शालिक र मालिकका कुरा

 

फ्लेक्स शालिकको एउटा अस्थायी प्रयोग थियो, हट्यो, र त्यसले ढाकेको ढल र फोहोर आफ्नै रुपमा फर्कियो, तिनमा कोरिएका  समृद्धिका सपना त्यस्तै कस्मेटिक र अर्को आएर भत्काउने नबनुन । मालिक खुशी बनाऊँन मात्रै शालिक थापना गरिएको हो भने बेलायती दार्शनिक एडमण्ड बर्कले भनेझैँ  “चाकरीले दिने-लिने दुबैलाई भ्रष्ट बनाउँछ”।

 

 

 

 

जव क्युवाका राजनेता फिडेल क्यास्ट्रोको सन २०१६को नोभेम्बरमा ९० बर्षको उमेरमा मृत्यू भयो, सबैले सोचेका थिए रसियाका भित्ता, नदी, र सडकमा लेनिन बाँचे झैँ क्युवामा क्यास्ट्रो बाँच्ने छन । तर, फिडेलका भाई र उत्तराधिकारी क्युवाका राष्ट्रपति, राउल क्यास्ट्रोले उनका दाईको अन्तिम इच्छा सुनाउँदा सबै छक्क परेका थिए।

 

 

कसैकसैले ३० देखि ४० हजार मान्छे मारेको दावी  र कसैले ९७,००० मारेको भनेर ठोकुवा गरेपनि क्यास्ट्रो सफल मध्येका एक कम्युनिष्ट नेतामा गनिन्छन,अमेरिकाको सङ्घारमा साम्यवादी सरकार खडा गरेर आफूलाई हत्या र अपदस्त गर्ने कैयौँ अमेरिकी षडयन्त्रका बावजुद ६ दशक साम्यवादी  सत्ता टिकाएका कारण ।

 

 

फिडेलले मर्ने बेला आफ्नो सम्मानमा कुनै स्मारक, प्रतिमा र मूर्ति नबनून भन्ने इच्छा प्रकट गरेका हुनाले उनका कुनै स्मारक, प्रतिमा र मूर्ति बनेनन । फिडेलको छायाँचित्र र बिलबोर्डको प्रयोग चाहिँ वञ्चित छैन।

 

 

उता लेनिनको कथा भने फरक छ । जब युक्रेनले लेनिनका सबै इमारतमाथि प्रतिबन्ध लगायो र उनका मूर्ति ढाल्न थाल्यो, लेनिन नाम कसरी रुस मात्रै होइन सवै पूर्व सोभियत गणराज्य भरिनै ढुङ्गामाटो, खोला र सडक जताततै ब्याप्त थियो भन्ने देखियो ।

 

 

बिबिसिले २०१५ अप्रिल १४मा “लेनिन” नाम कति व्यापक थियो भन्ने कुरा रोचक रुपमा प्रस्तुत गरेको थियो । युक्रेनको औद्योगिक सहर ज्यापोरिज्याको मूख्य सडकको नाम “लेनिन सडक”, यसमाथि मूख्य चोक नै “लेनिन चोक, चोकमा हातले “लेनिन” नामको जलविद्युतको जलाशयतिर देखाउँदै गरेको लेनिनको भीमकाय मूर्ति र ड्यामको एउटा भित्तामा कुँदिएका “लेनिनका आदेश”, र ड्यामको उतापट्टि लेनिन ताल र तालको विचमा लेनिन टापु । यि सबै युक्रेनको लेनिन जिल्ला भित्रै । युक्रेनमा मात्रै लेनिनका यस्ता ५५०० मूर्ति थिए ।

 

मरेपछि बिपिका सपनाका धेरै कुरा भए, पुष्पलालका योजनाका धेरै कुरा भए । जिउँदो हुँदा “गद्दार” भन्नेहरूले नै मुक्त कण्ठले उनीहरूको प्रशंसा गरे । त्यसै पनि नेपाल मरेपछि गुणगान गाउने देशै हो, मरेकालाई केही दिनै पर्दैन दुई चार शब्द मिठा दिन के लोभ गर्नु भन्ने सबैलाई लाग्दो हो ।

