पुतलीबजारको सिंहदरबार ! –कृष्णमुरारी भण्डारी

कस्तो रहेछ स्याङ्गजास्थित पुतलीबजारको सिंहदरबार ? राजधानीको सिंहदरवारमा जस्तै त्यहाँ पनि भित्र प्रवेश गर्दा पास चाहिने रहेछ ? प्रहरी-सेनाले पहरा दिएको हुने रहेछ ? सिंहदरबार भित्र पसेपछि त्यसका प्रमुखलाई भेट्न पाइने रहेछ ? कर्मचारीहरुले समस्याको मुठो लिएर आउने सर्वसाधारणका गाँठा फुकाएर पठाउदा रहेछन् कि बुढो सिंहदरबारमा जस्तै गाँठोलाई झन् कँसेर फुकाउनै नसकिने गरी जनता जनार्दनलाई नारायणहरि बनाउँदा रहेछन् ?

एक वर्ष अघि शुरु भएको स्थानीय निकाय निर्वाचनको प्रारम्भमै भनियो, यो चुनावले अब देशमा एउटा सिंहदरबार होइन, मुलुकभर ७ सय ६० वटा थप सिंहदरबार बनाउँछ । सिंहदरबारको अधिकार सबै गाउ-नगरमा पुर्याउछ ।
हरेक गाउँपालिका र नगरपालिकामा चुनिएका जनप्रतिनिधिको आफ्नै सिंहदरबार हुनेछ । र, कसैले पनि सिंहदरबारको खोजी गर्दै काठमाण्डौंसम्म धाई रहन पर्दैन । आफ्नै सिंहदरबारले उनीहरुको स्थानीय निकायलाई सञ्चालन गर्ने छ ।
केही दिन अघि पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट चार नम्बर प्रदेशको राजधानी पोखरा जाँदा स्याङ्गजा जिल्लाको सदरमुकाम पुतलीबजार नगरपालिकामा बास बस्नु प¥यो । त्यहाँको सिंहदरबारमा केही वडाध्यक्षसंगै मेयर सीमाकुमारी क्षेत्री र उपमेयर महेश पुरीलाई भेट्ने अवसर पाइयो । मनमा लागेको खुलदुली मेट्ने प्रयास पनि भए ।
कस्तो रहेछ पुतलीबजारको सिंहदरबार ? राजधानीको सिंहदरबारमा जस्तै त्यहाँ पनि भित्र प्रवेश गर्दा पास चाहिने रहेछ ? सिंहदरबार भित्र पसेपछि त्यसका प्रमुखलाई भेट्न पाइने रहेछ ? कर्मचारीले मतदाताको समस्याको गाँठो फुकाएर पठाउँदा रहेछन् कि पहिला जस्तै गाँठोलाई झन् कँसेर फुकाउँनै नसकिने गरी जनता जनार्दनलाई नारायणहरि बनाउँदा रहेछन् ?
