बुभुक्षा

के तिमी मलाई यो दिन सक्छौ ? म किन्छु, तिमी नयाँ किनेर लगाऊ, कङ्काल शरीरमा बेरिएको मैलो झुत्रो कन्थातिर औंल्याउँदै उनले केही संकेत गरे । साथै हातमा केही पैसा पनि राखिदिए ।
कङ्काल शरीरले कुनै आश्चर्य देखाएन , बरु खुशी हुँदै स्वीकारोक्ति जनाइहाल्यो ।

चिसो मौसम । घाम छैन । सिरसिर हावा चलिरहेको छ । तर मान्छेहरु सडकबजारमा न्यानो लुगाले चिसो छल्दै किनमेल घुमफिर गर्दैछन् । न्याना लुगा नभएकाहरु सामान्य लुगामा, त्यति पनि नभएकाहर मैलो धुजाधुजा लुगामा काम्दै चिसोसित जोरी खोज्दै हिंडिरहेका छन् ।

यस्तैमा भएको एउटा प्रसङ्ग हो यो ।

अति मैलो कन्थाभित्रको एउटा कङ्काल शरीर सडकमा भौंतारिएर हिंडिरहेको थियो । कुनै गन्तव्य नभएको मगन्ते झैं जता जता पाइला चल्यो अथवा जता जता भोक मेट्ने ठाउँ भेटियो त्यता त्यता आशाकुति भएर टोलाएर बस्नु जस्को नियति हो । झ्यामलाङ्ग कपाल, मरन्च्याँसे अनुहार, सिन्का समान हात खुट्टा तर नंग्रा हिंस्रक पशुको झैं लामा लामा भएर बढिसकेको, महिनौं ननुहाएको शरीर सडकमा हिंडाइभन्दा बढी घस्रिरहेछ । त्यति हलुका भएर पनि ऊ आफूलाई हिंडाउन सकिरहेको छैन । यसको मुख्य कारण ऊ सम्पूर्ण रुपले भोकाइरहेको थियो । खानेकुरा भनेको कहिल्यै देख्न नपाएको मान्छे जस्तो । खाल्डो जस्तो गहिरो उसको आँखामा एउटा अथाह तिर्खा र बुभुक्षा व्याप्त थियो ।

तर सडकमा यो कसैलाई मतलबको कुरा थिएन । शहरमा त त्यस्ता झटिङ्गर फोकटेहरु दिनको कति आउँछन् । कति जान्छन् । स्वयं सभ्य र भलाद्मी भनाउँदाहरु पनि दुई छाक पुर्याउन धौ धौको अवस्थामा पुगिरहेका कति होलान् । घरभित्रको आर्थिक हैसियत’bout केही भन्न सकिन्न । तैपनि कतिपय मान्छेहरु सभ्य भनाउन खातिर अभिजात्यपना पोतेर मगन्तेसामु यदाकदा पाँच दस पैसा फ्याँकेर जाने गर्छन् ।

एकदिन त्यस ठाउँमा कहीँ टाढाबाट एकजना नितान्त अपरिचित मान्छे, यस कारणले कि रङ्गमा लवाइमा यस शहरका मान्छेभन्दा त्यो भिन्न देखिन्छ, आइपुगे । त्यति टाढाबाट आएर पनि उनको निधारमा थकानको एउटा धर्को पनि छैन । सम्भवतः उनी हिंडेर पटकै आएका होइनन् होला । उनीसँग केही अनौठा लाग्ने सामानहरु झुण्डिएका छन् । ठाउँ ठाउँ घुम्दै चहार्दै उनी यस सडकमा पनि आइपुगे । उनको काम विभिन्न ठाउँ चहार्नु , ती ठाउँहरुको कुरा थाहा पाउनु, केही राम्रा, नौला तथा अद्धितीय लाग्ने वस्तुहरुको संकलन गर्नु आदि आदि थियो । यहाँ उनको खोजपूर्ण आँखा त्यस कन्थाले बेरिएको कङ्काल शरीरमा जोतिन पुगे । कुनै अद्भूत पुरातात्विक वस्तु पाएझैं उनी प्रफुल्लित देखिए र भटाभट केही पोजहरुमा फोटो खिच्न थाले ।


प्रकाशका केही फोहराले कङ्काल शरीरको आँखा तिरमिरायो । उसले केही पनि बुझेन । पक्क परेर हेरि मात्र र्ह्यो । उसको हातमा थरिथरिका मिठाइको एउटा पोका त्यस अपरिचितले हालिदिए । किन ? यसअघि कसैले यति धेरै खानेकुरा उसको हातमा यसरी राखिदिएको थिएन । एकछिन त ऊ पक्क प¥यो । सपना पो हो कि ! उसले केही बुझन सकेन । तर मिठाइ पाएर ऊ अत्यन्त खुशी भयो । तत्काल खानामाथि यस्तो किसिमसँग झम्टा मार्यो मानौं कुनै भोको जन्तुले शिकार भेट्टाएपछि वेगसंग झम्टा मारे झैं ।

फोटो खिंच्दै त्यो नौलो मान्छेले मज्जा लिइरहे । कति अनौठौ ! मान्छेमा पशुको रुप ! शहरमा पनि आदिम मान्छे । अनायास उनको समस्त चेतनामा एउटा कुतूहल जाग्यो ।

कङ्काल शरीरले एकैछिनमा सब खाइसिध्यायो । र त्यो आगन्तुकलाई यसरी हेर्यो । लाग्छ – अझै ऊ पूर्ण रुपेण अघाएको छैन । कति दिनदेखिको भोक होला !

के तिमी मलाई यो दिन सक्छौ ? म किन्छु, तिमी नयाँ किनेर लगाऊ, कङ्काल शरीरमा बेरिएको मैलो झुत्रो कन्थातिर औंल्याउँदै उनले केही संकेत गरे । साथै हातमा केही पैसा पनि राखिदिए ।

कङ्काल शरीरले कुनै आश्चर्य देखाएन , बरु खुशी हुँदै स्वीकारोक्ति जनाइहाल्यो ।

त्यस्तै त्यो नौलो मान्छेले उसको लँगौटी पनि किने । सम्पूर्ण नाङ्गो करङै करङ देखिने झिनो मासुको आवरणमा अन्तिम फोटो खिँच्दै टाढा अवस्थित आफ्नो घरको म्युजियम सम्झंदै उनी फर्के ।

कङ्काल शरीर अघिसम्म अर्धनग्न थियो । अब सम्पूर्णतः नग्न भयो । नग्न भए पनि मुठीमा परेको सिक्काले उसलाई एकप्रकारको न्यानो दिइरहेको थियो ।

कङ्काल शरीर विना एक टुक्रा थाङ्नामा केही पैसा मुट्ठीमा कोच्दै् घुमिरह्यो –.सडकमा ।
बुभुक्षाले पीडित त्यस कङ्काल शरीरले आङ ढाक्न कपडा किन्ने हो या होइन – यो निश्चित छैन ।
००