 

पूर्व सोभियत सङ्घ त लेनिनकै नेतृत्वमा बनेको हुँदा उनको पूजा हुनु स्वभाविक हो। तर, उनका स्मारक, प्रतिमा र मूर्तिहरू संसारभर फैलिए, मानव वस्ती भएका सहर देखि अन्टार्क्टिकाको ‘पोल अफ इनेक्सिस्सिबिलिटि’सम्म । मलाई थाहा छैन लेनिनले आफैँ त्यति धेरै शालिक बनाउन लगाए कि उनका भक्तले, सबैभन्दा बढि मूर्ति पूज्ने देश चाहिँ पूर्व रुस नै बनाई दिए । सायद बुद्ध र क्राइष्टपछि सबैभन्दा बढि मुर्ति नै उनैका बनेका होलान, यो संसारमा ।

 

 

किम इल सुङ्गका मात्रै ३४००० सालिक, हरेक ७५० जनता बराबर एउटा किमको मूर्ति, भएको देश उत्तर कोरियामा  शासक किम जोङ्ग उनले पनि आफ्ना हजुरबा, उत्तर कोरियाका संस्थापक किम इल सुङ्ग, बावु किम जोङ्ग इल आफ्नो मूर्ति बनाउन ५ बर्षमा  “११५ मिलियन स्टर्लिङ्ग पाउण्ड” खर्चे रे । ति मूर्ति देशको सबैभन्दा अग्लो ज्वालामुखि पर्वत, पेक्दुको टुप्पोमा ठड्याउने समाचार बाहिर आएका थिए । कोरियाली नेताले आफैँ मूर्ति बनाउन लाए, पुर्खालाई सम्झन, क्युवाका नेताले आफ्नो मूर्ति नै नबनाउन आग्रह गरेर मरे ।

 

 

हेर्दा तीनै नेता एउटै राजनीतिक दर्शनबाट प्रभावित । अवलम्बन गरेको मार्ग एउटै र राजनीति गरेको बर्ग एउटै तर, पूजारी संस्कार बिल्कूल भिन्न । मूर्ति संस्कार अर्थात मूर्ति निर्माण र मूर्ति पूजनको चर्चा गर्दा संसारका महान कम्युनिष्ट नेताको नाम नलिई त्यो चर्चा अपूर्ण हुने हुँदा यि तीन उदाहरण यहाँ दिएको ।

 

 

कसैले आफैँ प्रतिबन्ध लाएका छन, कसैले बावु—बाजे सम्झने नाममा आफूलाई मिसाएका छन भने कसैको मरेपछि भक्तहरूले मूर्ति बनाएर सम्झिएका छन । रूसी नेता लेनिन बोल्सेभिक क्रान्तिको ७ बर्ष पछि नै मरे १९२४मा र स्टालिन सत्तामा आए । पहिलो लेनिनको मूर्ति १९२५मा मात्रै बनेको देखिन्छ, क्रयास्नोदरको विश्न्याकोभा  सडकको मूर्तिलाई उनको पहिलो मूर्ति मान्ने हो भने । त्यसैले लेनिन आफैँले आफ्नो मूर्ति बनाउन लगाएनन भन्ने बुझ्नुपर्छ ।

 

 

हाम्रो पनि नीति—कार्यक्रम सबै दलाल पूँजीवादि भएपनि दुई तिहाईँको कम्युनिष्ट सरकार छ । हामी कस्तो मूर्ति संस्कार अपनाउने भन्नेमा भने अझै स्पष्टता नभैसकेको बेला सामान्य अस्थायी “फ्लेक्स कल्चर” चाही हामीले अभ्यास गर्यौँ ।

 

 

हाम्रामा चोकहरू राजा महाराजाकै थिए, २०४६ सम्म । त्यसपछि असङ्खय बिपि चोक र पुष्पलाल चोक बने । दिवङ्गत नेताहरूका मूर्ति बने, सत्तामा हुने दलका नेताका धेरै बने, बिपक्षमा हुने वा बिद्रोहीका अलि कम । जिवित ब्यक्तिको सालिक ईटहरी—बिराटनगर सडकको बीचमा भूपालमान सिंह कार्कीको बन्यो ।

