काँचो हतियार बोकेका गृहमन्त्री ! – कृष्णमुरारी भण्डारी

गृहमन्त्री बादलले प्रारंभमै आमजनताको जीवनसंग जोडिएको सार्वजनिक यातायातको सिण्डीकेट तोडेकाले जनताको स्यावासी त पाए तर उनी यसैमा अलमलिएर बसिरहे भने बादल पनि नारायणहरि हुने छन् । जनताको मनमा सधैका लागि बास बस्ने इच्छा पूरा गर्नुछ भने आफू कुदेर होइन, डेढ लाख प्रहरीलाई सशक्त रुपमा रातदिन परिचालन गरेर उनले समाजमा शान्ति सुरक्षा कायम गर्न सक्नुपर्छ ।

 

 

बिसं २०१७ सालपछि फुटेको नेपाल कम्युनिष्ट पार्टी लगभग ६० वर्षपछि जुटेर पुच्छर छोड्ने निर्णय गरेका छन् । के अब नेकपा पुच्छर नभएको पार्टी बनेको विश्वास गर्न सकिन्छ ?

 

 

‘नामका वामपन्थी, कामका दक्षिणपन्थी’ कम्युनिष्टहरु बजारमा नभएका होइनन् तर औंल्याउन खोजीएको निर्वाचनमा पाएको भोट र संसदमा गरेको प्रतिनिधित्वको आधारमा ९८ प्रतिशत भन्दा बढी कम्युनिष्टहरु एउटै पार्टीमा समाहित हुनु भनेको एकै छानामूनि बसेर संभावना र समस्यावारे छलफल गर्न तयार हुनु हो । यसअर्थमा एमाले र माओवादी पार्टीको एकिकरण आशालाग्दो लोकतान्त्रिक शुरुवात हो । यो कति लोकतान्त्रिक हुन्छ, हेर्न बुझ्न र थाहा पाउन अब धेरै समय कुरिरहन पर्दैन ।

 

 

बामपन्थी भनिने कम्युनिष्टहरु एकैठाउमा बस्ने र विभिन्न धारहरुलाई व्यवस्थापन गर्दै अगाडि बढ्ने विश्वासका साथ लोकतान्त्रिक पद्धतिमा चल्ने सहमतीले दक्षिणपन्थीहरुमाथि पनि प्रचण्ड दवाव सिर्जना गरेको छ ।

 

 

यसअघि कम्युनिष्ट पार्टीहरुको विभाजनले सधैं सत्ता सुमरिरहेकाहरु, यतिखेर रनभुल्लमा मात्र परेका छैनन्, उनीहरुका अभिव्यक्ति सुन्ने हो भने बेहोसीमै बर्बराई रहेको देखिन्छ । ’em होसमा भएका भए सुर र ताल नमिलेका भनाइहरु किमार्थ बोल्दै हिड्ने थिएनन् । हिजो सत्ताको तर मारिरहेकाहरुको के बेहाल नै भएको हो त ?

 

 

अस्वाभाविक हुनेहरुको हाल त देखियो, तर स्वाभाविक हुनेहरुको हाल पनि उत्साहजनक देखिदैन । भर्खरै अनेकबाट एक बनेको नेपाल कम्युनिष्ट पार्टीका पूर्व एमाले र माओवादीहरुभित्र पनि स्वाभाविकता देखिदैन । ‘बर्मा गए पनि कर्म संगै जान्छ बाबै’ भनेझैं स्थानीय, प्रदेश र संघीय संसदमा दुई तिहायी सदस्य भएको नवगठित नेकपा, देशभर सशक्त कार्यकर्ता र संगठित सदस्यहरु भएको सबैभन्दा ठूलो पार्टी पनि हो । सरकार झण्डै दुई तिहायी बहुमतको छ तर चुनौतिहरुको पहाड पनि त्यत्तीनै लम्बाइ, चौंडाइ, उचाई र मोटाइको देखिन थालेको छ ।

 

 

कसरी नेकपाले आन्तरिक रुपमा यतिधेरै सदस्य, कार्यकर्ता, नेता र समर्थकहरुको भीडलाई व्यवस्थित गर्ला ? कसरी तिनलाई एउटै लयमा अगाडि बढाउला ? एउटा नेता एकातिर र अर्को अर्कातिर अर्थात ‘लुकिङ्ग लण्डन, टकिङ्ग टोकियो’ नै बन्ने हुन् भने एउटै नेकपा बन्नुको के अर्थ भयो ? देशका समस्याहरुलाई यसैगरी भद्रगोल किसिमले कायमै राखिरहने हो भने परिवर्तनको के अर्थ ? के उपयोगीता ?