स्याङ्गजा जिल्लाका पाँच वटा नगरपालिकामध्ये सदरमुकामस्थित पुतलीबजार नगरपालिकाको मेयरमा मात्र एकजना महिलाले चुनाव जितिन् भने बाँकी चारका उपमेयर महिलाले जितेका रहेछन् ।
गल्याङ्ग, वालिङ्ग, चापाकोट, भीरकोटमा महिला उपमेयर छन् भने पुतलीबजारकी मेयर क्षेत्री हुन् । उनी २०७४ वैशाखमा भएको निर्वाचनमा प्रत्यक्ष चुनाव जित्ने बिरलाकोटीकी महिला हुन् ।
पूर्व शिक्षिका क्षेत्री सशक्त, शालिन र केही गरेर देखाउँन कटिवद्ध महिला नेतृको रुपमा परिचित रहिछन् । त्यसैले उनलाई भेट्न कुनै आइतवार पर्खिनु परेन । सहजतासाथ उनी कुराकानी गर्न तयार भइन् । अरुका कुरा शान्त भएर सुन्ने र सकेसम्म चित्त बुझाएर जवाफ दिने गुरुआमा शैली रहेछ, उनमा ।
झट्ट हेर्दा आमराजनीतिक नेता कार्यकर्ताभन्दा पृथक उनको शैली र स्वभाव देखियो । जसले गर्दा पुतलीबजारका सर्बसाधारण मतदाता उनीसंग आकर्षित रहेको देखियो ! समस्या परेर नगरपालीका धाइरहेका एक मतदाताले भने, हाम्री प्रमुख चित्तबुझ्दो जवाफ मात्र होइन, सकेसम्म समस्या समाधान गराएर पठाउने दक्षता राख्छिन् ।

मेयरले क्षेत्रीले भनिन्, यो पदमा निर्वाचित भएको दश महिना भयो । स्थानीय निकाय गाउँपालिका होस् वा नगरपालिका बीस वर्षपछि जननिर्वाचित प्रतिनिधिहरु चुनिएर पुगेका हौं । देशमा बहुदल आएपछिको समयमा एक चौथाइ समय निर्वाचित जनप्रतिनिधि र तीन चौथाइ समय कर्मचारीले स्थानीय निकाय सञ्चालन गरेको हाम्रो अँध्यारो विगत छ ।
पुतलीबजार नगरपालिकाको १४ वटा वडा रहेछन् भने जनसंख्या करिव ५० हजार । पुरानो नगरपालिकामा गनिए पनि पुतलीबजारका वडाहरुको अवस्था अस्तव्यस्त मात्र होइन, दयनीय थियो । वडा कार्यालयसमेत नभएर भाडाको घर लिएर सञ्चालन गर्नु परिरहेको छ । कर्मचारीहरु कुनै वडामा पूरा संख्यामा छैनन् । कुर्सी घरी छैनन् ।
तालिम प्राप्त कर्मचारीको त कुरै छाडौं, सामान्य कर्मचारी पनि नभएकाले करारमा नियुक्त गरेर भए पनि जनतालाई सेवा दिन लागि परेका छौं । पहिलो वर्ष त हामीले आफ्नै व्यवस्थापन गर्दै पो काम चलाउनु प¥यो । खुशी केमा लागि रहेको छ भने, हिजो सदरमुकाममा बसेर काम गर्ने कर्मचारी थिए, आज स्थानीय वडामै बसेर वडाध्यक्षको नेतृत्वमा जनताको काम शुरु भएको छ ।
वडामै व्यस्त भएर आफ्नो वडामा के गर्ने, कहिले गर्ने, कसरी वडालाई सबै सुविधायुक्त बनाउने भन्ने कामको शुरुवात भएको छ । यसबाट गाउँ÷नगरका वडाहरु विस्तारै स्थानीय केन्द्र बनिरहेका छन् । ‘हेडक्वाटर’ भनिने नगरपालिका कार्यालयमा पनि सुधार आउन थालेको छ । तर, अझै पनि आधारभूत काम गरिरहनु परेकोले पुतलीबजार सरकार परिपक्व बनिरहेको छ । यस्तो अवस्थामा ६२ वटा नीति अगाडि सारेर त्यसैलाई कार्यान्वयन गर्न हामी भिडिरहेका छौं ।
पोखरा–बुटवल राजमार्गको २७ मिलोमिटर भाग हाम्रै नगरपालिका भएर सञ्चालित छ । सडक एकदमै सानो छ । सडकको दुबैतिर नगरपालिकाको बजारका घरहरु भएकोले धेरै नै अप्ठेरो छ । यो पुतलीबजारमात्र होइन, वालिङ्ग नगरपालिकाको पनि समस्या हो । यस्तो अवस्थामा यातायात र मानव आवागमन सहज बनाउन नालावाहेक छ मिटर चौंडा बनाउन नगरपालिका नै अग्रसर बन्नुपरेको छ, जबकी यो राष्ट्रिय राजमार्ग अन्तर्गत पर्छ ।