 

 

मरेपछि बिपिका सपनाका धेरै कुरा भए, पुष्पलालका योजनाका धेरै कुरा भए । जिउँदो हुँदा “गद्दार” भन्नेहरूले नै मुक्त कण्ठले उनीहरूको प्रशंसा गरे । त्यसै पनि नेपाल मरेपछि गुणगान गाउने देशै हो, मरेकालाई केही दिनै पर्दैन दुई चार शब्द मीठा दिन के लोभ गर्नु भन्ने सबैलाई लाग्दो हो ।

 

 

जिउँदो हुँदै उनका सपनाका कुरा चाहिँ राजा महेन्द्रका अलि अलि भएछन, बीरेन्द्रका धेरै भए त्यसपछि हाम्रा प्रधानमन्त्रीका धेरै भए । भर्खरै सम्पन्न बिम्स्टेक सम्मेलनका क्रममा चोकको फोहोर छोप्नकै लागि किन नहोस हरेक चोकमा प्रधानमन्त्री  देखिनु भयो फ्लेक्स बोर्डमा समृद्धि सपना र योजनाका साथ, कहिले दुई बाल-बालीका काखी च्यापेका फोटोमा, कहिले रेल हेर्दै, कहिले रकेट हेर्दै र कहिले हिमाल हेर्दै गरेको पोजमा ।

 

 

बिम्स्टेक सम्मेलनका ७ बरिष्ठ पाहुन मध्ये दुई त राजाको फोटो कोटदेखि गोठसम्म टाँस्ने देशका परे ।  तिनले एउटा निर्वाचित प्रधानमन्त्रीसमेत हाम्रा राजा जस्तै जताततै ब्याप्त हुनुहुँदो रहेछ भन्ने सन्देश त लगे होला मलाई चाहिँ हाम्रा प्रधानमन्त्रीलाई त्यति ब्यापक प्रचार गर्ने चाहिँ कसको दिमागको उपज होला भन्ने जिज्ञाशा अझै छ।

 

 

मलाई थाहा छैन हाम्रा प्रधानमन्त्रीले चोक चोकका कुरुप दृष्य र फोहोर मेरो तस्विरसहितका फ्लेक्स बोर्ड्ले ढाक भनेर आदेश दिनु भयो कि वहाँका सहयोगी कर्मचारी वा बिम्स्टेक आयोजना समितिले वहाँलाई खुशी पार्न यस्ता बोर्डहरूमा वहाँको तस्वीर छापेर चोक चोकमा राखे । बोर्ड मात्रै राखेनन नेपालमा हुने सबै विकास वहाँका प्रतापले हुने खालका अर्थ दिने सन्देशसमेत प्रवाह गरे । मनसूनको पानी वहाँका प्रतापले पर्ने भन्ने सन्देश चाहिँ थिएन, अरू मोटामोटी सबै ।

 

 

हुन त नेपालको कर्मचारीतन्त्र आफूलाई स्थायी सत्ता ठान्छ, र बलियो सरकार भए चाकरी कमजोर सरकार भए अटेरी उसको कार्यशैली नै हो । तर, आफ्नो फोटोमा यो देशको “अवको विकास सबै आफ्नै प्रतापले” भन्ने अर्थ दिने सन्देश वहाँले नै डिजाइन गर्नु भएको भन्नेमा मलाई एक रत्ति विश्वास छैन । दुब्लो पातलो सरकार संधै कर्मचारीको हितमा हुन्छ त्यसैले कर्मचारीले बलियो सरकार आफ्नो हित प्रतिकूल हुने ठानी हतार हतार चाकरीमा ओर्लन्छन, अहिले कतै कर्मचारीले त्यही गरेको त होइन ? जहिले जहिले अलि बलियो सरकार बन्छ र केही ठोस काम गर्न थाल्छ, हाम्रो कर्मचारीतन्त्र राजनैतिक नेतृत्वसङ्ग बढि नजिकिन खोज्छ, चाहे २०४८ को गिरिजाप्रसादको शासन होस वा २०५६ को भट्टराई शासन होस वा २०६५को प्रचण्ड शासन होस । अहिलेको ओली शासन सबैले कर्मचारी बर्गमा छटपटि ल्याएकोले कर्मचारी सत्तासिन नेताहरूसङ्ग राम्रो सम्बन्ध बनाउनका लागि चाकरीमा लागेको पनि हुन सक्छ ।

