क्रोएसियाले नयाँ ईतिहास बनाउने वा ईङ्गल्याण्डले ईतिहास दोहोऱयाउँने

सम्भावना र ईतिहासको बहीमा ईङ्गल्याण्ड अघि देखिन्छ । रक्षाको हिसाबले क्रोएसिया अगाडि देखिन्छ । आक्रमण तथा गोलको आधारमा खासै भिन्नता छैन । यस्तोमा कसका खेलाडीले विपक्षी रक्षा चिर्न सक्छन् ? उही टिम विजयी हुने छ ।

 

 

 

ईङ्गल्याण्ड ५२ बर्षपछि विश्वकप फुटबलको फाईनल खेल्न लालयित छ । क्रोएसिया भुगोलले सानो भए पनि कौशल र क्षमतामा मुलुक सानो हुँदैन भनेर प्रमाणित गर्न चाहाँन्छ । यदि क्रोएसियाले फुटबलमा इतिहास बनाए जारी विश्वकपको फाईनल खेल्ने एक नयाँ राष्ट्र हुने छ । बीस बर्षपछि क्रोएसिया सेमिफाइनल खेल्दै छ, भने २८ बर्षपछि उत्कृष्ट चारमा ईङ्गल्याण्ड परेको छ ।

 

 

यी दुईमध्ये एकले जुलाई १५ मा फ्रान्ससँग फाईनल खेल्ने छ । साथै जुलाई १४ मा अर्कोले बेल्जियमसँग जारी विश्वकपको तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ । दुवै टिमको खेल कौशल तथा क्षमतामा खासै फरक नदेखिएकोले यो खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने तथा पेनाल्टी सुट आउटसम्म पुग्ने सम्भावना छ । तर, द टेलीग्राफ २–१ गोलले ईङ्गल्याण्डले विजय हासिल गर्ने अनुमान गरेको छ । साथै अधिकांश मिडियामा ९० मिनेट भित्रै ईङ्गल्याण्डले परिणाम आफ्नो पक्षमा निकाल्ने अनुमान गरेका छन् । तर, ईङ्गल्याण्डले क्रोएसियाको टिमलाई पाखा लगाउँन सजिलो भने छैन । केही तथ्यको आधारमा यी दुईवीचको सेमिफाईनलको आँकलन गरिएको छ ।

 

 

फिफाको यो विश्वकप शुरु हुनुभन्दा ठीकअघि जारी वरियता क्रममा ईङ्गल्याण्ड १२ औं तथा क्रोएसिया २० औं स्थानमा रहेका छन् । फिफाको बरियताले खासै जितहार हुने सम्भावनालाई प्रतिनिधित्व गर्दैन । त्यसैले २० भन्दा कमको बरियतामा रहेको फरकको आधारमा ईङ्गल्याण्डले जित्छ भन्न सकिदैन ।

 

 

ईतिहास यी दुई टिमले गरेको प्रदर्शनका आधारमा भन्ने हो भने ईङ्गल्याण्डले जित्न सक्छ । हालसम्म १९९६ मा पहिलो भेटपछि ८ खेल एकआपसमा खेल्दा ४ खेलमा ईङ्गल्याण्डले जित निकालेको छ । क्रोएसियाले दुई खेल जिते पनि पछिल्लो दुई भेटमा ठूलो गोल अन्तरले हारको थियो । पछिल्लो भेट २०१० को विश्वकपको छनौट खेलको दौरान भएको थियो । सो छनौटको पहिलो खेल ४–१ र दोश्रो खेल ५–१ गोलले क्रोएसिया ईङ्गल्याण्डसँग पराजित भएको थियो ।

 

 