 

 

नेकपाको नेतृत्व अगाडि सबैभन्दा ठूलो चुनौति भनेकै सातवटा नदीहरु मिलेर बनेको हिजोआजको चोभार भएर बग्ने बागमती बन्ने कि सातवटा कोही मिलेर बनेको बिशाल सप्तकोशी बन्ने ? सवाल अगाडि तेर्सिएको छ । विगतको जस्तै अनेक स्वभाव, चरित्र, बानीबेहोरालाई निरन्तरता दिइरहने कि नयाँ विचार, व्यवहार र योजनाका साथ नीतिनियम पालना गर्दै अगाडि बढ्ने ?

 

 

एकदमै भिन्न बुझाइको बिचार र शैलीबाट शिक्षित, दीक्षित र परिचालित नेताहरुलाई एउटै नीति कार्यक्रमबाट परिचालन कसरी गर्ने ? कसरी सबैको शक्ति एकै ठाउमा लगाएर जुगजुग सम्म देशमा हुन नसकेका कामहरु गरेर छोटो समयमै देशलाई समृद्ध र आमनेपालीलाई सुखी बनाउने ?

 

 

गृहमन्त्रालयबाट शुरुवात गरौं !

 

 

यतिखेर देशको गृहमन्त्री छन्, रामबहादुर थापा ‘बादल’ ! बादल त्यस्तो बहुचर्चित नाम हो, जो माओवादी जनयुद्धको समयमा पनि बहुतै सुनिन्थ्यो । माओवादी आन्दोलनले शान्तिपूर्ण राजनीतिको बाटो अंगालेपछि पनि बादलको नाम चर्चामा रहिरहेकै हो तर पहिलो संबिधानसभापछि प्रधानमन्त्री प्रचण्डको पहिलो प्रधानमन्त्रित्वकालमा रक्षामन्त्री रहेका बादल सेनापति रुकमांगत कटुवाल हटाउने काण्डपछि सिनबाटै हराएका थिए ।

 

 

दशवर्षपछि तिनै बादल देशको सबैभन्दा सशक्त र आमजनताको जीवनमा प्रत्यक्ष सरोकार राख्ने गृहमन्त्रीको कुर्सीमा बिराजमान हुन आइपुगेका छन् । दशवर्षमा खोलो पनि फर्कन्छ भन्ने लोकोक्ति रहेको समाजमा बादलको पुनरागमन पहिले थाँतिरहेका कामलाई नयाँ सन्दर्भमा सम्पन्न गर्नका लागि हुनसक्छ ।

 

 

जिम्मेवारीको काम फत्ते गरेरै छाड्ने, काविल रणनीतिबाज, सेक्युरिटी सिष्टममा अब्बल मानिने बादल ढुंग्रो नलुकाई भन्ने हो भने उपयुक्त गृहमन्त्री हुन् । दुई दशकअघिका काबिल गृहमन्त्री र हालका प्रधानमन्त्री केपी ओली मन्त्रिमण्डलका प्रभावशाली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हुन् भन्दा कत्ति फरक पर्दैन पनि !

 

 

बादलमा सुम्पिएको जिम्मेवारी पूरा गर्न सक्ने क्षमता मात्र होइन कि काम पाएको दिनदेखि नै उनी सक्रिय पनि देखिएका छन् । प्रकृतिमा पनि बादल गृहमन्त्री बनेपछि पानी परेको प¥यै छ । समाजमा कायम गर्नुपर्ने शान्ति सुरुक्षादेखि सतहमा देखिएका अनगिन्ती समस्याहरु झिना मसिना नै किन नहोउन्, त्यसपछाडिका कारण उनले छर्लंगसंग बुझेको देखिन्छ । नत्र थोरै दिनमै उनले चालेका कदम यति प्रभावकारी र जनप्रिय किमार्थ हुने थिएनन् ।

 

 