सडक चौंडा बनाउँदाका घर भत्काउनु पर्ने, मुआब्जा दिने काम राजमार्ग बन्दाको समयमा पछि गर्ने सहमतीमा तत्कालको अप्ठेरो फुकाउँन स्थानीय उपभोक्तासँग मिलेर नगरपालिका काम गरिरहेको छ । जनताले साथ दिइरहेका छन् । भित्री सडक विस्तार र नयाँ निर्माणको काम पनि चलिरहेछ ।
हामी अडान लिइरहेका छौं, निर्माणकार्य हिउँदमा गरौं र वर्षा अगाडि नै काम सकौं । होइन भने, विगतको रोगले हामीलाई पनि आक्रान्त पार्ने छ ।
दिसामुक्त पुतलीबजार घोषणा त भएको रहेछ तर अहिले स्थानीय तहमा गएर बुझ्दा थाहा भयो, नगरपालिकामै शौचालय नभएका घर कम रहेनछन् । भएका एकादुई सार्वजनिक शौचालय पनि भत्किएर काम नलाग्ने थिए । तिनको मर्मत र पाँचवटा नयाँ बनाउन थालिसकेका छौं ।
वर्षामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी पायौं । तर सडक पनि भत्किने, संरचना पनि । संचारमाध्यम हुन् वा स्थानीय वासिन्दा नगरपालिकाका नयाँ जनप्रतिनिधिले काम गर्न सकेनन् भनेर आलोचना गर्छन्, कम्ति हैरान भएन ! उनले बिगतको अप्ठेरो’bout बताइन् ।
यही कुरा व्यवस्थापन र गा्रमीण÷शहरी विकासका प्राध्यापकसंग काठमाण्डौं आएर सोद्धा उनीहरुले भने–पुतलीबजारको सौन्दर्यीकरण, सामाजिक–सांस्कृतिक वस्तुको सम्बन्धन, प्रवद्र्धन र संरक्षणमा मौलिकता जोगाउँदै मेयरले काम गरिन् भने उनी सफल बन्न सक्छिन् । पुतलीबजारको मौलिकतालाई मात्र उजागर गर्न सके पनि त्यसको सुवाश देशभर फैलन सक्छ ।
पुतलीबजारका जनप्रतिनिधिले बुझ्नुपर्छ, आफ्ना वासिन्दाको मौलिक पहिचान । उनीहरु आफ्रनै विविधता र विशेषता जो आफैंमा पूर्ण छ, यसैलाई मेयरको नेतृत्वमा उजागर भयो भने यो नेपालकै नमूना नगरपालिका बन्न सक्छ ’cause यहाँको जस्तो प्राकृतिक स्रोत साधन अन्यत्र छैन ।
जल, जमिन र जंगलको संबद्र्धन, प्रवद्र्धन र संरक्षण गरेर नै पुतलीबजार अग्रणी बन्न सक्छ । ८२ वटा सामुदायिक वन यो नगरपालिका भित्रै रहेछन् । सोच्नुहोस् त तपाईको नगरमा ८२ वटा प्राकृतिक पार्क छन् जसको सञ्चालन त्यँहीका सर्वसाधारण उपभोक्ताले न्यायोचित रुपमा गरिरहेका छन् । त्यहाँ कति रुखविरुवा, फलफूल, चराचुरुंगी र जनावरहरु होलान् ?
आँधीखोला जस्तो उर्वर भूमि सिँचाइ गरिरहेको नदी यही बगेको छ । यो नदीमा कति प्रकारका माछा होलान् ? जलविद्युतको सम्भावना ? अनुमान गर्न सक्नुहुन्छ ? ग्रामीण पर्यटनको लागि स्याङ्ग्जा संसारभर प्रख्यात छ र आफ्नो अनुभव नेपालमा मात्र होइन, अरु देशमा पनि अनुभव साटासाट गरि रहेछन् ।
रसिला सुन्तलाको त स्याङ्गजा खानी नै हो । गीत, संगीत र मौलिक रोदीघरे संस्कृति यही छ । विश्वविख्यात लडाकुको पल्टनको त कुरै गर्नु पर्दैन ।
तर, मेयरको नेतृत्वले के कुरा राम्रोसंग हृदयंगम गरोस् भने आर्थिक क्रियाकलापवीना उसले थालेका काम पूर्ण हुन सक्दैनन् । गाउँमा पहिलेदेखिकै चर्चित भनाइ हो–‘खरच पठलत हम बचल, नपठल त हम मरल !’

