राज्यले बाँड्ने पदकको हकदार सर्वसाधारण हो कि होइन ?

निर्माण व्यवसाय गर्ने ठेकेदारलाई सबैले सम्झनन्छन् तर अलकत्रामा हातखुट्टा डुबाउने, ईँटा र सिमेन्टले हात खाएका, दिसापिसाव बग्ने ढलमा छिरेर सफा गर्ने मजदुरलाई कसले सम्झने होला ? निर्माण कार्यमा खटिँदानै अंगभंग भएकाहरू, ज्यान गुमाउनेहरूलाई कसले सम्झेला ? अस्पतालका डाक्टरलाई पदक दिन हुने तर उसको सफलतामा सँगै हातमा हात मिलाएर चौबिसै घण्टा खट्ने नर्सहरू लगायत अन्य कर्मचारीहरूलाई भागिदारै बनाउन नहुने ?

हालै संविधान दिवसको उपलक्ष्यमा समाजका बिभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूलाई सम्मान स्वरुप पुरस्कारको घोषणा गरियो । यसको खुशियालीमा अहिले बिभिन्न प्रकारका सञ्चारका माध्यम देखि सामाजिक सञ्जालमा समेत बधाई दिनेहरू र बधाई पाउनेहरूको बाक्लै उपस्थिती देख्न सकिन्छ ।

संविधान दिवसको उपलक्ष्यमा मात्र होइन, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, शिक्षा दिवस आदि विभिन्न दिवसहरूको मौका पारेर राष्ट्रले पदक बाँड्दछ । उक्त पदक पाउने आधार के हो ? त्यसको मापदण्ड के हो ? पदक पाउनेले अवश्यपनि समाजमा केहि न केहि त गरेकै होला तर उक्त पदकको महिमा त्यो पदक पाउने र त्यस्तै काम गरेर पनि नपाउने बाहेक अरु आम सर्वसाधारणको लागि कुनै महत्वको विषय नै रहेन ।

जसरी गणतन्त्र आउनु अगाडी छाती भरी गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट लगायत अनेक पदकहरू बाँडिन्थ्यो त्यसको औचित्य अहिले पुष्टि गर्न सकिएला ? बहुदलीय व्यवस्था आएपछि भुतपुर्व प्रधानमन्त्रीको भिडमा सूर्य वहादुर र लोकेन्द्र वहादुरले छातीभरी त्यस्ता पदकहरू भिरेर आउँदा त्यसबेलाका अन्य नेतागणका अगाडी कस्तो असजिलो पनको आभास हुन्थ्यो होला ? अहिले पनि त्यही लक्षण देखिंदै छ ।

यदि अगुवा, पछुवा वा चाकडी बाजहरूले मात्र पाउने हो भने सर्वसाधारणले वा आ–आफ्नो क्षेत्रबाट राम्रो काम गरेर देश सेवा गरिरहेकाहरू कहिले उक्त पदको भागिदार हुने होला ? हवाई जहाज उडाउने पाइलटले पदक पाउने तर सार्वजनिक सवारी साधनको ड्राइभरले किन नपाउने ? उडाउनु र गुडाउनुमा फरक हो कि, शिक्षा र हैसियतमा फरक हो ? आखिर दुवैले सर्वसाधारणलाई गन्तव्यमा पुर्याउने काम नै गर्छन ।

हामीलाई थाहा छ र भोगेका पनि छौं, नेपाल अधिराज्यमा शहर बजार र तराईका केहि भुभाग बाहेक पहाड र हिमालका अन्य भुभागमा गाडि चलाउनु भनेको ज्यान हत्केलामा राखेर जुवा खेल्नु सरह हो भनेर । तर पनि यस्ता दक्ष चालकले पदक पाउनु त के त्यो पदकको ’boutमा सुनेको पनि हुँदैन । ऊ निरन्तर आफ्नो कर्तव्य गरिरहेको हुन्छ । राज्यको निसानामा उसको कदर हुनु पर्दैन ?
बरू पहुँच हुने हो भने उक्त गाडीको साहुले पदक पाउला सफल व्यवसायी भनेर तर उक्त व्यवसाय सफल बनाउन अहोरात्र खट्ने चालक, सहचालक कसको नझरमा पर्लान् र खै ?

भारी बोक्ने भरिया, उमेर भन्दा दोब्बर देखिने गरेर भारीले थिचिएर सोझो तरिकाले देशको सेवा गरिरहेकै छ, के उसलाई पदक पाउने अधिकार छैैन ? किराना पसले, मासु पसले, जुत्ता सिलाउने व्यक्ति कसैको पनि अधिकार छैन ? त्यती मात्र होइन झापाका भक्का पकाउनेहरू, बुटवलका सेकुवा बेच्नेहरू, काठमाण्डौका मःमः बनाउनेहरू कोहि पनि राज्यको नझरमा पर्दै पर्दैनन् । वर्षौं देखि व्यवसाय गरिरहेका छन्, राज्यलाई कर तिरिरहेका छन्, आफैं स्वरोजगार भएका छन् तर पनि उसले किन त्यो पदक पाउन सक्दैन ?

