विश्वकप महासंग्राम विश्व एकता- बेदप्रसाद भुर्तेल

 

आज नेपाली समयअनुसार राति करिब ८ बजे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संसारकै सबैभन्दा ठूलो प्रतिस्पर्धा विश्वकप फुटवलको उद्घाटन गर्दैछन् । भाईचार, सद्भाव र विश्व एकताको पर्वका रुपमा स्वच्छ प्रतिस्पर्धामा विभिन्न चरण पार गर्दै आएका ३१ देशका राष्ट्रिय टोली र आयोजक रुसले सो प्रतिस्पर्धाको उपाधीका लागि भिडन्त गर्दैछन् । दुई देशका ११–११ खेलाडी एउटा बललाई लत्याउँदा आउँने रोमान्चकतालाई लिएर परिवारका सदस्य तथा साथीभाई पक्ष विपक्ष छन् भने त्यही एउटै बलले दुवै पक्षलाई जोडिरहेको छ ।

 

विश्व कपको उद्घाटन भव्य, सभ्य र उत्कृष्ट बनाउँन असी हजार मानिस मस्कोको लुझनिकी रंगशालामा उपस्थित हुने छन् । त्यस्तै करिब ८० करोड मानिसले टेलिभिजनको सहायताले विश्व कपको उद्घाटन समारोह हेर्ने छन् । सन् १९९० दशकका ईङ्गल्याण्डको स्टार पप गायक रोबी विलियम्स्को गायन, ५०० नृत्यकर्मी र जिम्न्याटिक खेलाडीको नृत्य तथा कलाले मन्त्रमुग्द पार्ने छ । विश्वकपको आधिकारिक गीत “लाईभ इट अप”ले विजयी झै गर्वले बाँचौं एक वारको जुनीमा भनेर सकारात्मक सोंचका लागि प्रेरित गर्ने छ । त्यसैले त गायक विलियमस्ले भनेका छन् “मैले जीवनमा धेरै गरेको छु र रंगशालाका ८० हजार फुटबल फ्यान तथा विश्वभरका दशौं लाखमा फिफा विश्व कपको उद्घाटन युवा अवस्थाको एक सपना हो ।” वास्तवमै अहिले विश्व नै विश्वकपका कारण युवा बनेको भान हुन्छ । र, विश्वकपको आनन्द उठाउँन एक जुट छ ।

 

विश्वकप २०१८ को आरम्भले विश्व एकताको सन्देश त दिने छ । तर, रसियाले यो २१ औं संस्करण आयोजनाको ठेक्का र कतारले विश्व कपको २०२२ को अायाेजना ठेक्का छनाैटपछि फुटबल खेलमा भएकाे भ्रष्ट्रचार बिषय उठानले विश्वको फुटबल नै तरङ्गित भएको थियो । फिफा अध्यक्ष सेप ब्लाटर, एसियन फुटबल एसोसिएसनको अध्यक्षदेखि विभिन्न देशका राष्ट्रिय फुटबल संस्थाका अध्यक्ष तथा प्रमुख मुछिए । यस सुचीमा अखिल नेपाल फुटबल संघका निर्वाचित अध्यक्ष गणेश थापाको नाम पनि जोडियो । खेलकुद विकासको जति सुकै कुरा गरेपनि खेल भ्रष्ट्रचारलाई समयमै निरुपण नगरिए यसले समाज र खेलको भावना मै गम्भीर धक्का पुरयाउँछ । विश्वकपको आयोजना ठेक्कादेखि लिएर रंगशाला निर्माण, आयोजनाको व्यवस्थापन खर्च र खेल प्रशारण जस्तामा हुने भ्रष्ट्रचारले फुटबलमाथि चुनौति थपिदिएको छ । तर, जे होस् विश्व कप फुटबल निरन्तर छ । ईङ्गल्याण्ड तथा पश्चिममा राष्ट्रका मिडियाले जति नै लखेटे पनि अन्ततः विश्व कप, २०१८ को सफल ल्याडिङ्ग रसियामा हुँदैछ ।

 

