कुरा बाढी पहिरोको

मृतकलाई दश लाख रुपैयाँको हिसाव गरेर मात्र हुन्छ ? उसको जीवन गुम्नै नसक्ने उपाय गर्नुपर्दैन ? यो वर्ष बाँचियो भनेर हुन्छ, अर्को वर्ष आउँदैन ? खोला मिचियो भने, देशैभरीका यसरी मिचिएका खोलाको लगत लिएर खोलाउन किन ढिलो र कसले मिच्यो उसलाई दण्ड जरिवाना गर्न के ले रोकेको छ ? खुला ठाउँ नभएर पानी ले बाटो पाएन भन्ने पनि छ, यदि त्यसो हो भने किन खाली ठाउँ समाप्त गर्न तिर लागेको ?

त्यता के के हुँदै छ, यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु कलेजा
हामी भयौं बेघरबार, हामी भयौं बेघरबार
चरी लैजा समाचार, हामी भयौं बेघरबार…..

माथिको गीतमा अन्जान बाबु र संगीत श्रोताले गाएको जस्तै प्रत्येक वर्षझैं यो वर्षपनि आकासबाट वर्षा भयो । वर्षा ऋतुमा वर्षा हुनु भनेको प्रकृतीको नियम हो । नेपालमा असार र साउन महिनालाई विशेष वर्षाको महिना मानिन्छ । हुनत जेठ देखि भदौ सम्मै यो क्रम चलिरहन्छ ।
प्रकृतीको माया वा भनौं सुल्टो रूप लाई हामी सबैले बुझेकै छौं । वर्षा हुनु भनेको आकासबाट पानी पर्नु हो । अरू बेला हो भने यो एक दुई दिन परेर आफैं सकिन्छ तर वर्षात को महिनामा अत्यधिक हुन्छ जसको असर अस्थायी रूपमा बाढी आउँछ र केहि क्षण वा दिन पछि त्यो आफैं बगेर वा जमिनमा सुकेर जान्छ ।

धेरै परेको पानीले आफैं बाटो खोजिरहेको हुन्छ, नदि वा खोला कहाँ होला भनेर दौडिरहेको हुन्छ । स्वभाविक छ, पानी उच्च भागबाट निच भाग तर्फ नै बग्दछ । त्यसैले नेपालमा परेको पानी हिमाल, पहाड हुँदै तराई पुग्दछ । तराईमा आफैं पनि पानी पर्नाले जमिनले थेग्न सकिरहेको हुँदैन भने पहाडी वा उच्च भुभाग बाट आउने पानीलाई समेत स्वीकार्नु पर्दछ । परिणाम, अन्य ठाउँको तुलनामा त्यहाँका जनताले बढी पिडा भोग्नु पर्दछ ।

अहिले भइरहेको के हो भने, हामीले केहि दिनमा आफैं सेलाएर जाने पानीलाई उसले भनेको बाटो दिन नसक्नु नै मुख्य द्वन्द्व हो । यदि पानीले खेत, बारीमा भनेको जस्तो रुपले बग्न पाएको भए, यदि खोला किनारामा आफूले चाहेको जस्तो फैलन पाएको भए, यदि पुल मुनीबाट निर्धक्क छिर्न सकेको भए कसैलाई पनि हानी हुँदैन थियो । परापुर्व काल देखि यसरी नै पानी परिरहेको छ, बाढी आइरहेको छ । त्यती थाहा भइसकेपछि उसको बाटोको अवरोध किन भयो ? प्रश्न सजिलो छ उत्तर गाह्रो छ ।

जब आफैंलाई हानी, नोक्सानी गर्छ, बालिनाली, पशुपंछी देखि आफैंलाई समेत बगाउँछ भन्ने थाहा हुँदा हुदै मानिसले उसको बाटो थुन्न खोज्छन् भने परिणाम भोग्न पनि तयार हुनु पर्दछ । मोफसलको खबरको असर काठमाण्डौले खासै ठूलो रुपमा लिंदैन । तिलाठी र गोबरगाढाको कुरा बिर्सिएर होला पोहोर साल बालकोट डुब्यो यसपाली नैकाप डुब्यो । त्यो देखेर टेलिभिजनमा अन्तर्वार्तामा समाहित हुने बटुवा देखि विशिष्ट मानिस सम्म सबैको मुखमा झुण्डिएको शब्द यहि हो कि “पानी बग्नु पर्ने खेतमा घरै घर बन्यो, खोला किनार मिचेर भु माफियाहरूले जग्गा बेचे ।”