किताव लेख्ने लेखकले पदक पाउन हुने तर त्यो किताव तयार पार्न दिनरात खट्ने कम्प्युटर अपरेटर तथा प्रेसमा मेशिन चलाउने अपरेटर किन राज्यको आँखामा पर्दैन ?

साईकल, मोटरसाईकल, मोटर बनाउनेहरू, विदेश जान छाडेर वा वैदेशिक रोजगारीमा गएर फर्केर कृषि कर्म गरेर सफल जीवन बिताइरहेकाहरू यसमा किन समाहित हुन सकिरहेका छैनन् ? कुखुरा, बट्टाई, हाँस पाल्नेहरू, गाई भैंसी पालेर सफल हुनेहरू, माछापालन गर्नेहरू जस्ता मेहनती किसान, जसले राज्यलाई कर मात्र होइन हजारौंंलाई रोजगारी समेत दिन सफल नव व्यवसायीहरू राज्यको आँखामा किन पर्न सकिरहेका छैनन् ।

चलचित्रका नायक नायीका वा अन्य कलाकारहरूलाई राज्यको ठूलै सेवा गरेको भनेर पदक दिईन्छ तर घामपानी दिनरात नभनी खट्ने स्पट ब्वाई गर्ल, क्याटरिनका स्टाफहरू लगायतलाई कसले ध्यान दिने होला ?

निर्माण व्यवसाय गर्ने ठेकेदारलाई सबैले सम्झनन्छन् तर अलकत्रामा हातखुट्टा डुबाउने, ईँटा र सिमेन्टले हात खाएका, दिसापिसाव बग्ने ढलमा छिरेर सफा गर्ने मजदुरलाई कसले सम्झने होला ? निर्माण कार्यमा खटिँदानै अंगभंग भएकाहरू, ज्यान गुमाउनेहरूलाई कसले सम्झेला ?
अस्पतालका डाक्टरलाई पदक दिन हुने तर उसको सफलतामा सँगै हातमा हात मिलाएर चौबिसै घण्टा खट्ने नर्सहरू लगायत अन्य कर्मचारीहरूलाई भागिदारै बनाउन नहुने ?

शैक्षिक संस्थाका संस्थापक, प्रिन्सिपल तथा शिक्षक शिक्षीकालाई सफल ब्यक्तित्व भनेर पदकको सिफारिस हुन्छ तर त्यही शैक्षिक संस्थालाई सफल बनाउन पर्दा पछाडीबाट बिहान, दिउँसो र साँझको समयमा समेत गरेर तीन, तीन सिफ्ट काम गर्ने पियन, पाले, सफाई, कम्प्युटर, लेखा, रिसेप्सन, स्टोर, खेलकुद, प्रशासनका कर्मचारीहरूको सुनुवाई कसले गरिदिन्छ होला ?

यस्ता उदाहरण त हजारौं लिन सकिन्छ । त्यसैले जबसम्म यस्ता भुईँ मान्छेले पनि पदक प्राप्त गर्न सक्दैन तब सम्म आम सर्वसाधारणलाई पदक भनेको के हो भन्ने पनि थाहा हुँदैन र यसको ’boutमा मतलव पनि हुँदैन । अधिकांश व्यक्तिलाई थाहै नदिई वा पत्तै नपाउने गरेर बाँडेको उक्त पदकको सान नेपाली समाजमा कहाँ उच्च तहमा राखेर हेरिन्छ होला ?

यसलाई त सकेसम्म अधिकांश मानिसहरूले छलफलको विषय बनाउनु पर्ने होइन र ? त्यसो भए पो कसले कुन पदक पायो भनेर सबैले चासो व्यक्त गर्दथे र पाउने र दिने दुवै निकायको उपादेयता प्रष्ट हुन्थ्यो ।

अहिले सम्म राज्यको तर्फबाट पदक प्राप्त गर्नुहुने व्यक्तिहरूले उक्त पदक पाएर त्यसको औचित्य के हो भन्ने प्रष्ट्याउन सक्नु हुन्छ होला ? अन्यथा महाबीर पुनले जस्तो लिलामिमा राख्नु पर्ने अवस्था आउन पनि सक्दछ ।

अन्तमा, राज्यले पदक बाँड्नु पर्दछ । त्यसो भन्दैमा जथाभावी र जसलाई पनि बाँड्दा साथै आम सर्व साधारणको हातमा कहिले पनि नपुग्दा यो केवल छातीमा झुण्ड्याउने एक प्रकारको बजारमा पाइने सोपिस बाहेक केहि पनि हुँदैन । त्यसैले यदि पदकको गरिमा बढाउने हो भने उक्त पदक सम्म पुग्ने हातहरूलाई आकाशमा मात्र होइन सडकमा पनि छुन पुग्ने वातावरण बनाइदिनु पर्ने नितान्त आवश्यक छ ।