बादलले चालेका अहिलेसम्मका चाललाई हेरेर के अनुमान गर्न सकिन्छ भने समस्याका भित्रसम्म गाडिएका जराहरुलाई नकाटेसम्म बाहिर पलाएका हाँगा काटेर मात्र गंभीर समस्याबाट देश र जनताले मुक्ति पाउन सक्दैनन् । जनताको ज्यूधनको सुरक्षा हुन सक्दैन ।

 

 

बिजुलीका कुलमान घिसिङ्गले देशमा वर्षौंवर्षदेखि जलविद्युतका सिण्डीकेटले गरेको लोडसेडिङ्गको अँध्यारोलाई जसरी उज्यालोमा रुपान्तरण गर्न सफल भए, त्यही अनुपातमा त नभनौं तर बसव्यवशायीको सिण्डीकेटलाई किनारामा धकेल्न बादलको सफलताले जनताको मन जित्नु पनि चानचुने कुरा होइन । यसले बादललाई आगामी दिनमा ट्रकवाला, हवाई उड्डयन, पेट्रोलियम ढुवानी, ट्याक्सी लगायत सिण्डिकेटलाई चिरफार गर्न अभिप्रेरित गरेको हुनुपर्छ । यसमा स्वयम् बादल र सरकारको उर्जा अवश्य खर्च हुने छ तर यी नगरी नहुने अवयव हुन् ।

 

 

पूर्व सोभियतसंघ पढेका बादललाई अवश्य नै थाहा हुनुपर्छ कि कुनै पनि आक्रमण गर्नु अगाडि आउने चुनौतिको समाधान गर्ने तयारी पूर्णरुपमा गरिसकेको हुनुपर्छ । बस व्यवशायीको सिण्डिकेट तोड्दा तयारीमा भएका केही कमजोरीले गर्दा नै अर्को रुपबाट तिनले टाउको उठाउन खोजेको आभाष जनताले गरेका छन् । ’cause बस सिण्डीकेटवाला अझै पूर्ण रुपमा निमिट्यान्न भैसकेका छैनन् । पछिल्ला केही उदाहरणले यसलाई संकेत पनि गरेका छन्, कालोधन र शक्तिको दुरुपयोग गरेर बेइमानी गर्ने दुष्प्रयत्न जारी नै छ ।

 

 

प्रहरीको ओभरहल गर !

गृहमन्त्री बादलले प्रारंभमै आमजनताको जीवनसंग जोडिएको सार्वजनिक यातायातको सिण्डीकेट तोडेकाले जनताको स्यावासी त पाए तर उनी यसैमा अलमलिएर बसिरहे भने बादल पनि नारायणहरि हुने छन् । जनताको मनमा सधैका लागि बास बस्ने इच्छा बादलको छ भने उनले आफू कुदेर होइन, डेढ लाख प्रहरीलाई सशक्त रुपमा रातदिन परिचालन गरेर समाजमा शान्ति सुरक्षा कायम गर्न सक्नुपर्छ ।

 

 

समाजलाई शान्तिसुरक्षाको प्रत्याभूत गराउदै देशमा अनुशासन कायम गर्न बादलले नेतृत्व गरिरहेका जनपद, सशस्त्र तथा गुप्तचर प्रहरीलाई इन्ट्याक्ट राख्नै पर्छ । प्रहरीभित्रको अराजकता’bout थाहा पाउन लाइन लागेर भ्रष्टाचारको कारवाहीमा जेलमा रहेका प्रहरी पूर्वप्रमुखहरुलाई नै हेरे पुग्छ । यसले प्रहरी भित्रको भ्रष्टाचारको घैंटोलाई छताछुल्ल पार्छ ।

 

 

पूरै प्रहरीको ‘¥याङ्क एण्ड फाइल’ भ्रष्टाचार, हत्याहिंशा, लुटपाट, लागुपदार्थ–सुन तस्करी, मानव वेचविखन जस्ता अपराधहरुमा नराम्ररी मुछिएको छ । यसले सकल प्रहरी जवानहरुको अनुहारमा कालोमोसो पोतेको छ । जसलाई पखाल्न प्रहरीभित्र प्रहरी भनेको के हो, पूरै ओभरहल नगरी बुझाउनै सकिदैन ।

 

 

