भानुभक्त र नेपाली ‘सफ्ट पावर’

 

वेलायतीहरु अंगे्रजी भाषा र साहित्यलाई उनीहरुको ‘सफ्ट पावर’को वाहक मान्छन, त्यसरी नै नेपालको ‘सफ्ट पावर’को वाहक नेपाली भाषा र साहित्य हो । र, यसको सुत्रपात गर्ने भानुभक्त हुन । भौगोलिक एकिकरणलाई समाज र जनजनलाई एक सुत्रमा उन्ने जस उनलाई नै जान्छ ।

 

 

 

नेपाली भाषाका आदिकवि भानुभक्त आर्चायको २०५ औ जन्म जयन्ती । असार २९ गते । यो अन्तरेले स्कूल पढ्दा देशमा निरंकुश पञ्चायती व्यवस्था थियो । भानु जयन्तीमा कविता, कथा पढ्ने जस्ता साहित्यिक कार्यक्रम हुन्थ्ये । त्यस्तामा भाग पनि लिइन्थ्यो । तर पनि त्यो भानुभक्तको सम्झनामा गरिने कर्मकाण्ड जस्तो मात्र लाग्दथ्यो ।

 

 

विश्वविद्यालय पुग्दा देशमा बहुदलीय व्यवस्था आइसकेका थियो । निर्वाचित सरकार बनिसकेको थियो । त्यसपछिको समयमा राजनीतिक माहोल तथा व्यक्तिगत कारणले भानुभक्तलाई सम्झने क्रममा नाटकीय रुपमा कमी आयो ।

 

 

त्यसको एक चौथाई शताब्दीपछि हालै मात्र भानुभक्तको योगदान र भानुजयन्ती मनाउनुको महत्व महसूस भएको छ । यद्यपि, अन्तरे नेपाली साहित्यको अध्येता र विद्यार्थी होइन । नत कुनै साहित्यिक विधाको साधक नै ।

 

 

मुलत यो अन्तरेको बिषय समाज विज्ञान नै हो । त्यसमा पनि सवैभन्दा रुखो अर्थशास्त्र र अहिलेको नेपाली समाजमा सवैभन्दा विकर्षणको बिषय राजनीतिशास्त्र अन्तरेलाई रुचि लाग्ने बिषय हुन् । यद्यपि, भानुभक्तको महत्वको महसुस चाँही राजनीतिशास्त्रको बिद्यार्थीको रुपमा गर्दैछु ।

 

 

भानु जयन्तीको चर्चा अगाडि अंग्रेजी साहित्यको छोटो चर्चा गरौं ।

 

 

सन २०१६ र २०१७ अंगे्रजी भाषीको लागि महत्वपूर्ण वर्षको रुपमा रहेका छन् । पहिलेका बर्षहरुभन्दा बेलायतीहरु नै यी बर्ष अधिक महत्वकासाथ मनाउँदै छन् । सन्र्दभ हो, सन् २०१६ अंग्रेजी नाट्य सम्राट विलियम शेक्सपियरको छैठौ शत वार्षिकी थियो ।

 

 

शेक्सपियरले ९७ वटा नाटक तथा १५७ गाथा कृतिको रुपमा दिएर गए । अहिले पनि उनका कृति विद्यालय, विश्वविद्यालयमा साहित्यका पाठयक्रमको रुपमा कक्षा कोठामा मात्र होइन, अन्य भाषाको पृष्ठभूमिबाट अंग्रजी भाषाका माध्यमबाट अध्यापन गराइने सवै बिषयका सवै तहमा पठनपाठन गराउन सिफारिस गरिन्छन् । त्यति मात्र होइन सित्तैमा श्रव्य पुस्तक, श्रव्यदृष्य पुस्तक र विभिन्न फरमेटका विद्युतीय पुस्तक पढ्न र सुन्न पाइन्छ ।

 

 

 

त्यस्तै सन २०१७ उपन्यासकार जेन अस्टेनको द्वय शतबार्षिकी हो । साहित्यिक योगदानको सम्मानार्थ बेलायतको केन्द्रीय वैंक, बैक अफ इङलैण्डले उनको मुखाकृति चित्रित १० पाउण्डको नोट नै प्रकाशन गरेको छ ।

