मनोचिकित्सक वा मनोविज्ञान शिक्षा अनिवार्य गरौं

पारिवारीक कलह, छर छिमेक इष्ट मित्र सँगको व्यवहार, साथीभाई वा सहकर्मी सँगको संगत, आफैं भित्रको मानसिक चिन्ता आदिले गर्दा अहिले समाजमा यस्ता प्रकारका कुण्ठा भित्र भित्रै भुसको आगो जस्तो सल्किरहेको छ । मानसिक रोगको उपचार भनेको डिप्रेशनको औषधी सेवन मात्रै होइन, जस्तै परिस्थितीलाई पनि झेल्न सक्ने सक्षम बनाउनु पनि हो।

– राजिव भण्डारी

कुनै दिन मैले यसै अनलाईनमा लेखेको थिएँ । अहिले हाम्रो देशमा मर्ने र मार्ने काम दिन दिनै जस्तो भइरहेको छ । यसको रोकथामको लागि जसरी वडा कार्यालयले प्रौढ शिक्षा लाई प्राथमिकतामा राखेको छ त्यसै गरी प्रत्येक वडामा प्रत्येक जनतालाई मनोचिकित्सकको परामर्श पनि अपरिहार्य भइसकेको छ ।

आत्महत्या र हत्या किन यसरी बढिरहेको छ । पत्याउनै नसक्ने मानिसहरूले आत्महत्या गरिरहेका छन्, विद्यालय जाने बालक, सरकारी कर्मचारी, र अरुलाई शिक्षा दिने पत्रकार सम्मले आत्महत्या रोजीरहेका छन् । आफ्नै नाबालक छोरीलाई मार्ने बाबु, ससुरालीको खलकै समाप्त पार्ने ज्वाईँ, सालनाल सँगै पुलमुनी बच्चा फालेर भाग्ने आमा, बृद्ध आमा मार्न आफ्नै प्रेमिलाई सुपारी दिने छोरी, खै कसको मनोविज्ञानले के काम गरिरहेको छ यो समाजमा ?

अहिले मिडियामा जताततै छाइरहेको विषय हो पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरण । यस प्रकरणमा जोडिन आइपुगे अर्का पत्रकार तथा कार्यक्रम प्रस्तुतकर्ता रबी लामिछाने । पुडासैनीले आफ्नो आठ मिनेटकोे भिडियोमा प्रष्ट सँगले लामिछाने, युवराज कँडेल र अस्मिता कार्की नै उनको मृत्युको कारण हुन् भनेका छन् ।

को दोषी हो र को होइन वा यो भिडियो सम्पादन गरेर वा छोट्याएर बनाइएको हो वा के हो भन्ने कुरा प्रहरी, प्रशासन र अदालतले नै पत्ता लगाउला त्यता तीर नजाउँ । यसमा पिडित, पुडासैनी, जसले आफ्नो ज्यान नै दिईसके, उनको आत्माको चीर शान्तिको कामना गर्दै हर प्रकारले सत्यतथ्य बाहिर ल्याएर दोषिलाई कठघरामा उभ्याएर सँजाय दिलाउनु नै सहि अर्थमा उनी प्रतीको न्याय हो ।

तर, पुडासैनीको जुन दोषारोपण छ के त्यसको अन्तिम उपाय भनेको मात्र आफूले आफैंलाई मार्नु नै हो त ? केही ऋण, सहकर्मीको अपमान र प्रेमिका सँगको मनमुटाव, के यी तीन विषय आज विश्व समाजमा भोगिरहेको उनी एकलैले मात्र हो त ? धेरै थोरै ऋण जसको पनि हुन्छ । गायक रामकृष्ण ढकाल वर्तमान समयमा एउटा सहकारी सँग यही विषयमा भिडिरहेका छन् ।

पुडासैनीले सहकर्मीले अपमान गर्छन् वा गरेको हुनाले हाल त्यो टिम छाडेर नयाँ टिभिमा आबद्ध भएर मिसन पत्रकारीता गरिरहेका रहेछन् । उनले पुराना सहकर्मीहरूको कर्तुतको ’boutमा अहिले आफूले सञ्चालन गरेको कार्यक्रममा देखाउन सक्थे वा अन्य माध्यमबाट समाजको अगाडी उजागर गराउन सक्थे । जहाँ सम्म प्रेमिकाको प्रश्न छ, छोडपत्र नगरी घरमा भरर्खर विवाह गरेर ल्याइएकी श्रीमति हुँदा हुँदै अर्को प्रेमिका लिएर हिंड्नु, यसमा उनले कस्तो समाधान चाहेका हुन् ?

