सामुदायिक विद्यालयको रोग दक्ष व्यवस्थापनको अभाव

यो वर्ष नायिका करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले गर्दा बृद्ध उमेरका परीक्षार्थी, अपांगता भएका परीक्षार्थी लगायत अन्य असमान्य परीक्षार्थीको परीक्षाफल अघिल्लो वर्षहरूको तुलनामा ओझेलमा पर्न पुग्यो ।मिडियाहरूले कम स्थान दिए ।

यसपालीको एसईई परीक्षाको परीक्षाफल आषाढ १२ गते प्रकाशित भयो । हरेक वर्ष जस्तै अहिले दुई चार दिनको लागि टेलिभिजन, रेडियो, छापा र अनलाईन तथा सामाजिक सञ्जाल जस्ता सञ्चारका साधनहरूमा परीक्षाफललाई लिएर हाम्रो पढाईको तरिका, परीक्षा लिने पद्धती, सामुदायिक र निजी शैक्षीक संस्था बीचको गुणस्तरमा भिन्नता र यी दुई बीचको डरलाग्दो परीक्षाफलको तुलना जस्ता नियमीत विषयमा गरमा गरम वहश चलिरहेको छ ।

ग्रेडिङ’ सिस्टममा परीक्षाफल प्रकाशित गर्ने तरिका प्रचलनमा आएको पुरानो भइरहँदा प्रदेश स्तरमा परीक्षा सञ्चालन गरेको भने पहिलो पटक हो । दुई नम्बर प्रदेशमा प्रश्न पत्र परीक्षा अगावै बाहिरिनु र त्यसमा स्वयं सुरक्षा दिने प्रहरी र शिक्षा दिने शिक्षक नै सामेल हुनुले यस पटकको एसईईले आफूलाई हाईलाईट गरिसकेको थियो ।

यो वर्ष नायिका करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले गर्दा बृद्ध उमेरका परीक्षार्थी, अपांगता भएका परीक्षार्थी लगायत अन्य असमान्य परीक्षार्थीको परीक्षाफल अघिल्लो वर्षहरूको तुलनामा ओझेलमा पर्न पुग्यो ।मिडियाहरूले कम स्थान दिए ।

मेट्रिक हुँदै, एसएलसी र एसईई सम्म आई पुग्दा सम्म पनि यसको चमक अरु कुनै लेवलको परीक्षाले लिन सकेको छैन । कसैले भने पनि नभने पनि फलामे ढोका भनेको अहिले पनि यसैलाई मान्ने गरिन्छ । यो किन भएको हो भने, जसरी पश्चिमा देशहरूमा अठार वर्ष पुगेपछि सन्ताहरू बालिग भएर आफ्नो स्वतन्त्रता उपभोग गर्न घरबाट उन्मुक्ति पाउँछन् त्यसैगरी नेपालमा चाहिँ एसईई पास गरेपछि पढाईको बहानामा स्वतन्त्रता उभोग गर्न पाउँछन्, यो प्रचलन पुरानै हो ।

शिक्षा भनेको यस्तो नदेखिने वस्तु हो जसले मानिसहरूले हेर्ने दृष्टिकोण नै बदलिदिन्छ । त्यसै भनिएको होइन “धन भन्दा शिक्षा ठूलो हो” भनेर । करिश्मा मानन्धरलाई मानिसहरूले रूपकी शुन्दरी तर दिमागकी खोक्रो भन्थे । तर, हेर्नुस् अहिले सबै जना उनको तारिफ गरिरहेछन् । उनको आफ्नै सोच्ने तरिकामा पनि बदलाव आएको देखिन्छ ।

हालै उनले सामुदायिक उच्च माᱹबिᱹ मै पढ्ने निर्णय गर्नुले उनको कदलाई एक हद सम्म उँचो बनाई दिएको छ । व्यवस्थापन विषय लिएर पढ्छु भनेकी छिन्, यो चाहिँ उनको पेशा सँग अली मेल नखालाकी रु बरु मानवशास्त्र वा समाजशास्त्र नै पढे चाहिँ हुन्थ्यो की, भन्ने मेरो व्यक्तिगत धारणा हो, बाँकी उनको इच्छा हो । बरु शान्ता चौधरीले कानून पढ्छु भन्नु चाहिं सहि लाग्यो ।