 

 

 

१० पाउण्डको नोट छाप्नुको कारण अचम्मको छ । लेखकले आफ्नो पहिलो कृति छापिए वापत पाएको पारिश्रमिक १० पाउण्डको सम्झनामा हो ।

 

 

 

बेलायत अहिले विश्व राजनीतिमा दाह्रा–नंग्रा फुक्लिएको सिंह हो । संसारको राजनीतिमा यसको ‘हार्ड पावर’को प्रभाव निरन्तर क्षींण बन्दै गइरहेको छ । राज्यको ‘हार्ड पावर’ सैनिक, सामरिक र आर्थिक क्षमताले व्यक्त गर्दछ ।

 

 

 

तर, बेलायतको ‘सफ्ट पावर’को प्रभाव अहिले पनि विश्वमा धेरै छ । संसारका धेरै आविष्कार बेलायतीले गरेका छन् । औद्योगिक क्रान्ति, ज्ञान÷विज्ञानको विकास निम्तिको जननी हो, बेलायत । ६०० बर्ष पुराना १० बटा भन्दा बढी विश्वविद्यालय त्यही देशमा मात्र छन् ।

 

 

 

संसारमा ज्ञान विज्ञानको संग्रहको रुपमा पुस्तक तथा जर्नल प्रकाशनमा पनि बेलायत अगाडि छ । अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, सिगांपुर, हंङ्गकंङ्ग, भारत, दक्षिण अमेरिकामा भएको सवै विकासको आधारशीलाको आधार खडा गरिदिएको बेलायतले नै हो ।

 

 

 

अभिव्यक्ति स्वतन्त्रता, जनप्रतिनिधिमूलक र प्रतिस्पर्धात्मक संसदीय राजनीतिक व्यवस्था, मानवअधिकार, जवाफदेही र पारदर्शी शासन व्यवस्था, वैयक्तिक स्वतन्त्रता, सम्पतिमाथिको अधिकार जस्ता राजनीतिक संस्थाहरुको उत्पति र विकासको योगदान बेलायतीहरु कै हो । अहिले यी सवैको समष्टिगत रुपमा बेलायतीहरु ‘ब्रिटिस भ्यालु’ भनेर बेलायती ‘सफ्ट पावर’माथि गर्व गर्छन ।

 

 

 

अंग्रेजी साहित्यका यी दुइ महान हस्तीको बार्षिकीमा केहि बर्ष अगाडिसम्म बेलायतीहरु नै खासै चासो दिदैनथे ।

 

 

 

तर, बेलायतको विदेश मामिला मन्त्रालय ‘फरेन एण्ड कमनवेल्थ अफिस’ले बेलायती विदेश नीति तथा ‘ब्रिटिस भ्यालु’लाई विदेशमा निर्यात गर्ने कार्यकारी हातको रुपमा अंगे्रजी भाषा, त्यसको प्रसारक बिट्रिस काउन्सिल र बेलायती प्रशारण संस्था बिबिसिलाई मान्यता प्रदान गरेपछि अंगे्रजी भाषा र साहित्यकारको बृहत मात्रामा पुनःस्मरण हुन थालेको हो । यसबाट सजिलै के बुझ्न सकिन्छ भने भाषा र साहित्य मात्र भाषा साहित्य होइन, समाज र देशको ‘सफ्ट पावर’ र सामाजिक मूल्य मान्यता तथा राष्ट्रियता बोक्ने ठुलो ट्रक हो ।

 

 

 

आफ्नै इतिहासतर्फ फर्कौ । राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकिकरण गरे । अहिले नेपाल नामक देशको पहिचान त्यहींबाट प्रारम्भ भएको थियो । राज्य निर्माणको ‘हार्ड पावर’ सेना, प्रशासनिक तथा राजनीतिक विकास क्रमश त्यही एकिकरणमाथि उभिएर भएको हो । यसमा युद्ध र हिंसा त भए तर त्यो यति निर्मम थिएन जति युरोपेलीले हालको अमेरिका जित्दा कैयन मुलवासीको आम नरसंहार गरे वा अष्ट्रेलियामा तस्मानहरुको आम नरसंहार गरेर समुल जातीकै लोप बनाए । नेपाल राज्यको अहिलेको सेना, प्रहरी, प्रशासन, राजनीतिक संस्थाहरु त्यही एकिकरणको आधारमा उभिएर समय क्रमसंग विकसित भएको छ ।

