गुन्द्रुकले छाक त टार्छ तर सागको गुण हुन्न

कार्यकर्ताले हेरेर को सर्वाहारा नेता, को बुर्जुवा नेता छुट्याउन नसके जस्तो तपाईले पनि को सर्वाहारा कार्यकर्ता र को बुर्जुवा कार्यकर्ता छुट्याउन सक्नु हुन्न । पशुपति शम्शेर, कमलथापा र शेर बहादुर देउबा भन्दा ओली र प्रचण्ड कुन अर्थमा सर्वहारा लाग्छन भन्ने प्रश्न कहिल्यै गर्नु भएको छ ? उनीहरूमा सर्वाहारा रुप मात्रै परिवर्तन भएको हो कि सर्वहारामा हुने गुण पनि ? प्रश्न गर्ने आँट छैन भने चाखेर हेर्नुस नेता देखि कार्यकर्ता सम्म सागको गुण छ कि गुन्द्रुकको । गुन्द्रुकमा सागको गुण खोज्नु र अहिलेका नेता-कार्यकर्तामा सर्वहाराको गुण खोज्नु उस्तै कुरा हुन।

एउटा राम्रो सागको मुठो कुहियो, गुन्द्रुकको गुजुल्टो बन्यो । साग २५ रुपियाँ मुठा बिक्थ्यो गुन्द्रुक ३०० रुपियाँ मानो। सागमा पोटासियम र म्याग्नेसियम आइरन, म्याङ्गानीज, फोलेट, कप्पर जस्ता खनीज तत्वका साथै भिटामिक के, भिटामिन बी २, बी ६ क्याल्सियम, भिटामिन सी र क्यारोटेनोइडको रुपमा आउने भिटामिन ए जस्ता के के जाति हुन्थ्यो, गुन्द्रुकमा अत्यन्त थोरै भिटामिन सी मात्रै बाँकि रह्यो।
बजारमा गुन्द्रुक बिक्रि भए झै “कम्युनिष्ट” शब्द बिक्रि भयो, बजार कब्जा गरे, संसदमा दुई तिहाइँ ल्याए, सबै चुनाव जिते माथि देखि तलै सम्म। तर त्यस भित्रका केही नेताले त्यो बजार कब्जा गर्ने गुन्द्रुकमा सागको स्वाद र गुण खोज्दैछन। ति खोज्ने मध्ये एक परे आफ्ना तर्कलाई राम्रो सैद्धान्तिक रङ्ग दिन सक्ने, राम्रो तर्क शक्ति भएका र मलाई मन पर्ने तर्क गर्ने मध्येका एक नेता नेता घनश्याम भुसाल।
बिष्णु पौडेलको ठाउँमा यिनी अर्थमन्त्रि भएका भए र योगेश भट्टराईको जत्तिको मन्त्री पदको आश्वासन आएका भए यिनको पनि फोटो देख्नासाथ पत्रिकाको पानो ससम्मान अर्को तिर पल्टिन्थ्यो हओला तर त्यो हालतबाट यि अहिले सम्म जोगिएका छन। कपाल ओरालो फर्किएको भए पनि शीर उचो छ यिनको।
लोकपाटी अनलाइनमा उनको कतैको भाषणको अंश छापिएको रैछ । उनको अनुभूति मेरै अनुभूतिसङ्ग ठ्याक्कै मिलेछ । “जुन वर्गका लागि राजनीति गऱ्यौँ, त्यो वर्ग नै पार्टीमा छैन” भन्ने स्ववियू सभापति भैसकेका पेशाले व्यापारी उनका पुराना साथीको भट्टि- टिप्पणीले उनको मथिङ्गल घुमाए जस्तै मेरो मथिङ्गल घुमेको धेरै भयो । जसलाई म बीस वर्ष अघि कम्युनिष्ट हुँ भन्थेँ तिनको अहिलेको रहन-सहन, बानी व्यहोरा, साँठ-गाँठ व्यवहार हेरेर मलाई लागिरा’थ्यो यिनले गुन्द्रुक जस्तै एक दिन बजार चाहिँ कब्जा गर्ने नै भए तर सागको गुण पुरै सकिएपछि।
अङ्ग्रेजीमा एउटा शब्द छ “मेटामोर्फोसिस”, नेपालीमा सरल उल्था “रुपान्तरण” भनेर गरिएको छ। सत्ताको चाश्नीमा डुबेका धेरै कम्युनिष्ट नेता र दलाल, सल्लाहका, बिचौलिया जे जे नाममा भएपनि तिनको वरिपरि घुमेर सम्पन्न भएका धेरै कार्यकर्तालाई उनीहरूमा आएको परिवर्तन “रुपान्तरण”मात्रै लाग्छ तर मलाई भने त्यो अङ्ग्रेजी शब्दको वास्तविक अर्थसङ्ग उनीहरूमा आएको परिवर्तन जोड्न मन लाग्छ। “रुपान्तरण” सङ्गै “गुणान्तरण” पनि हो अर्थात “रुप-गुणान्तरण”।