विश्व कपमा ईङ्गल्याण्डले सन् १९६६ मा विश्वकप जितेको थियो भने त्यसपछि १९९० मा विश्वकपको सेमिफाईनल खेलेको थियो । सन् २००२ वा सो पछिको विश्वकपमध्ये २००२ र २००६ मा ईङ्गल्याण्डले क्वाटरफाईनल खेलेको थियो । उसले सन् २०१० मा समुह १६ को खेल खेलेको थियो । उता क्रोएसिया सन् २०१० मा छनौट नै हुन सकेन भने सन् १९९८ मा सेमिफाईनल खेलेपनि अन्य विश्वकपमा समुह चरणबाटै घर फर्किएको थियो । पछिल्लो विश्वकपमा दुवैले समुह चरणभन्दा माथिको खेल खेल्न सकेनन् । यसरी ईतिहासलाई आधार बनाउँने हो भने ईङ्गल्याण्डले क्रोएसियालाई हराउँने छ ।

 

 

जारी विश्वकपको प्रदर्शनका आधारमा यी दुईको विचमा ठुलो फरक छैन । दुवैले ५ खेल खेल्दा ईङ्गल्याण्डले ९० मिनेटभित्र तीन खेलमा जीत तथा एक एक खेलमा हार तथा बराबरी खेलेको छ । क्रोएसियाले भने तीनमा जित तथा दुईमा बराबरी खेलेको छ । नकआउट चरणका दुवै खेल बराबरी खेलेको क्रोएसियाले सडन डेथमा परिणाम आफ्नो पक्षमा पारेको थियो । ईङ्गल्याण्डले समुह १६ को खेलमा कोलम्बियालाई सडन डेथमा पराजित गरेको थियो ।

 

 

तर, समुह चरणमा ईङ्गल्याण्डले नकारात्मक खेल खेलेको थियो । समुह चरणको खेलमा बेल्जियमसँग ईङ्गल्याण्डले जानाजान कमजोर टिम खेलाएर नजिता सुम्पिएको थियो । ’cause ब्राजिलसँगको प्रतिस्पर्धा ईङ्गल्याण्ड खेल्न नचाहेको जस्तो देखिन्थ्यो । समुह चरणको अन्तिम खेलपछि बेल्जियमका प्रशिक्षकले ईङ्गल्याण्डलाई लक्षित गर्दै कटाक्षसमेत गरेका थिए । यही नकारात्मक खेल खेलेर एक खेलपनि हारेको टिम हो ईङ्गल्याण्ड । खेल नजिताको आधारमा भन्ने हो कुनै पनि खेल नहारेको क्रोएसियाले जीत निकाल्ने देखिन्छ ।

 

त्यस्तै यी दुई टिमले गरेको गोललाई हेर्ने हो भने ईङ्गल्याण्डले ११ गोल गर्दा क्रोएसियाले १० गोल गरेको छ । ईङ्गल्याण्डको गोलमा पेनाल्टी गोलको संख्या बढी छ । उता क्रोएसियाले आत्माघाती गोलबाट फाईदा लिएको थियो । प्रतिस्पर्धात्मक खेल समयमा गरेको गोल भने दुवैको बराबरी छ । ईङ्गल्याण्डले आफ्नै खेलाडीको योगदानबाट ११ गोल गरेपनि ३ गोल विपक्षीको गल्तीका कारण पाएको पेनाल्टीमा गरेको थियो । त्यसैले गोलकै आधारमा यी दुईमा खासै फरक छैन ।

 

आक्रमक खेलको आधारमा क्रोएसिया केही हदसम्म माथि भएपनि उल्लेख्य फरक मान्न सकिदैन । जारी विश्व कपमा क्रोएसियाले ७८ प्रहार गर्दा १९ प्रहार लक्ष्यमा राखेको छ भने ईङ्गल्याण्डले ७० पटक प्रयास गर्दा १९ वटै लक्ष्मा राखेको थियो । क्रोएसियाका २० प्रहार विपक्षी रक्षकले निस्तेज गरेका थिए भने, ईङ्गल्याण्डका २१ प्रहारहरु विपक्षी रक्षकले सफलतापूर्वक छेकेका थिए । यसरी हेर्ने हो भने क्रोएसिया र ईङ्गल्याण्डको आक्रमणमा खासै भिन्नता देखिदैन ।