पढाई कसैलाई देखाउन भन्दा पनि आफ्नो ज्ञान आर्जन गर्न गरिन्छ । शान्ता चौधरी फेरी सांसद होलिन् वा नहोलिन् वा मन्त्री पो हुन्छिन् कि वा त्यो भन्दा पनि माथी प्रधानमन्त्री, उपराष्ट्रपती वा राष्ट्रपती सम्म पनि हुन सक्छिन् । राजनीतिमा लागेको छ, भोली कसलाई थाहा छ र तर, सरकार चलाउने यहि तौर तरिका भयो भने चाहिं उनको पार्टी पनि भारतका कम्युनिष्ट पार्टी जस्तै इतिहास नबन्ला भन्न सकिंदैन तर जे भएतापनि उनी राजनीतिकै कुनै कुनामा त अवश्य पनि हुने नै छिन् त्यहि भएर उनले यदि कानून विषय लिएर पढिन् भने त्यसले उनको राजनैतिक जीवनमा अवश्य पनि सकारात्मक रूपनै देखाउने छ । हो यहि विषय छनौटको विषय नै उनले अहिले सम्म शिक्षा आर्जन गरेको दरिलो प्रमाण हो ।

सबैलाई थाहा छ, नेपालमा सामुदायिक र निजी गरेर दुई प्रकारको शैक्षीक संस्थाहरू छन्, या भनौं शिक्षा प्रणाली छ । यहाँ निजी भन्ने बित्तीकै, अँग्रेजी माध्यमबाट पढाई हुने भन्ने बुझिन्छ, जहाँ बाल बालिका विद्यालय गएको दिन देखि ए, बी, सी, डि पढ्न सुरु गर्छन् तर सामुदायिकमा नेपाली माध्यमबाट पढाई हुन्छ र बालबालिका क, ख, ग, घ पढ्न सुरु गर्छन् ।

यहि ए, बि, सि, डि र क, ख, ग, घ बीचको घम्सा घम्सीमा आखिरमा क, ख, ग, घ हार्छ र ए, बि, सि, डि ले जित्छ । ’cause हाम्रो शिक्षा निती निर्यातमुखी छ । हामीलाई हाम्रो सन्तान देशमा राख्नु नै छैन । उच्च शिक्षाको बहानामा शिघ्रातीशिघ्र विकशित देशमा पुर्याएर सेटल गराउनु छ । कुनै समाचार मासामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेर भर्ना गर्नै मुश्किल छ भनेर लेखेको पनि नपढेको होइन, तर त्यो संख्या हात्तीको मुखमा जीरा समान छ भन्दा अन्यथा नहोला रु मातृभाषा वा नेपाली भाषामा पढ्नेले अँग्रेजी भाषामा पढ्नेको भन्दा प्रष्ट सँग लेख्न सक्नु पर्ने होइन रु किन सकिरहेका छैनन् , मुख्य प्रश्न यहिं आउँछ । नसक्नुमा विशेष गरेर यी कारणहरू देखाउने गरिन्छ, भौतिक संरचनाको जिर्ण अवस्था, अयोग्य शिक्षक शिक्षीका, गरिबीले घेरीएका बालबालिका, अपायक स्थान, व्यवस्थापनको लापरवाही, इत्यादी ।

अब यी विषयहरूलाई एक, एक गरेर केलाउने हो भने यसरी तर्क दिन सकिन्छ । सामुदायीक विद्यालयको आफ्नै भवन हुन्छ, रोपनीका रोपनी खेल्ने ठाउँ हुन्छ, सधैं एकै स्थानमा हुन्छ, यताउता सरी राख्नु पर्दैन । उता निजी विद्यालय अधिकांशको आफ्नो भवन समेत हुँदैन, भाडाको घरमा उपयुक्त कक्षा कोठा त हुँदैन भने खेल्ने स्थानको पर्याप्तताको के आशा गर्नु । भोली घरवालाले भाडा बढायो भने वा घर खाली गर भन्यो भने वा आफैंलाई स्थान अभाव भयो भने अर्कै स्थानमा सर्नु पर्ने बाध्यता छ ।