यसकारण गृहमन्त्री बादल, प्रहरीमा भर्ना हुँदा दिएको तालिम, प्रशिक्षण लगायत सबै कुरा बदलिदो सन्दर्भमा काम नलाग्ने भएकोले संपूर्ण जनशक्तिलाई पुन समय सापेक्ष रुपमा प्रविधि, संचार, कार्यदक्षता र अनुशासनको तालिम दिएर अपडेट गर्नैपर्छ । यदि यसलाई समयमै तिमीले गर्न सकेनौ भने हे, बादल तिम्रा सपनालाई प्रहरीको भ्रष्ट, बेइमान र खलिखाएको जुंगे हबल्दारले देब्रेहात चलाएरै टुस बनाइदिनेछ ।

 

 

त्यसैले प्रहरीलाई आधुनिकीकरण गर्न ढिला नगर बादल ! यदि तिमी साँच्च्ौ सच्चा र खारिएका कम्युनिष्ट हौ भने चीनको तातोपानी नाकाको वा अहिलेको रसुवा गढी नाकाको पारीपट्टिको प्रहरी जस्तै चौविसै घण्टा अनुशासित भएर उभिने शालिक जस्तै प्रहरी बनाउन लाग, नकि पाइलै पिच्छे घुष नखाए ओरको सिन्को पर नसार्ने भारतीय प्रहरी ।

 

 

बादल तिमीलाई थाहा छ, खिया लागेको हतियारले च्याँग्रा पनि काट्न सकिदैन । त्यसैगरी दैनिक शारिरिक अभ्यास गरेको, अनुशासित, तनक्क आइरन गरेको सफा लुगा लगाएको, भान्छा, ट्वाइलेट चटक्क परेका सफा, प्रस्तुत हुँदा नरम तर काममा पोख्त र अपराधीहरुका लागि प्रहरी भन्ने वित्तिकै सातो जाने छवि भएको हुनुपर्छ । तर छिमेकी देशहरुको तुलनामा हाम्रो प्रहरीको छवि कत्ति राम्रो छैन ।

 

 

घरमा पालेको कुकुर त रातभर पुच्छर हल्लाएर हिंड्छ, घरको सुरक्षा गर्छ । कसैले छुसुक्क ग¥यो कि घुक्न थाल्छ । देशले यतिधेरै लगानी गरेर, तालिम दिएर सुयोग्य बनाउदै हातमा हतियार दिएका प्रहरीले रात होस कि दिन, अपराधीले साम्राज्य कायम गरेका ठाउमा गएर शान्ति सुरक्षा कायम गर्नलाग्नु पर्दैन ? अपराध भयो भनेर बोलाउदा पनि फोन नउठाएर बस्ने गैरजिम्मेवार प्रहरी हुनै सक्दैन । बोलाएपछि पनि एक घण्टापछि पुग्ने सत्य सेवा सुरक्षा हुन सक्दैन ।

 

 

आफ्नो ड्युटीको समयमा मोबाइल खेलाएर बस्ने, सार्वजनिक ठाउमा, ड्युटीमा रहेका बेला थुनुवाहरुका मान्छेहरुसंग बसेर रक्सी खाइरहेको प्रहरी ड्रेसमा भए पनि त्यो प्रहरी हुँदै होइन । उ त एकदमै चनाखो, सतर्क र आफ्नो जिम्मेवारीमा सजग जवान हो र हुनुपर्छ । तबमात्र सर्वसाधारण जनताको नजरमा उ वास्तविक प्रहरी हुनसक्छ ।

 

 

प्रहरी त्यस्तो निकाय हो, कसैले नबोलाउदा पनि अपराधीबाट हरेक नागरिकलाई सुरक्षा दिने राष्ट्रिय धरोहर पो हो । भुत्ते हतियार जस्तो प्रहरी हुनु देशकै लागि दूर्भाग्य हो । प्रहरी भनेको ल एण्ड अर्डरकै लागि दत्तचित्त हुनैपर्छ । यसमा लागेको खिया हटाउन लाग बादल, तिमी त दशवर्षे जनयुद्धका नायक हौ ! त्यसको इज्जत तिमीले पनि राखेनौ भने कस्ले राख्ला ?