 

 

 

नेपाल राज्यको यस ‘हार्ड पावर’को समकक्षी ‘सफ्ट पावर’ चाँहि नेपाली पहिचान हो । नेपाली समाजका मूल्य मान्यता हुन । यो नेपाली पहिचान भनेको नेपाली भाषा र साहित्यको माध्यमबाट व्यक्त हुन्छ । नेपालको भुगोल मात्र होइन, विश्वका जुनसुकै देशमा बसेको भए पनि नेपाली भाषा र साहित्यको कारण नेपाली राष्ट्रियताको पहिचान वोक्छ ।

 

 

जसरी वेलायतीहरु अंगे्रजी भाषा र साहित्यलाई उनीहरुको ‘सफ्ट पावर’को वाहक मान्छन, त्यसरी नै नेपालको ‘सफ्ट पावर’को वाहक नेपाली भाषा र साहित्य हो । र, यसको सुत्रपात गर्ने भानुभक्त हुन । भौगोलिक एकिकरणलाई समाज र जनजनलाई एक सुत्रमा उन्ने जस उनलाई नै जान्छ ।

 

 

तर, नेपाली भाषा, नेपाली संस्कृतिमाथि पहिचानको राजनीतिको नाममा अहिले ठुलो आक्रमण भै रहेको छ । हो शासनमा २ प्रतिशत खस आर्य जातीको बाहुल्य छ । नेपाल एकिकरणको क्रममा बल प्रयोग पनि भयो होला, कहाँको एकिकरणमा भएको छैन र ? तर, अहिले बाँकी ९८ प्रतिशत जनतालाई इतिहास र वर्तमानमा २ प्रतिशतले गरेको विभेद र बहिस्करण र सिमान्तकरणको दोषीको रुपमा कठघरामा उभ्याउँनु अञ्जानमा गरिएको कार्य किमार्थ मान्न सकिदैन । शासकले गरेको भनिएको दमन तथा विभेदको प्रतिकारको नाममा भाषा, साहित्य र तिनका स्रष्टामाथि नै खनिनु सामान्य नाराजगीको अभिव्यक्तिकरण मात्र मान्न सकिदैन । मधेस आन्दोलनको नाममा तराईमा भएका भानुभक्तलगायतका नेपाली भाषाका साहित्यकारको प्रतिमाहरु भत्काइए । यो नियतवस भएका कृत्य हुन ।

 

 

 

त्यो नियत के हो भने कुनै पनि राष्ट्र र समाज विघठन गराउँने हो भने पहिला त्यो देशको ‘सफ्ट पावर’लाई समाप्त गर्नु पर्दछ । अहिले नेपाली समाजको ‘सफ्ट पावर’ भनेको नेपाली भाषा, साहित्य, मेचीदेखि महाकालीसम्म फैलिएको कला, नेपाली संस्कृति र संस्कार हो । यसको मूल्य र मान्यता हो ।

 

 

 

नेपाल समाप्त गर्नको लागि पहिला नेपाली साहित्य, नेपाली भाषा, नेपाली संस्कार, संस्कृति र मूल्य मान्यता समाप्त गर्नु पर्छ भन्ने निर्धारित मान्यताले काम गरिरहेको छ । त्यहि कारणले अहिले नेपाली, भाषा, साहित्य, संस्कृति र पहिचानमाथि बिष वमन गर्ने र यसको निन्दा गर्ने कार्य भै रहेको छ । यी सवैको लक्ष्य नेपालको ‘सफ्ट पावर’लाई समाप्त गर्ने र दीर्घकालमा नेपाल नै समाप्त गर्ने हो ।

 

 

नेपाल देश र नेपालीपन जीवित गर्ने हो भने नेपाली भाषा, साहित्यको प्रवद्र्धन र यसका स्रष्टाको सम्मान गर्न सवै नेपाली पहिले भन्दा झन् बढी सक्रिय हुनै पर्दछ ।