३२ राष्ट्रिय टिमको खेल कौशल, क्षमता र रणनीतिको परीक्षा यो प्रतिस्पर्धामा ६४ वटा खेलहरु हुने छ । यी खेलहरुमा खेलाडीले राष्ट्रप्रेमका लागि मात्र खेल खेल्ने होईन आफ्नो कौशल, क्षमता र चार्तुयताले ‘ब्राण्ड भ्यालु’ बढाउँने अवसर पनि हो । हरेक फुटबल खेलाडीको सपना हुन्छ, विश्वकप खेल्नु । जब विश्वकप खेल्न छनौट नै भईसक्छन्, त्यसपछि उपाधी हासिल गर्नु अर्को लक्ष्य हुन्छ । हुन त सबै टिमले विश्वकप उचाल्ने उद्धेश्य लिएर रसिया पुगेका हुन्छन् । तर, एक टिमले मात्र सफलता पाउँने छ ।

 

सबै टिमसँग समान कौशल, प्राविधिक क्षमता, रणनीति र अनुभव छैन । त्यसैले मुख्य दाबेदारीका रुपमा केही राष्ट्रहरुलाई हेरिन्छ । ३२ प्रतिस्पर्धी राष्ट्रमध्ये जर्मनी, ब्राजिल, स्पेन, अर्जेन्टिना, बेल्जियम, फ्रान्स र बेलायत क्रमशः विश्वकपको प्रमुख दाबेदार मानिएको छ । परिणाम के हुन्छ जुलाई १५ को रातिसम्म कुर्नुपर्छ । पूर्व विश्व विजयी तथा छनौट खेलमा सर्वोकृष्ट प्रदर्शनका आधारमा जर्मनी अब्बल देखिन्छ । साथै सबै खेलाडीहरुमा खासै फरक क्षमता तथा कौशलमा भिन्नता नहुनु जर्मन टिमको सबल पक्ष हो, भने विपक्षीको टाउको दुखाई । त्यस्तै विश्व कपको उपाधी रक्षा गर्न सफल एक मात्र टिम ब्राजिलको सुचीमा अटाउँन जर्मनीले कौशल, क्षमता र रणनीति प्रयोग गर्ने छ । यदि त्यसो भए विश्वकप सबैभन्दा बढी जित्ने सूचीमा ब्राजिलसँग जर्मनीले बराबरी गर्ने छ ।

 

उता प्रशिक्षक टेटेले टिम समालेयता ब्राजिल टिमको प्रदर्शन, टिममा स्टार खेलाडीहरुको दबदवा र विश्वकपको लामो अनुभब तथा सबैभन्दा धेरै विश्व कप उपाधीले ब्राजिल युरोपबाट विश्वकप दक्षिण अमेरिका लिएर जाने कोशिसमा छ । विश्व कै सबैभन्दा महंगा खेलाडी नेयमार र प्रतिभावान मिडफिल्डर कौन्टिन्होको वास्तविक परीक्षा पनि हो । यी खेलाडी खरो उत्रिए ब्राजिललाई रोक्न सजिलो हुने छैन । विगत २ बर्षमा उत्कृष्ट फुटबल पस्किएका स्पेन, बेल्जियम, फ्रान्स र बेलायतले विश्व कपको दाबी गरिरहेका छन् । अन्तिम छनौट खेलसम्म लर्बराएको अर्जेन्टिना मेसीको प्रेरणामा विश्व कपका लागि रसिया पुगेको छ । स्पेन, फ्रान्स र बेलायत घरेलु क्लब फुटबलको कारण दह्रो आधार छ र उपाधीका लागि नै उत्रिएको छ, भने बेल्जियम र अर्जेन्टिना युरोपका प्रतिष्ठित क्लब फुटबललाई खेलाडी दिएर क्षमता र कौशल तिखार्दै रसियामा चुनौति दिईरहेका छन् ।

 

