्नुपर्छ । काङ्ग्रेसका प्रत्येक जिम्मेवार सदस्यले आफू बदलेर देश बदल्ने संकल्प गर्नुपर्छ । विधान फेरिए पनि चरित्र फेरिएन भने यस्ता फेर्ने गफ गफैमा सिमित हुन्छ ?

 

 

 

 

देश र लोकतन्त्रको लागि हाँसीहाँसी जेलनेल खप्न, जीवन गुमाउँन मन्जुर, प्रवास बस्न अनि सबै परिवार नै तहसनहस हुँदा पनि समर्पण निष्ठा र सिद्धान्तप्रति प्रतिवद्द काङ्ग्रेस जन खोज्न अब कति कठिन हुँदैछ ।

 

त्यो स्वयम् काङ्ग्रेसजनले महसुस गर्ने कुरा हो । जनताले त काङ्ग्रेसको निष्ठा, समर्पण र त्यागमा खडेरी लागेको देखेको लामो समय भै सक्यो जसको पुरस्कार चुनावमार्फत गतिलो बाघेझापु हानेर दिइसके । काङ्ग्रेस सुध्रिनुभन्दा सिद्दीने मार्गमा दु्रत गतिमा छ । चुनावी हारले एउटा गतिलो आत्मविश्वास बटुल्नु पर्ने हो, तर आत्मविश्वास गुमाएर बसेको छ, काङ्ग्रेस ।

 

आफुले बारम्बार पाएका अमुल्य अवसर र मौका चुकाएर आज काङ्ग्रेस दीनहिन अवस्थामा लत्रदै, घर्सदै जेनतेन ऐनकेन प्रकारेण चल्दैछ । अब दौडनु पर्ने काङ्ग्रेस पाइला चलाउँ कि नचलाउँको स्थितिमा छ । भावी सरकारको पहिलो र बरिष्ठ हकदार काङ्ग्रेस आज निहुरीमुन्टि नको अवस्थामा छ । अस्वस्थ र रोगाएर झोक्राएको अवस्थामा छ । काङ्ग्रेस धान्न र सुन्न संसदमा गगन थापाको गर्जन, कहिलेकाही कतै मिडियामा विश्व प्रकाश शर्माको उपस्थित अनि यदाकदा अध्ययनशील समाजबादी व्यक्तित्व प्रदिप गिरीको बौद्धिक पहलमानी नै काङ्ग्रेस धान्न, काङ्ग्रेस मौलाउन, फस्टाउँन प्रयाप्त छैन ।

 

किन काङ्ग्रेसको समस्त अवयब प्यारालाइसिस छन ? किन मुर्दाशान्तिको अवस्थामा छ काङ्ग्रेस ? कतै ठुलो आंधी आउनु अघिको सन्नटा त होइन ? नबोलेर नै आफ्नो क्षमता खार्न र निखार ल्याउँन लागेको त होइन काङ्ग्रेस ? यस्तो शुभ समाचार सुन्न पाए कति प्रफुल्ल र आनन्द मान्थे होलान्, काङ्ग्रेस भएकै कारण मारिने परिवारका सदस्यहरु ।

 

काङ्ग्रेसको कान्ति क्षयमा आफ्नो भविष्य भेटनेहरुको लागि त ठिकै होला, तर जिन्दगीभर काङ्ग्रेस भनेर मरिमेटने र त्यसैमा जिन्दगी समर्पण गर्नेको लागि काङ्ग्रेसको क्षय मुटुमा ठोकिँएको गहिरो किलो हो । कहिल्यै, कसैगरि निको नहुने हृदयको घाउ हो, सधै टन्किने र पन्पिने पिलो हो ।

 

आफ्ना हजारौं यस्ता कार्यकर्ताको मर्म र नेपाली जनताको चाह बुझ्ने मनोबैज्ञानिक पक्षमा किन ध्यान छैन, मुखिया शेरबहादुर र रामचन्द्रको । किन आपसी भाले भिडन्त मै मस्त छन यी मुखियाहरु ? अनि यिनका नन्दीभृङीहरु जो आपसमै लडेर सिद्दिन राजिछन । सुध्रन नामन्जुर ? अब काङ्ग्रेस चित्र फेरेर होइन चरित्र फेरेर आएन भने काङ्ग्रेस इतिहासमा नै सिमित हुनेछ । काङ्ग्रेसका कार्यकर्ता, शुभेच्छुक र समर्थक अर्कै बाटो रोज्न बाध्य हुनेछन् ।

 

निरन्तर अपमानित भएर सधै प्रताडित भएर कसैले जबर्जस्ती बोकाइ दिएको सैद्धान्तिक भारी बोकेर नेता र अगुवाको कारण मुख देखाउँन लजाइलजाइ कति बस्नु ? काङ्ग्रेस पार्टीका शुभेच्छुक, समर्थक र मतदाता कसैका बधँुवा मजदुर हली गोठाला र हरूवा चरुवा होइनन् सधैं दास बन्नुपर्ने ? लाउके नेताले जे भन्यो त्यही मान्नुपर्ने किन ?