 

 

मूर्ति पूजा हाम्रो नशा-नशामा छ । यो ब्यक्तिको बैयक्तिक स्वतन्त्रताको बिषय समेत हो । हाम्रो रुढीवादि शक्तिले क्रान्तिकारी हुँ भन्ने्हरूलाई नै आफ्नो बसमा पारेर कन्जर्भे्टिभ भ्याल्यूहरूको प्रबर्द्धनमा लागेपछि ब्यक्ति पूजा र मूर्ति पूजा अझै चल्छ यो देशमा ।

 

 

 

आफ्नो उपन्यास युद्ध र शान्तिमा लियो टोल्स्टोयले राजकुमार एन्ड्र्यु र पिएरेको सम्बादका क्रममा पिएरेले राजकुमारको प्रशंसा गर्दाको सन्दर्भमा लेखेका छन “जीन्दगीको सबैभन्दा असल, मित्रवत र निष्कपट सम्बन्धका लागिसमेत चाकरी र प्रशंसा आवश्यक  हुन्छ जस्तो कि चक्कालाई निर्विघ्न घुमि रहनका लागि ग्रीज आवश्यक छ” । त्यही  ग्रिजिङ्ग  कै रुपमा फ्लेक्स आएका त होइनन ?

 

 

महावाणी हाम्रा लागि कुनै नौला चिज होइनन । १०- १५ बर्ष अघिसम्म काठमाण्डुका हरेक चोकमा, पुलको दुई तिर, त्रिपुरेश्वरदेखि जमलसम्मका सडकका दायाँ बायाँ हल्का नीला रङ्गका खम्बा लहरै देखिन्थे, तिनको माथि एउटा फलामे डन्डी बाटोतर्फ झुकाएर राखिएको हुन्थ्यो र ति खम्बाको माथिल्लो भाग पुरै ढाक्ने गरी एउटा बोर्ड हुन्थ्यो । मूख्य भाग काठमाण्डूको एउटा आकर्षण ति खम्बा र बोर्ड थिए । ति खम्बाको टुप्पिका डण्डिमा बेला बखत झण्डा फहराउँथे र बोर्डमा ठूला अक्षरमा लेखिएका पृथ्वी नारायण, त्रिभुवन, महेन्द्र र बीरेन्द्रका महानवाणीहरू हुन्थे ।

 

 

२०४६को परिवर्तनपछि ति बोर्डमा लेखिएका महाबाणीहरू पुनः लेखिएन, जति खुइलिए ती स्वतः खारेज भए । त्यो परिवर्तनलाई नै परिवर्तन गर्न चलेको हिंसात्मक आन्दोलनलाई सम्बोधन गर्न अर्को परिवर्तन भयो, ति बोर्डहरू बिस्तारै हराउँदै गए र आन्दोलनपछि भएको सडक विस्तारका क्रममा सबै लोप भए । तर, पाहुना ओहोर दोहोर गर्ने मूल सडकमा ति झण्डा राख्ने खम्बा अझै छन ।

 

 

ति बोर्ड भौत्तिक रूपमा हटे तर हाम्रो मानसपटलमा कायमै रहेछन । राज्यका आधारभूत कामसमेत कुनै ’महान ब्यक्ति’का दिमागका उपज हुन भन्ने हाम्रो बैद्धिक पराम्पराले हामीलाई यति प्रभाव पारेको रहेछ कि यसपालीको क्रान्तिकारी कम्युनिष्ट सरकारका पालामा तिनको पुनराबृत्ति भै छोड्यो । र, ति बोर्डमा दुई दशक अघिका नाम यसपाली तस्विर  रुपमा प्रकट भए, चोक चोकमा, र राज्यका नियमित काम पनि तस्विरका महामानवका प्रतापले हुने हुन भनेर लोकलाई देखाइयो ।