रायोको साग गुन्द्रुक बन्नु र चेपागाँडा भ्यागुतो बन्नुको रुप र गुणमा आएको अन्तर हेरौँ त। “माओवादी” नामको चेपागाँडा अहिले एमाले नामको भ्यागुतोमा परिणत भएको छ र एमाले नामको चेपागाँडा अहिले राप्रपा नामको भ्यागुतोमा परिणत भएको छ। माओवादी र एमालेका कति गुण साझा थिए? एमाले र राप्रपाका कति गुण साझा थिए? रुपान्तरण हुँदा कति गुण सङ्गै ल्याए र कति गुण उतै छाडे?
यसको सही विश्लेषण नगरी भुसाल जस्ता विद्वानले समेत एमालेमा २०३६ सालदेखि २०४६ साल सम्मको गुण खोज्दैछन र माओवादीमा २०५२ देखि २०५८ सम्मको । ४६ सालपछि राज्यकोषलाई पार्टीकोषमा रुपान्तरण नाममा एमालेमा जसरी व्यक्तिगत सम्पत्ति जोहो गर्ने मनोविज्ञान विकसित भयो, जवर्जस्ती असूली गरेर जम्मा थोरै पार्टीलाई र थोरै घरलाई जम्मा गर्ने चलन ५८ साल तिरै माओवादीमा शुरु भयो।
झाङ्गिने लहराको बीऊ ठूलो चाहिन्न। त्यही झाङ्गिएको हो, एमालेमा तीब्र गतिमा, माओवादीमा अलि सुस्त गतिमा भए पनि ।
हरेक कार्यकर्तामा पहिलेका आदर्शहरू अहिले अभिसाप ठान्ने मनोविज्ञान यति गहिरो सङ्ग गडेको छ कि बाहिरी भागमा लेप लगाउने प्रयत्न सवै असफल छन। “पहिले पूँजीवादी शिक्षा बाहिस्कार गर्यौँ अहिले त्यही शिक्षा आर्जन गरेका हरूले अवसर पाए” भन्ने र “पहिले व्यक्तिगत सम्पत्तिलाई त्याग गर्ने अभियान चलायौँ अहिले बच्चा पढाउन त्यही चाहिने रैछ” भन्ने त पुराना कार्यकर्ता पङ्तिको आम मनोविज्ञान नै हो।
यो मनोविज्ञान जसमा दशवर्ष अघि नै पलायो ती “सामुहिकता”लाई तिलाञ्जली दिने पहिलो पुस्ता भए दश वर्ष पछि चेतना आउने दोस्रो पुस्ताका भए। पार्टी भित्र सामुहिकताको भावनाको तिलाञ्जली कहिले भयो, भुसाल जीलाई त कण्ठै छ नि।
एमालेको इमान्दार कार्यकर्ताको जमात सानो थिएन। यसरी गाँस कटाएर पार्टी पाल्ने कार्यकर्ताको यति ठूलो पङ्ति संसारमा अन्यत्र सायदै होला। चिनियाँ कम्युनिष्ट पार्टीमा अहिले ८ करोड ९४ लाख संगठित सदस्य छन (२०१७), सोभियत यूनियनको कम्युनिष्ट पार्टीमा १ करोड ९० लाख सदस्य थिए (१९८६), उत्तर कोरिया, युगोस्लाभिया, भिएतनाम र क्युवाको सदस्यताको खासै चर्चा गर्नु आवस्यक छैन। त्यसपछि हेर्ने हो भने संसारमा सवै भन्दा बढि सदस्य संगठित भएको नेपालको कम्युनिष्ट पार्टी हो ।
त्यो सामुहिकताको भावना कायम रहेको भए अहिले दुई जनाको सनकमा पार्टी चल्थ्यो होला भुसाल जी? सामुहिकताको भावना तिलाञ्जली दिएको मनोविज्ञान त अरू क्षेत्रमा सिमित नरहेर पार्टी अफिसको निर्माण वा खरीद खर्चमा समेत देखिएको छ त । बल्खु दरवार बनाउँदा कति खर्च गरेँ भनेर सार्वजनिक भाषण नै भए, पेरिस डाँडा तेल साहूबाट हत्याउँदाका कार्यकर्ताका गुनासा त अझै होलान नि?