 

हिजो बलिदानी संघर्षका दिनमा आफ्ना आदर्श नेताको वचन भुइमा खस्न नपाइ मर्न तयार हुने जमात थियो, झुण्डिन र गोली खान तत्परता देखाउँने ज्यानको जोखिम मोलेर प्रजातान्त्रिक ब्यबस्थाको लागि होमिने जमात थियो । त्यो जमात त्यसै तयार भएको हो र ? जसमा बिपि कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, भीमबहादुर तामाङ, शेख इदृश र पदमबहादुर नेपाली जस्ता नेताहरुको सुझबुझ पुर्ण नेतृत्व, सैद्धान्तिक निष्ठा, उच्च नैतिक धरातल, साहसिक व्यक्तित्व, करिस्म्याटिक छविको समायोजित, बहुआयामिक क्षमता र बिबिधता पुर्ण आकर्षण थियो जसको कारण कार्यकर्ता नेताको पहिलो वाक्यको भरमा मर्न र मार्न तयार बन्थे ।

 

तर, आज काङ्ग्रेस नेता कार्यकर्ता अनुशासनहिन र नेताको मर्यादालाई खिल्ली उडाएर आफ्नो अराजकतालाई नै सर्वोपरि सम्झन्छन् । कुनै पद्धति र प्रणाली अनि संस्थागत अनुशासनको परिधि भित्र छैनन् ।

 

ब्यक्तिको लहड, शनक अनि लघु सोचमा पार्टी डोर्याउँने गुट उपगुटमा विभक्त छ काङ्ग्रेस नेतृत्व तलदेखि माथिसम्म । मनको ताइमा फुरौला पकाउँन नै ब्यस्त छन, काङ्ग्रेसजन । जनताको आगनमा मकै भुट्न छोडेर आपसी खिचातानी र हानाहानको पिज्जा र बर्गर मै भुलेका छन, काङ्रेसीहरु । देश जनता र प्रजातान्त्रिक पद्धतिको मायाभन्दा आफ्नो, नाता गोता र आसेपासेको माया र सम्मोहनमा छ्न, काङ्ग्रेसजन । जनता सम्झन चुनाव आउनुपर्छ अरु बेला सम्झन गार्हो मान्छन, आधुनिक काङ्ग्रेसहरु । विपि चिन्दैनन, तर गणेश लामा प्रवृति प्रति भुतुक्क हुन्छन् ।

 

चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खडका, विजय गच्छदार, जयप्रकाश गुप्तालगायत प्रवृतिप्रति विशेष मोह देखिन्छ, काङ्ग्रेस नेता कार्यकर्ताको । खिया लागेको कल पुर्जा र मेशिनरी बोकेर काङ्ग्रेस नयाँ नेपालको नयाँ यात्राको नेपाली जनताको सारथि बन्न सक्दैन अब, तर यो कुराको हेक्का खै काङ्ग्रेसमा ?

 

खोलो तर्यो अनि लौरो बिर्स्यो, सत्ता र शासनमा पुगेपछि आफ्ना दुःखका दिनमा साथ दिने कार्यकर्ता र जनता भुल्ने काङ्ग्रेसको महारोग पछिल्ला दिनहरुमा झन भयानक र महामारी कै रूपमामा फैलियो र फैलने क्रम जारी छ । यस्तै परिस्थिति रहि रहेमा दोस्रो र देश भर लाखौ कार्यकर्ता भएको पार्टी हजार कार्यकर्ता र समानुपातिकमा केही स्थान प्राप्त गर्ने पार्टीको हैसियतमा खुम्चिन नपुग्ला भन्न सकिन्न ।

 

आफ्नै रागले चाउरिएको मरिच झै भएको छ, काङ्ग्रेस । दिग्भ्रमित, अन्योल, निराश र सिद्धान्त हिनताको चङुलबाट काङ्ग्रेसले आफुलाई उतार्न जति ढिलो गर्छ, त्यति देश अरु संकटको भुमरीमा फस्ने छ । संसदमा संख्यात्मक उपस्थित दुब्लो र निरिह हुनु अनि गुणात्मक्ता र नैतिक धरातल पनि कमजोर हुनु काङ्ग्रेस साच्चै संकटमा परेको संकेत हो ।