 

 

मूर्ति बनाउनु ठूलो कुरा होइन तिप्रतिको आस्था टिकाइराख्नु ठूलो कुरा हो । युक्रेनका ५५०० लेनिन मूर्तिहरू २०१३ देखि २०१७ सम्ममा सबै ढालिए । हङ्गेरीमा स्टालिनको मूर्ति २३ अक्टुबर १९५६ मै ढालियो, त्यो क्रम सोभियत सङ्घको पतनपछि तीब्र भयो । पूर्वी सोभियत सङ्घका धेरै मूर्ती १९९१ पछि ढले । २०१३मा निर्वा्चित कम्युनिष्ट सरकारले भारतीय राज्य त्रिपुराको मेलोनियामा बनाएको लेनिनको मुर्ति हालासालै बिजेपी कार्यकर्ताले ढाले (उनीहरूले अस्विकार गरे पनि धेरै मिडियाले किटानीसाथ उनीहरूकै नाम लिएका छन। गृह राज्यमन्त्री हंशराम गङ्गाराम अहिरले कुनै विदेशीको मूर्तिलाई भारतमा ठाऊँ छैन भनेकोले यसको पुष्टी हुन्छ ।)

 

 

अमेरिकामा पनि २०१६-१७मा सालिक ढाल्ने लहडनै चले पछि धेरै राज्य सरकारले त्यस्ता मूर्ति सुरक्षित ठाउँ, सङ्ग्रहालय आदिमा लगेर राख्न थालेका छन । अमेरिकी गृहयुद्ध वा कन्फेडेरेशन वारका हिरोहरू रबर्ट ली, जेफर्शन डेभिस लगायतका मूर्तिहरू अहिले कालाजाती बहूल दक्षिणीराज्यका सार्वजनिक उद्यानमा देखिन छाडिसके ।

 

 

मूर्ति पूजा हाम्रो नशा-नशामा छ । यो ब्यक्तिको बैयक्तिक स्वतन्त्रताको बिषयसमेत हो । हाम्रो रुढीवादी  शक्तिले क्रान्तिकारी हुँ भन्ने्हरूलाई नै आफ्नो बसमा पारेर कन्जर्भे्टिभ भ्याल्यूहरूको प्रबर्द्धनमा लागेपछि ब्यक्ति पूजा र मूर्ति पूजा अझै चल्छ यो देशमा । राष्ट्रिय एकताका प्रतिकको मूर्ति बन्यो सैनिक मूख्यालयमा । अव भक्तहरूले भोली राष्ट्रिय समृद्धिका प्रतिकको सम्झनामा, राष्ट्रिय क्रान्तिका प्रतिकको सम्झनामा र लोकतान्त्रिक अडानका प्रतिकको सम्झनामा ओली चोक, प्रचण्ड चोक र देउबा चोक बनाउलान । तिनका मूर्ति राख्लान । यो सामान्य कुरा हो । तर, सङ्गसङ्गै ती मूर्तिमा बस्नेहरू तिनका आदर्शमा कति इमान्दार छन र बनाउने भक्तहरू तिनले देखाएको बाटोमा कति इमान्दर भएर हिड्छन भन्नेकुराले ति मूर्तिको समेत आयु निर्धारण हुनेछ ।

 

 

फ्लेक्स एउटा अस्थायी प्रयोग थियो, हट्यो, र त्यसले ढाकेको ढल र फोहोर आफ्नै रुपमा फर्कियो, तिनमा कोरिएका  समृद्धिको सपना त्यस्तै कस्मेटिक र अर्को आएर भत्काउने नबनून । मालिक खुशी बनाउन मात्रै शालिक थापना गरिएको हो भने बेलायती दार्शनिक एडमण्ड बर्कले भनेझैँ  “चाकरीले दिने-लिने दुबैलाई भ्रष्ट बनाउँछ”।