आफूले लडेकै पोहोरसालको चुनाव हेर्नुस त । पार्टीले प्रति उमेदवार कति दियो? अध्यक्षले तपाइँलाई कति दिनु भयो र वहाँका नजीकका मोरङ्ग झापाका केही उमेदवारले कति पाए? त्यो खर्च तपाइँलाई थाहा छ कहाँ बाट आयो? पार्टीको सञ्चालन तपाइँले २०-२५ वर्ष अघि सोचे जस्तो छ त? पार्टीका कार्यकर्ता तपाइँले देखे जस्ता छन त? अहिले एकादुई केन्द्रीय विद्यार्थी नेताले काठमाण्डुमै घर बनाएका होला, धेरै सानदार फ्ल्याटमा बस्ने होलान । तपाइँ हामीले देख्दा अधिकाँस विद्यार्थी नेता र हामी उस्तै कोठामा बस्थ्यौँ, किर्तिपुरको होस्टल होस कि नयाँ बजार। एउटै पसलमा खाना खान्थ्यौँ बल्खु होस कि बागवजार। अव त्यो अवस्था रहेन। एमालेलाई ४६ सालमा लेवी बुझाउने खरीदार सुब्बा अव त्यो वर्गमा रहेनन। अधिकाँसको काठमाण्डुमा घर बने र सन्तान विदेश भासिए।
भोटाहिटीका खुद्रापसले र भृकुटीमण्डपका चिनियाकपडा पसलेमा सिमित व्यापारी सङ्गठन अहिले होटल एसोसियशन, एयरलाइन्स एसोसियशन, मेडिकल एसोसियशन, घरजग्गा कारोबार एसोसियशन, म्यानपावर एसोसियशन जस्ता ठुल्ठुला रकमका गफ गर्ने एसोसियशनमा पुगिसक्यो। न खुद्रा पसले, न खरीदार-सुब्बा अव पार्टी भित्रका प्रभावशाली पात्र रहेनन। कार्यकर्ता पनि त्यस्तै। कति कार्यकर्ताको ठेक्का लिन सक्छ भन्ने नयाँ मापक बन्यो। पहिलेका नेताका व्यक्तिगत गूटमा सामेल मान्छेको अलग परिचय त छँदै छ ।
पार्टी भित्रको संरचना त कायम छ तर त्यसको भित्रि बनोट त एउटापनि त्यही रुपमा छैन। कार्यकर्ताले हेरेर को सर्वाहारा नेता, को बुर्जुवा नेता छुट्याउन नसके जस्तो तपाईले पनि को सर्वाहारा कार्यकर्ता र को बुर्जुवा कार्यकर्ता छुट्याउन सक्नु हुन्न । पशुपति शम्शेर, कमलथापा र शेर बहादुर देउबा भन्दा ओली र प्रचण्ड कुन अर्थमा सर्वहारा लाग्छन भन्ने प्रश्न कहिल्यै गर्नु भएको छ? उनीहरूमा सर्वाहारा रुप मात्रै परिवर्तन भएको हो कि सर्वहारामा हुने गुण पनि? प्रश्न गर्ने आँट छैन भने चाखेर हेर्नुस नेता देखि कार्यकर्ता सम्म सागको गुण छ कि गुन्द्रुकको । गुन्द्रुकमा सागको गुण खोज्नु र अहिलेका नेता-कार्यकर्तामा सर्वहाराको गुण खोज्नु उस्तै कुरा हुन। तर पार्टीमा त्यो वर्ग नहुनुको अर्थ सर्वाहारा सबै सकिएका भने होइनन।
