प्रपञ्च
एकदिन द्रोणाचार्य त्यस ठाउँमा आइपुग्यो । यसपालि ऊ एक्लै थिएन, साथमा केही सहयोगीहरुका साथै शकुनि पनि थियो । हुन त कुनै न कुनै दिन ऊ त्यहाँ अवश्य आइपुग्नु थियो – ढिलो या चाँडो । सम्भवतः त्यहाँ एकलब्य भन्ने किशोर छिटछिटो जवान हुन लागिरहेको थियो । साथसाथै ऊ त्यहाँ क्रमशः फैलिंदै पनि थियो । कुनै गुरु स्थापना विना उसले विद्याध्ययनमा अद्भूत प्रगति गरिरहेको थियो । त्यसरी ज्ञान प्राप्त गर्दै जानु र ती ज्ञानका गुढ रहस्यहरु अरुहरुमा पनि अवगत गराउँदै जानु – यी त्यस्ता कुरा हुन् जसले आश्चर्यलाई बढावा दिएको हुनैपर्छ । विवादको विषय बन्नु, अल्प समयमा एक्कासि चर्चित हुनु, यति सजिलैसँग प्रतिभा मौलाउँदै जानु एक किसिमले यो केही … खतराको संकेत पनि थियो राज्यमा बसेर तर मार्नेहरुका लागि ।
त्यस वस्तीमा एकलब्यलाई नचिन्ने शायदै कोही होलान् । सबको मुखमा प्रत्येक कुरामा उसका प्रसंगहरु झुण्डिएका थिए । हुन त ऊ अलि तल्लो तथा अछुत जातको मानिन्थ्यो । तर सबै साधारण स्तरका हुनाले मान्छेमा त्यस्तो भावना बलियो रहेन । खासगरी एकलब्यलाई त्यस्तो विद्या प्राप्त हुनुमा स्थानीय मान्छेहरु र परिवेशको ठूलो हात थियो र आफूले पाएका ती कुराहरु ऊ स्थानीय वासिन्दाहरुमा सुनाउँथ्यो, सिकाउँथ्यो । गोप्य तथा रहस्यात्मक कुराहरु मान्छे सामु निर्धक्क नङ्याउँथ्यो । कतिपय कुराहरु मान्छेले भोगिआएको भए पनि बुझ्न सकेका हुँदैनन् । जब यस्ता कुराहरुको पोल खुल्छ । भ्रम भङ्ग हुन्छ तब झन खतराको विषय हुनजान्छ ।
यस अर्थले पनि उसलाई द्रोणाचार्यको आगमनस्थलमा बाध्य भएर जानु पर्यो । हुन त यो उसको पूर्व नियोजित कायक्रम थिएन । ठूला मान्छेलाई कार्यक्रम बनाउन खास गाहारो पनि त हुँदैन ।
द्रोणाचार्यको आगमनको खबर त्यहाँ आउनु अगावै फैलियो । राज्यका विशिष्ट व्यक्ति भएकाले सबलाई हेर्ने इच्छा त लाग्ने नै भइहाल्यो । कसैलाई दर्शनको इच्छा त कसैलाई मात्र हेर्ने रहर । कतिलाई भने यसको पटकै चासो थिएन । कस्ता होलान् ठूलाबडाहरु ? मुश्किलले त्यहाँ मान्छेहरुको भीड जम्यो । एउटा सभा जस्तै त्यहाँ आयोजना पनि भएको थियो । औपचारिक सम्मानको दृष्टिले पनि यसो गर्न अत्यावश्यक देखियो । त्यहाँ एकलब्यले पनि मुख्य रुपमा बाध्यतावश समावेश हुनुपरेको थियो ।
