विश्वकपको फाइनलमा फ्रान्स र क्रोसिया भिड्ने

ईङ्गल्याण्डको ५२ बर्षपछि फाईनल खेल्ने सपना समाप्त भयो भने क्रोएसियाले पहिलोपटक विश्वकपको फाईनल मौका बनायो । सन्तुलित तथा अनुकुलन क्षमता भएको क्रोएसियाले ईङ्गल्याण्डलाई प्रतिस्पर्धात्मक खेलमा हराएको छ । फाईनलमा क्रोएसियाले फ्रान्सको सामना गर्ने छ । यो लयलाई कायम राखे फ्रान्सको चुनौति पनि पार लगाउँन क्रोएसियाले सक्छ ।

 

मेरो सदृष्यको विश्वकप विश्लेषणमा पहिलो लेख प्रकासित भएपछि संयुक्त राज्य अमेरिकामा केही समयअघि रसायनशास्त्रमा विद्यावारिधी गरेका मेरा मित्र डा. हेमराज खत्रीले भद्र असहमति जनाउँदै व्यक्तिगत रुपमा मलाई प्रतिक्रिया दिए “बेद जी, फ्रान्सलाई अलिक अन्याय भयो । जित्न सक्ने टिम त मान्नुभयो तर, फ्रान्सलाई तेश्रो सबैभन्दा ठूलो दाबेदार मान्नु भएन ।” उहाँका तर्कमा मैले विमति राखिन । मैले यतिमात्र भने “उक्त लेखमा लेखिएका आठमध्य एक टिमले विश्वकप जिते सरप्राईज मान्नु हुँदैन ।

 

 

प्रमुख दाबेदार भनेका टिमले सेमीफाईनल नै नखेल्न सक्छ ।” डा. हेमले साँच्चै सही आँकलन गर्नुभएको रै’छ । फ्रान्सले फाईनल खेल्दै छ । र, ब्राजिललाई पराजित गरेपछि सबैभन्दा बढी विश्वकप जित्न सक्ने टिमको रुपमा सेमीफाईनल खेल्दै चित्रित गरिएको थियो । यो अनुमानलाई सहि सावित गर्दै सेमीफाईनलमा प्रतियोगिता कै सबैभन्दा बढी गोल गर्ने टिमलाई गोल गर्न नदिई फ्रान्सले एक गोल गरयो र फाईनल खेल्दै छ ।

 

 

“दाई, मुलरलीधरले गाएको गीत उडायो सपना सबै हुरीले …… गाउँदै बस्नु अब । क्या गजब खेल खेल्यो क्रोएसिया । तपाईको फेभेरेट अर्जेन्टिनालाई त मुसा खेलाए जस्तो खेलायो ।” नेपाल सरकारको राजस्व अधिकृत रहेका मेरा मावली भाईले समुह चरणको अर्जेन्टिना र क्रोएसियाको खेलपछि मलाई गिज्याए । हामी दाजुभाई विगतको २ विश्वकप संस्करणमा एक अर्काको विपरित टोलीलाई पक्षमा लिएर विश्वकप हेर्ने गरेका छौं ।

 

सो खेलमा अर्जेन्टिनाको निरासमय प्रदर्शनपछि प्रतिक्रिया माग्दै डा. मनकुमार  धमलाले भने “के छ सर? अर्जेन्टिनाको कमजोरी कति सम्म छ देखियो नी?” मैले प्रतिक्रिया दिए “अर्जेन्टिनाको खेलभन्दा पनि क्रोएसियाले यो विश्वकप नै जित्छ जस्तो लाग्यो, यार मन ।” लामो हाँसो हास्दै डा. धमलाले भने “आजको जस्तो खेललाई निरन्तरता दियो भने असम्भव चै होईन ।” प्रदर्शनको निरन्तरतामा केही सवाल हुने संकेतसँगै डा. धमलालाई क्रोएसियाले ३ हप्तापछि विश्वकप जित्न सक्ने सम्भावनालाई प्रतिशतमा मान्न तयार भए । उनले भने जस्तै क्रोएसियाले खेलको प्रदर्शनलाई निरन्तरता दियो । क्रोएसियाकी राष्ट्रपतिले खेलाडीको हौसला बढाउँन रसियाको भ्रमण गरिन् तथा ड्रेससिङ्ग रुममा पुगेर खेलाडीहरुलाई हौसाईन । परिणाम उत्कृष्ट खेल खेल्दै फाईनलको यात्रा गरयो ।

