स्मार्ट आकाशेपुल निर्माण गर्ने कि ?

स्रोत, साधन र बजेटको कुरा गर्ने हो भने, ताइँन तुइँको मोनो रेल ल्याउन चाहिँ खर्बौ खर्च गर्न सक्ने सम्बन्धीत निकायले केहि करोडमै बन्न सक्ने यस्ता संरचनाको निर्माणमा किन ढिलाई गर्ने ? आफूलाई त्यत्रो सवारीसाधन हुँदा हुँदै फेरि नयाँ नयाँ करोडौंका गाडीहरू किन्न सक्नेहरूले यस्ता स–साना कुरामा ध्यान दिन किन कञ्जुस्याँई गर्ने ?

-राजिव भण्डारी

नयाँ बानेश्वर चोकमा जब ट्राफिक लाइट बल्छ त्यहाँका ट्राफिक प्रहरीलाई सवारीसाधन भन्दा पनि पैदल यात्रीलाई रोक्नमै आफ्नो समय र शक्ति लगाउनु परिरहेको हुन्छ । सवारीसाधन निर्बाधरुपमा हुँइकिइरहेको हुन्छ, पैदलयात्री पनि बाटो पार गर्न जेब्राक्रसिंङ बाट निस्फिक्री हिंड्न थालिहाल्छन् । सधैं सवारीसाधनलाई दोष दिने बानी हुन्छ हाम्रो तर यहाँ पैदल यात्रीलाई यदि ट्राफिक प्रहरी नहुने हो भने कसैले पनि रोक्न सक्दैन । यस स्थानमा धमाधम आकाशेपुल निर्माण हुँदैछ, के त्यसपछि यसको समाधान हुन्छ होला त ? अहिले सम्मको अनुभवले यसलाई पुष्टि गर्दैन ।


त्यसको अलि पर उत्तरतीर अनामनगरतिर जाने बाटो छ त्यहाँ माथी त बाटो क्रस गर्न पैदलयात्रीको लागि आकाशे पुल नै बनाई दिएको छ । तर त्यो आकाशे पुल सेल्फी खिच्न र दृश्यावलोगन गर्न इच्छा हुनेहरूको लागि मात्रै बनाइदिएको जस्तो देखिन्छ । त्यहाँ बाट बाटो क्रस गर्न जानु भनेको हाँसोको पात्र बन्नु जस्तै छ । सबै बटुवाहरू निर्बाध रुपमा तलबाटै सवारी साधनलाई एउटा हातले रोक्दै हिंडिरहेका हुन्छन् । यस्तो दृश्य यहाँ मात्र होइन रत्नपार्क, सुन्धारा, जमल जता गएपनि देख्न पाइन्छ ।


आफ्नो सुरक्षा र सरलताको लागि श्रम, शक्ति र धन प्रयोग गरेर बनाइदिएको आकाशेपुल प्रयोग गर्न सबैलाई मन त लाग्दो होला तर के ले यसलाई रोकिरहेको छ ? त्यतापट्टी हामीले कहिले पनि ध्यान दिने गरेका छैनौं ।
आखिर किन मानिसहरू आकाशेपुल प्रयोग गर्न अनिच्छुक हुन्छन् त ? यसका विविध कारणहरू छन् जसमध्ये केहि यहाँ उल्लेख गर्न चाहन्छु । एउटा प्रमुख कारण त यसमा भरयाङ चढ्नु र ओर्लनु पर्दछ । भर्याङ चढ्दा र ओर्लंदा उर्जा वा शक्ति प्रयोग गर्नु पर्ने हुन्छ । भर्याङ चढ्दा र ओर्लंदा समय पनि बढी लाग्छ । कुनै स्थानमा त भर्याङको चढ्ने र ओर्लने भाग पनि एकैतिर फर्काएर राखिदिनाले अति टाढा भएको महसुस हुन्छ जस्तै, कोटेश्वर र बिएण्डबि अगाडीको आकाशेपुल लाई लिन सकिन्छ । स्वस्थ मानिसलाई त आकर्षित गर्न नसकेको यस्ता पुलले बृद्धबृद्धा, बिरामी, घुँडा तथा खुट्टा दुख्ने, ढाड तथा कम्मर दुख्ने, युरिक एसिड, मोटो शरिर, सामान धेरै बोकेका व्यक्तिहरू आदिलाई त साँच्चीकै गाह्रो हुन्छ ।


आकाशेपुल को भरयाङ र छत भरी फुटपाथ पसल र मागन्तेले ओगटेको हुन्छ । ल्वाङ, टिम्मुर, जिम्बु, मोजा, मञ्जा, कानकोट्याउने, मोबाइल चार्जर, ब्याट्री, इएरफोन, जुत्ता चप्पल, टिसर्ट, समोसा, मःमः, चिया, जडिबुटि औषधी जस्ता सबै खाले सामान राखेर ब्यापार गरिरहेको हुन्छ । बाँकी ठाउँमा पनि मानिसको मलमुत्रले खुट्टा टेक्ने ठाउँ हुँदैन । दुर्गन्ध र फोहोरले मानिसलाई त्यो बाटै नजाउँ जस्तो बनाइदिएको हुन्छ । झन हिजो आज त आकाशेपुलमा चेलिबेटिको मोलमोलाई हुने अखडा बनिरहेको बिभिन्न सञ्चारका माध्यमहरूले देखाइरहेकै छन् । मुखमा मास्क लगाएर कुनै केटिमानिसले उसको साथीभाई वा आफन्तलाई कुरिरहेकी छिन् भने पनि उनलाई उनको रेट सोध्न आइहाल्ने स्थिती छ ।