 

 

चुस्त हाइवे ट्राफिक

कुन देशको प्रहरी चुस्त र दुरुस्त छ भनेर थाहा पाउन गृहमन्त्रीलाई सोधिरहनै पर्दैन, जुन राजमार्ग भएर स्वदेशी र विदेशी हजारौं यात्रुहरु यात्रा गरिरहेका हुन्छन् त्यहाँका प्रहरीको व्यवहारबाट जो कसैले त्यस देशको प्रहरीको हैशीयत थाहा पाइहाल्छ । प्रहरीको व्यवहारले त्यो देशको सुशासनको अवस्थालाई छ्याँग पारिहाल्छ ।

 

 

हाम्रा हाइवेहरुमा हुने भद्रगोल, हेराफेरी, नियम कानूनको उलंघन, ट्राफिक जाम, सार्वजनिक यातायातको बेथिति, दूर्घटना र अपराधीहरुको बोलवाला बताइरहनै पर्दैन । यसमा सुधार नगरीकन हाम्रो यात्रा सुमधुर र सफल बन्नै सक्दैन । खाना खाने ठाउको सिण्डिकेट, सडक जाम, यात्रुहरुको नग्न लुटले नै कुन ठाउमा प्रहरीले सहजीकरण गरेर आवागमनलाई सहज बनाइदिन सक्छ, जगजाहेर छ ।

 

 

हाइवेबाट लंग रुटका बसहरु कतिवटा कहाँकहाँ जान्छन् ? कहाँ खाना खान्छन् ? कहाँ दिशापिसाव गर्छन् ? अनि हाइवेमा खाना खुवाउने गुणस्तरीय होटल कतिवटा छन् ? तिनको क्षमता कतिजनासम्मको छ ? यसको आधारमा प्रहरीले काठमाण्डौंबाट बाहिर जाने गाडीलाई थानकोटमा र बाहिरबाट आउने भए तत्तत् ठाउमा गाडीलाई यतिनम्बरको होटलमा खाना खुवाउने भनेर पास दिनुपर्छ ।

 

 

यसो ग¥यो भने होटलवाला पनि यतिजनालाई मैले खाना बनाउनु पर्छ भनेर तयारी गरेर बस्छ । भनौंन, दिनमा हजार गाडी जान्छन् र आउछन् र दुईसयवटा होटल छन् भने त्यसको आधारमा ब्रेकफाष्ट, लन्च र डिनरको टिकट दिएर गाडीको सहज व्यवस्थापन गर्न सकिन्छ ।

 

 

यसोगर्दा एकै ठाउमा भीड हुनपाउदैन । यात्रुलाई दिशापिसाव गर्न सहज हुन्छ र होटल चलाउने व्यापारीलाई पनि हौसला हुन्छ । नियमको पालना नगर्नेलाई कडाइकासाथ कारवाही गर्नुपर्छ ।

 

 

जहाँसम्म हाइवेका होटलहरुको खानाको स्तर, सरसफाइ, होटलको क्षमताको सवाल छ, यो पनि यससम्बन्धी निकायका विशेषज्ञले एकरुपता ल्याउने गरी तालिम दिनुपर्छ । अनुगमन गर्नुपर्छ । यसो नगर्ने हो भने व्यवशायीले कर तिर्नुको, सवारीधनीले तिरो बुझाउनुको के सार्थकता रहन्छ ? नियम कानून उलंघन गर्ने, खानाको स्तर विगार्ने बासी सडेगलेको खुवाउने, सरसफाइ नगर्नेहरुको लाइसेन्स खोसेर कारवाही गर्नुपर्छ । अनि पो हाइवेमा अनुशासन कायम हुन्छ ।

 

 

जापानबाट फर्किएका एक मित्रले उतैको अनुभव सुनाएपछि उनलाई भनें– हेर मित्र, यस्तो ग¥यो भने यहाँ त अधिनायकवाद हावी हुन्छ भनिन्छ । ढुक्क होउ, उनले भने । यो पूरै लोकतान्त्रिक पद्धति हो ।

 

 

उनले थपे, जापानमा त डेड घण्टा गाडी चलाएपछि चालकले २० मिनेट आराम गर्नैपर्छ । चालकले ड्रेस, नाम र नम्बर ट्याग भिन्नै हुनुपर्छ । यात्रुले सहजै चिन्ने ड्रेस लगाएर मात्र ड्राइभरले हाइवेमा गाडी चलाउन पाउछ । यात्रुले दिशापिसावगर्ने, चिया चुरोट यही बेला खाने गर्छन् । यसोगर्दा तातेको गाडीले पनि आरामी पाउछ । गाडी पनि धेरै समय टिक्छ । यात्रुले पनि आरामीका साथ यात्रा गर्न पाउछन् । दूर्घटना भई मानवीय क्षति हुन पाउदैन ।

 

 

खै, हाइवे हस्पिटल ?