 

विश्वकप १९९८ मा सेमीफाईनलबाट बाहिरिएको टोली क्रोएसियाले २० बर्षपछि फाईनल खेल्दै छ । फ्रान्ससँग हुने फाईनल आफ्नो पक्षमा पर्नसके फाईनल खेल्ने १३ औं राष्ट्र मात्र होईन विश्वकप उपाधी जित्ने क्रोएसिया ९ औं टोली पनि हुने छ । विश्व फुटबलले नयाँ शक्ति राष्ट्र पनि पाउँने छ । जुन युरोपको विश्वकप जित्ने छैठौं टिम पनि हुने छ ।

 

 

विश्वकपको २१ औं संस्करण फ्रान्स र क्रोएसिया बिचको फाईनल खेलसँग रसियाको राजधानी मस्कोको लुझ्निकी रंगशालामा जुलाई १५ मा सकिदैछ । पश्चिमा मिडियाको चर्को आलोचना र फिफाभित्रको भ्रष्टचारको भण्डाफोर तथा फिफाभित्र उथलपुथलको पुष्ठभूमिमा रसियाले आफ्नो तागत, वर्कत र ईच्छाशक्तिले यो विश्वकप सफल आयोजना गर्दै छ । मसुर तथा मैषासुर बनेर आएका फुटबल शक्तिहरु पाखा लाग्दा फ्रान्सले चै पूर्व विश्व विजयी राष्ट्रको नाक राख्दै फाईनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।

 

फ्रान्सको यो यात्राले फ्रान्सले आफ्नो फुटबलको स्तरमात्र देखाएको छैन । यसले नयाँ प्रतिभा एमबाप्पे पनि जन्माएको छ । तर, डर के छ भने उनी पनि समकक्षी नेईमारको बाटो त समाउँने हैनन्? उता क्रोएसियाले सन्तुलित, आक्रमण तथा अनुकुलन क्षमतासहितको खेल खेल्दै ईटिहास रचेको छ । विश्वकप उपाधीको सिधा हिसाब निकाल्दा फ्रान्सले उपाधी जित्ने देखिन्छ । तर, यो विश्वकपमा सोझो सम्भावनाको हिसाबले काम गरिरहेको छैन् । सम्भावनाको तराजुमा विश्वकपका बाँकी दुई खेलको परिणाम के हुने छ ? अर्को अंकमा चर्चा गरिने छ ।

 

ईङ्गल्याण्डको यात्रा सेमीफाईनलसम्म मात्र

 

क्रोएसियाले ईतिहास रच्दै विश्वकप २०१८ को फाईनल खेल्ने ईच्छा पुरा गर्ने भएको छ । गए राति मस्कोको लुझ्निकी रंगशालामा भएको विश्वकपको दोश्रो सेमीफाईनल खेलमा ईङ्गल्याण्डमाथि क्रोएसियाले समग्र २–१ गोलको नतिजा निकाल्दै विश्वकपमा १३ औं फाईनल खेल्ने टोलीको रुपमा आफ्नो स्थान पक्का गरेको हो । पहिलो हाफमा ईङ्गल्याण्डले केही दबाबमा राखेपनि दोश्रो हाफमा सुधारिएको खेल खेल्दै ६८ औं मिनेटमा ईभान पेरीसिकले गोल गरेपछि क्रोएसियाको खेमामा बेग्लै उर्जाको तरंग तरंगित भएको थियो ।

 