साधारण कखग जानेको मानिसले लेखेको चिठीले पनि उसको अप्ठेरो के हो थाहा पूरै थाहा पाउँन सकिन्छ भने अहिलेको स्याङ्गजा र अझ सदरमुकाम पुतलीबजारका सन्तानहरु नेपालको प्रशासन लगायतका क्षेत्रमा अग्रणी रहेका छन् । यस्ता साक्षर र शिक्षितबाट आर्थिक स्रोत, पहिचान, परिचालन र स्वाभलम्वी बनाउने ज्ञान नगरपालिका नेतृत्वले लिन चाह्यो भने आफ्नो मात्र समृद्धि होइन, अरु नगरपालिकालाई पनि योग्य अनुभवी दक्ष म्यानपावर पठाएर पुतलीबजार मोडललाई देशव्यापी रुपमा फिँजाउन पनि सक्छ ।
तर ती प्राध्यापकले औंलो ठड्याउदै भने, आफू सबल नभइकन, सवल बन्ने प्रयत्न नगरिकन केन्द्र सरकारको स्रोतमा मात्र यो नगरपालिकाको नेतृत्व भर प¥यो भने यसले गर्छु भनेका कामहरु कुनै हालतमा सम्पन्न गर्न सक्दैन । त्यसैले आफ्नै नगरको मानव स्रोत साधन सञ्चालनमा जनप्रतिनिधिहरुको विशेष ध्यान जाओस् ।
निर्वाचित प्रतिनिधिहरुले आफ्नो पूरै कार्यकाल स्वयम्सेवी बनेर जनताको सेवा गर्नैपर्छ । यसैका लागि जनताले उनीहरुलाई चुनेका हुन् । नगरपालिकामा कार्यरत कर्मचारी, प्राविधिकले आफ्नो ड्युटी निरन्तर पूरा गर्नैपर्छ । उनीहरुलाई यसैका लागि नगरपालिकाले सेवा सुविधा दिएको हो ।
स्थानीय तहका स्कूल, कलेज, पशु, कृषि लगायतका सरकारी–निजी कार्यालय, बैंक, बित्तिय संघसंस्था, सहकारी लगायतका संस्थाहरुको समन्वयात्मक परिचालन तीब्रगतिको विकासका निम्ति एकदमै जरुरी हुन्छ ।
नगरपालिकाका युवा–युवती, बयस्क–प्रौढहरुका लागि उचित वातावरण सिर्जना गरेर उनीहरुलाई अगाडि बढ्न नगरपालिका नेतृत्वले अभिप्रेरित गरिरहन सक्नुपर्छ । यसका लागि पुतलीबजार नगरपालिकालाई प्रष्ट भिजन र स्पष्ट तस्वीरका साथ पसिना चुहिने गरी निर्वाचित जनप्रतिनिधि उदाहरणीय काम गरेर अगाडि बढ्नुको विकल्प छैन ।
जनप्रतिनिधिको विकल्प भनेकै परिश्रम, परिश्रम र परिश्रम हो । डेलिभरि, डेलिभरि र डेलिभरि नै हो ।
एकैपटकमा सबै होइन, सबै वडाहरुमा एकदुई एकदुई वटा काम गरेर नै पुतलीबजार साँच्चै पुतली जस्तै सुन्दर बन्न सक्छ । जसरी हरेक वडाबाट एकएक ओटा फुलको थुंगा ल्याउने र एकै ठाउमा बाँध्ने हो भने फूलको गतिलो गुच्छा बन्छ त्यसैगरी वडावडा र टोलटोलमा काम गरिरह्यो भने नाम जस्तै पुतलीबजार पनि सुन्दर नबन्ने कुरै छैन ।