 

ईङ्गल्याण्डको रक्षा भन्दा क्रोएसियाको रक्षा केही चुस्त देखिन्छ । उसले केवल ४ गोल खाएको छ भने सडेन डेथबाहेक १२ वटा प्रहार उसको गोलकिपर सुवासिकले बचाएको छ । उता ईङ्गल्याण्डले पनि ४ खेल नै खाएको छ भने केवल १० वटा प्रहार गोलकिपर पिकफोर्डले बचाएका छन् । ईङ्गल्याण्डका गोलकिपर पिकफोर्डले क्वाटरफाईनलमा स्वीडेनविरुद्ध उत्कृष्ट खेलेका थिए । क्रोएसियाका गोलकिपर सुवासिकले खेलका दौरान अतिरिक्त सडेन डेथमा दुई खेलमा ४ गोल पेनाल्टी प्रहार रोकेका छन् भने एकै खेलमा ३ पेनाल्टी बचाएका छन् । ईङ्गल्याण्डले ९० मिनेट वा अतिरिक्त समयको ३० मिनेटभित्रमा नतिजा ननिकाले पेनाल्टीमा क्रोएसिया हाबी हुन सक्ने देखिन्छ । त्यसैले रक्षाको हिसाबले क्रोएसिया अघि देखिन्छ ।

 

 

खेलाडीको खेल प्रदर्शनका हिसाबले क्रोएसियाका लुका मोड्रिकले २ गोल गरेर १ गोलको लागि पास दिँदा ईङ्गल्याण्डका ह्यारी केन यो प्रतियोगिताको सबैभन्दा बढी गोल गरेका छन् । उनले ३ पेनाल्टी गोलको सहायतामा ६ गोल गरिसकेका छन् । क्रोएसियाका अग्रपंतिका अन्य खेलाडीहरुले पनि गोल गरेको छन् भने ईङ्गल्याण्डका रक्षापंतिका खेलाडीले गोल गरेका छन् । ईङ्गल्याण्ड गोलका लागि एक खेलाडीमा बढी निर्भर देखिन्छ भने क्रोएसियाका प्राय खेलाडीले औषत खेल खेलिरहेका छन् । ईङ्गल्याण्डका एक दुई खेलाडीलाई क्रोएसियाले रोक्न सके परिणाम आफ्नो पक्षमा पार्न सक्छ । यदि ईङ्गल्याण्डका केन चम्किए क्रोएसियाले ऐतिहासिक फाईनल खेल खेल्ने मौका गुमाउँने छ ।

 

 

सम्भावना र ईतिहासको बहीमा ईङ्गल्याण्ड अघि देखिन्छ । रक्षाको हिसाबले क्रोएसिया अगाडि देखिन्छ । आक्रमण तथा गोलको आधारमा खासै भिन्नता छैन । यस्तोमा कसका खेलाडीले विपक्षी रक्षा चिर्न सक्छन् ? उही टिम विजयी हुने छ । खेलाडीको मनोबल बढाउँन क्रोएसियाकी राष्ट्रपति रसिया पुगेकी थिईन । उता ईङ्गल्याण्डकी प्रधानमन्त्री रसियासँगको राजनैतिक मतभेदका कारण रसिया गएकी छैनन् भने पछिल्लो समयमा विकसित राजनैतिक घटनाक्रमले रसिया पुग्ने सम्भावना छैन । त्यसैले क्रोएसियाको टिमको मनोबल उच्च हुँदा खेलको परिणाम आफ्नो पक्षमा बनाउँने सम्भावना बढी देखिन्छ ।

 

 

आजको खेलमा प्रभावित बनाउँने खेलाडी

 

 