कारण त यहि हो । तर, यो सब गर्यो कसले ? जिम्मेवारी लिने कसले ? सरकारलाई सोध्यो भने उसले भन्नेछ, “के पहिले बाढी आउँदैनथ्यो, पहिले मानिस मर्दैनथ्यो, हामी आएपछि यो सब भएको हो ?” सरकारले नै हो जिम्मेवार लिनु पर्ने । देशको अभिभावक ले नगरे कसले गर्छ ? राणा शासन देखिको अझ भनौं नेपाल भन्ने देश उत्पत्ती भएको बेला देखिको जिम्मेवारी उसैले लिनु पर्छ । डराउनु पर्दैन, त्यसमा ऊ सँजायको भागिदार हुनु पर्दैन । तर, जिम्मेवारी लिँदै सुधारका कार्यक्रम तत्काल र दीर्घकालिन रूपमा गर्दै लैजानु पर्छ ।

मृतकलाई दश लाख रुपैयाँको हिसाव गरेर मात्र हुन्छ ? उसको जीवन गुम्नै नसक्ने उपाय गर्नु पर्दैन ? यो वर्ष बाँचियो भनेर हुन्छ, अर्को वर्ष आउँदैन ? खोला मिचियो भने, देशैभरीका यसरी मिचिएका खोला को लगत लिएर खोलाउन किन ढिलो र कसले मिच्यो उसलाई दण्ड जरिवाना गर्न के ले रोकेको छ ? खुला ठाउँ नभएर पानी ले बाटो पाएन भन्ने पनि छ, यदि त्यसो हो भने किन खाली ठाउँ समाप्त गर्न तिर लागेको ? व्यक्तिले आफ्नो व्यक्तिगत जग्गा जमिन बेच्न पाउने हक उनीहरूकै हो र त्यसमा घर वा पर्खाल बनाउने हक पनि उनीहरूकै होला तर स्वयं सरकारले कहिं कतै खाली ठाउँ देख्नै नहुने त्यहाँ केहि न केहि भौतीक संरचना बनाउनै पर्ने ? पुरानो बसपार्क, खुला मञ्च, सुन्धारा, टुँडिखेल, त्रिभुवन विश्वविद्यालय परिसर, रानीपोखरी पछि अब बुढानिलकण्ठ र सानेपाको जग्गामा पनि आँखा लाइरहेछन् । अनि कसरी हुन्छ, प्रकृतिले लिने प्राकृतिक प्रकोप सँग बच्ने उपाय ? यो ठाउँ त संघिय राजधानी भएर मात्रै सबैको आँखामा परेको हो नत्र देशै भरी यस्ता अतिक्रमणको चपेटामा परेका स्थानहरू त कति छन् कति त्यसलाई जोगाउन तीर लाग्नु पर्दैन ?

वर्षौं देखि सुनिंदै आएको के हो भने, भारतले बाँधको ढोका बन्द गरिदिनाले नेपाल डुबानमा पर्यो । कोशि गण्डकी जस्ता नदिमा बाँध बाँधदा सम्झौता त गरिएको रहेछ चाहे चाबि उतैको हातमा भएपनि । अहिले पुर्वदेखि पश्चिमसम्म हेर्ने हो भने तराईका कयौं यस्ता स्थान रहेछन् जसको नजिकै भारतले एकतर्फी रुपले बाँध बनाएको र कयौं ठाउँमा त राजमार्गको नाममा जमिन उच्च बनाएर नेपाल लाई डुबानमा पारिरहेको, यसको त सम्झौता पनि छैन ।

जनता भनेको जनतानै हुन् त्यो चाहे भारतीय होस् वा नेपाली कोहि पनि मर्नु हुँदैन । यस विषयमा दुवै देशका जनताको ज्यान बचाउने हिसावले नेपाल र भारत बीचमा किन वार्ता हुन सकिरहेको छैन ? बाढी संग सम्बन्धित एक सुत्रिय विषय टेबलमा राखेर किन पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड सँग छुट्टा छुट्टै र स्वयं भारतीय केन्द्रिय सरकारसंग वार्तामा बसेर समस्याको दीर्घकालिन समाधान निकाल्न ढिलो गरिरहेको ? इपिजी, भनेर निक्कै ढ्वाँग फुकेर प्रचार गरेको थिंक ट्याँकले के वार्ता गर्यो र त्यसको परिणाम के आयो, रिपोर्ट पढ्न गाह्रो भयो वा दराजमा सजायर मात्रै राखियो केहि पनि बाहिर आएको छैन । एउटा जिज्ञासा, त्यो थिंक ट्यांकले यस्तो माछा भ्यागुता जस्तो मानिस मरिरहेको विषयलाई वार्तामा ल्यायो होला ?