जाने होइन त लाङ्टाङ !

 
 
 
 

नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल लाङ्टाङ क्षेत्र काठमाडौं देखि नजिक पर्ने एक प्रमुख पदयात्रा हो । हिमाली प्रकृतिको दृश्यको रमणीयतासँग रम्न रसुवा स्थित लाङ्टाङमा पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । स्याफ्रुबेसी देखि क्याङ्जेनसम्मको रमाइलो यात्रामा पर्यटकहरु स्वर्गीय आनन्द लिने गर्दछन् । अझ क्याङ्जेन भ्यालीबाट चारैतिर देखिने हिमश्रृंखलाहरुको नजिक पुग्दा पर्यटकहरु साह्रै मोहित हुने गर्दछन् । २०७२ वैशाख १२ को भूकम्पले हिमाल हल्लाएपछि तत्कालीन अवस्थामा मानवविहीन हुन पुगेको लाङ्टाङ क्षेत्र समयमै भएको पुनर्निर्माण कार्यले अहिले दैनिक सयभन्दा बढी विभिन्न देशका पर्यटक लाङ्टाङ तथा क्याङ्जेन भ्याली पुग्ने गरेका छन् । भूकम्पपछि पुनःनिर्माण अन्तर्गत लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लजको व्यवस्थापन भइसकेकाले खानपिन र बसोबासमा कुनै समस्या नरहेको पर्यटकहरु बताउँछन् । खाम्जिङ, शेर्पागाउँ, बम्बो, रिम्चे, लामाहोटेल, घोडातबेला, लाङ्टाङ को यात्रा पछि रमणीय क्याङ्जेन पुग्दा पर्यटकहरु सबै थकान नै बिर्सन्छन् । पर्यटकीय गन्तव्यस्थल लाङ्टाङ मानवविहीन भन्ने समाचारले पर्यटकहरुमा जुन कमी आएको थियो तर स्थानीयहरुकै हिम्मत, जिल्लाको सरोकारवाला, पर्यटन सम्बद्ध संस्थाहरुको समन्वयमा लाङ्टाङको पर्यटकीय सुन्दरता फेरी बढेको छ । लाङ्टाङ क्षेत्र सुरक्षित छ भन्ने मन्त्र भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुले विश्व सामू पुरयाउनु जरुरी छ । नेपाल भ्रमण बर्ष २०२० सफल पार्नका लागि तथा जीवनमा एक पटक पर्यटकीय गन्तव्यस्थल लाङ्टाङ अवश्य पुग्नै पर्दछ । शब्द/ तस्वीर :  सुनिल शर्मा 

#experienceNepal #visitnepal2020#NepalTourismBoard