अन्ततः हिंगले टालोमा सुरक्षित महसुस- भीम भुर्तेल

हिंग बाधेको टालोमा बेरिएर अब प्रचण्डले अश्तित्व बचाउने हुन वा हिंग बाधेको टालोमा नै विलाएर सकिने हुन त्यो चाही हिंगको धनत्व र त्यसको खिइने दरले नै बताउने छ । हिंग बाधेको टालोमा प्रचण्ड सुरक्षित रहुन हार्दिक शुभकामना ।

 

२०६४ सालको चैत्रको अन्तिम साता थियो । पहिलो संविधानसभा निर्वाचनको प्रचारको अन्तिम अन्तिमतिरको अवस्था पुगेको थियो । पुर्वी नेपालको कुन स्थानमा हो अहिले ठ्याक्कै ठाउँको नाम याद भएन, सायद त्यो इटहरी हुन सक्छ, त्यहाँ आयोजित चुनावी सभामा तत्कालिन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्वोधनमा एउटा महत्वपुर्ण कुरो गरेका थिए, नेपालको बामपन्थी आन्दोलनको मुलधार कुन हो भन्ने बिषयमा । उनको त्यो भनाई राजधानीका छापा तथा विधुतीय सञ्चार माध्यममा निकै चर्चाको बिषय बन्यो । अहिले पनि धेरै नेपालीले सम्झिरहेको हुनुपर्छ, त्यो बिषय ।

 

उनले भनेका थिए, “नेकपा एमाले हिंग बाँधेको टालो हो । नेकपा माओवादी चाँही हिंग हो । हिंग नै आफै आइसकेपछि अब हिंग बाधेको टालोको काम छैन ।” मतदातालाई तत्कालिन समयमा मत माग्दै प्रचण्डले गरेको दावी थियो ।

 

हुन पनि त्यसको करिब दुई सातापछि निर्वाचन परिणाम पनि त्यस्तै आयो । नेकपा माओवादी सिटको आधारमा संविधानसभामा पहिलो ठुलो पार्टी बन्यो । नेकपा एमालेलाई सिटको आधारमा तेस्रो पार्टीमा खुम्चाई दिए जनताले ।

 

२०६४ सालदेखी २०७४ सालसम्मको एक दश बर्षहरुले नेपाली राजनीतिमा यस्तो फेरबदल ल्याई दियो । ‘को डाक्टर हो र को बिरामी हो’ त्यो छुट्याउनै नसकिने अवस्था पैदा भयो । भारतले नेपालले आफु खुसी संविधान जारी गरेको झोकमा नेपालमाथि नाकावन्दी लगायो । एमाले माओवादी मिलेर सुरुमा यसको डटेर सामना गर्ने अभिव्यक्ति दिए । पछि नेकपा माओवादी यसबाट पछि हटेर आफै प्रधानमन्त्री बने यसका अध्यक्ष प्रचण्ड ।

 

अहिले ठिक एक बर्ष अगाडि स्थानीय निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेर लडे । नेकपा एमाले यति हुदा हुदै सवैभन्दा ठुलो पार्टी बन्यो, सिट संख्या र जनमतको दुवै आधारमा ।

 

नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसको सत्ता साझेदार दल कायमै राखेर हठात अन्य साना वामपन्थी दलसंग मिलेर नेकपा एमालेसंग वामगठबन्धन निर्माण गरे संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य बनाएर ।

 

यो गठबन्धन निर्माण हुने वित्तिकै नेपाली राजनीतिमा नयाँ तरङ्ग आयो, तर त्यो धेरै दिनसम्म कायम रहेन र त्यसले जनतालाई विश्वस्त पार्न सकेन भन्ने ठानेर उक्त गठबन्धन निर्माणकर्ता प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले बुझे र तत्कालै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच पार्टी एकता हुने धोषणा गरे ।

 

यो धोषणाले गर्दा निर्वाचनमा यो गठबन्धनले अपेक्षा गरेभन्दा अझै धेरै नैै सफलता हासिल गर्न सक्यो । जनतालाई लोभ्याउनको लागि भनिएको पार्टी एकता अहिले वास्तविकतामा परिणत गर्न प्रचण्डलाई भालुको कन्पट भै रहेको थियो ।

 

अब चाही साच्चिकै पार्टी एकता हुन्छ भन्ने समाचार आइरहेको भए पनि वास्तवमा भन्ने हो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच  पार्टी एकिकरणको घोषणा नहुँदासम्म धेरै मानिस विश्वास गर्न हिच्किचाइ रहेका थिए । यसको खास कारण पुष्पकमल दाहालको अस्थिर र निर्भरगर्न अयोग्य (अनरिलाइएबल) चरित्र एक प्रमुख कारकको रुपमा रहेको छ ।

 

खासमा अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीचको एकिकरण होइन । यो नेकपा माओवादी केन्द्रलाई नेकपा एमाले भित्र समाहित गराउने मात्र हो । प्रचण्डको राजनीतिको अश्तित्व अब पार्टी एकिकरण नगरि जोगिनेवाला छैन । ’cause एकिकरण नगरे व्यक्तिगत रुपमा वा सामुहिक रुपमा कार्यकर्ता एमालेमा जान्छन् ।

 

अहिले प्रचण्डको पार्टी एमालेमा मिसाउदा कसले कति र कुन तहमा नेतृत्व पाउने भन्ने बिषयमा कुरो मिलाउन समस्या भएको हो । नेकपा माओवादी केन्द्रको नेतृत्व र यसका कार्यकर्ता पङ्तीले यसलाई कसरी लिन्छन, दुई पार्टी एकिकरण गर्दा खेरी स्वाप रेसियो पत्ता लगाउन अलिकता कसरत लाग्ने भएर यो ढिलाई भएको थियो । तर, प्रचण्डले स्वाप रेसियो खोज्ने र एमालेले त्यसलाई मान्ने अवस्था छैन र थिएन ।

 

अब पार्टी एकिकरणको टुङ्गो लागेको भन्ने कुरो चाही के हो भने प्रचण्डले २०६४ सालमा आफ्नो पार्टी नेकपा माओवादीलाई हिंग भनेको त्यो हिंग अब त्यस बेला भनेको त्यहि हिंग बाधेको टालोमा मात्र सुरक्षित हुन्छ भने महसुस भित्रैबाट गरेकाले गर्दा सम्भव भएको हो ।

 

तर, भैदियो के भने प्रचण्डको नेकपा माओवादी हिंग खिइएर यति सानो भै सक्यो कि अब उक्त हिंग बाधेको टालोमा फेरी बेरिदा हिंगकै अस्तित्व नै समाप्त हुने खतरा छ । अहिले प्रचण्डको बार्गेनिङ्ग भनेको अलिकता भए पनि उक्त हिंगको अश्तित्व बचाउनु हो । एमाले अध्यक्ष ओलीले हिंग बचाउन सकेजति जे सुकै गर्न तयार भएको आश्वासन दिएको हुनु पर्छ, टालोमा थोरै हिंग भए वासना अझै धेरै आउँछ भनेर ।

 

हिंग बाधेको टालोमा बेरिएर अब प्रचण्डले अश्तित्व बचाउने हुन वा हिंग बाधेको टालोमा नै विलाएर सकिने हुन त्यो चाही हिंगको धनत्व र त्यसको खिइने दरले नै बताउने छ । हिंग बाधेको टालोमा प्रचण्ड सुरक्षित रहुन हार्दिक शुभकामना ।