 

एक चुनाव हार्दैमा जिन्दगी हारिएको हँुदैन, तर अहिले काङ्ग्रेसजनको मनस्थिति र परिस्थिति हेर्दा लाग्छ, काङ्ग्रेस चुनाब हारेको होइन जिन्दगी हारेको चोटले अर्ध बेहोस छ । बिक्षिप्त छ, बेहाल छ, त्यसैले संसदमा माधव नेपाल म्याउ गर्दा बेअर्थमा मुस्काउँछ । माधव नेपाल डुक्रेको होइन काङ्ग्रेस माधव डुक्रेको भ्रममा मख्ख पर्नु ब्यर्थ छ, र बेकार छ । आफ्नो सार्मथ्य र शक्ति क्षण भएपछि अर्काको सानो घुर्की र दङ्याइमा जुँगामा ताउ लाएको शायद काङ्ग्रेसलाई नसुहाउँनु पर्ने हो ।

 

विपी कोइराला प्रधानमन्त्री हुँदा आफ्नो जस्तो आर्थिक हैसियत देशबासीको बनाउन १५ वर्षमा सक्छु भन्थे, तर आज बहुदलीय ब्यबस्थापछि कुनै पनि प्रधानमन्त्रीले यस्तो संकल्प र सपना देखाउँन सकेनन् । काङ्ग्रेस हिम्मत छ, अब हुने आफ्नो प्रधानमन्त्रीको हैसियत बराबर पाँच वर्ष भित्र नेपाली जनताको हुने छ, र बनाउने छु भन्ने घोषणा र संकल्प गर्न ? एक चुनाव हार्ने डरले हतार र अर्काको इशारामा राजतन्त्र फाल्ने साहस त गर्यौ, तर राजतन्त्र फालेपछि के उपलब्धि र देशले फडको मार्यो त समिक्षा गरेका छौ ?

 

सबै असफलता, अवगुण र विकासको बाधक ठानिएको राजतन्त्र हटाएपछि किन देशले शान्ति र समृद्धिको यात्राले गति समात्न सकेन ? कुनै पनि राजनीतिक व्यवस्था आफैमा साध्य होइन, साधन मात्रै हो । व्यवस्था आफैले केही गर्दैन, नेतृत्वको इच्छाशक्ति र क्षमताले देश बन्छ भन्ने उदाहरण संसारमा अभ्यास गरिएका विविध प्रणालीले बताएको कुरा बुझ्न अझै किन ढिलाई ?

 

आफुलाई जेलको चिसो छिडिमा कोच्दा पनि किन जहिल्यै राजतन्त्रको पक्षमा विपि अडिग रहे, सारा देश लहड बस राजतन्त्रको विपक्षमा हुँदा आफ्नो पार्टीले राजतन्त्रविहिन नेपालको नीति पास गर्दा किन कृष्णप्रसाद भट्टराई एक्लै रुदै बाहिर बसे यसको गम्भीर, सुक्ष्म र गहन विश्लेषण काङ्ग्रेसको अबको कार्यभार होइन र ?

 

देशको सबै संक्रमण कालको अनि सबै परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसले पुरानो आफ्नो साख फर्काउँन अब आफ्नो नीतिमा पुनरावलोकन गर्न र बिराएको बाटोबाट पुनः यथास्थितिमा फर्कन बुद्धि खियायो भने काङ्ग्रेसको जीवनमा त्राण भरिन सक्छ भन्छन्, राजनीतिक विश्लेषकहरु । काङ्ग्रेसलाई अरुले हराउँनु प्राविधिक कारण भए पनि राजनीतिक र मुल कारण भने आफ्नै नीतिगत त्रुटि, सैद्धान्तिक भुल अनि व्यवस्थापकीय अकुशलता हो।

 

निरन्तर चरित्रमा आएको गिरावट र अल्छेपनको अधिक फैलावट पनि हो । दण्डहिनता, अकर्मण्यता, अनुशासनमा व्यापक क्षय अनि भ्रष्टाचारमा लिप्त नेताको कारण जनतामा काङ्ग्रेसको छवि धमिलो र आकर्षणविहिन बनेको हो ।

 

राजनीतिको रथ सधै र एकानास नहुने र राजनीतिको मार्ग सधै अप्ठ्यारो, दुरुह, बाङ्गोटिंगो हुने हुनाले मन्डि ओढ्ने र घिउ खाने रणनीतिक कुशलताको प्रतिवाद गर्न नसक्नु यसको प्रवृतिगत कमजोरी रह्यो । हिन्दुराज्य नेपाल र राजसंस्थाको बिदाइमा जनमत संग्रह नगरी जुन बलात अभ्यासले लहड, उत्तेजना र अरुको डिजाइनमै काङ्ग्रेस सहमत हुन गयो ।