हो यहि माथिका विषयहरू जस्ता मानिसका मन मस्तिष्कमा जकडिरहेका कुराहरूलाई लड्न सक्ने बनाउनको लागि नै मनोचिकित्सक वा मनोविज्ञानको आवश्यकता पर्दछ । त्यसैले मेरो जोड समाजमा यसरी भित्र भित्रै धेरैको मन भित्र दबिएर बसेको सानो भन्दा सानो समस्या, जुन पछि गएर कसैको हत्या वा आफ्नै आत्महत्या सम्म गर्नलाई अगाडी बढ्छ, त्यसैको रोकथाम को लागि अब प्रत्येक नेपालीलाई उसले बुझ्ने गरेर समस्याको गाँठो फुकाउन सक्ने सक्षम बनाउन जरुरी भएको छ ।

हुनत हामी धेरै विषयलाई विद्यालय शिक्षा देखि नै दिनु पर्छ भनिरहेका छौं । ट्राफिक शिक्षा, नैतिक शिक्षा, स्वास्थ्य शिक्षा, संस्कार, संस्कृती इत्यादि धेरै विषयहरू छन् जसलाई सानै उमेर देखिनै दिनु जरुरी सम्झन्छौं । तर, विगत केहि समय देखि, नेपाली समाजमा मनोपरामर्शको चाहिं एकदमै ठूलो आवश्यकता भइसकेको छ । त्यसैले विद्यालय शिक्षा देखि नै संसारमा सुखदुख, पिरमर्का, स्ट्रेस जस्ता कुराहरू हरेक मानिसलाई हुने गर्छ । ती समस्या लाई हल्का ढंगले लिई त्यससँग लड्दै अगाडी बढ्नु नै जीवनको सफल पाईला हो भनेर पाठ्य सामग्रीमा राख्नु जरुरी देखिईसक्यो ।

पारिवारीक कलह, छर छिमेक इष्ट मित्र सँगको व्यवहार, साथीभाई वा सहकर्मी सँगको संगत, आफैं भित्रको मानसिक चिन्ता आदिले गर्दा अहिले समाजमा यस्ता प्रकारका कुण्ठा भित्र भित्रै भुसको आगो जस्तो सल्किरहेको छ । मानसिक रोगको उपचार भनेको डिप्रेशनको औषधी सेवन मात्रै होइन, जस्तै परिस्थितीलाई पनि झेल्न सक्ने सक्षम बनाउनु पनि हो । यदि बच्चै देखि यस्तो कुरा भनेको संसारमा सबैलाई हुँदो रहेछ, केहि समय पश्चात फेरि सबै कुरा ठीकै अवस्थामा आइ हाल्दो रहेछ, नकारात्मक र गैर कानूनी कुराहरू बाहिर उजागर गरिदिई हाल्नु पर्दो रहेछ, यदि नसुल्झेमा प्रहरी प्रशासनमा उजुर गर्नु पर्दो रहेछ, जस्ता कुराहरू सिकाउँदै गएमा समस्याले ठूलो रुप लिन असमर्थ हुन्थ्यो ।

अबको समाज भनेको सक्षम पुस्ताको हुनेछ भनेर बाबु आमाले खाई नखाई छोरा छोरीलाई राम्रो शिक्षा दिक्षा दिईरहेका हुन्छन् । तर, छोराछोरी ले क्षणभरको आवेगमा आफ्ना मानसिक सन्तुलन ठीक राख्न नसक्दा सबै सपना खरानी बनाइदिन्छन् । स्वदेशमा दुख भयो भनेर विदेशमा पैसा कमाउन गएको घरको सक्षम व्यक्तिले उतै आत्म हत्या गरिदिन्छ । पढ्न भनेर अष्ट्रेलिया, अमेरिका, युरोप गएका छोराछोरीले त्यस्तै गरेको समाचार आइरहेको छ ।

केही वर्ष पहिले नायीका श्रीषा कार्की ले आत्महत्या गरिन्, त्यस्तै भर्खरै हाइलाईटमा आएका छबी ओझाकी दोश्री श्रीमतीले पनि आत्महत्या गरेकी रहिछिन्, रातो पुलमा आफ्नै निवासमा न्यायाधिशले नै आत्महत्या गरे, अनिल झा की छोरीले पनि आत्महत्या गरेकी थिइन्, गायक यम बुद्धले लण्डनमा आफूलाई सिध्याए । त्यसै गरी दीपक राज गिरी लगायतका टिमलाई दोष लगाउँदै अर्का युवकले अनाहकमा डराएर मृत्यु वरण गरे, वषौैं सम्म सरकारी जागीर खाएका कर्मचारीले भ्रष्टाचारको आरोप मात्र लाग्दा आत्महत्या गरिरहेका छन् ।

प्रेमि प्रेमिका, श्रीमानले दुख दिएकी श्रीमती, श्रीमतीले धोखा दिएका श्रीमान, ऋणमा डुबेको ब्यापारी, लगायतका घटना त झन् कती छन् कती । त्यसैले यस्ता प्रकारका समाजका हरेक प्रकारका व्यक्तिहरू, जसलाई पनि पर्न सक्ने समस्याको समाधानको लागि दीर्घकालिन रुपमा विद्यालय शिक्षामै यसलाई पनि सहभागी बनाउने र अल्पकालिन रुपमा बाल बालिकालाई भिटामिन ए र पोलियोको थोपा खुवाइएको जस्तै अनिवार्य रुपमा सबै उमेर, वर्ग, जाती र लिंगका समुदायलाई मानसिक शिक्षा दिनु नै हो । यसले यस प्रकारका घटना निर्मुल नै होला त भन्न सकिन्न तर घट्न भने अवश्य पनि सक्ने छ ।