सामुदायिक विद्यालयमा शिक्षक शिक्षीका भर्ना गर्दा शिक्षा मन्त्रालयले नै शिक्षक सेवा आयोगको विधी प्रकृयामा रहेर परीक्षा दिएर उत्तीर्ण भएका शिक्षक शिक्षीका पठाउने गरिन्छ भने नियुक्ती पाईसकेपछि पनि बिभिन्न प्रकारका तालिममा समावेश गराईरहेको हुन्छ । तलव पनि सरकारी मापदण्ड बमोजिम सरकारले नै दिन्छ । जबकी निजीमा आफ्नै तजबिज, चिने जानेको, नाता गोता नै हुन्छन् अधिकांश ठाउँमा केहि योग्य पनि अन्त मौका नपाउन्जेल सम्म बस्छन् अरु ठाउँमा राम्रो मौका पाएपछि छोडेर गइहाल्छन् ।

गरिबीको कुरा गर्ने हो भने सामुदायीक विद्यालयमा सरकारले निःशुल्क पढाईरहेको छ । निजीमा पढ्नेहरू पनि देख्दा मात्र धनी देखिएका कयौं उदाहरण छन्, जसको अभिभावक को ऋणै ऋणले जिन्दगी गएको छ । घरमा सधैं अशान्त हुँदा पनि पढिरहेकै हुन्छन् ।

सामुदायीक विद्यालय कयौं ठाउँमा घर बाट टाढा पनि पर्छन् । कयौं किलोमिटर हिंडेर जानुपर्ने बाध्यता हुन्छ । गाउँघरमा यो बाध्यता निजीमा पनि छ । कति ठाउँमा चाहेर पनि सवारी साधन गुड्ने बाटोको अभावका कारणले गर्दा हिंडेरै ओहोर दोहोर गरिरहेका हुन्छन् । तर, गाउँकै पनि निजी विद्यालयले सामुदायिक विद्यालयलाई जितीरहेको हुन्छ ।

बेलाबेलामा नीति बनाउने नेतृत्वतहबाट समाचार बाहिर आउँछ, अब देखि सामुदायिकका गुरुवर्गका छोराछोरी सामुदायिकमै पढाउनु पर्छ, निजीमा पाईँदैन । तर के कसैको जबरजस्तीको नियमले एउटा बालिका वा बालकको भनेको ठाउँमा पढ्न पाउने नैसर्गिक हक छिन्न मिल्छ रु हालत कति सम्म छ भने शिक्षक शिक्षीकाको त कुरै छाडौं, सामुदायिक विद्यालयको पिउनले समेत खाई नखाई आफ्नो सन्तानलाई निजीमा पढाईरहेको छ ।

यी र यस्ता अनेर्कौ कोणबाट विश्लेषण गरेर हेर्दा अन्तत्वगत्वा व्यवस्थापन नै कमजोर भन्ने प्रष्ट हुन्छ । यदि सामुदायिक विद्यालयमा उच्च प्रकारको व्यवस्थापन गर्ने हो भने सम्पूर्ण समस्याको समाधान गर्न सकिन्छ । एक पल्ट टाट पल्टेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड अहिले कसरी ठाउँमा आएको छ । नेपाल बंगलादेश बैंकको हालत के थियो, जब राष्ट्र बैंकले व्यवस्थापनमा हात हाल्यो अहिले कसरी चम्किरहेछ ।

त्यसैगरी सामुदायिक विद्यालयमा पनि दक्ष व्यवस्थापकको नियुक्ति गरेमा उसले वा उसको टिमले भएका सम्पूर्ण समस्याहरूलाई केलाउनेछ । जसमा विद्यालयको भौतिक अवस्था, शिक्षक का गुनासा, विद्यार्थीका समस्या, आर्थिक अवस्था, शैक्षिक गुणस्तर जस्ता अनगिन्ती एक पछि अर्को जेलिएको गाँठोलाई फुकाउँदै जानेछ र त्यहाँका विद्यार्थीको रिजल्ट पनि सन्तोषजनक बनाउन सकिन्छ । परिणाम एकै वर्षमा आउेन होइन, केहि समय कुरेपछि अवश्य पनि त्यसको फल मिठै निस्कने छ ।