क्रोएसिया विश्वकपको ईतिहासमा सेमीफाईनलमा पछि पारेर खेल जित्ने सातौं टोली बन्यो । त्यत्ति मात्र होईन, सेमीफाईनलमा अतिरिक्त समयमा पुग्दा थपिएको समयभित्र पेनाल्टी नहानि परिणाम आफ्नो पक्षमा पार्दै विश्वकपको फाईनल यात्रा गर्ने पहिलो टोली पनि बनेको छ । खेलको निर्णायक गोल १०९ औं मिनेटमा मारियो माण्डझुकिकले गरे । पहिलो हाफमा लगभग बराबरी खेलेको ईङ्गल्याण्डको खेल हरेक कोणबाट क्रोएसिया भन्दापछि रह्यो । ईङ्गल्याण्डका पेनाल्टी प्रहारबाट स्टार तथा जारी विश्वकपका अग्रगोलकर्ता बनेका ह्यारी केन सबैभन्दा फिक्का देखिन्थे भने, लिङगार्डको खुट्टाको शल्यक्रिया गरि नसोझ्याई नहुने देखिन्थ्यो । खेलको उत्तरार्धमा त ईङ्गल्याण्डका गोलकिपर तथा रक्षकले गल्ती नै गर्न थालेका थिए । चुस्त रक्षकको अभावमा निर्णायक गोल पनि ईङ्गल्याण्डले खाएको थियो ।

 

 

ईङ्गल्याण्ड आक्रमण, रक्षा र प्रदर्शनमा हिसाबले क्रोएसियाभन्दा केही कमजोर देखिन्थ्यो । आक्रमणको कुरा गर्दा लिङगार्डले ३ पटक र केनले २ पटक प्रहार गरे पनि लक्ष्यमा राख्न सकेनन् । जम्मा ११ प्रहार गोललाईनमा गरेको ईङ्गल्याण्डले १ मात्र प्रहार लक्ष्यमा राखेको थियो । उसका ४ वटा प्रहार क्रोएसियाका रक्षकले उत्कृष्ट रक्षण गरेका थिए । ईङ्गल्याण्डको लागि लक्ष्यमा राखेर खेलको ५ औं मिनेटमा एक मात्र गोल ट्रिप्पिअरले गरेका थिए । उता ईङ्गल्याण्डकोभन्दा दोब्बर अर्थात २२ वटा गोलका लागि प्रहार गरेर क्रोएसियाले ७ प्रहार लक्ष्यमा राख्दा २ गोल गरेको थियो । क्रोएसियाको ब्रोजोभिच, रेविक, माण्डझुकिकले तिन तिन प्रहार गर्दा पेरिसिक एक्लैले ७ प्रहार गरेका थिए । क्रोएसियाको एक प्रहार गोलपोष्टमा लागेर फर्किएको थियो । जसका कारण खेल अतिरिक्त समयमा गरेको थियो ।

 

 

 

 

 

रक्षाको कुरा गर्दा क्रोएसियाले ईङ्गल्याण्डको ११ प्रहारमध्य ४ प्रहार छेक्दा ईङ्गल्याण्डले पनि २२ प्रहारमा चारै प्रहार मात्र छेकेको थियो । ईङ्गल्याण्डका गोलकिपरले ५ प्रहारलाई बचाएका थिए । तर, रक्षकको गलत अनुमान तथा फुर्तिको कमीमा खेलको १०९ औं मिनेटमा माण्डझुकिकले खुल्ला प्रहार गर्न पाए र गोल गरे । प्रदर्शनको कुरा गर्दा क्रोएसियाले विशेष गरि दोश्रो हाफमा कलात्मक पासहरु खेलेको थियो । ईङ्गल्याण्डकोभन्दा बल अग्रपंतिलाई पास गर्दा क्रोएसिया निक्कै सटिक देखिन्थ्यो भने क्रोएसियाका खेलाडीको लामो पासमा आएको बलमाथि नियन्त्रण पनि उत्कृष्ट थियो । क्रोएसियाले ७९ प्रतिशत सफल पाससहित ५४ समय बलमाथि नियन्त्रण लिन लामा तथा छोटा ६२६ पास खेलेको थियो । उता ईङ्गल्याण्डले ७८ प्रतिशत सफल पाससहित केवल ४८१ वटा पास गरेको थियो । यो आँकडाले ईङ्गल्याण्डको हार स्वाभाविक देखिन्छ ।

 

 

