हुम्लामा सिजनको पहिलो हिमपातको तस्वीरहरु



जनकबहादुर शाही
हुम्ला, पौष–२० :

हुम्लामा हिमपात भएको छ । आईतबार दिउँसोबाट हुम्लामा यो सिजनको पहिलो हिमपात शुरु भएपछि तापक्रम माईनसमा झरेसंगै जाडो अत्याधिक बढेको छ । हिमपात हुदा हुम्ला लगायतका हिमाली जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि जहाज पनि बिमानस्थलमै थन्किएका छन । आईतबार हुम्लामा हिमपात भएपछि दुईवटा तारा एयरका जहाज सिमकोट विमानस्थलमै थन्किएका छन् । जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आए पछि मर्मतका लागि प्राविधिक टोली लिएर आएर अर्को जहाज आएको थियो । मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु प्रशाद अधिकारीले बताए ।



हमपातले हुम्लाको उतरी नाम्खा गाउँपालिकाका प्राय बस्तिहरुमा ४ फिट भन्दाबढी हिउँ जमेको छ । भने अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ ।

आइतबार दिउँसो देखि परेको हिंपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको विमानस्थल श्रोतले बताएको छ । लामो समय देखि बर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् अहिले जेष्ठमा पाक्ने जौ, गहुँ र उवा छर्ने समय भएकाले हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । लामो समय पानी नपरेकाले जमीन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासीहरुको भनाई छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भईरहेकाले यहाँका स्थानियलाई सतर्क रहन आग्रह समेत प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले गर्नु भएको छ ।