यताउति पछि एकलब्यको प्रतिभा परिचयको परीक्षा तथा छानविन गरियो । एक–दुई प्रश्नहरु सामयिक कुराहरु केही खुट्याउने किसिमले सोधियो । उसले प्रत्येकको जवाफ कति पनि नहिकिचाइकन अगाडि राखिदियो । त्यहाँको अवस्था’bout पनि कुराकानी भयो । आफ्नो ठाउँमा उसलाई निपुण मान्नैपर्छ । खास केही प्रतिभाहरु प्राप्त छन् उसमा । द्रोणाचार्यले अतिरेक खुसीको स्वरमा धाप दियो । प्रशंसा गरेर एक–दुई कुरा सोध्यो । ठूलाबडाहरुको प्रेरणाले यस्तो नै हुनसकेको कुरा उसले बतायो ।
यसैबेला शकुनिले द्रोणाचार्यको कानमा केही खासखुस कुरा गर्यो ।
द्रोणाचार्य एकछिन सोचमग्न मुद्रामा देखियो । त्यस ओजस्वी तपस्वीले नजाने के सोध्न खोजेको हो ? यही समयमा स्थानीय वासिन्दा तथा एकलब्यलाई लाग्यो कि यस तथाकथित गुरुले अवश्य पनि गुरुदक्षिणा स्वरुप उसको बुढी औंला माग्नेछ । तर धेरै वेरसम्म द्रोणाचार्य केही बोलेन । कहीँ अप्रसन्न भएको त होइन ? वास्तवमा गुरुदक्षिणाको लागि उसले पो सोध्नुपर्ने । अरुहरुले पनि यस्तै सोचे र उसलाई सङ्केत गरे ।
–गुरुज्यूलाई के दक्षिणा टक्रयाउँ ?, एकलब्यले आखिरमा मौनता भाँच्न खोज्यो । तर कहीँ भित्री मनले भने शायद यो स्वीकारिरहेको थिएन ।
एकाएक द्रोणाचार्य झस्के जस्तो भयो । उसको तन्द्रा लुप्त भयो । अनुहार गम्भीर र शान्त देखियो –कुनै दिब्य पुरुषोचित मुद्रा जस्तो ।
– अहँ यो हुन सक्तैन, यसमा मेरो कुनै हात छैन । यो तपाइँको आफ्नै मेहनतको फल हो, उसले अस्वीकार्दै महानता दर्शाउन खोज्यो ।
सब आश्चर्य चकित भए, किंकत्र्तब्यविमूढ भए । एउटा सम्मोहनको प्रभाव सबमा क्रमशः व्याप्त हुँदै गयो ।
– हाम्रो स्वागतमा केही कमी हुन गयो कि ?
– हैन, बरु यस्तो हार्दिक स्वागतले म सा¥है प्रसन्न छु ।
– त्यसो भए केही त बोल्नुहोस् , आग्रहहरु पेश गरिए ।
– म एकलब्यको यति कम उमेरको प्रतिभादेखि हर्षित एवं विभोर भएको छु । यस्तो प्रगतिको उचित कदर हुनुपर्छ । देशको लागि समेत यो गौरवको कुरा हो । त्यसैले तपाइँहरुमा एउटा प्रस्ताव राख्न चाहन्छु , एउटा सानो ठाउँ वा इलाकाको मात्र नभई पूरै देशको धरोहर तथा अमूल्य निधि भएको नाताले म एकलब्यलाई आफ्नो साथमा लान चाहन्छु , जसप्रति सम्पूर्ण देशवासीले गौरव गर्न सकून् …, द्रोणाचार्यले अरु पनि केही भन्यो र उसको प्रतिभाको दुरुपयोग नहुने’bout आश्वासन पनि दियो ।
भीडमाथि यस कुराले व्यापक सन्नाटा फैलियो । कसैले पनि आश्वासनमाथि विश्वास गर्न सकेनन् । र यसको प्रतिवाद पनि गर्न सकेनन् । ती अबश वासिन्दाहरु स्तब्ध भई यो सब हेरिरहे – त्यस तथा कथित गुरुको कुरा ।
यता एकलब्य बलीको बोका झैं भित्रभित्रै कहालियो ।
००