पहिलो हाफमा पाँच मिनेटमै गोल खाएको तथा ईङ्गल्याण्डका राम्रा मुभका बाबजुद क्रोएसियाले ५२ प्रतिशत समय बलमाथि नियन्त्रणमा लिई ६ वटा गोलका लागि प्रयास गरेको थियो । ईङ्गल्याण्डले पहिलो हाफमा ४ वटा प्रहार गर्दा एक मात्र लक्ष्यमा थियो । जुन गोलमा रुपान्तरण भएको थियो । क्रोएसियाका लागि रेविक, पेरिसिक, राकिटिक र साल्ज्कोले गोल गर्न प्रहार गरेका थिए भने ईङ्गल्याण्डका लागि ट्रिप्पीअर, लिङगार्ड, स्टर्लिङ र मगुईरले प्रहार गरेका थिए । खेलको चौथो मिनेटमा डिबक्स ठिकबाहिर क्रोएसियाका मोड्रिकले फल गरे । सो फलमा ट्रिप्पीअरले पाँचौ मिनेटमा आकर्षक फ्रिकिकबाट गोल गरे । खेलको ३० औं मिनेटमा ह्यारी केनले लिङगार्डको पासमा सानो डिबक्स नजिकैबाट गरेको प्रहार गोलकिपर सुवासिकले फर्काए । फर्किएको बलमा केनले गोल गर्न सकेनन् ।

 

 

दोश्रो हाफमा क्रोएसियाले सुधारिएको खेल खेल्यो । उसले आक्रमणलाई जोड दियो । निर्धारित समयमा खेल बराबरीमा आएपछि खेल अतिरिक्त ३० मिनेट लम्बियो । दोश्रो हाफ तथा अतिरिक्त समयमा ईङ्गल्याण्डले ७ प्रहार गर्दा कुनैपनि लक्ष्यमा राख्न सकेन भने क्रोएसियाले १६ प्रहार गर्दा ६ वटा लक्ष्यमा राखेको थियो । क्रोएसियाले गरेको एक गोल दोश्रो हाफमा थियो भने, अर्को गोल खेलको अतिरिक्त थप समयको १९ औं मिनेटमा गरेको थियो ।

 

 

खेलको दोश्रो हाफमा सुधारिएको खेलसँगै क्रोएसियाले राम्रा मुभ बनाएको थियो । खेलको ६८ औं मिनेटमा साल्ज्कोले सुन्दर क्रसपास दिए । करिब ६ फिटमाथिबाट आएको सो पासलाई उफ्रिएर देब्रे खुट्टाले ईभान पेरिसिकले हान्दा बललाई सहि दिशा दिन सके र गोल भयो । खेल एक एकको बराबरीमा आएपछि क्रोएसियाका खेलाडिको रक्तसंचार परिवर्तन भयो । खेलको ७२ औं मिनेटमा ईभान पेरिसिकले गरेको प्रहार पोष्टको बाँया पोष्टमा लागेर फर्कियो । फर्किएको बललाई रेविकले पनि गोल गर्न सकेनन् । खेल ९० मिनेटभित्र बराबरी भयो ।

 

अतिरिक्त समयमा ९९ औं मिनेटमा कर्नरमा ईङ्गल्याण्डका स्टोनन्सले हेडरबाट बललाई पोष्टको दिशा दिए । तर क्रोएसियाका रक्षकले हेडरबाटै निश्चित गोललाई बचाएका थिए । खेलको १०५ मिनेटपछिको अतिरिक्त समयमा पेरिसिकको पासमा माण्डझुकिकले सानो डिबक्सको लाईनबाट हानेको प्रहार ईङ्गल्याण्डका गोलकिपर पिकफोर्डले बचाए । खेलको १०९ औं मिनेटमा सामान्य मुभमा नै ईङ्गल्याण्डका रक्षापंतिले रक्षामा सामान्य गल्ति गर्दा माण्डझुकिकले खुल्ला प्रहार गर्ने मौका पाएर र उनीले सो मौकामा कुनै गल्ती गरेनन् ।

 

 

यो गोलसँगै ईङ्गल्याण्डको ५२ बर्षपछि फाईनल खेल्ने सपना समाप्त भयो भने क्रोएसियाले पहिलोपटक विश्वकपको फाईनल मौका बनायो । सन्तुलित तथा अनुकुलन क्षमता भएको क्रोएसियाले ईङ्गल्याण्डलाई प्रतिस्पर्धात्मक खेलमा हराएको छ । फाईनलमा क्रोएसियाले फ्रान्सको सामना गर्ने छ । यो लयलाई कायम राखे फ्रान्सको चुनौति पनि पार लगाउँन क्रोएसियाले सक्छ ।