रहिम स्टर्लिङ, ईङ्गल्याण्डः मध्यक्रमका खेलाडी स्टर्लिङले हालसम्म ईङ्गल्याण्डका लागि ४२ खेल खेलेर २ गोल गरेका छन् । उन आफैले गोल गर्ने भन्दा खेलमा सशक्त पास दिई गोलको वातावरण बनाउँने खेलाडी हुन । २३ बर्षिय रहिम होचा कदका प्रभावशाली फुर्तिला खेलाडी हुन । म्यानचेष्टरका यी खेलाडीको प्रदर्शनले ईङ्गल्याण्डको लागि नतिजा प्रभावित हुनसक्छ ।

 

 

ईभान राकिटेक, क्रोएसियाः मध्यक्रमका ३० बर्षिय ईभान राकिटेक खेल बनाउँने तथा गोल गर्ने क्षमता राख्छन् । क्रोएसियाका लागि ९७ खेल खेलेर १५ गोल गरिसकेका छन् । कडा तथा लामो प्रहारबाट आर्कषक गोल गर्न सक्ने क्षमताका राकिटेकले आज क्रोएसियाको भाग्य फैसलामा महत्वपूर्ण योगदान दिने छन् ।

 

 

विश्वकप २०१८ ले पायो पहिलो फाईनलिष्ट

 

 

म्यान अफ द म्याच एमटिटीको एकमात्र निर्णायक गोल गर्दा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै विश्व कप २०१८ को उपाधी भिडन्तमा आफुलाई सुरक्षित गरेको छ । खेलको नियन्त्रण बेल्जियमसँग र खेलमा आक्रमण फ्रान्सले गर्दा खेल ९० मिनेटभित्रै सकिएको थियो । फ्रान्सका जिरुडले पटक पटक गोलको मौका गुमाएका थिए भने फ्रान्सका ग्रिजम्यान र बेल्जियमका हजार्डले दर्शनीय खेल खेलेका थिए । बेल्जियमका लुकाकु फिक्का देखिन्थे भने एमबाप्पेले एक दुई मुभ बाहेक प्रभावित गर्ने खेल देखाउँन सकेनन् । १९ बर्षका प्रतिभाशाली खेलाडी एमबाप्पेले पछिल्ला दुई खेलमा अनुशासनहिन तथा खेलभावना विपरित खेलिरहेका छन् ।

 

 

खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो भने दोश्रो हाफको ५१ औं मिनेटमा कर्नरको बललाई हेडरबाट एमटिटीले गोल गरेका थिए । पहिलो हाफ बेल्जियमले कब्जा गरेको थियो भने सो खेललाई दोश्रो हाफमा निरन्तरता दिने सकेको थिएन । दोश्रो हाफमा फ्रान्सले केही राम्रो खेल खेलेको थियो भने फ्रान्सले अन्तिम २० र अतिरिक्त समय पुरै शक्ति रक्षामा खर्चेको थियो । खेलका प्राय सुचकमा फ्रान्स पछि परेपनि सबैभन्दा आक्रमक टिम बेल्जियम विरुद्ध सशक्त प्रत्याक्रमणबाट खेलमा फ्रान्सले बेल्जियमको भन्दा बढी आक्रमण गर्न सफल भएको थियो ।

 

 

खेलमा ९० प्रतिशत सटिक पाससहित ६० प्रतिशत समय बलमाथि नियन्त्रण बेल्जियमले राखेको थियो । फ्रान्सले ५ वटा लक्ष्यमासहित १९ पटक गोलका लागि प्रहार गरेको थियो । उसका ६ प्रहार बेल्जियमका रक्षापंतिका खेलाडीले छेकेका थिए । रक्षात्मक खेल खेलेको फ्रान्सको गोलपोष्टमा ३ लक्ष्यमा सहित ९ वटा आक्रमणको प्रयास बेल्जियमले गरेको थियो । बेल्जियमले ५ कर्नर प्रहार गर्दा गोल गर्न सकेको थिएन भने ४ कर्नर प्रहार गरेको फ्रान्सले ग्रिजम्यानको प्रहारमा एमटिटीबाट गोल गरेको थियो ।

 

 