त्यसैले अब महानगरपालिका र सम्बन्धीत सरकारले सोच्ने बेला आएको छ । देशमा चुनाव ताका केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको मुखमा झुण्डिएको एउटा बोली थियो त्यो हो स्मार्ट सिटि निर्माण । कहाँ कहाँ स्मार्ट बन्यो, के के मा स्मार्टनेस आयो त्यो त थाहा भएन, अब आकाशे पुललाई चाहिं त्यतातिर ढाल्ने बेला आएको छ । मौका यहि हो जनप्रतिनिधीहरू, अहिले सम्म कसैले पनि ध्यान नदिएको क्षेत्र हो यो ।


हामीले भाटभटेनी लगायत काठमाण्डौका हरेक आधुनिक सपिङ कम्प्लेक्स र मलहरूमा आधुनिक विद्युतिय भर्याङ वा स्केलेटर देखेकै छौं । त्यहाँ गएर प्रयोग गर्दा सबै जना रमाइरहेकै हुन्छन् । दुवै हातमा गह्रुँगो भारी बोकेर पनि उक्लने र ओर्लने गरिरहेका देखिरहेकै छौं । बृद्धबृद्धा, बालबालिका लगायत सबै जना आरामले हाँसी हाँसी अझ एउटा हातमा आईसक्रिम समाउँदै हिंडिरहेका देखिरहेका छौं । त्यसैले अब बनाउने आकाशेपुललाई किन बिद्युतिय भरयाङको रुपमा नबनाउने ? किन अब स्मार्ट आकाशेपुल नबनाउने ? जसलाई देख्ने बित्तिकै कसैको करकापमा नपरिकन सबैलाई चढौं चढौं लागोस् न । सधैं गुडि राख्ने भएपछि फुटपाथ पसल राख्ने सम्भवै छैन । यत्ती भयो भने न त्यहाँ पुल मुनि बाट बाटो काट्ने बटुवा पाइन्छ न त ट्राफिक प्रहरीले दुख पाउँछन्, न त सवारीसाधनले नै ब्रेक लगाएर, अलमलिएर सवारी साधन गुडाउनु पर्दछ । दुर्घटनाको दर घट्ने र ट्राफिक जाम हुने समस्या यस्ता स्थानमा हुँदै हुदैन ।


स्रोत, साधन र बजेटको कुरा गर्ने हो भने, ताइँन तुइँको मोनो रेल ल्याउन चाहिँ खर्बौ खर्च गर्न सक्ने सम्बन्धीत निकायले केहि करोडमै बन्न सक्ने यस्ता संरचनाको निर्माणमा किन ढिलाई गर्ने ? आफूलाई त्यत्रो सवारीसाधन हुँदा हुँदै फेरि नयाँ नयाँ करोडौंका गाडीहरू किन्न सक्नेहरूले यस्ता स–साना कुरामा ध्यान दिन किन कञ्जुस्याँई गर्ने ? यसलाई चाहिने बिद्युत हो, जसको व्यवस्थापन, नाम लिंदै अति श्रद्धा लाग्ने व्यक्ति, कुलमान घिसिङले गरिदिइसकेका छन् । संसारका अन्य मुलुकका नागरिकले पनि भोली आएर नेपालको कुरा गर्दा यसको पनि कुरा गरुन् न । नेपालमा ठाउँठाउँमा अति मनमोहक र आकर्षक स्मार्ट आकाशेपुल छ, मानिसहरू सररर त्यसबाट बाटो काटिरहेका हुन्छन् भन्दा कस्तो मज्जा आउँदो हो, त्यसमा बसेर सेल्फि खिचेर लाँदा सगरमाथा र बुद्धको देश मात्रै भनेर चिनाउने देशले आधुनिकता बाट पनि परिचय दिने छ ।


हुनत एउटा गतिलो सार्वजनिक शौचालय त बनाउन नसक्ने निकायलाई यस्तो कुरा भालुलाई पुरान सुनाउनु सरह हो तर पनि मनै त हो । कहिले काहिं यस्तो कल्पना पनि गर्न मन लाग्दो रहेछ । लेखक हुनुको फाइदा यो पनि छ, मन लागेको कुरा अभिव्यक्त गर्न पाइन्छ । कल्पनामा रमाउन सबैलाई मज्जा नै लाग्छ । मानिसलाई सशरीर कुनै ठाउँमा पुग्न इच्छा लाग्दैमा ऊ पुग्न सक्दैन तर मनलाई रोक्न कसैले पनि सक्दैन । चाहे राजमहल होस वा गरिबको झुपडी उसलाई इच्छा लाग्यो भने ऊ त्यहाँ पुग्न सक्छ ।


तर, मेरो उठानको विषय मन बहलाउन मात्र लेखिएको भने अवश्य होइन । सधैं आकाशेपुल किन प्रयोग गरिनस् भनेर आफू वातानुकुलित गाडिमा चढेर बाटोमा हिंड्ने बटुवालाई गाली गरेर मात्र हुँदैन । अब समय आइसक्यो, अर्को चुनाव भन्दा अगाडी नै कमसेकम नमुनाको लागि मात्रै भएपनि कतै एउटा यस्तो पुल निर्माण गरिदिए हामी जनता आभारी हुने थियौं ।