हुन त विश्वकप देश देशका टिमहरुको प्रतिस्पर्धा हो । तर हालसम्मको नतिजा हेर्ने हो भने यो युरोप र दक्षिण अमेरिकाको प्रतिस्पर्धा जस्तो पनि देखिन्छ । भनिन्छ युरोपियनहरु दिमागले फुटबल खेल्छन् रे अनि दक्षिण अमेरिकीहरु मनले । फिफाअनुसार हालसम्मका २० संस्करणमा युरोपियन देश जर्मनीले ४ पटक, इटलीले ४ पटक, स्पेन, फ्रान्स र बेलायतले एक÷एक पटक गरी ११ विश्वकप उपाधी जितेका छन् भने दक्षिण अमेरिकी देशहरु ब्राजिलले पाँच पटक र उरुग्वे तथा अर्जेन्टिनाले दुई÷दुई पटक गरी नौ पटक विश्वकप चुमेका छन् । सन् २००२ को विश्वकपपछि दक्षिण अमेरिकी देशले विश्वकप जितेका छैनन् । त्यो अभाव कम गर्दै विश्वकप विजयको युरोप र दक्षिण अमेरिका दुरी कम गर्न दाबेदार मानिएका ब्राजिल तथा अर्जेन्टिनाले रसियामा कस्तो खेल खेल्ने छन्, त्यो भविष्यको गर्भमा छ । जर्मनी, स्पेन, फ्रान्स, बेल्जियम र इङ्गल्याण्डले विश्व कप उचाले युरोप र दक्षिण अमेरिकाको उपाधीमाथिको खाँडल गहिरो बन्ने छ ।

 

आजको उदघाटन खेल

 

 

उदघाटन खेलको रुपमा आयोजक रुस र साउदी अरयिबा आज मस्कोमा प्रतिस्पर्धा गर्दैछन् । पहिलो पटक उदघाटन खेल खेल्न पाएको साउदी अरबले एसियाको प्रतिनिधित्व गर्दै छ । यस प्रतियोगिताको मुख्य आर्कषणका रुपमा रसियाका अग्रपंत्तिका १० नं. जर्सीका फेडोर स्मोलोभ भने छ भने साउदी अरबियाका ७ नं. जर्सीका सलमान अल्फराज हुने छन् ।

 

हालसम्म एक अर्का विरुद्ध कुनै म्याच नखेलेका यी दुवै देशले परिणाम आफ्नो पक्षमा पार्न फरक रणनीतिमा हुनेछन् । आक्रमक फुटबल खेल्ने रसियाले २ अग्रपंत्तिमा खेलाडी उर्ताने छ भने ४–४ मध्यक्रम र रक्षामा हुने छन् । डिफेन्सिप मिडफिल्डसहित प्रत्याक्रमणको रणनीतिका साथ साउदी अरब ८० हजार प्रत्यक्ष दर्शक माझ लुझनिकी रंगशाला, मस्कोमा उत्रिने छ ।

 

रसियाको पछिल्ला प्रदर्शनहरु त्यत्ति राम्रो नरहे पनि बिबिसीका फुटबल विज्ञ मार्कले रसिया २–० ले विजयी हुने अनुमान गरेको छ । साउदी अरबको काउन्टर एट्याक अत्यन्तै छिटो भएकाले खेलमा आयोजकलाई स्तब्ध बनाउँन सक्छ । तर विगत हेर्ने हो भने आयोजकसँग साउदी अरबियाको खेल त्यति सन्तोषजनक छैन । सन् १९९८ मा आयोजक फ्रान्सविरुद्ध ४–० ले पराजित भएको विश्व कपको ईतिहास रहेको छ । दुवै देशका अधिकांश खेलाडी घरेलु क्लब फुटबल खेल्ने भएकोले एक अर्काको खेल बुझ्ने, खेलमा सन्तुलन र खतर्नाक मुभ बनाउँन सजिलो हुने देखिन्छ । यद्यपी प्रतिस्पर्धात्मक खेलमा रसियाले ३ अंक हासिल गर्ने अपेक्षा लिएको छ । र, ठूलो अन्तरको विजयको सम्भावना कम देखिन्छ ।

 

आजको प्रतिस्पर्धा जुन टिमले जितोस् वा यो विश्वकप उपाधी जुन देशको पोल्टामा परोस् । फुटबलले मानिस जोड्दै छ । र, रसियाले यो संस्करण सफलतापूर्वक सम्पन्न गर्दैछ । विश्वकप खेल हो, जुवा होईन । मान्छेको कौशल, क्षमता, गतिशिलता र अनुशासनको सार तत्व हो । फुटबलमा रमाउँ, सद्भाव र एकता कायम गरौं । विश्वकपको आधिकारिक गीत “लाईभ ईट अप”मा भनिए जस्तो एक जुनीका जीवन, दोश्रो पाईदैन । गौरबका साथ झण्डा उठाई एक जीवन, एक सपना, एक चाल, एक टिम, एक युवा, एक विश्वास र कुनै त्रासविना विश्वकप हेरौं र भाईचारा बनाउँ ।