हाम्रा हाइवेहरुमा ट्राफिक नियमको कुनै पालना हुँदैन । न प्रहरीलाई मतलब छ, नत गाडी संचालकहरुलाई । एउटै ड्राइभरले दिनरातभर गाडी चलाउछ । गाडीको अवस्था, गतिको सिमा तोकिएको छैन । तोकिएको कागज देखाए पनि त्यसको पटक्कै पालना गरिदैन ।

 

 

चालकहरुको आँखाको जाँच, निद्रा पुगे नपुगेको, प्रेसर के छ ? जाँड, रक्सी, गाँजा, भांग खाएको छ कि छैन ? यी सबै जाँचेर मात्र हाइवेमा गाडी चलाउनु पर्छ । उलंघन गर्नेको लाइसेन्स पाँच वर्ष वा सधैका लागि खारेज गर्नुपर्छ ।

 

 

तर नियमको पालना नहुनाले अनाहकमा हरेक वर्ष हजारौं मानिसले अनाहकमा ज्यान गुमाउनु परिरहेको हुन्छ । यसका लागि नियमको पालना कडाइसाथ हुनुपर्छ । उलंघन गर्नेलाई कठोर दण्ड दिनैपर्छ ’cause एउटा ड्राइभरको हेलचक्राइका कारण सयौं यात्रुको अमूल्य जीवन धरापमा पर्छ ।

 

 

नपर्नु पर्ने दूर्घटनामा परेर धेरैको अनाहकमा ज्यान जाने मात्र होइन, समयमा उचित उपचार नभएर पनि धेरै यात्रुको इहलीला सकिन्छ । तत्काल उपचार गरेर मानिसलाई बचाउनु पर्छ ।

 

 

यसका लागि गृहमन्त्री बादलले ‘हाइवे एक्सिडेन्टल हस्पिटल’ बनाउने विशेष योजना ल्याए भने सर्बत्रबाट स्वागत हुनेछ । भनौंन, काठमाण्डौं मुगलिंग बीचमा, मुगलिंग पोखराको बीचतिर पायक पर्ने ठाउमा, पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउहरुमा कम्तिमा सय किलोमिटर भन्दा कम दुरीमा प्रत्येक ठाउमा ५० बेडका हस्पिटल खोल्ने योजना कार्यान्वयन गर्न लागि हाल्नुपर्छ । एम्बुलेन्स, स्टाफ, नर्स, डाक्टर, अक्सिजन, अपरेसन थेटर, औषधिको उचित व्यवस्था हुनुपर्छ । प्रत्येक यात्रु, चालकको बीमा गर्नुपर्छ ।

 

 

ग्याँस, पेट्रोल र एसिड बुलेट

राजमार्गमा धेरै थरि गाडीहरु गुड्छन् । तिनीमध्ये अहिलेसम्म खासै ध्यान नदिइकन अत्यन्त प्रज्वलनशील पेट्रोयिम पदार्थ बोकेका ट्याँकर, टनका टन ग्याँस बोकेका बुलेट र एसिड जस्तो खतरनाक पदार्थ बोकेका गाडीहरु पनि सामान्य रुपमा जहिलेसुकै गुडीरहेका, जहाँसुकै रोकिइरहेका, बास बसिरहेका देखिन्छन् । यिन’bout कहीकतै कुनै चासो वा ध्यान दिएको पाइदैन । तर यी पदार्थ बोकेका गाडीहरु यति संवेदनशील हुन्छन् कि केही गरी यी दूर्घटना भए वा यिनमा कसैले बद्नियत राखेर केही गरिदियो भने भयानक दूर्घटना निम्तिएर राजमार्ग छेउमा गाउ, बजार र अन्य सवारीसाधन ध्वश्त भइ धनजनको ठूलो क्षति हुन सक्छ । त्यसैले यस्ता विशेष गाडीहरु संचालन गर्दा कहाँ रोक्ने, कति बेला चलाउने, कहाँ पार्किंग गर्ने जस्ता कुरामा संबन्धित निकायहरुको विशेष ध्यान जाओस् ।