 

यसको मुल्य काङ्ग्रेस चुकाउँन अझैसम्म लाग्दैछ । काङ्ग्रेसको एउटा गुट त्यही धन्दामार्फत आफ्नो राजनीतिक दुनो सोझ्याएर आन्तरिक अस्तित्वमा छ । आफ्नो सिद्धान्तबाट च्युत हुन अघिसम्म गिरिजाप्रसाद कोइराला बेबी किङ भन्दै थिए । अरुको उक्साहट र इतिहास बदल्ने अनि आफू पहिलो राष्ट्रपति हुने लोभ र प्रलोभनमा परेर त्यो सिद्धान्त पनि काङ्ग्रेसले तिलान्जली दियो ।

 

संबैधानिक राजतन्त्र छोडेर काङ्ग्रेस सिद्धान्तहिनता को गलत मार्गमा प्रवेश गर्यो । बिजयेच्छा विपि कोइरालाको राजनीतिक ध्येय थियो, विपि ’boutमा पढदा नेपाली काङ्ग्रेसको इतिहास पढ्दा बुझ्न सकिन्छ, प्रजातान्त्रिक समाजवादी राज्य नीतिमा आधारित रहेर राज परम्परा, नेपाली संस्कृति र भुबनोटको प्रकृतिलाई समेत हृदयंगम गरी संबैधानिक राजतन्त्र, बहुदलीय राजनीतिक पद्धति र मानव अधिकारको प्रत्याभूति जस्ता मूलभूत राजनीतिक बुदामा विशेष जोड दिएको पाइन्छ ।

 

तर, अहिलेको काङ्ग्रेस शेरबहादुरको पालाको काङ्ग्रेस गन्तव्य भुलेको लखतरान यात्री झै छ । प्रजातान्त्रिक ब्य्बस्थामा जनता सर्वोपरि हुन्छन् । जनइच्छा सबैभन्दा शक्तिशाली हुन्छ । जुन विचारमा जनहित परिलक्षित हुन्छ, त्यही विचार प्रजातान्त्रिक मानिन्छ ।

 

प्रजातान्त्रिक आचरणमा राजनीतिक व्यक्ति आफू र आफ्नो परिवारको लागि बाँच्दैन राष्ट्र र जनताको लागि बाँच्छ । प्रजातान्त्रिक राजनीति व्यक्तिमा जनताको सम्मान अभिव्यक्त हुन्छ, राष्ट्रिय गौरव मुखरित भएको हुन्छ । जनताको उच्चता बोध गर्ने नेता नै वास्तविक नेता हो ।

 

अहिले यस्ता आचरण र आदर्श भएका नेताले काङ्ग्रेस चलाएका छन कि अरु कसैले ? काङ्ग्रेसजनको गम्भीरता यहीँ नेर चाहिएको छ ।

 

काङ्ग्रेस अहिले विधान संशोधन गर्ने तयारीमा छ । विधान र सम्विधान कहिल्यै पुर्ण र सर्वमान्य सर्वस्विकार्य हँुदैनन् । विचारको बहुलतासंगसंगै यसमा मतान्तर र फरक मत हुन्छ ।

 

तर, बैधानिक रूपमा पास गरेपछि सबैले मान्दै जानुबिधिसम्मत हो । विधान मान्दै जादा पनि यसमा थुप्रै थप्नु पर्ने, झिक्नु पर्ने, मेटनु पर्ने प्राबधानहरु छन र हुनेछन् । त्यस्तै प्रावधान मध्य समायोजन गर्नुपर्ने बुदा संबैधानिक राजतन्त्र र हिन्दु राज्य नेपालको सैद्धान्तिक अवधारणा पनि काङ्ग्रेसले आफ्नो नीति र विधानमा पार्नु सामयिक र प्रासंगिक हुनेछ भन्ने मत पनि घनिभुत छलफल भएको विषय हो ।

 

काङ्ग्रेस अब कुन बाटो हिड्ने, कुन सिद्धान्त बोक्ने र बिगतको सिद्धान्त पुनर्गठन गर्ने, स्थापित गर्ने या अहिले जे छ त्यसैमा अडने ? विवेक र भविष्य काङ्ग्रेसजनको । विधान संशोधन गर्ने काङ्ग्रेसलाई चरित्र संसोधित गर्ने अवसर पनि मिलोस । शुभकामना ।