त्यसपछि गोल गर्ने मौका दुवै तर्फबाट गुमाउँदा फ्रान्सले खेल जित्यो । खेलमा फ्रान्सका तर्फबाट जिरुडले ७ तथा ग्रिजम्यानले ५ पटक गोलका लागि प्रहार गरेका थिए । त्यस्तै माटुडीले २ पटक तथा टोलीस्सो, पोग्बा, हर्नान्नडेज, एमटिटी र पभार्डले एक एक प्रहार गरेका थिए । बेल्जियमका लागि हजार्ड, अल्डरवेरेल्ड र डि ब्रुईनाले दुई दुई पटक तथा लुकाकु, विट्सेल र फिलानीले एक एक पटक प्रहार गरेका थिए ।

 

 

पहिलो हाफमा बेल्जियमले ५८ प्रतिशत समयमा बलमा नियन्त्रण राख्दै ३ पटक गोलका लागि प्रहार गरेको थियो । उता फ्रान्स रक्षामा बसेर काउन्टर एट्याक गर्दा दुई लक्ष्यमा सहित ११ पटक आक्रमण गर्न सफल भएको थियो । पहिलो हाफमा फ्रान्सका ग्रिजम्यान र जिरुडले चार चार पटक गोलका लागि प्रहार गर्दा बेल्जियकका हजार्डले २ प्रहार गरेका थिए । खेलको पहिलो हाफ पुराका पुरा बेल्जियममय देखिन्थ्यो ।

 

 

खेलको १९ औं मिनेटमा हजार्डले आकर्षक मुभसहित सशक्त प्रहार गरेका थिए । उनको प्रहारलाई फ्रान्स रक्षकले कर्नर बनाए । कर्नरमा बेल्जियमका रक्षापंतिका खेलाडी अल्डरवेरेल्डले राम्रो प्रहार गरेका थिए । जसलाई फ्रान्सका गोलकिपर लरिसले उत्कृष्ट बचाएका थिए । खेलको ३९ औं मिनेटमा फ्रान्सका एमबाप्पेले पभार्डलाई बल दिए तर, सो बललाई पभार्डले गोल गर्न सकेनन् । उनले हानेको प्रहार बेल्जियमका गोलकिपरको खुट्टामा लागेर बाहिरियो ।

 

 

दोश्रो हाफमा फ्रान्सले ८ पटक आक्रमण गर्दा १ गोल गर्न सकेको थियो । बेल्जियमले भने ६ पटक गोलका लागि प्रहार गरेको थियो । यी प्रहारमध्य फ्रान्सका ३ प्रहार लक्ष्यमा हुँदा बेल्जियमका २ प्रहारमात्र लक्ष्यमा थियो । बेल्जियमले पटक पटक राम्रो मुभ बनाए पनि फ्रान्सको रक्षापंति चिर्न सकेको थिएन् । दोश्रो हाफमा ५१ औं मिनेटमा जिरुडले ५१ हानेको प्रहार बेल्जियमका खेलाडीले छेकेदा कर्नर भयो ।

 

 

सो कर्नर ग्रिजम्यानले प्रहार गरेर एमटिटीले हेडर गरेर गोल गरे । उनको खेलसँग सेलेब्रेसन पनि आकर्षक थियो । खेलको ५६ औं मिनेटमा एमबाप्पेले ब्याक फ्लिक गरेर जिरुडलाई आकर्षक पास उपलब्ध गराएपनि जिरुडले अग्रता दोब्बर गर्न सकेनन् । बेल्जियमले ८१ औं मिनेटमा राम्रा मुभ बनायो र ब्याक पासमा विट्सेलले कडा प्रहार गरे । सो प्रहारलाई फ्रान्सका गोलकिपरले बचाए । खेलको अतिरिक्त समयमा टोलिस्सोले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार बेल्जियमका गोलकिपरले बचाए । करिब ४० मिनेट एक गोलको अग्रतालाई रक्षा गर्दै फ्रान्सले विश्व कप २०१८ को फाईनलमा स्थान सुरक्षित गरयो ।